Grab the widget  Get Widgets

17 June 2025

दुर्घटना

दुर्घटना कहिले कसरी हुन्छ भनेर घण्टी बजाएर आउँदैन भन्थे, हिंंजो त्यस्तै भयो। दाजु बिरामी भएकोले हतास मनस्थितिमा अस्पताल जाने भनेर मोटरसाइकलमा हुईकिएको थिएं। त्यसो भन्दैमा मोटरसाइकल उडाएर लगेको पनि होइन। म आफ्नै धूनमा चलाउने मान्छे, नारायण गोपाल चौकबाट दक्षिण तिर जांदा अमेरिकन एम्बेसी सुरु हुने सडकको रोड तलमाथि रहेको हेक्का रहेन। 

गड्याम्म भयो, शून्य भयो, मेरो वरिपरि मान्छेहरुले घेरेर उठाउन आउनु भयो, बाटोमा हिंड्ने बटुवाहरु सबैलाई मेरो वन्दना छ। मेरो मोटरसाइकल २-३ मिटर उछिट्टीएर सडकको बायाँ कुनामा लडेको रहेछ, म सडकको बिचमा पल्टेको रहेछु। वटुवाहरुले मोटरसाइकलको चाबी निल्काल्नु भयो र म र मेरो मोटरसाइकललाई बिस्तारै उठाउनु भयो। उठ्न सकें। 

मेरो पछाडि सायद २-३ वटा स्कूटर, मोटरसाइकल पनि म संगै लडेका रहेछन्। म संगै लडेको स्कूटरवालाले भन्यो, तपाईंले गरेर म पनि लडें।

मैले भने, तपाईंलाई ठिक छ? धन्न बांचियो। ठिक भयो।

एकजना सज्जन आएर भन्नु भयो, तपाईंहरु कसैको दोष छैन। हामीले देखेका छौं। गल्ती कसैको छैन, यो सडकमा पीच, तल र माथि भएको हेक्का राख्नु भएन। धन्न, पछाडिबाट आएका गाडीहरुले समयमै ब्रेक लगाए। लौ जान सक्नु हुन्छ? घाउ भएको छ छैन, हेर्नुस है, भने। 

अनि सडकमा लडेकाहरुलाई वटुवाहरुले उठाएर सडक छेउमा राखी दिनु भयो। सबैमा म नतमस्तक छु। हामी नेपालीहरुमा अझै मानवता बांकी नै छ। 

काठमाडौं वडा नम्बर ३ का वडाका अध्यक्षज्यूलाई हार्दिक अनुरोध छ, यो सडक मरम्मत गर्ने बेलामा पूरा सडकको मरम्मत गर्नु होला। अस्तु।

No comments:

Post a Comment