गाउँको पुरानो घर। आँगनमा गोठ, भान्साबाट धुवाँ, चिया पाकिरहेको बास्ना आइरहेछ। बिहानै उठेर बाबुकाजी खेततिर लाग्छन्, खेतमा उम्रेका फर्सी, कुरिलो, कांक्रो, लौकाको हेरचाह गर्छ। काम गर्दा निधारभरि पसिनै पसिनाले भए पनि तरकारीले टोकरी भर्छन्। सबै तरकारी बोकेर कालिमाटी बजारमा लैजान्छ। कालिमाटी सम्म जांदा बसमा खर्च लाग्छ भनेर केही पैसा बचाउन भए पनि हिंडेर जान्छ। आउंदा जांदा चर्को घाम, बाटोको राप अनि दिनै भरी ग्राहक संग मोलमोलाइ गरेर जम्मा गरेको पैसा एक पटक मासु किन्दा स्वाहा नै हुन्छ। त्यसैले पैसा बोकेर नै घर जान्छ।
तर बेलुकी घर फर्कना साथ उनलाई परिवारका सदस्यहरुले मीठो स्वागत गर्दैनन्, बरु थप सुनाउन लाग्छ। संधै त्यै बारीको तरकारी! कैले काहिँ त मासु लिएर आए पनि त हुन्छ है!
बाबुकाजीको आमा भन्नुहुन्छ “मेरा कुरा त सुन्ने नै होइन क्यारे! खाली स्वास्नीको कुरो मात्रै सुन्छ्स्। दिनभरी काम गरेपछी बाटो मै केही खाएर आए हुन्छ नि!”
श्रीमती झर्किन्छिन् “तिमीले त तिम्रो आमाको कुरा मात्रै सुन्ने त हो नि। मेरो कुरो त कानमा पर्दै पर्दैन।”
यतिले नपुगेर छोराछोरी आ–आफ्नै गुनासो लिएर खडा हुन्छन्, “बाले हामीलाई कहिल्यै समय दिएनन्, पढाइको लागि राम्रो स्कुल कहिले हालेनन्। हाम्रो भविष्य नै बिगारिदिए। बाउ आमाको कर्तब्य होइन र? याँ हेर्दा बाउ बिहान देखिन ब्यस्त, तर कमाई भने कता लान्छ कुन्नी?”
अब त नातिहरू पनि जिद्दी गर्दै खेतमा खेल्न जाने अनि झटपट खाजा माग्छन्। दिएन भने यो बुढा त कस्तो लोभी रैछ भन्छन् ।
यतिकैमा श्रीमतीले फेरि तिखो वाणी छोड्छिन् “हेर बुढा! अरूका श्रीमानले कत्रो घर ठड्याए, गाडीमा सरर घुमे, बिदेशका फोटो देखाउंदै फेसबुकाँ हाल्छ्न्। हाम्रो बुढा त दिनभर काम गर्न हिंडेका भन्छन् , दुई छाक पनि मीठो खिलाउन सक्दैन।”
आमाले थप्छिन्– “हेर छोरा तंइले सबै खानेपिउनेमा नै पैसा सकिस्, अहिले सम्म सम्पत्ति केही जोड्न सकेनस्। संधै तेरो बाउको घरमा बसेर तेरो जिन्दगी जाने भो। छोरो भनेको जिन्दगीमा एउटा घर बनाउन सके मात्रै हुन्छ। तेरो घर पुजा गर्ने मेरो सपनाथ्यो, सपना मै रहने भो।”
बाबुकाजी, परिवारका मुली भनम भने आफुले कमाए जस्तो खर्च गर्न सकेको छैन नभनम भने सबै खर्च पर्च आफ्नै कमाईले घरपरिवार चलेको छ। न बोल्न मिल्छ, न रुन सकिन्छ। टन्टलापुर घाममा हिंडेर आएर आफ्नै पसिनाले भिजेको लुगा बारीको रुखमा झुण्ड्याउंछ। उनले मनमनै भन्छ, “एक्लो ज्यानले बिहानदेखि बेलुकीसम्म जोतेर, पसिना बगाएर कमाएर ल्याएको पैसाले मेरो परिवारका सबैले बसि बसि खाँदा त मजा आउँछ होला नि। तर जति खाएपछि कसैले पनि ‘धन्यवाद’ सम्म पनि भन्दैनन्! हुन त आशा पनि छैन। धन्यवाद भन्ने त परै जावस, बरु ‘निकम्मा’ 'हुत्तिहारा' भन्ने शब्द सुन्नु पर्दा भने मेरो मन् चसक्क हुन्छ।”
सारा आरोप, अपेक्षा र गुनासोको बीचमा बाबुकाजी आफैँ घरको भित्ताझैं निःशब्द हुन्छन्। गाउँको त्यो पुरानो घर त अझै ठडिएको छ, तर बाबुकाजीको मन भने भत्किँदै गएको छ।
यसरी परिवारले बाँच्ने बलियो खम्बालाई नै कमजोर बनाउँछ। जुन काँधले सबैलाई थामिरहेको छ, त्यो काँधलाई नै सबैले थिचिरहेका छन्। जिम्मेवारीको भार। अस्तु।
No comments:
Post a Comment