Grab the widget  Get Widgets

08 October 2025

फूलबारीको शान्ति

​एकादेशमा, गाउँको फेदीमा सानो झुपडी थियो। त्यहाँ रामबहादुर र उनकी श्रीमती सीता बस्थे।

​रामबहादुरलाई आफ्नै घर-आँगन, बारी-बगैंचा चिटिक्क परेको देख्दा मनमा अचम्मै शान्ति मिल्थ्यो। बिहान-बेलुकी गाउँका चौतारीमा चियागफ गरेर समय काट्ने मानिसहरूको संगत छाडेर उनी सधैँ खुर्पी समातेर फूलबारी गोड्थे, घरको छेउछाउमा आँप, अभोकाडो, भोगते, अम्बाको रुख र सुन्तलाको बोटमा पानी हाल्थे।

​तर, सीताको मनमा भने यो मान्छेले नोकरले गर्ने काम मात्रै गर्छ भन्ने परेको थियो। उनी आफै भने घरको सबै परिवारका लागि चुलो-चौका सम्हाल्थिन्। रामबहादुर काम गर्दा गर्दै निथ्रुक्क पसिना पसिना परेको देख्दा उनी नाक खुम्च्याउँथिन्। "ए होइ, रामबहादुर! सारा गाउँलेको लोग्नेमान्छे काममा जान्छ, पैसा कमाउँछ। तपाईं चाहिँ आफ्नै घरको नोकर जस्तो गरेर पैसा नआउने ज्यामीको काम गर्नुहुन्छ! तपाईंले गर्ने काम हो त्यो?"

​सीताको यो तीतो वचनले रामबहादुरको मन कुँडिन्थ्यो, तर उनी जवाफ फर्काउँदैनथे। मनमनै भन्थे— 'घरलाई रानी जस्तै सजाउँदा कसरी नोकर भइन्छ र, कुन्नी? यो कामलाई यस्ले कहिले नसहने भो! यो कामलाई त सौता नै मान्छे।'

​एकदिन, सीतालाई टाउको दुखेर साह्रै गाह्रो भयो। उनले घरको दलिन र भित्तातिर हेरिन्। रामबहादुरले मेहनत गरेर सफा बनाएका झ्यालका सिसाहरू टल्किएका थिए। बारीको कान्लामा सुन्दर फूलहरू हाँसिरहेका थिए। चौर सफा, बगैचाको बारमा घाम चम्किरहेको थियो।

​एक्कासि सीताले महसुस गरिन्, उनको शान्ति त यही चिटिक्क परेको घर र सफा आँगनबाट आइरहेको रहेछ। जहाँ शान्ति र सन्तुष्टि हुन्छ, त्यहाँ नोकर वा ज्यामी होइन, परिवारको प्रेमले वास गर्छ।

​उनी दौडेर रामबहादुरकहाँ गइन्, जो बगैंचामा काम गर्दै थिए। "घरमा गरेको काम नोकरले गरेको होइन, यो त मायाले गरेको हो र छ," सीताले गल्ती स्वीकार्दै भनिन्। एक्कासि यस्तो व्यबहार देखेर रामबहादुर मुस्कुराए।

​कुनै पनि काम कसैको बोझ वा दास बन्नु होइन। यो त प्रेम हो। जब आफ्नो घर चिटिक्क राम्रो हुन्छ, तब मात्रै मनमा बास्तबमा शान्ति छाउँछ। हरेक सदस्यले गरेको काम सेवा हो, नोकर होइन। अस्तु।

No comments:

Post a Comment