ए हजुर, सुन्नुस् त एउटा कथा।
उहिले एकादेशमा एउटी आमा थिइन्, गाउँलेले उनलाई “देवी” भन्थे। आफू भोकै बसेर भएपनि छोरो–छोरीलाई खुवाउने, जंगलबाट घाँस दाउराको भारी बोक्दा पनि हाँस्ने।
गाउँका सबैले गर्व गर्थे–“देवीले घर अडाइन्।”
अब समय फेरिएको छ। देबीको छोरोको बिहे गरेपछि देवीको चालामाला नै पल्टियो।
पहिले गर्वका साथ भन्थिन् “हाम्राँ कसैले पनि दाइजो ल्याउन परेन, पर्दैन्थो, बरु सकेको दिदिबहिनीलाई पुर्याइयो।”
तर छोरोको बिहेपछि भने देबीको मुखै फरक–“दाइजो ल्याएको भएपो फुर्ती लगाउने, सबै मैले नै जुराएको सम्पत्तिमा बुहारीले रजाइँ गर्न खोज्छे, म पनि कम छु र! छुन पनि दिन्न।”
मानौँ दाइजो बिना बुहारी त मान्छे नै होइन, भूत प्रेत, राक्षस पो हो जस्तो।
बुहारीले केही गरी जवाफ फर्काई भने तुरुन्तै “ए अलक्षिणी, तंइले के ल्या छस् र फुर्ति गर्छेस्! मेरो सम्पत्तिमा मोज गरौंला भनेकी होली, फुटेको कौडी पनि दिन्न। तेरो बाउले दिएको छ?”
त्यस्तो कडक शब्द बोल्दा देबी आमाको मनमा शान्ति हुंदो हो, मुखै उज्यालो, मानौं एउटा लडाइँ जितेको जस्तो घमण्ड।
बुहारीलाई हेपेर बोल्न पाएपछि आमाले भन्थिन्, “मलाई हेप्न त कसैले पनि सक्दैनन्, बुझिस! जेठानी, देबरानीहरुलाई त थर्काएर आएको, अहिले तं झुसे बुहारीलाई त एक वचन मै ठिक गर्दिहाल्छु।”
एकदिन छोरोले हिम्मत गरेर भन्यो, “आमा, तपाईंले यो घरमा आउंदा दाइजो ल्याउनु भाको थियो?"
"उ बेला हाम्रा बाले दाइजो लेरा भनेको थियो?"
तपाईंले नै हैन, हाम्रां कसैले पनि दाइजो ल्याउन परेन भनेर गाउँ भरी फलाक्दै हिंड्ने?
"पहिले चाहिँदैन भन्ने, अहिले बुहारी आउँदा चाहिँ किन चाहिने?"
गाउँकि "देवी आमा" भन्थे त! खोइ अहिले के भाकी?
अहिले तलतिर गाउँमा जानै नहुने भैसक्यो, सबै गाउँलेले ‘तिम्री आमा त पहिले देबी जस्ती अहिले कस्ती अलक्षिणी आमा’ भनेर जिस्काउन थालिसक्यो।”
त्यो कुरा सुनेर देबी आमाको मुख पहेंलो भयो, अलि सम्हालेर देबी आमाले भनिन् , "हो त हाम्ले त दाइजो ल्याएका थेनम्। सबै मिलिजुली नै घर सम्हालेका हुम्। म मा यस्तो घमण्ड कसरी आयो? सांच्चै, म कस्ती थिएँ, अहिले यस्ती भाको छु। मलाई महसुस भयो छोरा, अनि बुहारी, तिमीहरुलाई मैले धेरै नै दु:ख दिएं। अब देखि यस्तो हुन्न। हरि शरणम्।” अस्तु।
No comments:
Post a Comment