Grab the widget  Get Widgets

Thursday, 31 October 2024

बेलौती (अम्बा)

तिहारको बेला बेलौती (अम्बा) टिपेर ल्याउ भनेपछी काले दौडेर बारीमा गयो, रुखमा फलेका पाकेका बेलौती टिपेर दंग पर्दै बजैलाई ल्याई दियो। "लिनुस बजै, तपाईंको दांतलाई हुने गरेर पाकेको पाकेको मात्रै बेलौती ल्याएको छु।" कालेले भन्यो। बजै पनि दंग पर्दै "तेरो बाउ जन्मिंदा तेरो बाजेले रोपेको बेलौतीको रुख हो। उ बेलामा हाम्ले खान पाए नि नपाए नि, छोरा नातिले खाला भनेर लगाएको, आज मीठो गरेर खान पाइयो।"
अनि आर्को झोलाको बेलौती आमालाई दिन गयो। "आमा हेर्नुस त कति पाकेका बेलौती!" आमाले झर्केर भन्यो, "कस्तो पाकेको बेलौती लेराको? अलि पंहेलो, हरियो लेरा!" काले लुख्रुक्क परेर फेरि बारीमा गयो। अनि हरियो, हरियो बेलौती टिप्दै झोलामा राख्यो। आमाको नजीकै गएर टाउकोमा लागेको माकुराको झालो फाल्दै भन्यो, "आमा! हेर्नुस् त! अहिले कांचो हरियो लेराको छु।"

आमाले झोला खोलेर हेर्‍यो, "हत्तेरीका काले! के लेराको? यस्तो कांचो लेरा भनेको हो र? अलि हरियो, अलि पंहेलो, अलि रसिलो पो लेरा भनेको। बुद्धि हेर न बुद्धि !" काले ट्वाँ पर्‍यो। अनि "ह्या....! कस्ती आमा रैछ? पाकेको ल्याए नि नहुने, कांचो ल्याए नि नहुने, आफै रुखमा चढेर टिप। म त साथीहरू संग चंगा उडाउन हिंडें।" अस्तु।

Tuesday, 29 October 2024

ध्यानमा झिंगाको महत्त्व

सतिपठान ध्यानको गहिराइमा पुगेको थिएँ। आँखा चिम्म गरेर, श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्दै, आफ्नै शरीरका अंगहरुलाई नजिकबाट हेर्दै थिएँ। एक्कासि, मुखको कुनामा हल्का केही चलायमान भएझैं महसुस भयो। आँखा खोलेर हेर्नु त भएन! तर मेरो अनुहारमा केही चीजले कुस्ती खेल्न थालेछ। मनमा एकछिन त झर्को पनि लाग्यो। अनि ध्यान गरेर महसुस गर्दा त झिंगा पो रैछ। अहिले मस्त ध्यान गरिराखेको समयमा यति सानो झिंगाले पनि डिस्टर्ब गर्दो रैछ। तर हात चलाउन मिलेन।  

अनि फेरि सोचेँ, आखिर सतिपठान ध्यान भनेकै हरेक अंग अंगमा हुने क्रियाकलापलाई गहन रुपमा नियालेर महसुस गर्ने त हो। हरेक क्षण क्षणका अनुभवलाई पूर्ण रुपमा नजिकबाट अनुभूत गर्नु नै ध्यान हो। त्यसैले यो झिंगालाई पनि मेरो ध्यानको एउटा हिस्सा बनाउन पर्‍यो भनेर म निर्णयमा पुगेँ।

झिंगाले मेरो ओठको माथिल्लो भागमा पखेटा चलाउँदै बस्दै उड्दै अनि भुं भुं गर्दै घुम्दै थियो। मलाई उसका स-साना पाइलाहरू मुखको छालामा नाचिरहेको अनुभव हुन थाल्यो। त्यसको हल्का वजनले मलाई आफ्नो अनुहारको संवेदनालाई अझ प्रस्ट बुझ्न सहयोग गर्‍यो। यो सानो झिंगाको स्पर्श पनि कति सूक्ष्म तरिकाले मेरो धैर्यता र सजगता परीक्षण गरिरहेको रहेछ।

त्यसपछि झिंगाले नाकको डाँडीमा उफ्र्यो। म शान्त थिएँ, अनुहारमा हाँसोको रेखा खिचियो। झिंगाले ध्यान भंग गर्न खोजेको होइन, उ त उसको संसारमा रमाई रहेको हो। त्यसैबेला आर्को झिंगा भुरुर उडेर हेलिकप्टर झैं नाकाकै डांडीमा ल्याण्ड गर्‍यो। अब एउटा होइन दुइटा झिंगा मेरो नाकको डांडीमा बसेको थियो। तर ती दुई जना भाले र पोथी झिंगा परेछन। कतै ठाउँ नपाएर मेरो नाकको डांडीमा रोमान्स गर्‍यो जस्तो लाग्यो, आँखा खोल्न मिलेन, हेर्न पनि मिलेन। तर उनीहरुको चाल भने नाकैमा अनुभुती भै रह्यो। झिंगाको रंगमञ्च भएछ मेरो नाकको डांडी। मेरो नाकको संसारमा उनीहरुले छोटो रोमान्टिक यात्रा गरिरहेको मात्र रहेछ, भनेर म आफैँलाई सम्झाउँदै थिएँ। उनीहरुको सानो शरीरमा रहेका अघिल्ला हातहरु चलाएको, पखेटा हल्लाएको, हल्का स्पर्श — यी सबै मेरा अनुभवको अभिन्न हिस्सा भए। यो झिंगाले मेरो ध्यानमा नयाँ आयाम थपिदियो। अनि अबिस्मरणीय पनि रह्यो।

त्यसपछिको केही पलहरूमा मैले सोचेँ, "झिंगाको पनि महत्त्व रहेछ। हाम्रो संसारमा सधैं उपेक्षित यो प्राणी र संसारको जीबहरुमध्येको एउटा हिस्सा, झिंगा। अनि कति साना साना चिजहरूले पनि हाम्रो जीवनलाई फरक पार्छन्।" भन्ने कुरा बुझियो।

झिंगाको झर्कोलाग्दो उपस्थितिले मलाई अनुहारका प्रत्येक स्नायु, प्रत्येक संवेदनाको साक्षी बनायो। उसले पनि आफ्नो जीवनको अभिव्यक्ति देखाउन खोजिरहेको थियो, शायद उसले सोचेको थिएन होला कि उसको स्पर्शले मलाई ध्यानको अर्को तहमा पुर्‍याउँछ, भनेर। म झिंगालाई धन्यवाद दिन चाहन्छु, किनकी उसले मलाई सतिपठान ध्यानको वास्तविक अर्थ अझ गहिरोसँग अनुभव गर्न मद्दत पुर्‍यायो। 

झिंगाको साथमा मेरो ध्यानको यात्रा यसरी सम्पन्न भयो — जहाँ साना साना चिजहरू पनि ठूलो अर्थ राख्छन्। अस्तु।

Monday, 28 October 2024

नातीको बिरह

सुनसान साँझ, घरको आँगनमा सानो नाती खेल्न छोडेर बाजे बजैसँग टाँसिएर बसेको थियो। बाबु आमा केही दिनका लागि अर्कै शहरमा गएको हुँदा नातीले उनीहरूलाई निकै याद गरिरहेको थियो। दिनभरि फुर्तिलो देखिने नाती साँझ पर्नासाथ बाबु आमा सम्झेर छटपटिन थाल्यो। “खोई मेरो बा आमा कहिले आउँछन्?” भन्दै उसले निरीह स्वरमा सोध्यो।
बाजे बजैले थोरै मुस्कानसहित भनिहाले, “बाबा, उनीहरू चाँडै आउँछन्। आज हामी संगै बस्ने है, अनि म कथा सुनाएर सुताउँछु तिमीलाई।” तर नातीको मुहारमा सन्तोष देखिएन। बालकका आँखा एकाएक रसाउन थाले र उसले आँसु थामेर चुपचाप बस्ने बिचार गर्‍यो। अनि नबोलीकन इसारामा मात्रै कुरा गर्न थाल्यो। अति सहन नसक्ने भए पछि बाजेको काखमा टाउको लुकायो।

बाजे बजैले एक अर्कातिर हेरे। जीवनभर धेरै कुरा सहेर बाँचेका ती दुबै बाजे बजैको मन भारी भएर आयो र आँखामा एकाएक आँसुको भेल बग्न थाल्यो। बजैले मुन्टो हल्लाउँदै आँसु पुछ्दै भनिन्, “यो त नानीको बुढेसकालमा आँसु बगाउने रहर जस्तो भयो नि।” बाजेको  गला पनि अवरुद्ध थियो। दुबैजनाले रसाएका आंखा हेरेर नातीलाई सुम्सुम्याउँदै बस्यो। हिक हिक गर्दै नाति सुत्यो। नाती त निदाएको थियो, तर उनीहरू भने रातभरि बिछोडको पीडामा निःशब्द बसी रहे। अस्तु।

Saturday, 26 October 2024

मुत्रजल

स्यानो छोरा भुसुक्कै निदायो। एकैछिनमा ओछ्यान मै सु सु गर्दियो। "ए बुढी! बाबुले निदाउंदा निदाउंदै ओछ्यान भिजायो, सुरुवाल फेर्देउ है।" बुढाले चिच्यायो। उता बुढी भाँडा माझ्दै रैछ, अनि करायो, "एउटा सुरुवाल पनि फेर्न नसक्नेले किन छोरा जन्माउन पर्‍यो? मेरो हात खाली छैन। आफै फेर्देउ। संधै मैले नै फेर्दिनु पर्ने?" 

बुढाले अब बोलेर साध्य हुन्न, बरु आज चैं बुढीले भनेझैं छोराको सुरुवाल आफै फेर्दिनु पर्ला भन्दै, छोराको सुरुवाल दुबै हातले तान्यो। सुरुवाल सबै भिजेकोले नभिजेको ठाउँ खोज्दै तान्दै थियो, छोराले फेरि पिसाब फेर्दियो, तुरुरु....। बुढाको मुखमै पर्‍यो। "छि छि! मोरो छोरोले जल मुखैमा राख्दियो। हत्तेरीका!" 

अब त बुढीलाई बोलाउन पर्‍यो भनेर "ए बुढी!" भनेर चिच्याउन लागेको थियो, उता बुढी बम भएर पड्किहाल्यो। "एउटा सुरुवाल पनि फेराउन सकेन? बुढा!" अब बुढालाई सकस भयो, भनौं भने आफ्नै बेइज्जत, नभनौं भने छोराले मुत्रजल मुखाँ हाल्देछ। "भयो! भयो!" बल्ल तल्ल छोरालाई आर्को सुरुवाल फेर्दियो। अनि मुख धुन गयो। 

बुढीले ठ्याक्कै देख्यो, "के भयो? छोरोले जल चढायो?" बुढीले जिस्क्यायो। बुढा मौन रह्यो, र मनमनै भन्यो, बिचरा बुढीले यस्तो कति बेहोर्‍यो होला। आफुलाई एक पटक पर्दा यस्तो भयो। अस्तु।

Wednesday, 23 October 2024

साउजीको पसल

लघुकथा: साउजीको पसल

गाउँको सानो चोकमा बुढा-बुढीको पसल थियो। बुढा दिनभरि बाहिर आफ्नै काममा ब्यस्त रहन्थे भने अनि बुढीलाई पसलमा बस्न लगाउँथे। तर बुढीलाई भने पसल चलाउन खास अनुभव थिएन, न त बुढाले राम्ररी सिकाएका थिए, न त बुढीले सिक्ने मनसाय नै बनाएका थिए। तर पसल कुरेर बसेको बेला बुढी दिनदिनै ग्राहकहरू फर्किएको देखेर बुढी तनाबमा पर्न थालिन्।

जटि भने पनि मेरो कुरा बुराले सुन्नै सुन्नैन। हिंज पनि मान्छेहरू फर्केर गयो, आज पनि फर्केर गयो। मैले यो काम पनि आउंनैन। पसलमा बस भनेर बुरा खुरुक्क बाइर काममा जान्छ, काम पनि गर्नै पर्‍यो। नत्र मुखमा कसरी मार लगाउने? 
जो ग्राहकहरू आए पनि 'साउ कहाँ छ?' भनेर सोध्छन्, अनि 'छैन, अइले आउँछ' भन्यो भने मान्छेहरु खुरुक्क फर्केर जान्छन्। मलाई भने यो पसलको काम केही थाहा छैन। केई भन्यो भने बुरा नै उल्टो कराएर ल्याउंछ अनि अजै गाली गरेर ल्याउंछ। के गर्ने होला? न बुराले भनेको मान्छ? न मलाई नै काम आउंछ? बुढीले आफैँसँग गुनासो गरिन्।

साँझ जब बुढा घर फर्किए, बुढीले गुनासोको पोको फुकालिन। "तिमी बाहिर काममा ब्यस्त हुन्छौ भने म कसरी पसल चलाउने? मलाई त तिमीले सिकाएको पनि छैन। मान्छेहरू दिनभरि आउँछ, सोज्छ अनि तिम छैन भन्यो भने फर्केर जान्छ। पसल कुरेर मात्रै बसेर के गर्ने? कस्तो झ्याउ लाएर आउँछ भनें।"

थकित बुढाले तुरुन्तै झर्को फेर्‍यो, "अब के गर्ने त? मेरो काम तिमीले गर्न सक्दैनौ, मैले सिकाउंछु भन्दा नि मान्दैनौ क्यारे, अनि के गर्ने त? त्यसैले पसल हेर्देउ भनेको नि!"

"तर कसरी? के काम गर्ने, सामानको भाउ पनि के हो, के? लेखेर राखेपो हुन्छ? कसरी बोल्ने, के कुरा गर्ने भन्ने पनि त सिकाउनु पर्छ नि," बुढीले पिर पोखिन्।

बुढा एकछिन मौन रहे। सोच्न थाले, बुढीले गरेको गुनासो त ठिकै हो। बुढाले भने, "अब म तिमीलाई हाम्रो पसलको काम सिकाउँछु। दाम पनि सामान मै लेखी दिन्छु। अबदेखि हामी दुबै मिलेर पसल चलाम्ला। म ग्राहकलाई कसरी बोलाउने, कसरी सामान देखाउने, अनि कसरी व्यवहार गर्ने भन्ने कुरा पनि सिकाउँछु। अनि तिमीले पनि के काम गर्नु पर्छ? भनेर राम्रोसँग सिक्ने इच्छा पनि बनाउनु पर्छ नि।"

बुढी मुसुक्क मुस्कुराइन्। समस्या सुल्झाउने बाटो देखिन थालेको थियो। "हुन्छ, अब हामी दुबै मिलेर काम गरौं, म पनि सघाउँछु," बुढीले आश्वस्त हुँदै भनीन्। अस्तु।