Grab the widget  Get Widgets

Friday, 5 November 2021

आशा!

खोइ तिम्रो आशामा म आशावादी भएछु कि जस्तो पो लाग्यो। तिमीले यो गर्दिन्छ कि त्यो गर्दिन्छ कि भन्ने आशा लागेर कुरेरै यो जीवन जाने भयो। अरुले के गर्देला र? तिमीले नै गर्देला नि भन्ने आशा तिमी संगै रह्यो। 
बिहान सबैरै उठे देखि मैले आशा गरेको चिया, नास्ता अनि खाना पछि काममा जाने बेलामा तयारी गर्नमा तिमीमै आशा। हरेक दिन तिम्रै मायाँ र सेवाको अपेक्षा गर्दा गर्दा अहिले म आशाकुटी बनी सकेको थाहा नै भएन। तिमि एक दिन नहुंदा मलाई तनाब हुन्छ। यो आशाले मानसिक तनाब ल्याउने कुरा थाहा नभैकन म मा विकसित भएको रहेछ।

छोराले यो गर्दिए हुन्थ्यो, बुहारीले त्यो गर्दिए हुन्थ्यो, छोरीले त्यो गर्दिए हुन्थ्यो, ज्वाईले त्यो गर्दिए हुन्थ्यो, बाबाले यसो गर्दिएको भए हुन्थ्यो, आमाले त्यो भन्देको भए हुन्थ्यो, बाजेले यस्तो गर्दिएको भए अहिले हामी पनि कम हुने थिएन, बजैले त्यस्तो गर्दिनु भएको भए अहिले त्यस्तो बन्न गार्‍हो हुने थिएन भन्ने पनि आशा!

अफिसमा हाकिमले त्यसो नभनेको भए हुन्थ्यो, कनिष्ठ कर्मचारीले खुरुखुरु काम गर्दिएको भए हुन्थ्यो, बेपारमा साहुले थपक्क पैसा दिए हुन्थ्यो, बैंकले ब्याज थपेर घरमा नै ल्याइ दिए हुन्थ्यो, ऋणमा ब्याज नलिए हुन्थ्यो, सापटी लिनेले खुरुक्क ब्याज सहित पैसा फर्काए हुन्थ्यो, गुरुले खुरुखुरु पास गर्दिए हुन्थ्यो, बिद्यार्थीले मजा संग लेखिदिए हुन्थ्यो भन्ने आशा गरेर मानसिक तनाव लिनु पनि वाहियात नै रहेछ।

तै तै सरकारले बिकास गरिदिए हुन्थ्यो, खानेपानी, बिजुली बत्ति, बाटो, सडक, शिक्षा, स्वास्थ्य सबै नि:शुल्क गरि दिए हुन्थ्यो भनेर आशा गरेर बस्ने अनि गर्दिएन भनेर टेन्सन बोकेर बस्दा पनि मानसिक रोगी नै हुने रहेछ। 

त्यसैले कसै संग आशा नलिनुस, आफ्नो काम आफै गर्नुस, तपाईले जे गर्न सक्नु हुन्छ, गर्नुस। अरुले गर्दिएन भनेर कपाल नदुखाउनुस। अरुलाई के मतलब र ! तपाईंको सेवा मात्रै गरेर बस्ने ? गर्नै परे पनि आफ्नो स्वार्थ सिध्द हुने भए मात्रै सेवा र चासो गर्ला। नत्र त सम्झिने पानी छम्किने मात्रै हो। अस्तु।

नेपाल सम्बत ११४२ न्हु दंया भिंतुना
शुभ दीपावली २०७८

Friday, 17 September 2021

पादयात्रा

के लेखेको होला! पदयात्रा लेख्नु पर्नेमा पादयात्रा लेखेछ, भन्नुहोला। तर यो पादयात्रा नै हो। कुरो पदुवाहरुको गर्न लाएसी पादयात्रा लेख्दा के बिग्रेको छ र! पादने मान्छेहरूको बहादुरी बारे लेख्न लागेको हो क्या! 

अनि कै बिषय पाएनस र पाद बारे लेख्ने? भन्नु होला। तर आजको बिषयमा तपाईंको जाँच पनि हुनेछ। थाहा छ? अनुभव छ? भने कमेन्टमा लेख्नु होला।

तपाईंले रेक्जीन सोफामा पाद्नु भएको छ?
तपाईंले सुनसान बाटोमा पाद्नु भएको छ?
अनि पिन ड्रप साइलेन्ट भएको हलमा पाद्नु भएको छ?
माइक लाएर पाद्नु भएको छ?
पोखरीमा पाद्नु भएको छ?
ससुराको अगाडि पाद्नु भएको छ?
अडिटोरियम हलमा पाद्नु भएको छ?
एयर कन्डिसन कोठामा, हवाइ जहाजमा, भान्सामा, कक्षामा, पादनु भएको छ?
पखाला लाग्दा, आउँ परेको बेलामा पाद्नु भएको छ?
अनि पाददा कति मज्जा आउँछ भनेर अनुभव गर्नु भएको छ? कैले काहीं निकै अप्ठ्यारो परेको पनि अनुभव भएको होला नि! छैन र? हो! यस्तै यस्तै कुराहरुको संकलन लेख्ने भनेर यो लेखको नाम पादयात्रा भएको हो। उ.. पुइंक्क पादी हालेछ!

कुरो पदयात्रामा जांदाको हो। मतलव ट्रेकिङ जांदा त बिहान सबेरै उठेर हिंड्नु पर्छ, होइन? कोहि कोहि साथीहरू अलि ढीला उठ्छन, अनि हतारमा नित्य कर्म गर्न पनि भ्याउंदैनन। त्यस्तालाई चै बाटोमा पछ्याएर हिंड्न हुन्न। पादेर हैरान पार्छन। खुला ठाउँमा पाददा रमाउंदै पादछन। पछाडी पछाडी हिंड्दा आवाज पनि अचम्म अचम्म सुनिन्छ। सम्म ठाउँमा हिंड्दा र उकालोमा हिंड्दा पर्ने प्रेसरले पादने मान्छेले पनि ठाउँ अनुसार बल पुर्‍याउने गर्छ। अनि पादको पनि आवाज फरक फरक हुँदै जान्छ। 

तपाईंले भर्‍याङ चढ्दा चढ्दै पादेको याद गर्नु भयो? अस्ति भर्‍याङमा बुहारीले पाददै बढार्दै गरेको ससुरोले सुनेछ। ससुरोको कान अलि बाक्लो रहेछ। झ्यालबाट बाहिर तिर हेरेर को हं? किन कराएको? भनेर खोज्दैथ्यो। धन्न सुनेनछ्न भनेर बुहारी ढुक्क! 

तर आर्को पट्टी सासुले कस्ती लाज नभाकी बुहारी रहेछ! हेर हेर! पाददै बढार्दै रेछ। हरे शिव! के देख्नु पर्‍यो? यो बुढेसकालमा! 
छोरोले सुनेको रहेछ। आफ्नो श्रीमतीको बचाउ गर्दै आमालाई भन्दैथ्यो; ह्या बुढिमाउ के कराई राख्या भने? हिंजो गुन्ड्रुकको झोल खुवाए पछि आज गुन्ड्रुक नै त निस्कन्छ नि! पादेर को सानो भएको छ? बरु पाद्न नपाएर बुहारीहरुको पेट दुखेको छ। आफुले प्यार प्यार पाददा चैं कै नहुने बुहारीले पादयो भनेर कराई राख्नु पर्ने?

ल त्यो घरको पादको कथा त्यैं छाड्दिम। पदयात्राको क्रममा एउटा गाउँमा बास बसेका थियौं। बिहान सबेरै बुहारीले चिया लिएर आइन। चिया ससुरोलाई दिन लागेको बेलामा पुइंक्क.. ! आवाज आयो। बुहारीले हांसो रोक्न सकिन। हातमा भएको चियाको गिलास खसालेर चिया पोखाई। ससुरोले फ्याट्टै सोध्नु भयो, बुहारी! तिमी पाद्न मात्रै आएकी कि? चिया पुर्‍याउन? बुहारी, लाजले भुटुक्कै। हजूर! मात्रै भनेकी थिइ, आर्को आवाज त झन ठुलो पो आयो। भुइँक्क...! बुहारी टाप!

हामीलाई पनि हांसो उठ्यो! हांस्दा हांस्दै एक जना मित्रले पनि आवाज निकाल्यो, पुँ..! तर मुलाको अचार जस्तै ! ओए पासा! ख्वास्सा मुला खाएर पाडेर ल्यायो। आर्को हांसो चल्यो। लौ आजलाई पादयात्रा यति नै! बांकी आफै सम्झनुस अनि हांसेर बस्नुस। अस्तु!

Thursday, 16 September 2021

बाउचा


किन किन आजकाल म आफुलाई निक्कै जान्ने सुन्ने लाग्छ भनेर बाउचा आफ्नो खुबी देखेर आफै दंग छ। कसैले राजनीतिको कुरा गर्‍यो भने बाउचाले राजनीतिमा राष्ट्रपतिले गर्ने काम, प्रधानमन्त्रीले गर्नु पर्ने काम, मन्त्री सन्त्रीले गर्नु पर्ने काम, न्यायाधीशले गर्नु पर्ने फैसला त्यो च्या पसल मै गर्दिन्छ। मोदिले यस्तो गर्नु पर्ने! इमरान खानले यस्तो गर्नु पर्ने! जो बाइडेनले यस्तो भन्नु पर्ने! पुटिनले यस्तो गर्नु पर्ने! 
टोल छिमेकमा मात्रै होइन संसारमा जो कसैलाई समस्या पर्‍यो भने त्यो समस्याको समाधान बाउचाले ठ्याक्कै गर्दिन्छ, मुखले मात्रै। सारा संसार एकापट्टी बाउचा आर्कोपट्टी भए पनि बाउचाले त्यो समाज जितिदिन्छ। त्यस्तो हिक्मत छ रे उसंग। आफैले आफैलाई संसारको उत्कृष्ट मनुवा सम्झिन्छ। 

हाम्लाई के छ र। उस्को कुराले हाम्रो माना पाक्दैन क्यारे! यस्सो सुन्दिए जस्तो गर्ने त हो नि। उम उम, हो, ठिक भन्यो बाउचाले भन्दिने हो। बिचरा बाउचा दङ्ग। तेस्का बाजेलाई उडाएको पनि थाहा नपाउने संसारको सल्लाहकार। लौ आजलाई यत्तिनै है! अस्तु।


Tuesday, 14 September 2021

हैट कस्तो आगोमा परिएछ?

किनेर ल्याउने म, अनि मेरो भाग चैं छैन? सांसद बजारमा गएर छानी छानी ल्याउने म, अनि मलाई चैं केही छैन? त्यो हिजो भर्ना भएको सांसदलाई मन्त्री अनि म बर्षौं देखि पार्टीको सेवामा लागेकोलाई केहि न केही? अहं! म त मान्दिन, मान्दै मान्दिन! 

तपाईंलाई सभापति बनाउन, संसदिय दलको नेता बनाउन रात दिन खटेको बिर्सनु भयो? साम दाम दण्डभेद गरेर तपाईलाई भनेर ज्यान दिएँ। आज यस्तो? हेप्नी? हेप्ने नि एउटा सिमा हुन्छ नि यार! मेरो मात्रै परिवार छैन? एउटा घर बनाउने आशा हुन्न? यत्रो बर्ष पार्टी पार्टी भनेर खटेर बल्ल बल्ल आज हाम्रो पालो आयो भनेको त तपाईंले पनि काखा र पाखा गर्ने? 

इमान जमानको त समय नै भएन हो। अब यस्तो पार्टीमा लागेर के होला र? आफ्नो पार्टी सरकारमा पुग्दा कस्लाई खुशी लाग्दैन र! खोइ के भन्ने? पीडा छ हजूर पीडा। आफ्नै पार्टी भित्र यस्तो आसेपासेले बिगार्छ भने सरकारको वरपर बस्नेहरुले झन के गर्ला?

होइन के हो पारा? मन्त्री बनाउने होइन? मेरो पालो कैले आउँछ? त्यसलाई बनायो भने म त बिद्रोह नै गर्ने हो। 

आम्मामा! बेकारमा जिम्मेवारी लिइएछ! जो पनि मन्त्री बन्छु भन्छ। त्यस्का बाजे! आफ्नो क्वालिटी के हो थाहा नपाएका मान्छेले पनि मन्त्री बन्छु भन्छ बा! हैन! के भाको हँ? बरु जति मन्त्री भा का छ्न, त्यतिबाटै देश हांक्दिछु, लौ जा! के को ङ्यार ङ्यार! पचास साठी जना मन्त्री भएनी काम थोपो हुने हैन। 

हैट! कस्तो आगोमा परिएछ? बेकारमा मेरो टाउको मात्रै दुखाउंछ्न। जति मन्त्री बनाए नि जसै नदिने भए। यो देशां काम गर्नै गार्‍हो भो बा! मलाई त यस्तो गार्‍हो छ, जनताले के आशा गर्छन? आश गर्नु भरोसा नगर्नु। अस्तु!

Thursday, 9 September 2021

फुलबारी

पर्यटनको घुमन्ते जीवनमा मैले एउटा गज्जबको फुलबारी देखेको थिएं। मौसम अनुसारका फुल फुलेको देख्दा मन आनन्द आउंथ्यो। समय समयमा गोडमेल, मलजल, सरसफाइ, गमला फेर्ने, काटछांट गरी राख्ने मालीको मिहेनत यत्र तत्र सर्बत्र वाह वाही थियो। मलाई अचम्म पनि लाग्थ्यो। फुल बेचेर पनि ज्यान पाल्न सकिन्छ र भनेर। तर उसले त ज्यान मात्रै होइन धेरैका परिवार समेत पालेको देख्दा खुबै अचम्म मानेको थिएं।

मालीको अचानक देहावसान भए पछि मालीका सन्तानहरुलाई बज्रपात नै भयो। फुलबिरुवा बारे अलि अलि ज्ञान भए पनि, यस्को बजारलाई आफ्ना पिताले कसरी ब्यबस्थित गरेका थिए भन्ने बारे अनुमान सम्म लगाउन नसक्दा, पिताको बिरासत छताछुल्ल भयो। समय छंदै आफ्ना पिताका पीर मर्का बुझ्ने, ब्यबसाय बारे ज्ञान लिने गरेका भए अहिले यस्तो अवस्था आउने थिएन। 

एक दुई जना सन्तानले आफ्ना पिताको बिरासतलाई निरन्तरता दिनु पर्छ भनेतापनि केही सन्तानले भने क्षणिक समस्यालाई पनि आकाश नै खसे जस्तो गरेर निरन्तर धान्न नसकिएला भनेर बेचिदिने सल्लाह दिए। सन्तान थरीथरीका! पिताको बिरासतलाई निरन्तरता दिएर धरोहर बचाउने अथवा भएको सम्पत्ति बेचेर ब्याज खाने सन्तानहरुबारे समाजले अनेक अड्कल काट्ने गरेका छ्न आजकाल। समयले देखाउला बिरासतले कसरी निरन्तरता पाउँछ, वा बिरासतको दु:खद समाप्ति। अस्तु! 

Friday, 3 September 2021

मलाई त चित्त बुझेन है पासा!

भन्यो भने भन्यो भन्ला, मलाई त चित्त बुझेन है पासा!

पर्यटक भिसामा नेपालमा आएर बाटो बाटोमा चिया बेच्ने र गीत गाएर पैसा मागेर गैर कानुनी क्रियाकलापमा लागेका पर्यटक देखेर दंग परेर बस्न हुन्छ र सरकार?

यस्ता पर्यटक चैं नेपालमा आउन पाउने, लन्ठङ लन्ठङ घुम्न पनि पाउने पैसा कमाउन पनि पाउने, उनीहरूलाई न आइसोलेसन, न क्वारेन्टिन। 

अनि पैसा खर्च गर्न आउने पर्यटकहरुलाई क्वारेन्टिनमा बस भन्ने अनि डुकुलन्ठक जस्तै डुलेर हिंड्न पाउने हो र? यस्ता वाहियात नियमहरु तुरुन्तै खारेज गरेर पर्यटकहरुलाई सहज वातावरण बनाई दिनु पर्छ।

मलाई लागेको त लेखी दिएं, अब पासाहरुले नै भन्नुस! संगठित संस्थाहरुले पनि सरकारको आँखा खोल्दिनु परो नि पासाहरु! कान खोल्दिनु पर्‍यो। 

बिचरा सरकारले अनुदान दिन सक्दैन होला, तर पर्यटक स्थलहरुको मर्मत तथा संभार गर्न, पदयात्रा मार्गहरुको संरक्षण, पर्वतारोहण मार्गहरु सरसफाइ गर्न हाम्रा पर्यटक ब्यबसायमा निर्भर रहेका पेशारतहरुलाई सामाजिक दुरीकायम गरेर रोजगारी सिर्जना गर्न गराउन त सक्छ नि यदि व्यवसायिक संघ संस्थाहरुले आ आफ्नो सदस्यहरुलाई परिचालन गर्न सक्छ भने।

पर्यटनमा पेशारत सबैलाई खोप दिनेकाम सम्पन्न गर्न सकिन्छ। स्थानीय सरकारलाई र स्थानीय पर्यटन ब्यबसायिक संघ, संस्थाहरुलाई परिचालन गरेर पर्यटन स्थलहरुलाई चुस्त दुरुस्त बनाउन सकिन्छ। यसबाट रोजगारी सिर्जना पनि हुन्छ, ब्यस्त पनि हुन्छ, हाम्रो पर्यटनलाई सहयोग पनि हुन्छ। जय पर्यटन! अस्तु!

Monday, 30 August 2021

पर्यटनको सपना

उस्लाई आज एकदम न्यास्रो लागेको छ रे! किन हो पासा भनेर सोधेको ट लम्बेटान कुरो पो गर्‍यो बा पासाले।

अभिभावक र सन्तानहरु बीचमा सम्बन्ध संधै एउटै नहुने रहेछ। बच्चा बेलामा मर्ला भनेर कयौं दिन रात नसुती नसुती बिताउने बुबा आमाहरुको मायाँ छोरा छोरीले बुझेनन भन्छ्न बा आमा! अनि मैले भने हाम्रो कुरै बुझ्न कोशिश नै गर्न हुन्न बा आमाहरु भनेको त पासा! घरमा घमासान युध्द नै होला जस्तो माहोल बन्यो। म त टाप!

एउटा काम गर्ने रहरथ्यो! त्यो रहर मात्रै होइन मेरो ब्यापार पनि हो, मलाई बानेश्वरको जग्गामा घर बनाउन दिनुस न बा भनेको त! बा त!  पूरा बम! तैंले कमाको होस र? हामी पछि तंलाई त हो नि। हामी जिम्दैछौँ। अनि तंलाई के कम गर्देछम र हाम्रो जग्गामा आँखा लाउने? हाँ! पाजी! 

अब बोल्न भो पासा! 

पासा: गर्न चैं के गर्न लाको नि पासा? टेरो कुरो नै नबुझेको हो कि टेरो बा माले! तैंले बुजाउन पो नसकेको होकि, भनम भने टिमी बर्मुले सब कुरो जानेको हुन्छ? छु धाए छु धाए का! 

अनि टेरो मालाई फकाएन? तेस्का बाजे! टेरो माले त टेरो बालाई ठिक गर्छ भनेक हैन? बाले कुरो नसुने पछि मालाई कचकच गर्दे त भैहाल्छ नि, पासा पनि क्या रेछ! लौ भन्! खास्मा चैं तैंले, के गर्न ला को? टेरो बाउलाई मैले भन्दिने भएं ल। 

भन्दिने हो त पासा? तैंले भनेर मेरो बा मान्ला र? खोइ! तै पनि ट्राई मारम न! मैले चै एउटा राम्रो रेष्टुराँ खोल्ने बिचार गरेको, जमीन छ, जग्गा भरी बोट बिरुवा छ। तो बोट बिरुवा नमारीकन एउटा राम्रो खानपिन गर्न मिल्ने र कर्पोरेट मिटिङ गर्न मिल्ने ठाम बनाएर बेपार गर्ने सोच बनाको छु। तर बा माले मेरो कुरो नै बुझ्दैनन। 


रेष्टुराँको कुरो गर्ने बित्तिकै रक्सी बेच्न हुन्न, मासु बेच्न हुन्न, होहल्ला हुन्छ, झगडा हुन्छ, डनहरुले दु:ख दिन्छ, पुलिसले दु:ख दिन्छ, बिग्रेका केटाकेटीहरु आउँछन, गांजा चरेस खान्छन, अनि हाम्रो बिज्जेत हुन्छ। त्यस्तो काम गर्न पनि दिन्न, जग्गा पनि दिन्न, जा जे गर्छस गर भनेर घरबाटै घोक्रेथ्याक लाइदियो नि पासा! 

का बेमान! टिम्रो बौ त खत्रा पो रेछ? का! टिम्रो बौ नै, डन जस्तो रेछ। म ट जान्न भो! बरु टिमी २-४ दिन मेरो घरमा बस्न आउ। टेरो बौ ले तंलाई नै घोक्रेथ्याक लाउंछ भने मलाई त लात का लात देला। ओहो! कुरो सोच्दा नै डर लाएर ल्याउंछ। भैगो पासा! अब टेरो बाउ हुन्जेल टेरो सपनालाई टंइले पनि प्याक गरेर राख। 

यो कुरो कसै संग मिल्न गएमा माफी माग्दिन है, संयोग भए त झन ठिकै भो भन्छु म! आफ्नो सपना पूरा भएन भनेर आफ्नै सन्तानको सपना पनि देख्न नसक्ने अभिभावकहरुले एक पटक फेरि सोच्दिनुस है! कतै तपाईंको सन्तानले तपाईंको साथ नपाएर मानसिक तनाबमा त छैन? 

अन्तमा मेरा धेरै बिद्यार्थीहरुको पर्यटनमा समर्पितहुने सपनालाई अभिभावकहरुले नबुझेको देख्दा यो लेख सिर्जना हुन गएको छ। जस्ले जे भने पनि मेरा बिद्यार्थीहरु लगनशील भएर पर्यटनबाटै स्वरोजगार बन्नुका साथै आफ्ना ठाउँमा रोजगारी पनि दिनेछ्न। यो सपनामा अभिभावकहरुले साथ दिनु भए सुनमा सुगन्ध हुनेछ भन्ने बिश्वास लिएको छु। अस्तु!

Wednesday, 25 August 2021

Canyoning: Feel the difference


Have you ever been to play with the spring water? If no? This article is for you. If yes! Try Sundarijal canyoning.

I am fond of water, specially the canyoning in spring water in Nepal. I have been watching and experiencing the fresh water from the jungle of Shivapuri National Park, the nearest national park ever from the capital city of Nepal, Kathmandu. It is developed as a passion adventure game for us. Means my friend Kishor Shahi and me. He is a real adventurer and me is an adventure lover. We both involved for the development of adventure tourism game without any knowledge in the past. After 30 years of involvement in this field, we are coming up with the new concept for stress management through adventure activities. 

If you want to stress out your mind, body and soul, you will love to involve in this adventure. We do not promise. We make you feel happy. We do not talk much. We work in your holidays. Let you make feel the difference. 

Come on! Join the team of TEN. Make tension free.

If you are interested send me your message in my whatsapp/viber +977 9849252911
Vinaya Shakya
Travel Consultant.

Friday, 20 August 2021

शंका


हेल्लो नमस्ते भाउजू! आराम हुनु हुन्छ? अनि साथी खोइ त! अझै सुतेछ? अल्छी मोरो! त्यो केटाको बानी अझै सुध्रेन है भाउजू?

त्यै त! बिहे गर्नु अगाडिको त थाहा भएन, बिहे भए देखि नै यस्तै हो। आजकाल त यस्तै त हो नि यो मान्छे भनेर वास्ता ब्यस्ता नि हुंदैन। सुरुसुरुमा कस्तो मान्छे रैछ जस्तो लाग्थ्यो। कस्तो संग बिहे भएछ? जिन्दगीभर यै व्यवहार हुने हो कि? केही फेरिन्छ कि? भन्ने आशा गरेको थिएं। आशा त आकाशकै फल भयो।

यस्तै हो भाउजू! अनि चिया पिइस्यो त भाउजू? त्यो त हामी स्कूलाँ पढ्दा देखि नै अल्छी थ्यो नि। तर पढ्नमा त तेज थ्यो नि हगि भाउजू, त्यो बज्ज्या! उठाउनुस त, त्यो बज्ज्यलाई! आज बिहानै मिटिङमा जानुछ।

यता श्रीमतीले भाउजू संग कुरो गरिरा सुनिरा रैछ! अं भाउजू संग त्यस्तरी मस्की मस्की कुरा गर्नु पर्छ? अर्काकी श्रीमती संग मस्केर कुरा गर्दा लाज पनि लाग्दैन है बुढा? याँ आफुलाई भने एक पटक पनि चिया खायौ कि खाएन भनेर सोधेका छौ? वाँ भने साथीको श्रीमती, भाउजूलाई चिया पिइस्यो भनेर सोध्ने! पखलास बुढा! तिम्रो चाला मलाई निको लाको छैन है! के चक्कर चलेछ हाँ? भाउजू! भाउजू! भन्दै मस्केर कुरा गरिराछौ त!

हत्तेरीका बुढी! कस्तो कुरा गर्छ्यौ बुढी! मैले के कुरा गरें, कैले मस्केर कुरा गरें। यस्सो औपचारिक कुरा गर्दा नि शंका? त्यो साथी र भाउजू दुबै मेरा बाल्यकालका साथीहरु हुन। हाम्रो कुरो गर्ने तरीका नै यस्तै हो। हाम्ले एकआपसमा आफ्नो कुराकानी गर्दा यस्तै हो। त्यो भाउजू, भाउजू भन्दा बढी त साथी हो! अहिले सम्म कसैले शंका उप शंका गरेको छैनन। न मेरी आमाले न उन्की आमाले? न मेरा बा ले न उन्की बाउले। 

अं त्यो बेला तिमिहरु बालक बालिका थियौ, अहिले जवान भै सक्यौ, अनि हेर्ने दृष्टि नै फरक परि सक्यो! सोच परिबर्तन भै सक्यो, अनि शंका नगरे के गर्ने त? पात्तेको बुढा!

हेर बुढी! त्यसो त त्यो भाउजूले म जस्तो केटा पाए बिहे गर्छु भन्याथ्यो है! मैले पनि अलि घिउ थपिदेको त। आम्मामा! बुढी त आगो मात्रै होइन, बम नै भो नि। अनि ड्याङ ड्याङ पड्किन थाल्यो।

मलाई त पहिले नै थाहाथ्यो, त्यो भाउजूको चालामाला र तिम्रो ताल देख्दा! त्यै भएर त भाउजू, च्या खाइस्यो? खाना खाइस्यो? भनेर मसक्क मस्केर कुरो गर्नु पर्‍या नि! त्यो नक्कली नि के भाकी घरमा त्यस्तो ह्याण्ड्सम बुढो हुंदा हुँदै पनि मेरो लिखुरे बुढालाई आँखा लाउंदो रैछ। 

होइन! मेरो साथीलाई तिम्ले नि हेण्ड्सम देख्यौ? त्यो भुँडेलाई हेण्ड्सम भन्यौ त बुढी! के छ तिम्रो चाला माथी पनि मैले शंका गर्न पर्ने भो नि। घरमा यस्तो स्लीम बुढो हुंदा हुँदै मेरो साथी माथी आँखा लाउंछ्यौ? 

ए बुढा! मलाई तिमिले शंका गर्ने? मैले तिम्रो के बिगार गर्देको छु र हं? पापी! म जस्ती सोझिलाई शंका गर्दा रैछ्न। हरे भगवान!

हो! मैले तिमिलाई यत्ति भन्दा कति छिटो रिस उठ्दो रहेछ हगि? बेकारमा शंका गरेर हाम्रो सम्बन्धमा आगो लाउने काम नगरम त।
अस्तु!

Tuesday, 10 August 2021

पुस्तामा जेलिएको मान्छे म

अघिल्लो पुस्ताले
हाम्रो पालामा यस्तो भाथ्यो
उस्तो भाथ्यो
तैंले के गरीस? भन्नुहुन्छ।

पछिल्लो पुस्ताले 
जमाना काँबाट काँ पुगिसक्यो?
उहिलेको कुरा खुइले भन्छ।
तपाईंको जस्तो होइन भन्छ,
तपाइँले के गर्न सक्नु भयो र? भन्छ।
मेरो पुस्ता
गुच्चा खेलेर औंलाको कसरत गर्ने,
भेट्टाई खेलेर खुट्टा दर्‍हो बनाउने,
भकुण्डो खेलेर स्वस्थ्य हुने,
लट्टु खेलेर हातको मस्सल बढाउने,
साथी बोकेर पहलवानी देखाउने,
रुख चढेर आत्मबिश्वास बढाउने,
सिस्नो खाएर आइरन पाउने,
तीन किलोमीटर परबाट
दुबै हातमा पानी भरिएको,
बाल्टिन र ग्यालेन बोकेर घरमा पुर्‍याउने,
डोकोभरीको तरकारी फलाउने,
एक भारी दाउरा बन्चरोले चिर्ने,
बाउसे र खेताला भएर छर छिमेकीलाई सघाउने,
मकै, भटमास अनि च्युरा चपाएरै खाने,
स्कुल जांदा चाउचाउ खाएन,
बिहान ब्रेकफास्टमा पोरिज खाएन,
न त कर्नफ्लेक नै खाए,
खाए त गेडागुडीको क्वाटी अनि साट्टु खाए।
समाजमा केहि पर्दा अघि सरे,
उस्ले गर्ला, त्यस्ले गर्ला भनेन
आफैले गरे। कुरेर बसेन।
काम बिग्रेमा आफैले जिम्मेवारी लिए
अहिलेका नेताले जस्तो अरुलाई दोष दिएन।
आफ्नै पाखुरी बजाएर खाए,
निर्धक्क भएर बसे,
बिना तनाव जीउन सिके।

Tuesday, 27 July 2021

Online examination guidelines

All the best for all our students who are attempting the exam online. Have patience, be prepared, do your home work, get ready for the exam, paper, pen, pencil, scale, references, laptop or computer or sacnner or smart mobile phone. Please go through the following check list.

1. Check your time bound schedule
2. Check your blank papers
3. Keep spare blank papers
4. Name
5. Subject
6. Subject Code
7. Program
8. Level
9. Semester
10. Role No./ Symbol No.
11. Date
12. Minimum 1-inch Left line indent margin
13. Page no.
14. Question no. and answer no.
15. Patience to scan with the Q.No. & page no.
16. Select portrait mode
17. Scan with serial page no of answer sheet
18. Arrange header footer with page no.
19. Recheck all pages in serial no.
20. Merge all page with serial page no.
21. Save with your Name, Subject, Roll No.Or Symbol No.
22. Convert into .pdf and share with your email
23. Better Compress / Zip and email
24. Update your Email Subject: Sem_Sub_SymbolNo. And send to college exam dept email.

Monday, 5 July 2021

छुच्ची बजै

आम्मामा! तपाईं त कस्तो छुच्ची बजै रैछ हो! एउटा कुरो पनि नबुझ्ने? संधै उ बेलाँ हाम्राँ यस्तो, उ बेलाँं हाम्राँ त्यस्तो मात्रै भन्नु हुंदो रेछ। 

अन्त के बजै! तपाईँका छोरा बुहारी, छोरी ज्वाईंहरु सबैलाई यस्तै बेबार गर्नु हुन्छ कि नाइँ ? 

तेरिमातोक्ने! मलाई बुढी भनेर हेप्नी? किन चाहियो तंलाई? मेरो परिवारमा कस्लाई कस्तो बेबार गर्ने भनेर तँ हिंजोको चल्लाले मलाई सिकाउँछस? तँ जस्तालाई मैले गर्ने बेबार यस्तै हो। तंलाई न जात न भात, न ठुलालाई सम्मान न सानालाई मायाँ। तिमहरुलाई यो समाज कसरी चल्छ भनेर के थाहा? म त जम्दारकी एक्ली छोरी हो। मैले जे मागे पनि मेरो माइतीमा पुर्‍याइ दिन्थे हाम्रा बा आमाले। अइले पो बुढो भएसी तिमहरुले नि जिस्काउने भए?

हाम्रो पालामा मलाई कसैले आँखा तर्न सक्दैनथे। स्कुलमा त मेरो बाले जे भन्यो त्यै हुन्थ्यो। म स्कुलमा भर्ना मात्रै भए पुग्थ्यो। मार्क सिट त घरमा नै ल्याई दिन्थे। तंलाई के थाहा? बिहेमा मेरो बुढोलाई एउटा घर अनि हाम्लाई चाहिने अन्न उमार्ने खेत, तरकारी बारी, दुई चार जना नोकर चाकर, एकहल गोरु, दुई जोडी बाख्रा बाख्री पठाएका हुन नि। 

अहिलेका बुहारीहरु त खाली हात पो आउँदा रेछ्न। लाज नभाकाहरु! हन ! के भाका हुन तिन्का बा आमा पनि? घरमा खानेकुरा पकाउन भाँडाकुँडा, लुगाफाटो धुने बाटा, पानी बोक्ने गाग्रीहरु त ल्याउनु पर्ने नि? कै नल्याईकन पो आउँदा रेछ्न। सब्बै मेरो भाँडाकुँडा चलाउंछु पो भन्छे। म पनि के कम? मेरो पालो सबै भाँडाकुँडा ढुकुटीमा ठन्क्याइ दिएँ। अब हेर्छु नि ! के मा पकाउने रेछ्न? के मा धुंदा रेछ्न?

हो बजै हो! तपाईंको पालामा त तपाईंहरुको बोलवाला नै थ्यो भन्ने कुरो त अहिले पनि देख्छु हो म त। अहिले सम्म पनि उ बेलाकै कुरामा अल्झेर बसेर हुन्छ त बुढीमाउ? त्यै भएर पो बुहारीहरुलाई आ आफ्नो घरबाट दाइजो ल्याए पो हुन्छ भन्नू हुंदो रहेछ। अन्त तेत्रो भाँडाकुँडा थन्काएर के गर्ने बिचार छ त बजै?

तं बज्यालाई के को चासो हं? मेरो छोराछोरीलाई पो चलाउन दिने होर! बुहारीलाई चलाउन दिन्छु त मैले? अस्तु! 

Saturday, 3 July 2021

पर्यटन पनि अनेक अनेक ( Tourism Variety )

१. गाउँ पर्यटन ( Village Tourism )
२. पर्या पर्यटन ( Eco Tourism )
३. गोठ पर्यटन ( Goth Tourism )
४. सफारी पर्यटन ( Safari Tourism )
५. शाहसिक पर्यटन ( Adventure Tourism )
६. खेल पर्यटन ( Sport Tourism )
७. होमस्टे पर्यटन ( Homestay Tourism )
८. दृश्यावलोकन पर्यटन ( Sightseeing Tourism )
९. टेम्पलस्टे पर्यटन ( Temple stay Tourism )
१०. पदयात्रा पर्यटन ( Trekking Tourism )
११. खाना पर्यटन ( Gastronomy Tourism )
१२. धार्मिक पर्यटन ( Pilgrimage Tourism )
१३. सांस्कृतिक पर्यटन ( Cultural Tourism )
१४. सम्पदा पर्यटन ( Heritage Tourism )
१५. योग पर्यटन ( Yoga Tourism )
१६. ध्यान पर्यटन ( Meditation Tourism )
१७. रोपाई पर्यटन ( Ropain Tourism )
१८. आलु पर्यटन ( Potato Tourism )
१९. कृषि पर्यटन ( Agro Tourism )
२०. बगैंचा पर्यटन ( Garden Tourism )
२१. फलफूल पर्यटन ( Horticulture Tourism )
२२. बन जंगल पर्यटन ( Jungle Safari Tourism )
२३. हवाई पर्यटन ( Aerial Tourism )
२४. जल पर्यटन ( Aqua Tourism )
२५. फिरन्ते पर्यटन ( Nomadic Tourism )
२६. सामुहिक पर्यटन ( Community Tourism )
२७. पारिवारिक पर्यटन ( Family Tourism )
२८. ब्यबसायिक पर्यटन ( Commercial Tourism )
२९. आन्तरिक पर्यटन ( Domestic Tourism )
३०. वैदेशिक पर्यटन ( International Tourism )
३१. सर्प पर्यटन ( Snake Tourism )
३२. हिम नदि पर्यटन ( Glacial Tourism )
३३. बन्यजन्तु पर्यटन ( Wildlife Tourism )
३४. शिकार पर्यटन ( Hunting Tourism )
३५. दीगो पर्यटन (Sustainable Tourism)
३६. झाँक्री पर्यटन (Samanism Tourism)
३७. गाडा पर्यटन (Bullock cart Tourism)

Friday, 2 July 2021

म मनको राजा

तैंले भनेको म गर्दिन
तैंंले भनेको म सुन्दिन
तैंले भनेको म मान्दिन
तैंले गरेको म हेर्दिन
म यो देशैको ठूलो मान्छे
तं हिंजोको भुतप्रेत
म आजको बर्तमान
भोलि कस्ले देखेको छ र?
मैले सोचेर बस्न भ्याउँदिन।
म जे गर्छु ठिक गर्छु
मेरो लागि गर्छु
म भनेको देश हो
म भनेको राष्ट्र हो
म भनेको संसद हो
म भनेको कार्यपालिका हो
म भनेको न्यायालय हो
म भनेको सर्बेसर्बा हो
त्यसैले तं नकरा!
तेरो केही हुने वाला छैन
म भनेको स्वघोषित राजा हो
मान्ने नमान्ने तेरो अधिकार हो।

तं

तंलाई मैले के भन्ने?
राजा?
राजकुमार?
राक्षस?
डंकिनी?
कुकुर?
गधा?
भात्ते?
चोर?
डाँका?
अलक्षीना?
पागल?
बौलाहा?
नेता?
कै भन्न मन लाग्दैन!
तेरो बुद्धि भएपो?
तं मान्छे भएपो?
तं मा सम्बेदना भएपो?
तंइले मेरो कुरो बुझे पो?
तंलाई तं भन्ने!

Saturday, 12 June 2021

मनका कुरा

बैराग लाग्छ रे बाजेलाई! 
किन र? भनेर सोधेको त तंलाई किन चाहियो? तैंले के गर्न सक्छस र भनेर हपारेर पो पठाउनु भयो। सक्न न मैले के गर्न सक्छु र तै पनि मैले तपाईंको कुरा सुन्न सक्छु नि! कम्सेकम तपाईंको मन हल्का हुन्छ नि बाजे! भनेर बल्ल बल्ल सम्झाउन थाले पछि, बाजेले आफ्ना मनका कुरा खोल्नु भयो। 
बाजेको कान्छी छोरीको बिहे भएको पनि धेरै भाको रैनछ। कान्छी श्रीमतीकी कान्छी छोरीलाई कहिले पनि केही कमी नहुने गरेर हुर्काएकी रे! बाजेले गहभरी आँसु राखेर भन्नु भयो। मेरी कान्छीलाई मैले कहिले पनि गाली गरेन, न त मैले केहि कमी नै गरें। अरु छोरा छोरी भन्दा अझ बढी मायाँ पाई। 

यीनकी आमा मलाई असाध्यै मन परेकोले जिम्दारलाई फकाएर ल्याएको। अलि अतितका रोमान्स सम्झंदै बाजेले मस्केर भन्नुभयो। कान्छी श्रीमती जिम्दारकी कान्छी छोरी नै रहिछे। बैंसमा आँखा देखिनन अनि म बुढो संग सल्केकी भन्न भ्याउनु भयो बाजेले। अलि मन्द मुस्कान मा निर्धक्क भएर अनि खुलेर पनि।

तर के गर्नु बाबु! (फेरि कान्छी छोरीको कुरो सम्झेर) कान्छीको कर्म! हेरन! अहिले कति गाहारो भएछ बिचरीलाई! परीवार सम्पन्न नै छ। घरमा धेरै काम पनि गर्नु पर्दैन रे! तर कान्छी.....! बाजेले कुरा अगाडि बढाउन सक्नु भएन। आँसु झारेर भैगो! जाउ बाबु! के भन्नु र! फेरि उता कुरो पुग्यो भने मेरी कान्छीले अनेक कुरो सुन्नु पर्ला। जे होला मेरी कान्छिले नै सम्हालेर लैजाला। अब पाको भै सकेकी छे। समयले कस्ति मान्छे कस्ति भइछे। अहिले आफैले कुरा सिकाउंछे रे! 

मैले त कुरा पनि गर्न सक्दिन। मलाई गार्‍हो होला भनेर, सबै ठिक छ भन्छे। ठिकै होला नि! अब मेरी कान्छी मेरो घरमा होइन उनकै घरमा रमाउन पर्छ रे भन्छे। मैले समय मै औषधि खायो खाएन भनेर संधै सोधी रहन्छिन। अरु छोरा छोरीहरु सबै आ आफ्नै घरजम गरेर बसिसकेकाछ्न। अरुको मलाई चिन्ता लाग्दैन। यहि कान्छीको अलि बढी मायाँ लाग्छ। 

ए बाबु! तिमी को हौ? अनि मेरो कुरो किन खोतलेको? खैर! तिमी संग कुरा गरेपछि मेरो मन हल्का चैं भयो है। धन्यबाद बाबु!

वाहियात चियो चर्चा

समय कसरी कटाउने?
संधै बिहान देखि नै काम खोज्न जानु पर्ने भएकोले मेरो छिमेकमा को आए, को गए, थाहा हुन्नथ्यो, न त फुर्सद नै!

तर यस्पाली कडा लकडाउन भएसी ठेकेदारले पनि काममा नआउ डेरामै बस भनेपछि, उपाय केही लागेन। कहिँ कतैबाट काममा बोलायो भने नि डेराबाट बाहिर जान लाग्यो भने घरबेटी बाले अनेक कुरा सोधेर दिमाग खराब गर्दिन्छ। बल्ल बल्ल छ्लेर सडकसम्म पुगें भने ट्राफिक प्रहरीले केरकार गरि हाल्छ। नक्कली पास लिएर फटाईं गर्ने आँट यसपाली आएन। 

आफुले चिनेका नातेदार, संगै हिंडेका साथीहरूले यो संसार धमाधम छाडेर गएको आफ्नै आँखाले देखे पछि र सुने पछि बाहिर बरालिने कुरै भएन र यसपालि म डेरामै थन्किएको छु। 

अब दिन भर पाइपसंग खेलेर प्लम्बिङको काम गरेर हिंड्ने मान्छे मलाई समय कटाउन सुरुसुरुमा निकै गार्‍हो भयो। ठुला बडाहरु त मोबाइलमा ईन्टरनेटमा नै रमाएर बस्दो रहेछ। घरबेटी बा का छोरा छोरी नाति नातिनाहरु कोही पनि हल्ला गर्दैनन्। एक आपसमा बोलेको पनि सुनिंदैन।

मेरो कोठा अलि पर्तिरको कटेरामा छ। त्यति धेरै मानिस बसेको घरमा कहिलेकाहीं मात्रै आवाज आउँछ। बिहान र बेलुकी घरबेटी आमाले पुजा गर्दा र आरति दिनु भएको बेलामा मात्रै शंख र घण्टी। अनि बिजुली गएको बेलामा। खाना खाने समयमा पनि सबै मोबाइलमा नै झुन्डिएको देख्छु। के रहेछ कुन्नी त्यो मोबाइलमा? आफ्नोमा त कुरा गर्न मात्रै मिल्छ।

अब रह्यो मेरो समय कसरी कटाउने?

छिमेकी भाउजु र छिमेकी काका
लोभि आँखा पापी मन, घराँ राम्री स्वास्नी भएनी आर्काकी श्रीमतीलाई आँखा लाउने मेरो छिमेकी काकाको प्रेम प्रसंग यसपालीको लकडाउनमा मेरो समय कटाउने मेसो बन्यो।

अनि मेरो ध्यान त्यो छिमेकी काकाको आनी बानी चियो चर्चा गरेर रमाइलो हेर्न मन लाग्यो। गज्जबको सिनेमा लाईभ देख्न पाइयो। वल्लो घरको अधबैंसे काका र पल्लो घरको भाउजू। के कुरा हुन्छ त्यो त थाहा भएन! मेरो कोठाको झ्यालबाट भने त्यो दुइटा घरमा हुने प्रेम प्रसंग चाहिँ प्रष्ट देखिन्छ। 
काकाले के संकेत गर्दा हुन, छिमेकी भाउजु पनि ट्याक्क समयमा निस्कनु हुन्छ। भाउजु बार्दलीबाट र काका झ्यालबाट निक्कैबेर मच्ची मच्ची कुरा गर्छन्। कैले काहिँ काका आत्तिएर कोठामा जान्छ्न भने कैले भाउजु स्वात्त भान्छामा दौडेर जानु हुन्छ।
काकी नराम्री पनि हैनन। यता भाउजुको श्रीमान कालेदाइ अलि काले भएनी बानी ब्यहोरा र राम्रै छ। तैपनी यस्तो! सायद, मैले सोचेको जस्तो नभएको पनि हुन सक्छ, सायद भाउजु फरासिली पनि हुनुपर्छ।

हैट, म पनि के भएको? त्यो भाउजु र त्यो काका न मेरो आमा पट्टीको न मेरो बाबा पट्टीको! किन टाउको दुखाउने? किन शंका उप शंका गरेर बस्ने? वाहियात चियो चर्चा! यसरी समय कटाउने मेसो बनेको छ। 

त्रिङ त्रिङ मेरो मोबाइलको घण्टी बज्यो! ठेकेदारले के चाहियो? खाना ल्याइ दिने हो? भनेर पो सोधेको रहेछ। धन्य! मेरो अन्नदाता! अस्तु।
 

Friday, 21 May 2021

यो कस्तो जिन्दगी !

के समय आयो यस्तो? आपतमा एक्लै हुन्छ भनेको सुनेको। अहिले यो कोरोनाले भटाभट नातागोता सोरेर लगेको देख्दा भोलिको दिन पनि हेर्न पाउने कि नलाउने झैं लाग्न थालिसक्यो। 

हेलिकप्टर, अस्पताल, एम्बुलेन्स, आइ सि यू, भेन्टिलेटर, रेम्डेसिभिर, निमोनियाँ, फोक्सो बिग्रेको आदि शब्दहरु कानमा निरन्तर परिरह्यो। श्वास रहिन्जेल आस, श्वास गए पछि लास भनेको यहि नै हो रहेछ। परे पछि बल्ल थाहा पाउंछ।

यो २०७८ सालको बैशाख र जेष्ठ महिनामा यति धेरै नातेदारहरु र चिनाजानका ब्यक्तिहरुले धमाधम आँखा चिम्लिएर देहत्याग गरेको सुन्दा सुन्दा आजित भैसक्यौं। कहिं कतै श्रध्दाञ्जली दिन जान त परै जाओस, समबेदना दिन जान पनि पाएनौं। सामाजिक संजालको माध्यमबाट समबेदना र श्रध्दाञ्जली लेख्न सम्म पाएका छौं।

यी औंलाहरु यी शब्द लेख्न थाकी सकेका छन् । अक्षर लेख्न मन लाग्दैन। समाचार हेर्न र सुन्न मन लाग्दैन। हातहरु थरथर कांप्न थाल्छ। आँखा धमिलो हुन्छ। मुटु हल्लिएको जस्तो हुन्छ। कता कता पेट दुखे झैं, कलेजो हल्लिए झैं, फोक्सोले काम नगरे झैं के भा के भा झैं हुन्छ यस्ता समाचारहरुले। 


जीबनको अन्तिम घडीमा प्लास्टिकले बेरिएर जानू पर्छ भनेर कस्ले सोचेको थियो? बडा कठिन हुंदो रहेछ, चाङ का चाङ लासहरु गाडीमा राखेर लगेको र थुप्रीएको देख्दा अनि मन छ्ताछुल्ल हुन्छ। त्यो जलिरहेको शरीर देख्दा। मन भक्कानिएर आउँछ, तर आहत यो मान्छेले केही गर्न सकेको छैन। दिवंगतहरुले सुखावती भुवनमा बास पाओस भन्ने कामना गर्दछु।

तर आफ्नो मन बलियो बनाउने बाहेक अरु कुनै उपाय छैन। बांचुन्जेल हामीले एक आर्कालाई सर सहयोग गर्ने काममा लाग्दा मन बहलाउन अलिक सहज हुन्छ। अस्पतालमा रहेका बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। अस्तु !

Friday, 14 May 2021

बैंकको अपडेट

बैंकहरुले आजकाल फोन गरेरै अपडेट लिन लागेको छ। तर भन्ने तरिका मिलाएर। तपाईलाई हाम्रो सेवा कस्तो लाइरा छ? 

मलाई त के लाग्छ भने त्यो बैंकले तपाईं बांच्नु भाको छ कि छैन? कोरोनाले लग्यो कि लगे छैन भनेर सोधिखोजी गरेर तपाईंको खातामा रहेको रकम हाम्ले के गरुम भनेर सोध्न ला हो कि? जस्तो पो लाग्यो यार! भनेर एउटा साथीले भन्यो। त्यो त बैंकलाई नै थाहा होला। तपाईं हाम्रो बैंकमा रहेको रकम धेरै बर्षसम्म कारोबार भएन भने झ्वाम भएको खवर पनि समय समयमा सुन्नमा आएको छ। त्यसैले आफ्नो विवरण KYC अपडेट गर्नु पर्छ।

नत्र, अहिले सम्म ग्राहकलाई वास्ता नै नगर्ने बैंकले पनि फोन किन गर्थ्यो? होइन र ? कुरो गहिरो छ। अस्तु।

Thursday, 13 May 2021

यमराज

हरेक मास्क नलगाएको मान्छेमा मैले यमराज देख्छु। मलाई मात्रै पक्कै होइन, तपाईंलाई पनि त्यस्तै हुन्छ होला। अनि तरकारी पसलमा ओल्टाई पल्टाई साग हेर्ने मान्छेहरु यमराजका चम्चा जस्तो लाग्छ। बाटोमा तर्केर हिंड्दा राम्रो लाग्छ, फर्केर हेर्दा डर लाग्छ।
कोहीले कुरा गर्दा मास्क झिक्दा यमराजले कुरा गरेको जस्तो लाग्छ। कैले जाने हो ? भनेर जिस्काएको झैं लाग्छ। अझ थुक निकालेर बोल्ने मान्छे देख्दा त चित्रगुप्त नै आए झैं लाग्छ। हाक्छिंउँ गर्दा नाक नछोप्नेहरु चै कस्तो असक्तीहरु झै लाग्छ। बजारमा पनि खाक थु, गरेर निसंकोच हिंड्ने मान्छेहरु जन्तु जस्तै नै लाग्छ।

आफुलाई मात्रै लागेर नहुने रेछ। न मैले त्यस्ताको बानी सुधार्न सक्छु, न मैले सबैलाई भनेर हिंड्न सक्छु। अस्ति मास्क नलाइकन हिंडिराखेको एक जना मान्छेलाई यस्तो त गर्न भएन नि बाबै ! भनेको त त्यस्का बाजे "तेरो बाउको बाटो हो?" भनेर उल्टो जवाफ फर्कायो। "खोक्दिउं ! मलाई कोरोना भाछ" पो भन्दिरा! 

आफ्नो त साटो पुट्लो नै उड्यो नि ! ताप दिइयो ! तेस्का बाजे संग बाझेर बस्नु भन्दा त नबोल्नु नै ठिक। होइन त? कि कसो? अस्तु!
 

Sunday, 9 May 2021

आफन्त गुमाउंदाको पीडा

बिना काकी ! आज हाम्रो बिच रहनु भएन। शुक्रबार २४ चैत २०७७  एम्बुलेन्समा आउँदा आउंदै हामीलाई छाडेर जानु भयो। जेठी छोरीले आफ्नै आँखा अगाडि आफ्नो आमा गुमाउंदाको पीडामा हामीले केहि गर्न सकेनौं।
अस्ति देखि हेलिकप्टरको आवाज सुन्ने र आकाशमा हेर्ने बाहेक हामीले तपाईंको लागि जाबो हेलिकप्टर पनि ब्यबस्था गर्न सकेन भन्नु भयो होला। हामी पनि लाचार मात्रै भयौं। यति धेरै चिनेजानेकालाई गुहार्दा गुहार्दै पनि एउटा हेलिकप्टरको ब्यबस्था मिलाउन सकेनौं। 

घोडेजात्रामा काठमाडौंको आकाशमा सरकारी पेट्रोलमा उड्नेहरुले आज आम नेपालीको पीडामा ट्वाल्ल परेर हेर्ने बाहेक त्यो शैनिकको हेलिकप्टरलाई कोभिड एम्बुलेन्समा परिवर्तन गर्ने सायद सरकारले सोचेका पनि छैनन्। 

कति कष्ट भयो होला तपाईंलाई त्यति लामो बाटोमा त्यो एम्बुलेन्समा, अनि त्यो अक्सिजनको भरमा। त्यो त तपाईं संग हामीले सोध्ने आँटसम्म पनि गर्न सक्दैनौं। 

पोहोर मात्रै कोरोनाले थला परेकाहरुको लागि भनेर तपाईंको परिवारले लुम्बिनी प्रदेश सरकारलाई दशलाख रुपैयाँ दिएर एउटा आइ सि यू बनाउनुस भनेको सुन्दा कति खुशी भएथ्यौं हामी। सारा नातेदार साथीभाईहरु खुशीले गदगद भएका थियौं। तर आज तपाइँ आफैंलाई आवश्यक पर्दा एउटा आइ सि यू पनि मिलाउन सकेनौं। खेर तपाईंको सहयोगले अन्य कतिले उपभोग गर्न पाए होलान स्वास्थ्यलाभ गरे होलान तर पायो कि पाएन, प्रदेशको सरकारले हिसाब किताब गर्दै होला।
फोटो स्रोत: सत्य राज शाक्य फेसबुक

भर्खर दुई हप्ता भएछ, काकीलाई भेट्दा मैले मास्क लगाएकोले "चिन्दै चिनिन" भन्नु भएको अझै मेरो कानमा गुन्जिएको छ। अस्ति लिएको फोटोमा रहेको हांसो अझै उस्तै छ। तर तपाईंलाई अन्तिम दर्शन सम्म गर्न आउन पनि सकेनौं। 

अनिच्चावत संखारा! यो संसार अनित्य छ, तपाईंको सुखावती भुवनमा बास होस भनी कामना गर्दछौं। हार्दिक श्रद्दान्जली!!!


Saturday, 8 May 2021

कोरोना : सरकार कता छौ?

हेलिकप्टर चाहियो। चाहियो भने पछि चाहियो। जसरी भए पनि चाहियो। तपाईंले चिनेको छ भन्या होइन? चिनेका मान्छेहरुले गर्दिहाल्छ नि, अहिले नगरे कहिले गर्ने? चाहिएको बेलामा नभए कहिले गर्ने? लौ अहिले नै मिलाइ दिनुस। 
यसरी बिलौना गरेर पनि हेलिकप्टर पाइएन। हेलिकप्टर मात्रै होइन, अस्पतालमा पनि आइ सी यु को पनि यस्तै हालतको सामना गर्दैछौं, अहिलेको यो परिस्थिति यति नाजुक भएको छ कि चिने जानेका, भए भरका आफन्त, सर, हाकिम, डाक्टर, औषधि बिक्रेता, साथीभाईहरुलाई फोन गर्दा पनि न अस्पताल, न हेलिकप्टरको ब्यबस्था गर्न सकियो। अन्त त आफन्तजनको अकालमा देहान्त भएको देख्नु परेको छ। यो मैले मात्रै भोगेको होइन, यो देशमा आम नेपालीले पनि यस्तै भोगेका छन्। हरेक दिन अक्सिजन नपाएर, आइ सि यु नपाएर, अस्पताल सम्म पुग्न एम्बुलेन्स नपाएर, हामी नेपालीले ज्यान गुमाउनु परेको छ। 

अनि समाचार सुन्दा, यो देशमा सरकार, सत्ताको लडाइँ लड्दै छ। बिचरा सरकारलाई, कोरोनाको कहरमा ध्यान दिन पाएका छैनन्। अनि दुई हात उठाएर भन्छ, आफ्नो स्वास्थ्यको ख्याल आफै गर। न अक्सिजन ब्यबस्था गर्न सक्छ, न खोप ! अनि बन्देज पनि लगाउंछ।
 
अक्सिजन जस्तो जीवन रक्षक पनि स्वास्थ्य मन्त्रालयको अनुमति लिएर मात्रै पाउने रे! अक्सिजन खोज्ने कि मन्त्रालय धाउने कि अस्पतालमा कुरुवा बस्ने कि? आफ्नो मान्छेको ज्यान गएको टुलुटुलु हेरेर बस्ने?

हे सरकार ! तिमी कुन दुलोमा छौ? अस्पताल कागजले चल्दैन, बिरामीले अक्सिजन खोज्न तिम्रो चाकडीमा समय दिन सक्दैन। आफ्नो ज्यान बचाउन एक मुठी सास रहुन्जेल बांच्ने आस हुन्छ। यस्तो गैर जिम्मेवार सरकार हाम्लाई चाहिएन। 

चुनाबमा भोट माग्ने बेलामा जोडेका हातहरु अनि अहिले माननीय भएकाहरुले हाम्रो स्वास्थ्यको ख्याल गर्न सक्दैन भनेर हात उठाएको देख्दा यस्ता निकम्मा हुत्तिहाराहरुलाई सरकारमा बस्ने अधिकार पनि त रहन्न होला नि! कुन मुखले आफुलाई मुखिया सम्झेका छौ? 

निजी अस्पतालको मनोमानीलाई अनुगमन गरेर सरकारी अस्पताललाई राम्ररी निगरानीमा राख्न सक्यो भने अनि चिकित्सक र चिकित्सा सेवामा रहेकाहरु र औषधि बिक्रेताहरुलाई जिम्मेवार बोध गराउन प्रेरणा दिन सके अस्पताल मन्दिर हुन सक्छ। अस्तु।


Tuesday, 4 May 2021

कोरोना

सोंच्न पनि नसक्ने,
बोल्न पनि नसक्ने,
काम त परै जावोस,
खोक्न पनि नसक्ने।

हे ! कोरोना !
के हो तिम्रो पारा,
डगमगाएका छन सारा।

Saturday, 17 April 2021

ब्रेकफास्ट

यो पर्यटनको दुनियाँमा बिहान बिहान खानेकुरालाई "ब्रेकफास्ट" भन्ने रेछ नि त गाँठे! हाम्ले त घर तिर गेडागुडीलाई भुटेर साटु बनाएर खाने गर्थेम। अनि त्यही साटुलाई कैले काहीं पानी हालेर घोलेर पिउने पनि गर्थेम। क्यानम, कैले काहीं घ्यू टन्न राखेर हलुवा बनाएर पनि खान्थेम। कैले लिटो बनाएर पनि खान्थेम। अनि खाजा भन्थेम।

तिम्रो त त्यो पीठोको कुरोथ्यो। आनी हाम्रो कुरो सुन! हाम्राँ त आलु चट्ट पोलेर घ्यू चट्ट हालेर ग्वाम ग्वाम खाइन्थ्यो। उस्तै परे उसिनेर, बोक्रा सोक्रा खोलेर, पच्याक पुचुक पारेर, धुलो पीठो हुने गरी मजाले मोलेर आलुको ढींडो पनि खाइन्थ्यो है!

एक दिन एउटा खैरे संग रेस्ट्राँमा गाको त त्यै ढींडोलाई म्यास्स पोट्याटो भन्दिरा भन्याँ। अनि ब्रेकफास्ट रे। कति पनि फास्ट थिएन हउ! त्यति जाबो आलु पच्याक पुचुक पार्न पनि धेरै नै ट्याम लाथ्यो। अनि के को फास्ट भन्नु नि बरु "ब्रेक ला" भनेको भे हुन्थ्यो।


तिमीहरूको भन्दा त मेरो ब्रेकफास्ट त झन रमाइलो छ बाबै! एक एकदिन मैले पनि खैरे त होइन, मंगोलियन पर्यटकहरु संग ब्रेकफास्ट खाने निम्तो मान्न गाथें। 

जिन्दगीमा पैला पटक ब्रेकफास्ट खाने भनेर बिहान सबेरै उठेर ठमेलको एउटा रेस्टुराँमा गएं है । त्यस्का बाजे ! ब्रेकफास्ट टेबुलमा त थाल भरी गोलभेडा नै गोलभेडा यार! त्यत्रो गोलभेडा त हाम्ले भ्याटल अचार बनाउंदा मात्रै लिन्थ्यौं। निस्तै त खान्नथेम। त्यो मोराहरुले त ग्वाम कि ग्वाम खाइ दियो, मरिच र नुन हालेर! खान नपाएकाहरुले खाए जस्तो, अनि मीठो मानी मानी खायो। राम राम! आफ्नो त आँखा रसायो, बारीस नै भयो नि गांठे! यस्तो पो "ब्रेकफास्ट" जिन्दगीमा नबिर्सने ब्रेकफास्ट

तै तै मकैलाई कर्न फ्लेक भन्दा रेछ्न, गहुँको च्युरालाई पोरिज रे, जौको चुरालाई ओट्स रे अनि खाजालाई ब्रेकफास्ट रे। अस्तु!

जिन्दगी

ओहो ! तिमी त कति सुखी छौ अनि खुशी पनि। कहिले कता? कहिले कता घुमेरै मस्त! घुमन्ते!

हो नि त! अब हेर, म आफैमा भुल्ने मान्छे परें। अनि अरुले के गर्‍यो? कसो गर्‍यो? कति कमायो? कति गुमायो? कति मस्ति गर्‍यो? कति मोज गर्‍यो? कस्को श्रीमती संग कस्को चक्कर चल्यो? कस्को श्रीमान संग कस्को के भयो? कति शेयर उथल पुथल भयो? सुनको भाउ कता पुग्यो? डलरको भाउ कता पुग्यो? उसले कति वटा घर बनायो? कति कुम्ल्यायो? उसको दोश्रो श्रीमती कुन बिल्डिङमा राखेको छ? उसले कति महंगो ब्याजमा पैसा लिन्छ अनि कति पैसा खाएर भाग्छ? उसले कुन मन्त्रीको चाकडी गरेर कुन काम फुत्कायो? कुन चैं ठेकेदार संग सांठगांठ गरेर त्यो नयाँ गाडी किन्यो? कस्लाई मुद्दा हालेर कति दुःख दियो? 

यस्ता वाहियात कुरा मलाई मन पनि पर्दैन, वास्ता पनि छैन। बिहान बेलुकी दुई छाक टरेको छ। घुमघाम भएकै छ। बस जिन्दगी चलिरा छ। एक सफरमा हिंडेको मान्छे जस्तै हिंडेको छु। गन्तव्य तिर लम्केरै गएको छु। तिम्रो जस्तो ठूलो कारोबार पनि छैन, टेन्सन पनि छैन, राती सुत्ने बेलामा निन्द्रा लाग्दैन भनेर स्लीपिङ ट्याब्लेट खानु परेको छैन, प्रेसर बड्यो भनेर अस्पताल गैराख्नु पर्दैन, मुटु हल्लिएको छैन, मृगौलाले काम गरेकै छ, फोक्सोले काम दिएकै छ, पेटले खाना मागेको बेलामा भोक मेटाएकै छु। इन्सुलिन बोकेर हिंड्नु परेको छैन। बस, यस्तै छ घुमन्ते जिन्दगी। अस्तु!

Thursday, 8 April 2021

खोपको लाईन!

कोरोनाको खोप लगाउने भनेर बिहान देखि चुर फुर गर्दै गंगालाल अस्पताल बांसबारीमा ढुक्कसँग गएं। चहल पहल नदेख्दा आज देखि हो कि भोलि पर्सि देखि हो भनेर फेरि एकपल्ट फेसबुक पल्टाएर हेरें। अस्पतालको नाम त छ। हिजो देखिनै हो रेछ त!

अस्पतालमा तयारी पनि छ। ठाउँ ठाउँमा संकेत चिन्ह पनि छ। आज खाली रहेछ। ठिक्क समयमा आइएछ। हुल मुल पनि छैन, आरामले खोप पाइने भयो भनेर दंग पर्दै संकेत अनुसार अस्पतालको कोठामा हेर्दा त छक्क पो पर्न पर्‍यो। खोप लगाइदिने स्टाफ र स्वयंसेवक सेवकहरु भने कोहि छैनन्। न त खोप लगाउन आउनेहरुको लाइन छ। सुनसान, चकमन्न छ। सुरक्षा गार्ड खोज्दै हिंडें। 

अनि कोहि नभेटिए पछि, आर्को कोठामा रिसेप्सन रहेछ, त्यतै गएर सोधेको त अस्पतालमा खबर नै छैन रे। रिसेप्सनिष्टले " हाम्ले पनि लाएको छैन, हाम्लाई खबर पनि छैन।" भन्दिरा !

अब, आज त लाउने नै हो भनेर फेरि त्रि. बि. शिक्षण अस्पताल दौडेर पुगें। यतिबेला १२:४५ बजि सकेको थियो। आम्मामा मोटरसाइकल र गाडीको लाइन कति हो कति? पार्किङ नपाएर दिमाग खराब!

होइन ए पाले दाजु! आज त के हो? पार्किङ गर्न ठाउँ नै छैन? 

के हुनु नि हजुर! त्यो कोरोना कि सोरोनाको खोप लाउनेहरुको भिड पनि थपियो नि। संधै भन्दा यो खोप लाउने दिनमा त झन भिड हुन्छ। उ त्याँ निर खाली हुन लाइरा छ, त्यतै घुसाइ दिनुस।

पार्किङ गरे पछि, फटाफट कोरोनाको ब्यानर खोज्दै डौदेर गएको त लाइन त आम्मामा खत्रा लामो रहेछ। पाले दाईलाई सोध्ने बाहेक सोधपुछ गर्ने थलो भेटिएन। अनि पाले दाई नै सर्बेसर्बा जस्तो देखिएकोले, पाले दाइ! यो लाइनमा बस्नेहरुले आज खोप लाउन पाउंछ? भनेर सोध्दा, बिहान १० देखि ४ बजे सम्म लेखेको ब्यानरमा आँखा पर्‍यो। अनि खुरुक्क लाइनमा बस्न गएँ। 
नाम लेखाउन पाए पछि खोप पाइन्छ भनेर पाले दाइले आश्वासन पनि दियो। यतिबेला, लाइनमा म अन्तिम मनुवा थिएँ। दिउँसोको एक बजेको टन्टलापुर घामलाई छलेर छायाँ खोज्दै लामबद्द भएर बसें। सबैजना मास्क लगाएता पनि, लाइनमा भने ठेलमठेल गर्नै पर्ने हाम्रो बानी त्यता पनि थियो। एकछिन पछि मेरा पछिल्तिर पनि जनताहरु लामबद्द हुँदै गयो।

पाले दाई फटाफट आएर मेरा पछिल्तिरको मान्छेलाई अब तपाईंको पछाडी मान्छेहरु नराख्नुस है भनेर सुचना दियो। त्यही बिचमा एक जना अनुहार भद्र देखिने मान्छे साथीहरूको बीचमा घुसेर लाइन मिच्यो। पहिला त सबै जना चुपचाप नै थियो। तर जब पालेदाइको सुचना कानमा पर्‍यो, अनि बिचमा घुस्नेहरुको खोजि सुरु भयो।

साथीहरूको बिचमा घुस्ने भद्रले पहिला खाना खान गएथें भनेर झुठो बोल्यो, बिचराले घडि हेर्न बिर्सेछ, २:३० बजिसकेको बिर्सेछ। अनि खाना र खाजा मै कन्फ्युज भाको भद्रले सरी मैले गल्ती गरें म मर्छु बरु! तर आज खोप लाउन्न भनेर लाईनबाट बाहिरियो।

आफुले लाउन नपाउने भएपछि, त्यो भद्र देखिने ले अभद्र व्यबहार देखाइ हाल्यो। यो चाइनिज खोप, त्यति गतिलो चैं हैन भन्छ, हिजो अस्ति लाको मान्छेहरु पनि गतिलो चैं भाको छैन। आज तपाईंहरुले लाउनुस, तपाइँहरुलाई केही भएन भने भोलि पर्सि म नि लाउंला भनेर फ्याट्ट कालो बोली बोलेर गयो।

कस्तो मुर्दार रेछ! आफुले लाउन नपाउने भयो भन्दैमा त्यसरी भन्न मिल्छ? त्यो त बांदर नै रेछ। हो त्यो त कुलंघार नै रेछ। हो नि कस्तो गधा रेछ। त्यो त मूर्ख नै रेछ। 

बिचरा! आज लाइन बस्न नपाउंदा त यस्तो छ, भोलि खोप नै पाएन भने त बौलाहा नै हुन्छ होला। अनि सरकारलाई गाली गर्ने।

अब हाम्रो पालो आउला भनेको त एउटी नर्सले एक मुठ्ठा पासपोर्ट र आइडी कार्ड लिएर आएर त्यो लाइनमा बस्नेहरुलाई कुराएर आफ्नो मान्छेहरुको नाम धमाधम घुसाएछ। अगाडि पुगेको मान्छे त्वाँ ...! 

एकछिन पछि त आजको कोटा सकियो! भोलि आउनुस भनेर हाम्रो पालो मिच्दियो। ए बा! अनि अस्पतालमा पनि चिनेको मान्छे चाहिने रेछ। कुन चैं पार्टीको मान्छे भयो भने जे गरे नि हुने रहेछ भन्ने लाग्यो। हामी जनता चाहिँ दुई तीन घण्टा लाइन बसे पनि कोटा सकियो भनेर घर पठाइ दिने? अनि चिनजानका आएमा, भै हाल्छ नि हजूर भनेर चाकडी गर्ने चलन, कैले जाला?

हाम्रो समय खेर जांदाको क्षतिपूर्ति कस्ले तिर्छ? सरकार! भनेर भनुम भने यो देशमा सरकार नै छ कि छैन? भनेर खोज्न जान पर्ने भयो। हामी कहिले नागरिक बन्ने? जुनसुकै सरकार आए पनि हामी रैतिको रैति। जवाफको खोजीमा ! त्यो नर्सले मनोमानी गर्दा आज हाम्ले खोप लाउन पाएनौं! तलमाथि भयो भने जिम्मेवार को? गैर जिम्मेवारीको पनि हद हुन्छ नि! अस्तु!


Wednesday, 7 April 2021

चुम्बन

सरासर अगाडि आएर ओहो सर! मु...हा !मु...हा! कत्ति भो हजुरलाई नभेटेको हगि? भन्दै झ्याप्प चुम्बन गरि। बैँस गैसकेको दांत फुक्लिसकेको चाउरी परेको बृद्ध अकमक्क परेर बस्नु भयो। 

नानी! तिमिले मलाई के भनेर के गरेको? यस्तो उमेरमा! धन्न मेरी श्रीमतीले देखिनन। नत्र! मेरो जात्रा नै देख्थ्यौ। 

सर! म्याडमले देखे पनि दंग नै पर्नु हुन्थ्यो। जति सुकै उमेर भए पनि सर कत्तिको रोमान्टिक हुनु हुंदो रहेछ भनेर! दांत फुक्लेको अवस्थामा त यति ह्यान्डसम हुनु हुन्छ। उ बेला कति ह्यान्ड्सम हुनुहुन्थ्यो होला? म्याडम कति भाग्यमानी! हाम्ले सरलाई भेट्दा पनि हाम्लाई कस्तो ईर्ष्या लाग्थ्यो तर त्यो बेला सर स्ट्रीक्ट हुनु भएर पो! क्लासमा पनि सरलाई नै हेर्न मात्रै आउंथ्यौं त्यसैले पढाई गोल भनेर हजुर संग फेरि फेरि पढन आउन पाउंथ्यौं त! बिर्सनु भयो?

हैन ए नानी! म त कैले पनि कलेजमा गएको छैन, मेरो एउटा पसल मात्रै छ। त्यै पसलमा बसेर मेरो जवानी गयो, बाल बच्चाहरु हुर्काएं।अनि तिमिलाई मैले यो जुनीमा कैले भेटेको पनि छैन। तै तै तिमिले को भनेर चुम्बन गरेको हो अब फिर्ता गर। म चाहिँ तिमिले सोचेको सर होइन है। मेरो यो चाउरी परेको गाला त्यस्सै जुठो पार्‍यौ। लौ तुरुन्तै फिर्ता गर। मलाई आर्काको चुम्बन चाहिएन।

आम्मा! हजुर मेरो सर होइन? सांच्चै कस्तो अनुहार मिलेको, उस्तै, उस्तै छ त! सरी बाजे! माफ पाउँ है! अब मैले हजुरलाई कसरी चुम्बन फिर्ता गर्ने त? 

जसरी अघि तिमिले चुम्बन गरेथ्यौ त्यसरी नै! मलाई आर्काको चुम्बन चाइएन। लौ अहिले नै फिर्ता गर! 

युवती अप्ठेरो मान्यो। अब के गर्ने ? यो पात्तेको बुढो पो परेछ। भाग्नु पर्ला, फेरि बुढा बा लाई के चित्त दुखाउने! मनमनै गुन्दै, लौ फिर्ता गरें है बा भनेर आर्को गालामा च्वाप्प म्वाई खाइ दियो। बा! माफ गर्दिनुस है! 

बा, मख्ख परेर! लौ अब ठिक भो! तिम्ले मलाई जो भनेर चुम्बन गरे पनि त्यो चाहिँ म होइन है। त्यसैले, जिन्दगीमा आत्तिनु पनि हुन्न, मात्तिनु पनि हुन्न है नानी! अस्तु! 
( यो कथा कसै संग मिल्न गएमा संयोग मात्रै हुनेछ।)


Tuesday, 6 April 2021

अटेरी

ह्या! कस्तो अटेरी रेछ। जति भने नि नहुने, जति सम्झाए नि नबुझ्ने, भनेको पनि सुनेको हो कि नसुनेको? कक्षामा बस्दा नि मोबाइल खेलेर बस्ने, मेसेज मै रमाउने। यस्ता अटेरी पनि मान्छे हुंदा रहेछन्।वाक्क लागि सक्यो। मास्टर साब मुर्मुरिंदै हेडमास्टरलाई गुनासो गर्दै रहेछ।

के गर्ने? मास्टर साब! सबै हाम्रै समाजका केटाकेटीहरु हुन। अभिभावकहरुले कति मिहेनत गरेर पैसा जोहो गरेर आफ्ना सन्तानहरुलाई कलेज पठाएका छन् । आफ्नो छोराछोरीहरु कलेज गएका छन् भनी दंग परेका छन् । भोलि पर्सि ठुलो ब्यापारी हुनेछन् , सरकारी सेवामा ठुला हाकिम हुनेछन् भनेर आशा गरेरै हाम्रो कलेजमा पढाउन पठाउंछन् । कतिले त हाम्रो कलेजका पूर्ब बिद्यार्थीहरु मन्त्री सन्त्री भैसकेको देखेर पनि यतै पढाउन पठाउंछन। हाम्रो साख छ नि। 

कुनामा बसेका आर्को अधबैंसे मास्टर साब बोले: तो त हो ! उ बेलाका लास्ट बेन्चमा बस्ने सबै नेता भा का छन् । हाम्ले पढाएको भनेर गर्ब गर्छ्म क्यारे। के गर्ने ? यस्तै हो ! समयले सबैलाई सिकाइ हाल्छन अनि बल्ल हाम्लाई सम्झन्छन् । त्यति भए पुग्यो हाम्लाई! कम्सेकम कृतज्ञता ज्ञापन त गर्लान नि।

मास्टर साब: खोइ मलाई त चित्तै बुझ्दैन भने! हाम्रा विद्यार्थीहरुले भबिष्यमा केहि उत्पात नै गरेको देख्न चाहन्छु। कम्सेकम आफ्नो फिल्डमा नाम कमाओस भन्ने आशा मात्रै लिन पाए नि हुन्थ्यो। यस्ता अटेरीहरुबाट के आश गर्नु। 

मास्टर साब लामो सास लिंदै: तर सबै अटेरी चै हैनन। कति त अचम्म कै आइदिया बाज पनि छन् । त्यो आइदिया बाजहरुले चै पक्कै आफ्नो आईडेन्टिटि बनाउने छन् । यस्तोबाट भने नसोचेको उपलब्धि देखिने छ। 

हेड्मास्टर: अब त्यस्तै आइदिया बाजहरुबाट हुने कामलाई सन्तोष मान्ने नि सर किन चिन्ता लिएर बस्नु हुन्छ?

अधबैंसे मास्टर साब: हो सर! चिन्ता नलिनुस। सबै जना आ आफ्नै तालका हुन्छन् । समयले परिवर्तन गर्नेनै छ। 

मास्टर साब: अटेरीहरुको सदबुद्दी पलाओस। अस्तु।

Monday, 5 April 2021

How to deal with exam fever?

अपजसे!

तैंले गरेरै मेरो काम बिग्रेको हो। तँ हिजो नै आएको भए आज यस्तो हुने थिएन। केहि गरि हिंजो आएर आज काम बिग्रेको भए, फेरि यस्तो बचन हुने थियो। तँ हिंजोको सट्टा आज आएको भए पनि त हुन्थ्यो नि! जान्ने भएर आइस आज मेरो काम बिग्रीयो। तंइले त्यो ल्याइ देलास जस्तो लागेको थियो। ल्याइ दिएनस अनि यो काम बिग्रीयो। 

हे मेरा भगवान् ! मैले के गर्ने? ल्यायो, किन ल्याइस भन्छ, ल्याएन, किन ल्याइनस भन्छ, गर्‍यो, किन गरिस भन्छ, नगरे के हेरेर बसिस भन्छ, खाए, किन खाइस ? भन्छ, एकछिन कुर्न सक्दैनस, भातमारा भन्छ, नखाइकन कुरेर बसे, के देखाउन परेको नि, कत्ति न बलिदान नै दिएको जस्तो गरेर लोकाचार पारेको भन्छ। 

लुगा धोइ दिए, किन धोएको? भन्छ, एक दिइ दिन मात्रै लाएको त हो नि भन्छ। नधोए, तेरो आँखा फुटेछ? आंखा हो कि गुच्चा? देखेनस लुगा मैलो भएको भन्छ। फुलबारीमा पानी हाल्दिए, किन हालेको सोध्नु पर्दैन भन्छ, न हाले, तेरो आँखा छैन, हेर फूल सुकेको भन्छ। 

यस्तो मान्छे हो कि जन्तु हो? यस्तो अपजसे मान्छे पनि हुंदो रहेछ। हे भगवान् ! गज्जब छ बा! अस्तु।

Thursday, 1 April 2021

हाकिम साब

संधै यो गरेन, यो भएन, त्यो भएन, काम गर्ने ढंग छैन भनेर आफ्नो कर्मचारीलाई कतै तपाईंले हतोत्साहित त गर्नु भएको छैन? छ भने यो कथा तपाईले नपढे पनि हुन्छ है।

कर्मचारीहरुलाई कामचोर बनाउने हाकिमले नै यस्तो बोली बोल्ने गरेका छन् । एक अनुसन्धानमा के देखियो भने, जुन हाकिमले काम बिगार्ने कर्मचारीलाई गाली मात्रै गर्ने, काम गर्न जानेन, निकम्मा, कामचोर, तलबभत्ता मात्रै पचाउन आएको भनेर कर्मचारीलाई नीच देखाउन खोज्छ त्यस्तो हाकिमको हैकमवादी लाई Bossism भन्दो रहेछ। आफु मात्रै जानेको अरु सबै बेबकुफ! भन्थान्दो रेछ त्यस्तो हाकिमले।

तर यस्को ठिक उल्टो, जुन हाकिमले काम बिगारेका कर्मचारीहरुलाई काम गर्ने तरीका सिकाउने र फेरि फेरि गल्ती गर्न नहुने उपाय सिकाउंछ, त्यस्तो हाकिमलाई अनन्तकाल सम्म सम्झी रहने र गुरुको रुपमा नै मान्ने गरेको देखिएको छ। त्यस्तो हाकिमले कर्मचारीहरुलाई सहयात्रीको रुपमा हेर्ने गरेको देखिएको छ। कामलाई सम्मान गर्न सके कम्पनीको पनि उत्तरोत्तर प्रगति भएको देखिएको प्रमाणहरु प्रसस्त देखिन्छ। व्यवसायिक सफलताको लागि कर्मचारीलाई सम्मानका साथ व्यबहार गर्नु पर्छ, न कि कामचोर। यस्ता हाकिमलाई Leader भन्दो रहेछ। 

तपाईं कुन बर्गमा पर्नु भयो? आफै अनुमान लगाउनुस है हाकिम साब! अस्तु!


घुमन्ते

सानै देखि डुलेर हिंड्ने भएकोले डुकु लन्ठक, हरी लठ्ठक भनेर काम नभएको "घुमन्ते" भनेर समाजले दिएको "उपनाम" नै मेरो लागि संधै प्रेरणा भई रह्यो। समाजले के भन्छ, कसो भन्छ त्यो कुराको पछि लागेको भए सायद आज म घुमन्ते नामले परिचित हुने थिएन। अहिले पो बुझियो, यो त मेरो प्यासन रहेछ। मेरो रहर, दृढता, परिश्रम, मन, धन, अनि तन सबै नै घुम्ने नै रहेछ। 

मलाई कसैले कस्तो बेकामे घुमन्ते भन्यो भनेर चित्त दुखाउनु छैन। यस्ताले के गर्ला भनेर आक्षेप लगायो भने पनि बाल मतलब छैन। म मस्तले हिंडेको, डुलेको देखेर आरिस गर्नेहरु देखेर पनि मलाई खुशी लाग्दैन। तर मलाई यसमै आनन्द लाग्छ। देश बिदेशका मानिसहरु संग भेट हुंदा मेरो डुलाई देख्दा मेरो हिंडाइ देख्दा मख्ख पर्छन। तर मेरो समाजले मलाई हेर्ने आँखा फरक छ। 

फलानोको छोरा छोरीले यति कमायो, उति कमायो, घर बनायो,  सम्पति बनायो, तर यो घुमन्तेले अहिले सम्म केही कमाएन! यस्तो जिन्दगी पनि खत्तम नै रहेछ। कहिले जिउन सिक्ला? कति भन्ने? भनेको मान्ने भए पो भन्ने? यसरी घुमेर पनि जिन्दगी चल्छ र?

अनि कमाएर बसेकाहरुले मलाई भन्छन, तेरो जिन्दगी पो जिन्दगी यार! घुम्न पनि पाउने, टेन्सन पनि नहुने, सम्पति चोरेर लैजाला भनेर चिन्ता पनि लिन नपर्ने, अंशबन्दा पनि गर्न नपर्ने। वाह! क्या मज्जा! जिन्दगी जिएकै छस!

अहिले मेरो घुमाई बेचेर खाएको छु। मेरो अनुभवको लागि पैसा तिर्छन् । कथा, घट्ना, दुर्घटनाबाट सिक्छ्न, मैले सिकाउंदा र कथा भन्दा एकचित्त भएर ध्यान दिएर सुनेको देख्दा अझ आनन्द लाग्छ। कस्ले कति कमाए, कति गुमाए संग मतलब भएन, न त उनीहरुको सम्पति संग दांजेर बसेर मन दुखाउनु छ। म त मस्त छु ! आनन्दित छु ! सबै भन्दा ठूलो कुरो शान्त छु, बेफिक्री छु। म घुमन्ते! अस्तु!
(यो कथा कसैसंग मिल्न गए संयोग हुन सक्छ)



Wednesday, 24 March 2021

बगैंचाको फुल चोर

एका बिहानै छिमेकीले ढकमक्क फुलेको फुलबारीको फुल टपक्क टिप्दै गरेको देखे पछि मालीले छिमेकीलाई सम्झाउंदै भनेछ: आन्टी! त्यो फुल नटिपिदिनुस न। त्यो फुल त्यसरी टपक्क टिप्नलाई होइन। यो बगैंचाको शोभा बढाउनको लागि हो। आम्मामा त्यो आन्टीले झण्डै आक्रमण नै गरेकी। 



आन्टी: त्यो फुल मैले मेरो लागि टिपेको हो? कस्तो पापी रहेछ? मैले मेरो आफ्नै पुजा गर्न लागेको हो? भगवानलाई पुजा गर्न पो टिपेको! पाप लाग्छ है तिमिलाई। ओहो! कत्ति न के के फुलाएं भन्दो रेछ।

माली: त्यो त ठिक छ। तपाईंले आफ्नो फुलबारीमा फुलाएको फुलले पुजा गरे भै हाल्छ नि! मेरो बारीमा फुलेको फुल मलाई नै नसोधी त्यसरी चोरेर पुजा गरेर हुन्छ त? अनि पाप तपाईंलाई लाग्छ कि मलाई ?

आन्टी: के खोजेको हँ! तँइले मलाई चोर भन्न खोजेको? के म चोर जस्तो देखिन्छु? अनि तेरो फुल मैले चोरेर के भयो? मैले त भगवानको पुजा गर्न टिपेको हो। अनि मलाई पाप लाग्छ? तं बढी न बोले हुन्छ। हिंजोको चल्ला, आजको फूल। तं जन्मिंदा मैले नै पुजाको सामान जोडेर ल्याइ दे को हो। तंलाई के थाहा, आज तेरो यत्ति फुल टिप्दा यत्रो रडाको गर्नु पर्ने? बेकारमा ! यो केटालाई गुण लाएको रेछ। हरे भगवान! यो के देख्नु पर्‍यो? मैले तिम्रो लागि टिपेको फुल पनि यो मालीले देख्न सकेन। हे भगवान ! यो केटालाई सदबुध्दी देउ।

माली: आन्टी! मलाई माफ गरिदिनोस! मैले ठूलो पाप गरेँ। तपाईंले चोरेको देख्दा देख्दै म चुप लाएर बस्नु पर्ने मा प्वाक्क बोली हालेछु। तपाईंले त मेरो लागि नै पुजा गर्नको लागि मेरो बारीको फुल टिप्नु भएको रेछ। अब जाँ पायो त्याँबाट टपक्क टिपेर लगे पनि मेरो भगवानले मलाई आशिर्वाद नै दिने भयो। लौ माफ पाउँ आन्टी। तपाईंले जाँ पनि फुल टिप्न पाओस। मेरो बुध्दिको त ताला खुल्यो।

मनमनै भुतभुटिंदै, जमाना कता गएछ? फुल नसोधिकन टिप्नेलाई चोर भन्न नहुने रहेछ। अस्तु !

Sunday, 21 March 2021

पैसा सापटी

साथी: ए पासा ! पाँच लाख रुप्पे सापट दे है ! 

पासा: हे ! काँ बाट ल्याउने? छैन पैसा सैसा। तंलाई पैसा दिने भनेको ट कुक्कुरलाई हड्दी दिने जस्तै हो। ट्यो पैला पनि टंइले लगेको पैसा जग्गा किनेर कति बर्ष पछि बेचेर बल्ल बल्ल फर्काइस, ट्यो पनि ब्याज न स्याज! तं। मुला त बेस्कन बाठ्ठो रेछस। मेरो पैसाले टेरो नाममा जग्गा किनेर मलाई ड्याक पारिस। पैला ट्यो पैसाको ब्याज फर्का अनि बिचार गरम्ला।


साथी: तं मुला पनि खत्तम नै रैछ। तं साहु भएर पो मागेको नि । कस्तो खाते जस्तो कुरा गर्‍या? तं संग छ र म छु। नत्र म त उहिले नै खत्तम भएर झोलीतुम्बा बोकेर काशी पुगि सक्यो होला। साथी संग पनि ब्याजको कुरा गर्छस? त्यस्सै तं मुलालाई लोभी साहु भनेको होइन रेछ। त्यो जमानाको ब्याज अहिले सम्म सम्झिराछ। म संग नि ब्याज लिन्छस? तं र म भनेको त कट्टु नलगाउंदा देखिको साथी हो। जिग्री पो हो त यार। यस्तो कुरा गर्न सुहाउंछ? कस्तो मुला रेछ!

पासा: हेर मुला! तं ले मलाई धेरै पटक बोका बनायो। अब ट म पनि टेरो संगतमा लाएर अलि बाठो भएर ल्याएको छु। तँइले जे सुकै भन अब त पैसा भएनि दिन्न, लौ जा। बेकुफ बनाउने पनि एक पटक हो र जैले नि दिई हाल्छु नि भन्याछ। एक दिनको लागि भनेर बर्ष दिन सम्म पनि नाक मुकै नदेखाएर अझ मुला र सुला भनेर मलाई नै बोका बनाउन खोज्छ। अज हेर्न! खाटे पनि भनेर ल्यायो। कटि दुख दिन सक्या होला। अस्तु!

Wednesday, 27 January 2021

जिन्दाबाद! मुर्दाबाद!

बल्ल बल्ल मिलाइएछ। आर कि पार होला जस्तो लाग्याथ्यो। बाटो बाटोमा घुमेर हैरान बनाएका थिए। आज चारैवटालाई एउटै कोठामा थुनेर बाझाबाझ गराएर पकडा पकडी खेलाउन पर्ला भनेको त कुकुर न हो मासु देखे पछि पुच्छर हल्लाउँदै चुप लाग्यो।

मिल्यो, मिल्यो। बल्ल बल्ल मिल्यो। कहिले काहीँ त एकले आर्कालाई मार्ला झैं गर्थे। अब सबैलाई भाग लगाएर हड्डी बांडे पछि लुछाचुडी गर्न छाड्यो।

जे होस, हाम्रो टोलका कुकुरहरुको त कुरो मिलि सकेछ। अब देशको पनि मिले आनन्दले सुत्न पाइन्थ्यो।

ए बुढा! के भो? के मिल्यो? को मिल्यो? आजकाल यो बुढा दिउसै सपनामा पनि बडबडाएर हैरान गर्छ! कैले संसद विघटन भएकोमा बिरोध जुलुसां जानु पर्छ भन्छ, कैले आज सरकारी जुलुसां जानुछ, भन्छ, किन जान्छ, के गर्न जान्छ, मैले त अत्तोपत्तो पाउनै छाडी सकें। जैले पनि ने क पा भनेछ हिंडेछ।

तर एउटा कुरा चैं आनन्द भा छ। जे होस, यो जुलुस सुलुसमा बुढाले टन्न मासु भात खाएर, अलि अलि पैसा नि ल्याउंदा चैं खुशी लाग्छ। यस्तो त बर्ष दिनभर नै भै रह्यो भने मैले पनि कम्सेकम हप्तांँ एक दुई पटक मासु भात खान भएनि जुलुसाँ जाने घोषणा गर्देको छु।

जय जुलुस! जय राजनीति! जय मासुभात!
जिन्दावाद जिन्दावाद! मासुभात जिन्दाबात!
मुर्दाबाद मुर्दावाद! खोइ कुन्नी के मुर्दाबाद!

अस्तु!

Wednesday, 13 January 2021

Rock Run

तिम्रो मुलायम स्पर्श

तिमी पनि अचम्मकि नै छौ के! जब म थाकेर चूर भएको हुन्छु, म तिम्रो शरणमा आएको हुन्छु। थाकेका मेरा कपाललाई तिमीले स्पर्श गर्दा मलाई अदभूत आनन्द आउँछ। अझै टाउको दुखेर शिर उठाउन नसकेको बेला तिम्रो सहायता नहुने हो त खै के भनौं म त बांच्दिन होला जस्तो हुन्छ। 

आजकाल तिम्रो सहयोगले मेरो ढाड दुख्ने समस्यामा पनि कमी भएको छ। तिम्रो चन्चले बानीले गर्दा कहिले शिरमा, कहिले कम्मरमा, कहिले गोडामा तिमी बसि दिंदा पनि मलाई आनन्द आउँछ। 

कहिले काहीं तिमीलाई अरुले काखमा राख्दा मलाई समेत काउकुटी लाग्छ। अझ तिमीलाई काखैमा राखेर सेल्फी खिच्ने बेलामा ओंठ चुच्चो पारेर सुंगुरको मुख जस्तो बनाउने नानीहरु देख्दा त झनै गज्जब लाग्छ। तिमीलाई त मज्जा नै आउँछ होला हैन? त्यै भएर त तिनीहरूको हर्कतलाई सहजै स्वीकार गरेर मजा लुटिरहेका हुन्छौ।

तिमीले बोल्न सकेको भए सायद यसो नगर, उसो नगर भन्थ्यौ होला! बेजवान तिम्रो बनावट भए पनि तिमी हाम्रो जीवनको अभिन्न अंग बनेका छौ। 

अहिले सम्म पाठकहरुले कोहो त्यो जस्ले यस्तो रोमान्चित गर्न सक्छ, हाम्लाई पनि भन्नुस न भन्दै खुल्दुली मनमा लिनु भएछ, हाहा!
त्यो तपाईं हाम्रो घर घरमा, कोठा कोठामा बस्ने तकिया हो। मेरो प्यारो तकिया। हो कि होइन? तपाईंको प्रतिक्रियाको आशामा छु। अस्तु।😉