शनिबारको दिन, सुन्दरीजलको पदयात्राको उकालो बाटोमा हिँड्दै गर्दा कालेको अनुहारमा गुनासोको भारी देखियो। उस्ले आफ्नो भारी मनका कुरा संगै हिंड्ने साथीलाई बताउने बिचार गर्यो र भन्यो, “रामु, म तंलाई मेरा मनका कुरा भन्छु, अनर्थ नलगा है! मलाई त अहिले कोही कसैले वास्ता ब्यास्ता नै गर्दैन जस्तो लाग्छ। यार! अस्ति मामा आइपुग्नु भयो हगि! ‘सन्चै छ?’ भनेर पनि सोधेनन्। आजकाल मेरी प्यारी साली ले पनि फोन समेत गर्दिनन्, पहिले त समय समयमा के छ भेना? भनेर कुरा गरिरहन्थिन। अनि त्यो च्या पसलको साहुजीले त अनुहारै नहेरी चिया दिन्छ, यार! हुंदा हुंदा त्यो दूध बेच्ने केटीले पनि ‘दाइ’ भनेर सम्बोधन गर्न छोडी सकि भन्या! त्यस्तै त्यो मन्दिर अगाडि तरकारी बेच्ने च्याखुरीले त अस्ति बाटोमा नमस्ते धरी गरेन।” यस्तो कुरा मैले पहिले याद गर्दिन थिएं। अहिले मनमा आउँछ।
रामु हाँस्यो, “अरे काले, तैंले त मनमा भाँडाकुँडाको पसल जस्तै मनगढन्ते पसल खोलेछस् जस्तो छ। मान्छेले नमस्ते नगरेकोमा तं यस्तो चिन्ता गर्छस्? तं को होस्, गाउँको प्रधान मन्त्री हो?”
काले अझ गम्भीर, “तर यस्ता कुरा मनमा अड्किएपछि राति निद्रा पनि आउँदैन। सबैले बेवास्ता गरेको जस्तो लाग्छ।” क्यार्ने?
रामुले काँध थप्थपाउंदै भन्यो, “काले, यो त तेरो मनको खेला हो। अरुले के गरे, के भने भनेर अल्झिनु हुन्न, नत अल्झेर बस्नु पर्छ। तं आफ्नै सुरमा आफ्नै काममा मन लगाएर काम गर्न यार! अनि दुनियाँको पछि लागेर उस्ले यो गरे हुन्छ, तेस्ले त्यो किन गरेन? भनेर संसारको ठेक्का लिएर हिंडेर हुन्छ? यो सब छाडी दे, अनि सबै कुरा सामान्य लाग्छ। अरुले नमस्ते नगरेर दुःखी हुनु भनेको मानसिक तनाब बोक्नु हो, किन बोक्छस् हं!” थुक्क!
काले केही बेर मौन रह्यो, अनि हाँस्यो, “हैन नि, तेरो कुरा सुन्दा लाग्यो, म त आफ्नै दिमागको हाटबजारमा अनावश्यक कुरा किनबेच गर्दैछु, कि क्या हो?”
त्यो हाईकिंगबाट फर्केर आउँदा कालेले रामुलाई भन्यो, “हो यार! तैंले भनेको कुरो ठिक लाग्यो, अब देखि म अरुले के गर्यो, गरेन भनेर होइन, म आफैंले के गर्न सक्छु भनेर सोच्ने र काम गर्ने गर्छु।”
वास्तवमा मनगढन्ते कुराले मन बिगार्छ रैछ। बेकारमा अरुले वास्ता गरेनन् भनेर दिमाग खराब गरेर बसेछ। आफ्नो मूल्य आफैले बुझ्ने हो, सकारात्मक सोच राख्ने र आफ्नो काममा आफैले ध्यान दिने हो, आर्काको कुरा सुनेर वा अन्दाज लगाएर मनमा कुरा खेलाएर बस्ने हैन। अनि मात्रै मानसिक तनावबाट उम्कन सकिन्छ। यहि नै असली उपाय हो। अस्तु।
No comments:
Post a Comment