Grab the widget  Get Widgets

Thursday 1 April 2021

घुमन्ते

सानै देखि डुलेर हिंड्ने भएकोले डुकु लन्ठक, हरी लठ्ठक भनेर काम नभएको "घुमन्ते" भनेर समाजले दिएको "उपनाम" नै मेरो लागि संधै प्रेरणा भई रह्यो। समाजले के भन्छ, कसो भन्छ त्यो कुराको पछि लागेको भए सायद आज म घुमन्ते नामले परिचित हुने थिएन। अहिले पो बुझियो, यो त मेरो प्यासन रहेछ। मेरो रहर, दृढता, परिश्रम, मन, धन, अनि तन सबै नै घुम्ने नै रहेछ। 

मलाई कसैले कस्तो बेकामे घुमन्ते भन्यो भनेर चित्त दुखाउनु छैन। यस्ताले के गर्ला भनेर आक्षेप लगायो भने पनि बाल मतलब छैन। म मस्तले हिंडेको, डुलेको देखेर आरिस गर्नेहरु देखेर पनि मलाई खुशी लाग्दैन। तर मलाई यसमै आनन्द लाग्छ। देश बिदेशका मानिसहरु संग भेट हुंदा मेरो डुलाई देख्दा मेरो हिंडाइ देख्दा मख्ख पर्छन। तर मेरो समाजले मलाई हेर्ने आँखा फरक छ। 

फलानोको छोरा छोरीले यति कमायो, उति कमायो, घर बनायो,  सम्पति बनायो, तर यो घुमन्तेले अहिले सम्म केही कमाएन! यस्तो जिन्दगी पनि खत्तम नै रहेछ। कहिले जिउन सिक्ला? कति भन्ने? भनेको मान्ने भए पो भन्ने? यसरी घुमेर पनि जिन्दगी चल्छ र?

अनि कमाएर बसेकाहरुले मलाई भन्छन, तेरो जिन्दगी पो जिन्दगी यार! घुम्न पनि पाउने, टेन्सन पनि नहुने, सम्पति चोरेर लैजाला भनेर चिन्ता पनि लिन नपर्ने, अंशबन्दा पनि गर्न नपर्ने। वाह! क्या मज्जा! जिन्दगी जिएकै छस!

अहिले मेरो घुमाई बेचेर खाएको छु। मेरो अनुभवको लागि पैसा तिर्छन् । कथा, घट्ना, दुर्घटनाबाट सिक्छ्न, मैले सिकाउंदा र कथा भन्दा एकचित्त भएर ध्यान दिएर सुनेको देख्दा अझ आनन्द लाग्छ। कस्ले कति कमाए, कति गुमाए संग मतलब भएन, न त उनीहरुको सम्पति संग दांजेर बसेर मन दुखाउनु छ। म त मस्त छु ! आनन्दित छु ! सबै भन्दा ठूलो कुरो शान्त छु, बेफिक्री छु। म घुमन्ते! अस्तु!
(यो कथा कसैसंग मिल्न गए संयोग हुन सक्छ)



No comments:

Post a Comment