Grab the widget  Get Widgets

28 July 2022

मेरो पोई!

ओइ! तेरो पोइ त कस्तो? यार ! 
किन र मन पर्‍यो? मेरो पोइ!
होइन होइन, त्यस्तो पनि पोइ रोज्ने? 
मेरो जस्तो नरोजे, कस्तो रोज्ने नि? नत्र तैंले आँखा लाउलिस नि!

तं यति राम्री, चिटिक्क परेकी, तेरो पोइ, तंलाई सुहाएन भनेकी नि!
मैले मेरो यस्तै पोइ रोजेको। हेर मेरो यस्तो पोइ रोजेको कारण नै, तैंले आँखा लाईनस, नि! नत्र त तं मेरी सौता नै भै हाल्थिस कि के थाहा?
मेरो पोइको खाईलाग्दो भुँडी, लुखुरे हात, खुट्टा अनि खुइलेको टालु, मलाई मन पर्छ। तिमिलाई नराम्रो लागेकै मलाई फाइदा भो त! हेर हात खुट्टा सुकेको, पेट फुलेको, हेर्दा सुकेनास लागेको जस्तो मान्छेलाई पोइ बनाउँदा हामी बजारमा हिंड्दा मलाई धेरैले हेर्छ, मेरो पोइलाई कसैले हेर्दैन, आँखा पनि लाउँदैन। मेरो पोइले पनि कसैलाई हेर्न आंट पनि गर्दैन। अनि मेरो कब्जामा नै हुन्छ। बुझिस। म जस्ति राम्री जोई पाएकोमा आफुलाई भाग्यमानी सम्झन्छ मेरो पोई। अनि आफुले भनेको सबै काम पूरा गर्दिरा नै छ। तँ जस्ती उत्ताउलीहरुबाट पनि टाढा हुन्छ। मलाई त आनन्द छ।

हामी पदयात्रामा हिंड्दा आर्काको श्रीमतीले पनि हेर्दैन, बाटोमा, घर छिमेकी भाउजुहरुले पनि हेर्दैन, हुंदा हुंदा कुइरेनीहरुले पनि हेर्दैन। आनन्द, म त ढुक्क। मेरो पोइ, मेरो लागि! अस्तु! 

04 July 2022

म चरा

एक दिन मलाई एउटा चराले यस्तो भन्न आयो। म संग भएको बार्ताले मलाई च्वास्स घोच्यो। चराको मर्मलाई मैले मात्रै सुनेर हुंदैन भनेर यो बार्तालाप प्रस्तुत गरेको छु।

म चरा: भुरुर उड्नु मेरो काम र कर्तव्य। तर मलाई समातेर एउटा पिंजडामा राखेर दिनको ३-४ पल्ट खान दिन्छ, पानी दिन्छ अनि घरका सदस्यहरु आलोपालो गरेर हेर्न आउँछ। मेरो पखेटा काटेर, मलाई पिंजडामा बन्द गरेर मेरो भुरुर उड्न पाउने स्वतन्त्रतालाई बन्धनमा राखेर मजा लुट्ने लुटेराहरुले आफुलाई मान्छे भन्दा रहेछन। 
कोहि कोहि त यस्ता पाहुनाहरु पनि आए, मलाई देखेर यस्को मासु खान पाए त आहा! भन्नेहरुलाई मैले यमराज नै ठान्छु। कोहि कोहि मलाई भुटेर खान पाए त खास्सा हुन्छ भन्छन। यी राक्षसहरुले कुन दिन मलाई क्वाप्प खान्छन।

महिनौं अनि बर्षौं मलाई यसरी थुनेर राखे पछि मैले अब उड्न पनि जान्दैन, पिंजडाबाट निकाले पनि म उड्न सक्दिन, किन भने मेरो उड्ने रहर हराइ सकेछ, लाग्छ म अब दौडिन पनि सक्दैन, मेरो उड्ने शक्ति क्षीण भै सकेछ। अनि मलाई उड चरा उड भनेर मेरा मालिकहरु सिकाई रहन्छन् । मैले उड्न जानेको बेलामा मेरा पखेटा काटेर क्रुर कर्म गर्नेहरु आज मलाई दया देखाउंदै मलाई नै जिस्क्याएर मजा लुटिरहनेहरु आफुलाई मान्छे भनिरहेका छन् । 

हे भगवान! मैले पुर्ब जुनीमा के पाप गरेको थिएँ र यो जुनीमा मलाई यस्तो मान्छे भन्ने राक्षसहरुको जमातमा पुर्‍यायौ। म चरा, मेरो कर्म अनुसार मलाई उड्न मन छ, उड्न देउ, यसरी मलाई थुनेर नराख, मेरा प्वाँखहरु नकाट। म स्वतन्त्र उड्न चाहन्छु, मलाई उड्न देउ। अस्तु।

29 June 2022

फेरि रुन मन लागेको छ।

फेरि रुन मन लागेको छ।
किन किन आजकाल मलाई भारी बोक्दा पनि रुन मन लाग्छ। फेरि रुन मन लागेको छ, उज्यालो देखि टाढा भाग्न मन लागेको छ। बाटोमा कसै संग बोल्न मन लाग्दैन, मान्छेहरु हिंडेको देख्दा नि झर्को लाग्छ, न्यास्रो लाग्छ, गहभरी आँसु आई रहन्छ, भारीले किचेर पो मार्छ कि जस्तो हुन्छ, कतै भीरमा खसेर दुर्घटना पो हुन्छ कि जस्तो लाग्छ, ट्रेकिङ गाइडले गाली गरिहाल्छ कि जस्तो लाग्छ, हिंड्दा हिंड्दै खसेरै मरिन्छ कि जस्तो लाग्छ, निक्कै डर लाग्छ। पर्यटक वा गाइड सरहरुले केही भन्यो भने पनि सार्‍है नै मन दुख्छ। डाक्टर साहेब! मलाई के भाको? कतै मलाई डिप्रेसन भन्ने रोग त भएको छैन? कतै म पागल त भएको छैन? के गरुम म?
डाक्टर साब: तपाईंलाई एङ्जाईटी भन्ने रोग भएको हो, डिप्रेसनको बारेमा धेरै सोच्नु हुंदैन, साधारण लेखा पढी गरेको भरमा डिप्रेसन हो होइन छुट्टाउन सकिँदैन। मनमा धेरै कुरा खेलाएर बस्न हुंदैन। उज्यालोमा बस्नु पर्छ! अनि मन प्रफुल्ल हुने काम आफैले गर्नु पर्छ। घरमा भएको दु:ख जे जति छन त्यसमा अरुलाई दोष दिएर बस्यो भने यस्तो तनाबको शिकार हुने चान्स हुन्छ। ध्यान दिएर भारी बोक्नुस, चिन्ता नगर्नुस, बर्तमानमा बस्नुस। पीर नलिनुस। भोलि के हुन्छ न सोच्नुस। समय बलवान हुन्छ। संधै यस्तै हुंदैन। आफुलाई भएको कुराहरु मिल्ने साथीहरू संग सेयर गर्नुस है। मन हल्का हुनु पर्छ। सफा हुनु पर्छ। अस्तु।

20 May 2022

माईला ! के हो तेरो पारा?

ओइ माइला! माइला! हैन के हो, तेरो पारा! यत्रो बर्ष भैसक्यो, जिन्दगीमा केहि गर्नु पर्दैन? न घर बनाएको छ, न गाडी किन्यो, हैन पैसा चैं के गर्छस हं? सबै खाएर सिध्याएको भनौं भने कतै रेस्टुरेन्टमा गएर जांड रक्सी खाएको नि देख्दिन। कतै आर्कैलाई पो पोस्दैछस कि क्या हो?

खोइ दाई! म पनि छ्क्क परेको छु। गर्न त धेरै गरेको छु नि दाई। हरेक पटक ट्रेकिङ गएर आएको पैसाले घर खर्च चलाएको छु। आफुले स्कुलको अनुहार देख्न नपाएकोले मेरा भाइ बहिनीलाई राम्रो स्कुलमा पढाएर हुर्काएकै हो। उनीहरूलाई आफ्नै खुट्टामा उभ्याउन सक्षम बनाएकै हो। अहिले आ आफ्नो काम गरेर बन्दोबस्तीका साथ बसेका छन् । 

त्यै त भनेको तेरो दाई, दिदी, भाई, बैनी सबैले आ आफ्नो बन्दोबस्त गरिसकेका छन् , तं चै जस्ताको तस्तै छस। न तेरो घर छ, न गाडी? अझै डेरामै छस। आफ्नो पनि त बेबस्था गर्नु परो नि। कैले गर्छस? तेरो दाई, भाई, दिदी, बहिनीहरु सबैलाई तैंले बेबस्था गर्न सघाउने अनि तं चाहिँ संधै यस्तै डेरा मै बस्ने? अब त तेरो उमेर पनि हेर्नु नि। 

हुन त हो दाई। उ बेलामा दाई र म ट्रेकिङमा जांदा आमाले दुबैले पैसा खर्च नगर्नु, एकजनाको कमाई जम्मा गर्नु, आर्कोले घर खर्च गर्नु, अनि हाम्रो जीवन सजिलो हुन्छ। अनि घरजम गर्न पनि सजिलो हुन्छ भन्नु भएकोले दाईको पैसा जति जम्मा गर्दै जानू भयो, घर खर्च सबै मैले नै धानें। घर किने पछि दाई, दिदी, बहिनी, भाइ र आमा उतै बस्न जानु भयो। तर पनि भाई र बहिनीको स्कूलको फिस चैं मैले नै जम्मा गर्दै पढाएकै हो। उनीहरुको पढाई सकेर बिहेबारी गरि सके पछि, कमाउने भए पछि छुट्टै बसे। खुशी लाग्छ। सबैको आ आफ्नो घर छ। मैले चैं के गर्ने? कमाउन सकिएन। कमाएको जति यस्तैमा उडाइयो भनेर चित्त बुझाएको छु दाई। 

अस्ति बाबाले पनि, तपाईंले भन्नु भएझैं नै भन्नु भयो। के गरिस जिन्दगीमा? एउटा घर पनि बनाएनस, एउटा गाडी पनि किनेनस, पैसा चै के गर्छस? भन्नु भयो। मेरो घर, मेरा दाजुको घर एउटै त हो नि भनें। त्यो त तेरो दाईको पो हो? तेरो हक लाग्दैन भन्नुभो। आमाले पनि दाजुकै हो तैंले के गरिस र भन्नुभो। तैंले खाएरै सिध्याइस भन्नुभो! हुन पनि सबैलाई ख्वाएरै सिध्याएको हो मैले। 

जिन्दगीभर कमाएर खुवाएर, बिमारी हुंदा, औषधि खुवाएर, बिजुली, पानी, टेलिफोन, मोबाईल खर्च, स्कुलमा तिरेको फिस, दशैं, तिहार, ल्होसार, मनिरिम्दु, दुम्जीमा पाहुनालाई बोलाएर खुवाएको सबै बिर्सिने पो रहेछ। 

मैले जिन्दगीमा केही गर्न सकिन दाई। न घर बनाएं, न गाडी किने! सबै खाएर नै सकियो। मरिलानु के छ र अब कति काम गरिएला, कति बांचिएला, बाचुन्जेल परिवारको सेवा गर्न पाएकै छु। भाग्यले साथ दिए साउजीले काम दिई नै हाल्छ। ट्रेकिङ जान सकेकै छु। सकुन्जेल कमाएर एउटा स्वास्नी पालेकै छु। अब त स्वास्नी पनि पाल्न नसकिएला भनेर चिन्ता लागेको छ। सबैले भन्छन, माईला! के हो तेरो पारा? अस्तु।

17 May 2022

रेबिजको तनाब

मलाई १३ नम्बर खुशी र दु:ख लाग्ने दिन हो। धेरैले १३ गते अथवा १३ तारिख १३ तल्ला १३ औं कोठा १३औं घरमा बस्न डर मान्ने र केही घटना, दुर्घटना हुने भएको कथाहरु सुन्न पाइन्छ। सायद तेह्रौं दिन पनि यसरी नै राख्ने गरेको होकि। 

तर मेरो केशमा प्राय १३ गते र तारीख तिर बितेको दिनहरुमा मेरो काम जुट्ने र छुट्ने गरेको छ। यसपाली मे महिनाको १३ तारिखको दिनमा पशुपति आर्यघाटमा मलामीमा सहभागी हुन जाँदा एउटा बांदरले खम्बा चढ्ने क्रममा मेरो दायाँ हातमा टेकेर माथी चढ्ने क्रममा हातमा कोपार्‍यो। सुरुमा सामान्य देखिएको त्यो घाउबाट केहिबेर पछि रगत बग्न थाल्यो। रगत बगेको देखिसकपछि मैले स्यानीटाइजरले घाउ सफा गरें। मलामीमा सहभागी सदस्यहरुले एउटा  टिटानसको सुइ चैं लगाउ है भन्नुभयो। मैले पनि त्यो त लगाउनै पर्ला भनेर त्रि. वि. शिक्षण अस्पताल, महाराजगन्जमा गएर इमेर्जेन्सीमा जांदा, डाक्टर साबले यो टिटानस लाएर मात्रै हुंदैन भोलि बिहान एकपटक टेकु अस्पतालमा गएर सरुवा रोग विशेषज्ञ डाक्टर संग सल्लाह लिनु पर्छ भन्नू भयो। शिक्षण अस्पतालका डाक्टरलाई धन्यवाद।

रेबिजको खोप भन्ने बित्तिकै मेरो दिमागमा अनेक कुराहरू खेल्न थाल्यो। हालसालै मात्रै मैले चिनेको एकजना मान्छेले गरेको लापरबाही र उसका अन्तिम दिनहरुमा गरेका भएको घटनाको परिदृश्य सिनेमा झैँ फ्लासब्याक भयो। अस्पतालबाट घर सम्म आइपुग्दा मानौं म रेबिजको बिरामी भएर कुकुर जस्तै व्यबहार भएको कल्पनाले तनावग्रस्त भएँ। घरमा आएर खाना समेत बाहिरै बसेर खाएँ। राती निद्रा लाग्न गार्‍हो भयो। टेकु अस्पतालले राती फोन उठाएको भए सायद मेरो तनाब कम हुन्थ्यो कि? तर फोन उठेन। भोलिपल्ट बिहान विभिन्न अस्पतालमा फोन गर्दा पहिलो डोज टेकु अस्पतालमा नै लगाउँदा बेस हुने थाहा पाइयो।
इमर्जेन्सीमा गएर रु. १७०/- को टिकट काटेर रेबिज विशेषज्ञ डाक्टर संग परामर्श गर्दा मैले डाक्टर साब, बांदरले खोस्रेको मात्रै हो, रेबिजको खोप नै लाउन पर्छ र? भनेर सोधेको त गज्जबको जवाफ दिनु भयो, बांदरले कहिले हात धोएको देख्नु भएछ? त्यो हात, कैले मुखमा, कैले छालामा, कैले कता, कहिले त्यता लाने भएकोले फोहोरले इन्फेक्सन हुने चान्स धेरै हुन्छ, अहिले सम्म बांदरबाट रेबिज लागेको केश हामी संग छैन, तर रिस्क नलिनुस मजाले खोप लिएर जानुस भन्नु भए पछि ढुक्क भएर पहिलो डोज लगाए पछि बल्ल मेरो तनाव कम भयो। एक हप्तामा ३ डोज लगाउन पर्छ भन्नु भएको छ, आज दोश्रो डोज लगाइयो। 

त्यसैले यसपालिको १३ तारिख मेरो लागि अशुभ भयो। तर मेरो विचारमा यो सबै संयोग मात्रै हो। अस्तु।

09 May 2022

जस बहादुर

नाम चै जस बहादुर रे उसको! तर कहिले पनि जस पाएको देख्दिन भन्छन उस्का छिमेकी हस बहादुर। हस बहादुरलाई गाउंलेहरु हसे भन्छ्न र जस बहादुरलाई गाउंलेहरु जसे भन्छ्न। यीनीहरु दुबै लंगुटिया यार हुन त्यो गाउँको। ऊनीहरुको यो जिन्दगीभरको सम्बन्धलाई देखेर कतिले त ईर्ष्या पनि गर्छ। साथी होस त हसे र जसे जस्तो। गाउंलेहरुको मन जितेका छन दुबैले। हरेक काम कुरामा सघाएका पनि छ्न। कतिले त्यो हसे त काम नै लाग्दैन हस चाहिँ भन्छ काम चाहिँ गर्दिन्न पनि भन्छन। कतिले जसेलाई जतिसुकै कामलाए पनि जस दिंदैनन। तर दुबैले कसैको मन दुखाउने काम चैं जानी जानी गर्दैनन। यो कुरो गाउंले सबैलाई थाहा छ।

हस बहादुरले नाईं भन्न जानेन, जस्तोसुकै काम लाए पनि हस भन्दिहाल्ने। काम हुन्छ हुन्न थाहा हुन्न हसेलाई। त्यस्तै जसेलाई कामफत्ते भएर पनि कसैले जस देला भन्ने आशा पनि छैन। किनभने जसलिने मान्छे हजार हुन्छ्न। तिनीहरुको पछि लाग्ने मन छैन जस बहादुरलाई।


अवकाश

(कसैको जीवनमा मेल खान गएमा संयोग मात्रै हुनेछ है। आक्षेप लगाउन पुर्ब आफै सोच्नु होला) 
आजकाल मलाई निक्कै चिड्चिडाहट हुन्छ। कसैले नमस्ते गर्‍यो भने किन गरेको होला, त्यो मान्छेको के स्वार्थ छ होला? र त् मलाई नमस्ते गरेछ भन्ने लाग्छ। अनि नमस्ते गरेन भने चैं, तोइट! कस्तो मान्छे रैछ, नमस्ते नै गरेन, कस्तो मुर्दार रहेछ जस्तो लाग्छ। 

समयले कोल्टे फेरे जस्तो लाग्छ। कुनै समय यस्तो थियो, म जता जता जान्थे, उता उता मेरा अघि पछि मेरा मित्रहरु संग संगै आउँथे, मेरा कुरामा हो मा हो मिलाउंथे। कहिले काहीं बेबकुफ बनाउंदा पनि बेबकुफ हुन पनि रुचाउँथे। आजकाल उस्तै कुराहरु गर्दा, बूढो भएछ, खाली उ बेलाको कुरो सुनाएर हैरान पार्छ भनेर तर्केर हिंड्छन। मेरो कामबाट अवकाश लिंदै गर्दा, मेरा कुराहरुले पनि अवकाश लिन थालेछ।  

बिहान संधै आफै कफि बनाएर दिने श्रीमतीले आजकाल आफै बनाएर खा भन्छे, अब घरमै बस्ने त हो नि, कता जानु हतार छ र? भन्छे, अफिस सफिस जानु पर्ने होइन, मेरो काममा तपाईंले सघाउने होइन, सानो तिनो काम त अब हजुरले पनि गरिसिन हुन्छ भन्छे। 
होइन! यो अवकाश भन्ने नाम सुन्ने बित्तिकै नै सबै नातागोता र समाजले समेत हेपेको हो कि जस्तो लाग्न थालिसक्यो। अस्ति बिहान मर्निङ वाक जांदा दुधवाला साहुनीले पनि नमस्ते नै गरेन, त्यो मासु पसलेले त झन नदेखे झैँ पो गर्‍यो| बजियाले, संधै अफिसमा जांदा र आउंदा दिनमा दुई पटक नमस्ते गर्ने पसलेले मेरो अवकाशको समाचार सुन्ने बित्तिकै नै आफ्नो औकातमा झर्न थाल्यो। 
पाउरोटी ल्याउने त्यो केटोले आज आलो बिजी छु हजुर नै आइस्यो न! भनेर फोन गर्‍यो। उता पानी ल्याउने केटोलाई पनि फुर्सद छैन रे अलिबेरमा ल्याइदिम्ला भनेर गयो। 

मलाई एकदम अचम्म लाग्यो, ए बाबा! हिंजो अस्ति सम्म हजुरका हजुर लाएर कुरा गर्ने मानिसहरु आज त तपाईं भन्ने भएछ्न। अबको एक दुई महिनामा त नाम लिएर जी नभन्लान भन्न सकिंदैन। 

यस्तो अनुभव मलाई मात्रै हो कि तपाईं हजुरहरुलाई पनि भएको छ? यो मेरै समाज हो, जहाँ म नभई कार्यक्रम नै नचल्ने जस्तो थियो, अस्ति एकजनाले सप्ताह लगायो, मलाई निम्ता नै गरेन, त्यसको केही दिनमा ब्रतबन्ध थियो, त्यसमा पनि बोलाएन, ए मेरो हजुर, म पावरमा हुंदा चाकडी गरेको भान त हुन्थ्यो, तर यस्तो अचाक्ली व्यबहार परिवर्तन होला भनेर मैले सोचेको थिइन। 

त्यसैले कसैले झुक्किएर नमस्ते गर्‍यो भने त्यो मान्छेको केही स्वार्थ अझै छ होला र पो मलाई नमस्ते गरेको हो कि जस्तो लागेर आउँछ। मेरो चिड्चिडाहट बढेको छ। सायद मानसिक तनाव पो बढेछ कि? अस्तु।

07 May 2022

अन्न देउता

ओ खो! साउजी नमस्कार गरें!

साउजी: नमस्ते, नमस्ते ! के छ काईंला, तेरो हाल खबर? आजकाल देखा पर्दैनस त! कटा टिर छस हं?

ट्रेकिङ सेकिङ जाने गरेको छैनस? आजकाल सामान किन्न पनि आउंदैनस त!

कांईंला: ओ खो साउजी! क्यार्नु र ट्रेकिङमा जान कुइरे पनि त आउन परो नि। आफु एक्लै गएर हुन्न क्यारे! पैसा कमाउन ट्रेकिङ कम्पनीमा पनि कुइरे सुइरे आउन परो नि। आनि पो सामान पनि किन्न आउने। आबु! आफैले मात्रै खान त उहि सात्तु, गौं, जौ, मकै, सकै भए पुगि हाल्छ। तो त मेरो तिरै नै पाउंछ त। तेसैले एतातिर नआहुम! 
साउजी: ए टेसो पो! मैले त तंलाई पनि कोरोना ले पो लग्यो कि भन्ठानेको नि बज्या!

कांईला: ओ खो साउजीले पनि कस्तो खत्रै ठट्टा पो गरो त। मो मोरे पनि भुत भएर तपाईंलाई भेट्न आई हाल्छु नि। अनि संगै बसेर तो ऐला र भोइंसीको छोइला खान आउँथे नि। आम्मामा! त्यो सितन सम्झेर खान पो मन लाग्यो त साउ! खुवाउने होइन? 

साउजी: किन न ख्वाउने नि! लौ जाम! तं त मेरो अन्न देउता हो नि तंलाई भोग नदिएर हुन्छ बज्या! तंइले गरेर मैले पसल थामेको छु। आइजे जाम। तंलाई यमराजको बहान भोइंसीको छोइला र ऐला ख्वाउँछु। मज्जाले खाम जाम। अस्तु।

06 May 2022

बिचरा त्यो केटो

झिस्मिसे बिहानै खेतमा काम गर्न जांदा घरमा कोही उठेका हुंदैनन। त्यो केटोको कांधमा सारा परिवारको बोझ छ। केटोले एक दिन काम गरेन भने भोकभोकै मर्लान भनेर कुटो कोदालो बोकेर आर्काको खेतमा काम गर्न जान्छ। बिहानको खेतीपाती पछि सडकमा बसेर ढुंगा कुट्ने काम गर्छ र पो परिवारको पेट पालिएको छ। आफुलाई भोक लाग्दा खोलाको पानी टन्न पिएर मैले खाएर आएको तिमीहरु खाना खाउ भन्ने उनको मनकारी भावनामा कति दु:ख लुकेको छ, भन्ने कुरो त्यो केटोले त्यो झुपडीमा बसेका परिवारलाई एक रत्ति पनि भान हुन दिंदैन। बिहान खाली पेटमा खोलाको पानी पिएर काममा गएर, साहुजीले दिएको फुक्का च्युरामा अलिकति रक्सी हाल्दिंदा पनि दंग पर्ने त्यो केटोले परिवारका सदस्यहरुलाई आफ्नो दु:ख र भोक कहिले पनि देखाएन।
दिनै भरी एकछिन पनि थकान मार्न नपाउँदा पनि आराम गर्न नपाउंदा पनि त्यो केटोले आफु थाकेर आएको कुरा कहिले पनि आफ्नो परिवारलाई भनेन। थकित अवस्थामा झुपडीमा आउंदा परिवारका सदस्यहरुले त्यो केटोले दिन भरी के खायो? वा खान पाएन? भनेर बिचार गरेन भनेर कहिले पनि गुनासो गरेन। कैयन दिन भोक भोकै काम गरेर आफ्नो परिवार पालेको कुरोमा त्यो केटोलाई गुनासो पनि भएन।
यति गर्दा गर्दै पनि आफ्नै परिवारका सदस्यहरुले तैंले जिन्दगीमा हाम्लाई के दिइस? गरीबी बाहेक एक छाक मीठो मसिनो खुवाउन सकेको छैनौ। यो झुपडीबाट आर्को घर भन्ने देख्न पाउने आशा पनि मरि सक्यो भने शब्दबाणले कहिले काहिँ भने केटोको मन भांचिदो रहेछ। एउटा कुना मा बसेर गहभरी आँसु बगाएर आफ्नो दुखेसो पोख्दो रहेछ। परिवारका सदस्यहरूलाई तनाव होला भनेर आफुले मात्रै तनाव सहेर बसेको त्यो केटो बाहेक यो संसारमा अरु कसैलाई थाहा भएन। बिचरा त्यो केटो। अस्तु।

02 March 2022

केयरिङ श्रीमती जी

श्रीमती जी! केयरिङ श्रीमती रेन्त।
अफिस जाने बेलामा के लुगा लगाएको? फुकाल आर्को आइरन गर्देको छु। 
जुत्ता लगाउन लागेको बेलामा, आज त्यो जुत्ता नलगाउनुस आर्को जुत्ता लगाउनुस। आर्को!
भोज जाने बेलामा आफुलाई मनपर्ने सुट लगाएर चिरिच्याट्ट भएर रेडि भएको त! हुन्न हुन्न अहँ त्यो त हुँदै हुन्न। अस्ति पनि त्यै आज पनि त्यै सुट लाउने? आर्को लगाउनुस। आर्को! 
भोजमा खानेकुरा प्लेटमा राख्यो, त्यो थोरै खानुस, त्यो छुंदै नछुनुस, त्यो लिंदै नलिनुस आर्को लिनुस। आर्को!
ए श्रीमती जी! म आर्को बिहे गरौं! आर्को!