बिहान सबैरै उठे देखि मैले आशा गरेको चिया, नास्ता अनि खाना पछि काममा जाने बेलामा तयारी गर्नमा तिमीमै आशा। हरेक दिन तिम्रै मायाँ र सेवाको अपेक्षा गर्दा गर्दा अहिले म आशाकुटी बनी सकेको थाहा नै भएन। तिमि एक दिन नहुंदा मलाई तनाब हुन्छ। यो आशाले मानसिक तनाब ल्याउने कुरा थाहा नभैकन म मा विकसित भएको रहेछ।
छोराले यो गर्दिए हुन्थ्यो, बुहारीले त्यो गर्दिए हुन्थ्यो, छोरीले त्यो गर्दिए हुन्थ्यो, ज्वाईले त्यो गर्दिए हुन्थ्यो, बाबाले यसो गर्दिएको भए हुन्थ्यो, आमाले त्यो भन्देको भए हुन्थ्यो, बाजेले यस्तो गर्दिएको भए अहिले हामी पनि कम हुने थिएन, बजैले त्यस्तो गर्दिनु भएको भए अहिले त्यस्तो बन्न गार्हो हुने थिएन भन्ने पनि आशा!
अफिसमा हाकिमले त्यसो नभनेको भए हुन्थ्यो, कनिष्ठ कर्मचारीले खुरुखुरु काम गर्दिएको भए हुन्थ्यो, बेपारमा साहुले थपक्क पैसा दिए हुन्थ्यो, बैंकले ब्याज थपेर घरमा नै ल्याइ दिए हुन्थ्यो, ऋणमा ब्याज नलिए हुन्थ्यो, सापटी लिनेले खुरुक्क ब्याज सहित पैसा फर्काए हुन्थ्यो, गुरुले खुरुखुरु पास गर्दिए हुन्थ्यो, बिद्यार्थीले मजा संग लेखिदिए हुन्थ्यो भन्ने आशा गरेर मानसिक तनाव लिनु पनि वाहियात नै रहेछ।
तै तै सरकारले बिकास गरिदिए हुन्थ्यो, खानेपानी, बिजुली बत्ति, बाटो, सडक, शिक्षा, स्वास्थ्य सबै नि:शुल्क गरि दिए हुन्थ्यो भनेर आशा गरेर बस्ने अनि गर्दिएन भनेर टेन्सन बोकेर बस्दा पनि मानसिक रोगी नै हुने रहेछ।
त्यसैले कसै संग आशा नलिनुस, आफ्नो काम आफै गर्नुस, तपाईले जे गर्न सक्नु हुन्छ, गर्नुस। अरुले गर्दिएन भनेर कपाल नदुखाउनुस। अरुलाई के मतलब र ! तपाईंको सेवा मात्रै गरेर बस्ने ? गर्नै परे पनि आफ्नो स्वार्थ सिध्द हुने भए मात्रै सेवा र चासो गर्ला। नत्र त सम्झिने पानी छम्किने मात्रै हो। अस्तु।
नेपाल सम्बत ११४२ न्हु दंया भिंतुना
शुभ दीपावली २०७८
No comments:
Post a Comment