उस्लाई गाउँमा सबैले गोरे दाई भन्छन्। सरकारले रिटायर गरेको, तर जीवनले रिटायर गर्न नसकेको मान्छे। गाउँलेको मनमा गोरे दाईको ठाउँ सधैंको लागि महान छ। उसको त्यो सहयोगी स्वभावले सबैलाई मन पर्छ, एक जनालाई बाहेक, त्यो उसको आफ्नै श्रीमतीलाई।
गोरे दाईको श्रीमतीको नाम राधा हो। राधाले गोरे दाईको एकोहोरो काम देखेर कहिले काहिँ गोरु जस्तो जोतिने मान्छे पनि भन्छिन्। मतलब त "गोरु" नै हो। "भान्साको काममा कहिले नसघाउने र गर्न पनि मन नलाग्ने। संधै त्यही बगैंचा, त्यही फुलबारी। फुलले पेट भरिँदैन क्यारे!" भन्छिन्, राधा।
गोरे दाई भन्छन्, "फुलले पेट भराउँछ नि, अनि मन पनि त भराउँछ। बगैंचामा हात हालेर माटो छोएर काम गर्दा हाम्रो स्वास्थ्य पनि राम्रो बन्छ।" कहिले काहीं गोरेदाई फुल संग बात मारिरहन्छ, जुनबेला राधाले गाली गरेको हुन्छ। एक्लै फुल संग मनका ब्यथा साटासाट गरेझैं भुत्भुटाई रहन्छ। बर्षाले फुल ढल्यो भने उठ! उठ! है फुल। भनिरहन्छ, फुल पनि केही दिनमा उठछ नै।
तर राधाको स्वास्थ्य भने चुल्हो, चौका र भाँडाकुंडामा हुन्छ। फुल फुलेको बेला गाउँलेहरू आउँछन्, "आहा, कति राम्रो फुल!" भनेर टपक्क टिपेर लैजान्छन्। राधाले भने आफ्नै बगैंचामा फुल पनि पूजा गर्न खोज्दा फुल टिप्न नै पाउंदैन। अनि उनको रिस बगैंचामा चरिरहेका हांस कुखुराहरुमाथि बर्सिन्छ, "यो घरमा काम गर्ने कालु मकै खाने भालु, गाउंलेहरु पनि त्यस्तै, फुल चाहिए आफ्नै घरको बारीमा उमार्नु नि!"
एक दिन गोरे दाईले बगैंचामा गुलाफको बोट लगाए। त्यो फुल फुल्यो, र गाउँकी सानी कीर्तिले टिप्दै गर्दा काँडाले खोपिएर रुंदै घर तिर फर्कींदै थियो। गोरे दाईले उसलाई फुल दिए, मन बहलाए। त्यो देखेकी राधाले भनिन्, "तिम्रो फुलले अर्काको आँसु मात्रै पुछ्छ, तर घरभित्र मेरो मन रुंदा केही गरेका छौ?"
गोरे दाईले मुस्कुराउँदै भने, "तिमीले नै भन्यौ, फुलले पेट भर्दैन, तर मन भराउँछ। आज कीर्ति रोएकी थिइन्, मेरो फुलले उसलाई हँसाउन सक्यो। तिमी पनि कहिले काहीं रोऊ, मेरो बगैंचाको फुलले तिमीलाई पनि हँसाउनेछ।"
राधाको मुखमा हल्का हांसो आयो। अर्को दिन, उनले गोरे दाईलाई भान्सामा चिया बनाउँदै गर्दा भनिन्, "आज बिहान तिम्रो बगैंचामा फुलेको फुलको चिया बनाउँछु। तर आजैबाट भान्सामा पनि सहयोग गर्नु पर्छ।"
गोरे दाईले चिया हेरे, मीठो मानी पिए अनि "हुन्छ, आजैबाट फुल र भात दुवैको जुक्ती गर्छु।"
बगैंचाको रंगीन फुल र चुल्होको तातो आगो बीचको यो कथा सधैं चलिरहनेछ। गाउँलेहरू भन्छन्, "गोरे दाई र उनकी श्रीमतीको झैं, फुल र चुल्हो पनि एकअर्काको परिपूरक हुन्।" अस्तु।
No comments:
Post a Comment