Grab the widget  Get Widgets

31 August 2026

म बेरोजगार

हो, म बेरोजगार हुँ

सबैले मलाई बेरोजगार भन्छन्,
किनकि मेरो हातमा जागिर छैन,
महिनाको अन्त्यमा तलब आउँदैन।

तर घरको बिजुलीको बिल
म आफैं तिर्छु,
पानी र टेलिफोनको महसुल
म आफैं बुझाउँछु।
रासन किन्छु,
ग्यास ल्याउँछु,
घरको आवश्यकता धान्छु।

रोजगार भएका मान्छेलाई फुर्सद हुँदैन रे,
त्यसैले घरका सबै काम
म नै गर्छु।
किनकि म बेरोजगार छु।

एकदिन साइकलमा ग्यास बोकेर फर्कंदै थिएँ,
सन्तुलन बिग्रियो,
सिलिन्डर सडकमा खस्यो,
कुच्चियो,
मेरो खुट्टा मर्कियो।

दुखेको खुट्टाभन्दा
घरको चुलो सम्झिएँ,
सिलिन्डर उठाएर घर पुगेँ।

तर स्वागतमा आवाज आयो,
“ध्यान कता छ?
बाटो हेरेर हिँड्नुपर्दैन?
कुलङ्घार!”

त्यो दिन बुझें,
काम नगर्नु बेरोजगारी होइन रहेछ,
काम गरेर पनि
आफ्नो श्रमको मूल्य नपाउनु रहेछ।

हो, म बेरोजगार हुँ।

तर मेरो बिना
घर चल्दैन,
तिमीहरूको जीवन चल्दैन।

फेरि पनि
म नै एक्लो छु।

हो, म बेरोजगार हुँ।

- विनय शाक्य, मिति २०८३ भाद्र १५ गते


No comments:

Post a Comment