Grab the widget  Get Widgets

19 October 2025

"एक्लोपनाको घर"


शहरको भीडभाडभित्र एउटा सानो घर छ, जसमा बाँचिरहेका छन् केही थाकेका अनुहारहरू र अधुरा सपनाहरू। त्यो घरमा बस्ने मानिसहरूका कथा आ-आफ्नै छन्, तर पीडा एउटै।

घरको जेठो मान्छे, कान नसुन्ने बुबा, बिहान बिहान साथीको स्वास्थ्यको चिन्तामा डुब्छन्। आफ्नै शरीर थाकिसकेको छ, औषधि खानु पर्ने समय बिर्सन्छन्, तर साथीको लागि चिन्ता गर्दै फोन मिलाउँछन्। अनि भन्छन् , मेरो साथीसँग अब कोही छैन, छोराछोरीहरू सबै विदेशतिर दौडेका छन्। पैसा पठाउँछन्, तर माया पठाउँदैनन्। त्यसैले मैले हेर्न जानु परेको छ। 

त्यस घरकी आमा अझै पनि अस्पतालभन्दा झारफुकको भरमा बाँचिरहेकी छन्। औषधिको नाम भन्दा “झांक्री बाजेको मन्त्रले ठीक हुन्छ” भन्छिन्। उनको विश्वास पुरानो समयमै अड्किएको छ।

त्यो घरको मुख्य ढोकाबाट भित्र पस्दा खेरि एकजना थकित मान्छे देखिन्छ। दैनिक श्रमको गन्धमा भिजेको, त्यो मान्छे बिहानदेखि बेलुकीसम्म पसिना बगाएर घर फर्किन्छ। हातमा झोला नभए उसलाई घरमा स्वागत होइन, हप्कीदप्की मिल्छ। “सारा दिन के गरेर आयो कुन्नी? फर्किंदा यस्सो तरकारी सरकारी बोकेर आएर के बिग्रन्छ र?” भन्दै श्रीमतीको कर्कस आवाज घन्किन्छ।
उ उसकै घरको सबैभन्दा बढी जिम्मेवार बोक्ने मान्छे हो, तर उही घरमा उ नै सबैभन्दा एक्लो हुन्छ। एकोहोरो काम गर्दै गर्छ, बोल्दैन, सुन्छ मात्र। नुहाउने बेलामा टंकीमा पानी सकिन्छ, खाने बेलामा थालमा खाना कम पर्छ। उसका लागि “फुर्सद” भन्ने शब्द मानौँ शब्दकोशमा मात्र बाँकी छ।

तर जब उ निद्रामा जान्छ, मनमा एउटै प्रश्न बजिरहन्छ,
“घर भरी मान्छे भएर पनि किन सबै फरक व्यबहारमा चलेका छन्?
किन सबैको आत्मा बिस्तारै मरेजस्तो लाग्छ?”

र बिहान फेरि ऊ उठ्छ, उही जीवन दोहोर्याउन, एक मान्छे भएर, तर मेसिनझैँ। अस्तु।

No comments:

Post a Comment