अन्त के बजै! तपाईँका छोरा बुहारी, छोरी ज्वाईंहरु सबैलाई यस्तै बेबार गर्नु हुन्छ कि नाइँ ?
तेरिमातोक्ने! मलाई बुढी भनेर हेप्नी? किन चाहियो तंलाई? मेरो परिवारमा कस्लाई कस्तो बेबार गर्ने भनेर तँ हिंजोको चल्लाले मलाई सिकाउँछस? तँ जस्तालाई मैले गर्ने बेबार यस्तै हो। तंलाई न जात न भात, न ठुलालाई सम्मान न सानालाई मायाँ। तिमहरुलाई यो समाज कसरी चल्छ भनेर के थाहा? म त जम्दारकी एक्ली छोरी हो। मैले जे मागे पनि मेरो माइतीमा पुर्याइ दिन्थे हाम्रा बा आमाले। अइले पो बुढो भएसी तिमहरुले नि जिस्काउने भए?
हाम्रो पालामा मलाई कसैले आँखा तर्न सक्दैनथे। स्कुलमा त मेरो बाले जे भन्यो त्यै हुन्थ्यो। म स्कुलमा भर्ना मात्रै भए पुग्थ्यो। मार्क सिट त घरमा नै ल्याई दिन्थे। तंलाई के थाहा? बिहेमा मेरो बुढोलाई एउटा घर अनि हाम्लाई चाहिने अन्न उमार्ने खेत, तरकारी बारी, दुई चार जना नोकर चाकर, एकहल गोरु, दुई जोडी बाख्रा बाख्री पठाएका हुन नि।
अहिलेका बुहारीहरु त खाली हात पो आउँदा रेछ्न। लाज नभाकाहरु! हन ! के भाका हुन तिन्का बा आमा पनि? घरमा खानेकुरा पकाउन भाँडाकुँडा, लुगाफाटो धुने बाटा, पानी बोक्ने गाग्रीहरु त ल्याउनु पर्ने नि? कै नल्याईकन पो आउँदा रेछ्न। सब्बै मेरो भाँडाकुँडा चलाउंछु पो भन्छे। म पनि के कम? मेरो पालो सबै भाँडाकुँडा ढुकुटीमा ठन्क्याइ दिएँ। अब हेर्छु नि ! के मा पकाउने रेछ्न? के मा धुंदा रेछ्न?
हो बजै हो! तपाईंको पालामा त तपाईंहरुको बोलवाला नै थ्यो भन्ने कुरो त अहिले पनि देख्छु हो म त। अहिले सम्म पनि उ बेलाकै कुरामा अल्झेर बसेर हुन्छ त बुढीमाउ? त्यै भएर पो बुहारीहरुलाई आ आफ्नो घरबाट दाइजो ल्याए पो हुन्छ भन्नू हुंदो रहेछ। अन्त तेत्रो भाँडाकुँडा थन्काएर के गर्ने बिचार छ त बजै?
तं बज्यालाई के को चासो हं? मेरो छोराछोरीलाई पो चलाउन दिने होर! बुहारीलाई चलाउन दिन्छु त मैले? अस्तु!
No comments:
Post a Comment