Grab the widget  Get Widgets

11 October 2025

अभागी बुढा

कालुको दिनचर्या सधैं एकनासको थियो। बिहान उठ्नेबित्तिकै गोठमा गाईवस्तुलाई दाना दिन्थ्यो, त्यसपछि तीन धाराबाट घरको लागि पानी भर्ने उसको मुख्य काम हुन्थ्यो। खानपिन सकेर दिउँसो घाँस र दाउराको जोहो गर्न जंगलतिर लाग्थ्यो। 

साँझमा डोकोभरि घाँस र सुकेका दाउरा लिएर फर्किएपछि बेलुकीको खाना पकाउन चुल्होमा दाउरा मिलाउँथ्यो। घरपरिवारको लागि उसले मरिहत्ते गर्थ्यो, तर उसलाई भने पानी पिउन मन लाग्दा जगमा पानी हुन्नथ्यो, भोक लाग्दा थालमा खानेकुरा हुन्नथ्यो। ऊ आफूलाई सधैँ अभागी ठान्थ्यो। घरमा कसैलाई पनि उसको महत्त्व याद थिएन।

​एकदिन अचानक कालुलाई मुटुको व्यथाले समात्यो र केही घण्टामै देहत्याग गर्‍यो।

​लाश उठाउने बेला भयो। घरपरिवारका सदस्यहरूले अन्तिम श्रद्धाका लागि उनको मुखमा जल हाल्न खोजे। तर, घरभरि कतै पानीको थोपा पनि भेटिएन। जग र गाग्री सबै रित्ता थिए।

​त्यसपछि मात्र सबैले बल्ल भेउ पाए, "बिचरा बाले नै घरभरि पानीको बन्दोबस्त गर्नुहुँदो रहेछ। आज बालाई मृत्युपछि जल चढाउने बेलामा घरमा एक थोपो पानी छैन रहेछ।"

​घरका एक सदस्यले बोले, "बाले पूर्वजन्ममा धेरै पाप गर्नुभएको रहेछ, हाम्रा बा ले। यस्तो छ कर्मको फल। लौ हेर, मृत्युपश्चात् पनि उहाँले पानीको व्यवस्था आफैले नगरेकाले जल चढाउन पाइएन।"

​यो मार्मिक घटनाले हामी सबैलाई एउटा महत्त्वपूर्ण सन्देश दिएको छ, घरको काम कुनै एक व्यक्तिको मात्र जिम्मेवारी होइन। घरको हरेक काममा सबैले मिलेर हात बटाउनु पर्छ र एकअर्काको श्रमको कदर गर्नुपर्छ। कसैको महत्त्व उसले यो संसार छोडेर गएपछि मात्र थाहा पाउनु ठूलो भूल हो। समय छँदै हरेक सदस्यको योगदानको सम्मान गरौं र जिम्मेवारी बाँडौं, ताकि कसैले पनि कालुले जस्तो नियति भोग्न नपरोस्। अस्तु!

09 October 2025

धर्मात्मा बजै

​छाँयादेवी बजैको बोली त सर्पको टोकाइभन्दा पनि कडा। मन्दिरमा गएर ठूलठूला दान गर्छिन्, हर हप्ता सत्संगमा गएर 'जय माता दि' भन्छिन्। तर छाँयादेवी बजैको दिनचर्या भने बिहान उठ्ने बित्तिकै गाउँका मान्छेको कुरा काटेर मात्र सुरु हुन्छ। 'यसको यस्तो, उसको उस्तो' भन्दै नुन, तेल, खुर्सानी सबै हालेर कुरा नबनाएसम्म उहाँलाई खाना नै नपच्ने!

​घर परिवारको कुरा के गर्नु? उनको यो 'मिठो' बानीले गर्दा छोराछोरी, बुहारी सबैले वाक्क भएर घर छोडे। विचरा श्रीमान पनि कति दिन सहनु, बुढो भए पनि शान्तिको खोजीमा एक्लै बस्न थाले। बजै भने बाहिरबाट 'म कति धर्मात्मा!' भनेर गाउँभरि फुर्किन्छिन्, तर घरभित्रको सन्नाटाले उनको दिमागमा कत्ति पनि घोचेको छैन।

​कसैले हिम्मत गरेर "बजै, अलि बोली सुधार्नुस् न" भन्यो भने आम्मामा! उल्टै 'तँ को होस मलाई सिकाउने?' भन्दै यस्तो गाली गर्छिन् कि राम-राम! सम्झाउने मान्छेको मुखै रातो हुने गरी टालिदिने। त्यसैले आजकाल गाउँलेहरू बजैलाई देख्नेबित्तिकै बाटो फेर्छन्। कोही पनि उनीसँग बात मार्न चाहँदैनन्।

​"हे भगवान्, यी बजैको बुद्धि कहिले फर्किने होला?" भनेर गाउँलेहरू भगवानलाई गुहार्छन्।

​यी बजैलाई सम्झाउनु भनेको साँढेको अगाडि बाँसुरी बजाउनु जस्तै हो। तर एउटा उपाय छ भन्दै गाउंलेहरु मिलेर यसो गरे कसो होला भनेर सल्लाह गरे।

'जस्तालाई त्यस्तै' थेरापी: अब गाउँका कसैले पनि बजैको कुरा नसुन्ने। उहाँले कसैको कुरा काट्न थाल्नेबित्तिकै सबैले मुख बिगारेर हिँड्ने वा उल्टै उहाँकै बानी 'दान र बोलीको भिन्नता' माथि ब्यङ्ग्य गर्ने। जस्तै: "आहा! बजै, तपाईंको बोली त सत्संगको प्रसाद जस्तै मीठो छ! आज कसको कुराको भोग लगाउनुभयो?" यसरी उनलाई लाजले छुनुपर्छ।

​मन्दिरमा पर्चा टांस्ने: सबैले देख्ने गरी मन्दिरको भित्तामा वा सत्संग हुने ठाउँमा ठूलो अक्षरमा लेखेर टाँसिदिने: "जसको बोली मीठो छैन, उसको दान र धर्म केवल देखावटी हो।" सायद, धर्मको डरले उनलाई चेत आउँछ कि!

​अन्त्यमा, छांयादेबी बजैको बुद्धि कहिले फर्कला? कमेन्टमा लेख्नु होला है। अस्तु।

08 October 2025

फूलबारीको शान्ति

​एकादेशमा, गाउँको फेदीमा सानो झुपडी थियो। त्यहाँ रामबहादुर र उनकी श्रीमती सीता बस्थे।

​रामबहादुरलाई आफ्नै घर-आँगन, बारी-बगैंचा चिटिक्क परेको देख्दा मनमा अचम्मै शान्ति मिल्थ्यो। बिहान-बेलुकी गाउँका चौतारीमा चियागफ गरेर समय काट्ने मानिसहरूको संगत छाडेर उनी सधैँ खुर्पी समातेर फूलबारी गोड्थे, घरको छेउछाउमा आँप, अभोकाडो, भोगते, अम्बाको रुख र सुन्तलाको बोटमा पानी हाल्थे।

​तर, सीताको मनमा भने यो मान्छेले नोकरले गर्ने काम मात्रै गर्छ भन्ने परेको थियो। उनी आफै भने घरको सबै परिवारका लागि चुलो-चौका सम्हाल्थिन्। रामबहादुर काम गर्दा गर्दै निथ्रुक्क पसिना पसिना परेको देख्दा उनी नाक खुम्च्याउँथिन्। "ए होइ, रामबहादुर! सारा गाउँलेको लोग्नेमान्छे काममा जान्छ, पैसा कमाउँछ। तपाईं चाहिँ आफ्नै घरको नोकर जस्तो गरेर पैसा नआउने ज्यामीको काम गर्नुहुन्छ! तपाईंले गर्ने काम हो त्यो?"

​सीताको यो तीतो वचनले रामबहादुरको मन कुँडिन्थ्यो, तर उनी जवाफ फर्काउँदैनथे। मनमनै भन्थे— 'घरलाई रानी जस्तै सजाउँदा कसरी नोकर भइन्छ र, कुन्नी? यो कामलाई यस्ले कहिले नसहने भो! यो कामलाई त सौता नै मान्छे।'

​एकदिन, सीतालाई टाउको दुखेर साह्रै गाह्रो भयो। उनले घरको दलिन र भित्तातिर हेरिन्। रामबहादुरले मेहनत गरेर सफा बनाएका झ्यालका सिसाहरू टल्किएका थिए। बारीको कान्लामा सुन्दर फूलहरू हाँसिरहेका थिए। चौर सफा, बगैचाको बारमा घाम चम्किरहेको थियो।

​एक्कासि सीताले महसुस गरिन्, उनको शान्ति त यही चिटिक्क परेको घर र सफा आँगनबाट आइरहेको रहेछ। जहाँ शान्ति र सन्तुष्टि हुन्छ, त्यहाँ नोकर वा ज्यामी होइन, परिवारको प्रेमले वास गर्छ।

​उनी दौडेर रामबहादुरकहाँ गइन्, जो बगैंचामा काम गर्दै थिए। "घरमा गरेको काम नोकरले गरेको होइन, यो त मायाले गरेको हो र छ," सीताले गल्ती स्वीकार्दै भनिन्। एक्कासि यस्तो व्यबहार देखेर रामबहादुर मुस्कुराए।

​कुनै पनि काम कसैको बोझ वा दास बन्नु होइन। यो त प्रेम हो। जब आफ्नो घर चिटिक्क राम्रो हुन्छ, तब मात्रै मनमा बास्तबमा शान्ति छाउँछ। हरेक सदस्यले गरेको काम सेवा हो, नोकर होइन। अस्तु।

07 October 2025

कालेको मनगढन्ते तनाव

शनिबारको दिन, सुन्दरीजलको पदयात्राको उकालो बाटोमा हिँड्दै गर्दा कालेको अनुहारमा गुनासोको भारी देखियो। उस्ले आफ्नो भारी मनका कुरा संगै हिंड्ने साथीलाई बताउने बिचार गर्‍यो र भन्यो, “रामु, म तंलाई मेरा मनका कुरा भन्छु, अनर्थ नलगा है! मलाई त अहिले कोही कसैले वास्ता ब्यास्ता नै गर्दैन जस्तो लाग्छ। यार! अस्ति मामा आइपुग्नु भयो हगि! ‘सन्चै छ?’ भनेर पनि सोधेनन्। आजकाल मेरी प्यारी साली ले पनि फोन समेत गर्दिनन्, पहिले त समय समयमा के छ भेना? भनेर कुरा गरिरहन्थिन। अनि त्यो च्या पसलको साहुजीले त अनुहारै नहेरी चिया दिन्छ, यार! हुंदा हुंदा त्यो दूध बेच्ने केटीले पनि ‘दाइ’ भनेर सम्बोधन गर्न छोडी सकि भन्या! त्यस्तै त्यो मन्दिर अगाडि तरकारी बेच्ने च्याखुरीले त अस्ति बाटोमा नमस्ते धरी गरेन।” यस्तो कुरा मैले पहिले याद गर्दिन थिएं। अहिले मनमा आउँछ।

रामु हाँस्यो, “अरे काले, तैंले त मनमा भाँडाकुँडाको पसल जस्तै मनगढन्ते पसल खोलेछस् जस्तो छ। मान्छेले नमस्ते नगरेकोमा तं यस्तो चिन्ता गर्छस्? तं को होस्, गाउँको प्रधान मन्त्री हो?”
काले अझ गम्भीर, “तर यस्ता कुरा मनमा अड्किएपछि राति निद्रा पनि आउँदैन। सबैले बेवास्ता गरेको जस्तो लाग्छ।” क्यार्ने?

रामुले काँध थप्थपाउंदै भन्यो, “काले, यो त तेरो मनको खेला हो। अरुले के गरे, के भने भनेर अल्झिनु हुन्न, नत अल्झेर बस्नु पर्छ। तं आफ्नै सुरमा आफ्नै काममा मन लगाएर काम गर्न यार! अनि दुनियाँको पछि लागेर उस्ले यो गरे हुन्छ, तेस्ले त्यो किन गरेन? भनेर संसारको ठेक्का लिएर हिंडेर हुन्छ? यो सब छाडी दे, अनि सबै कुरा सामान्य लाग्छ। अरुले नमस्ते नगरेर दुःखी हुनु भनेको मानसिक तनाब बोक्नु हो, किन बोक्छस् हं!” थुक्क! 

काले केही बेर मौन रह्यो, अनि हाँस्यो, “हैन नि, तेरो कुरा सुन्दा लाग्यो, म त आफ्नै दिमागको हाटबजारमा अनावश्यक कुरा किनबेच गर्दैछु, कि क्या हो?”

त्यो हाईकिंगबाट फर्केर आउँदा कालेले रामुलाई भन्यो, “हो यार! तैंले भनेको कुरो ठिक लाग्यो, अब देखि म अरुले के गर्‍यो, गरेन भनेर होइन, म आफैंले के गर्न सक्छु भनेर सोच्ने र काम गर्ने गर्छु।”

वास्तवमा मनगढन्ते कुराले मन बिगार्छ रैछ। बेकारमा अरुले वास्ता गरेनन् भनेर दिमाग खराब गरेर बसेछ। आफ्नो मूल्य आफैले बुझ्ने हो, सकारात्मक सोच राख्ने र आफ्नो काममा आफैले ध्यान दिने हो, आर्काको कुरा सुनेर वा अन्दाज लगाएर मनमा कुरा खेलाएर बस्ने हैन। अनि मात्रै मानसिक तनावबाट उम्कन सकिन्छ। यहि नै असली उपाय हो। अस्तु।

06 October 2025

सासुमा

नमस्कार म्याडम! अस्ति तपाइँको सासुमा भेटेको थिएँ।

म्याडम: अनि मेरो कुरो काट्यो कि काटेन नि!

किन र कुरा कटुवा हो र तपाईंको सासुमा?

म्याडम: त्यसो त होइन, तर जो भेट्यो उसलाई मेरो कुरो काटेर हैरान पार्नु हुन्छ क्या! खास गरि मेरा आफन्त र चिनाजानेकालाई।

तर मलाई भने ठ्याक्कै उल्टो सुनाउनु भो नि!

म्याडम: के भन्नु भो र!

के भन्नु नि, दुई दुई जना छोराछोरी हुर्काउंदै, घर धन्दा गर्ने मेरी बुहारीलाई फुर्काउन हुन्न भनेर मैले गाली गरे जस्तो गर्छु। बुझ्दैनन्! अनि म संग च्याठिन्छे।

म्याडम: अनि हाम्रो सासुमा च्याठ्ठिने कुरो गर्नु भएन त!

किन नभन्नु नि! म पनि कराउने बेलामा आँखा देख्दिन, मुख सम्हाल्न पनि सक्दिन, जे मनमा आयो, फ्याट्ट बोल्दिहाल्छु, अनि मनमा घोच्यो भन्छे मेरी बुहारी! अस्तु।

05 October 2025

रिस

आज घरमा दाजु-भाउजूको बिहानैदेखि नोकझोंक चलेको रहेछ। मान्छे न हो, मलाई दाजु- भाउजूको झगडा तगडा हुन्छ भनेर बिरालाको चालामा भान्साको ढोकाबाट यस्सो चिहाएर हेर्दै थिएं, भाउजूको आँखा त आम्मामा आगो जस्तै, बोलाइ त क्या खत्रा, अहिले नै खाउंला जस्तो, झ्याप्पै झपार्दी हाल्ने! दाजु पनि चुप लाग्ने मान्छे कहाँ हुनु त, उनले पनि दुईचार शब्द तेस्र्याएछन्। त्यसपछि गाउँमा हुने मेलाको झैँ घमासान वाकयुद्ध सुरु भो।

म त "बिरालो झैँ बिस्तारै भित्र पसुँ कि" भन्ने सोच्दै थिएँ, एक्कासी भाउजूले दाजुको खाना खाने प्लेटै समातेर "स्वाईंट्ट" गर्दै फ्याँकिदिनु भयो। त्यो प्लेट त झण्डै मेरो टाउको निर आयो। धन्नै मैले ढोका समाएर शरीर टाउको बटारेर छलें। आँखै अगाडिबाट त्यो प्लेट उडन तस्तरी उडेको झैं देख्दा त थरर भएँ।

प्लेट उडेर सीधै छिमेकीको पर्खालमा "ढयाम्म" गर्दै ठोक्कियो। प्लेटको आवाजै सुन्दा पनि लाग्थ्यो, मानौँ मान्छे नै पछारिएको हो कि जस्तो। छिमेकी आमा त आँगनबाटै चिहाउँदै, "आम्मामा! के भयो नि यो?" भनेर कराउनुभयो। मैले नदेखे जस्तो गरि ताप कसें।

दाजु र भाउजू भने अझै रोकिएनन्। भाउजूको हातमा त अरु भाँडा नपरोस् भनेर दाजु चुप लागेझैँ देखिए। म भने मनमनै सोचें, मेरो पनि बुढीसंग यस्तो भयो भने पहिले नै ताप कस्छु, यी बुढाबुढीको जस्तो रिसको झोंकमा आफ्नै प्लेट चैं छिमेकीको घर सम्म पुग्ने  गरि फ्यांक्दिन। रिसको झोंकमा आफ्नै अगाडि भाँडा उड्छ, मन त के न उड्ला?

त्यसै बेला बुबाले भनेको कुरा सम्झिएँ, "घरको आगो छिमेकीलाई देखिन्न तर धुवाँ चाहिँ सबैतिर पुग्छ।" यो घटना देखेपछि त त्यो भनाइ झन् पक्का लाग्यो। अस्तु।

04 October 2025

गोरे दाई

उस्लाई गाउँमा सबैले गोरे दाई भन्छन्। सरकारले रिटायर गरेको, तर जीवनले रिटायर गर्न नसकेको मान्छे। गाउँलेको मनमा गोरे दाईको ठाउँ सधैंको लागि महान छ। उसको त्यो सहयोगी स्वभावले सबैलाई मन पर्छ, एक जनालाई बाहेक, त्यो उसको आफ्नै श्रीमतीलाई।

गोरे दाईको श्रीमतीको नाम राधा हो। राधाले गोरे दाईको एकोहोरो काम देखेर कहिले काहिँ गोरु जस्तो जोतिने मान्छे पनि भन्छिन्। मतलब त "गोरु" नै हो। "भान्साको काममा कहिले नसघाउने र गर्न पनि मन नलाग्ने। संधै त्यही बगैंचा, त्यही फुलबारी। फुलले पेट भरिँदैन क्यारे!" भन्छिन्, राधा।

गोरे दाई भन्छन्, "फुलले पेट भराउँछ नि, अनि मन पनि त भराउँछ। बगैंचामा हात हालेर माटो छोएर काम गर्दा हाम्रो स्वास्थ्य पनि राम्रो बन्छ।" कहिले काहीं गोरेदाई फुल संग बात मारिरहन्छ, जुनबेला राधाले गाली गरेको हुन्छ। एक्लै फुल संग मनका ब्यथा साटासाट गरेझैं भुत्भुटाई रहन्छ। बर्षाले फुल ढल्यो भने उठ! उठ! है फुल। भनिरहन्छ, फुल पनि केही दिनमा उठछ नै।

तर राधाको स्वास्थ्य भने चुल्हो, चौका र भाँडाकुंडामा हुन्छ। फुल फुलेको बेला गाउँलेहरू आउँछन्, "आहा, कति राम्रो फुल!" भनेर टपक्क टिपेर लैजान्छन्। राधाले भने आफ्नै बगैंचामा फुल पनि पूजा गर्न खोज्दा फुल टिप्न नै पाउंदैन। अनि उनको रिस बगैंचामा चरिरहेका हांस कुखुराहरुमाथि बर्सिन्छ, "यो घरमा काम गर्ने कालु मकै खाने भालु, गाउंलेहरु पनि त्यस्तै, फुल चाहिए आफ्नै घरको बारीमा उमार्नु नि!"
एक दिन गोरे दाईले बगैंचामा गुलाफको बोट लगाए। त्यो फुल फुल्यो, र गाउँकी सानी कीर्तिले टिप्दै गर्दा काँडाले खोपिएर रुंदै घर तिर फर्कींदै थियो। गोरे दाईले उसलाई फुल दिए, मन बहलाए। त्यो देखेकी राधाले भनिन्, "तिम्रो फुलले अर्काको आँसु मात्रै पुछ्छ, तर घरभित्र मेरो मन रुंदा केही गरेका छौ?"

गोरे दाईले मुस्कुराउँदै भने, "तिमीले नै भन्यौ, फुलले पेट भर्दैन, तर मन भराउँछ। आज कीर्ति रोएकी थिइन्, मेरो फुलले उसलाई हँसाउन सक्यो। तिमी पनि कहिले काहीं रोऊ, मेरो बगैंचाको फुलले तिमीलाई पनि हँसाउनेछ।"

राधाको मुखमा हल्का हांसो आयो। अर्को दिन, उनले गोरे दाईलाई भान्सामा चिया बनाउँदै गर्दा भनिन्, "आज बिहान तिम्रो बगैंचामा फुलेको फुलको चिया बनाउँछु। तर आजैबाट भान्सामा पनि सहयोग गर्नु पर्छ।"

गोरे दाईले चिया हेरे, मीठो मानी पिए अनि "हुन्छ, आजैबाट फुल र भात दुवैको जुक्ती गर्छु।"

बगैंचाको रंगीन फुल र चुल्होको तातो आगो बीचको यो कथा सधैं चलिरहनेछ। गाउँलेहरू भन्छन्, "गोरे दाई र उनकी श्रीमतीको झैं, फुल र चुल्हो पनि एकअर्काको परिपूरक हुन्।" अस्तु।

01 October 2025

देवी आमा

ए हजुर, सुन्नुस् त एउटा कथा।
उहिले एकादेशमा एउटी आमा थिइन्, गाउँलेले उनलाई “देवी” भन्थे। आफू भोकै बसेर भएपनि छोरो–छोरीलाई खुवाउने, जंगलबाट घाँस दाउराको भारी बोक्दा पनि हाँस्ने।
गाउँका सबैले गर्व गर्थे–“देवीले घर अडाइन्।”

अब समय फेरिएको छ। देबीको छोरोको बिहे गरेपछि देवीको चालामाला नै पल्टियो।
पहिले गर्वका साथ भन्थिन् “हाम्राँ कसैले पनि दाइजो ल्याउन परेन, पर्दैन्थो, बरु सकेको दिदिबहिनीलाई पुर्‍याइयो।”
तर छोरोको बिहेपछि भने देबीको मुखै फरक–“दाइजो ल्याएको भएपो फुर्ती लगाउने, सबै मैले नै जुराएको सम्पत्तिमा बुहारीले रजाइँ गर्न खोज्छे, म पनि कम छु र! छुन पनि दिन्न।”
मानौँ दाइजो बिना बुहारी त मान्छे नै होइन, भूत प्रेत, राक्षस पो हो जस्तो।
बुहारीले केही गरी जवाफ फर्काई भने तुरुन्तै “ए अलक्षिणी, तंइले के ल्या छस् र फुर्ति गर्छेस्! मेरो सम्पत्तिमा मोज गरौंला भनेकी होली, फुटेको कौडी पनि दिन्न। तेरो बाउले दिएको छ?”
त्यस्तो कडक शब्द बोल्दा देबी आमाको मनमा शान्ति हुंदो हो, मुखै उज्यालो, मानौं एउटा लडाइँ जितेको जस्तो घमण्ड। 
बुहारीलाई हेपेर बोल्न पाएपछि आमाले भन्थिन्, “मलाई हेप्न त कसैले पनि सक्दैनन्, बुझिस! जेठानी, देबरानीहरुलाई त थर्काएर आएको, अहिले तं झुसे बुहारीलाई त एक वचन मै ठिक गर्दिहाल्छु।”

एकदिन छोरोले हिम्मत गरेर भन्यो, “आमा, तपाईंले यो घरमा आउंदा दाइजो ल्याउनु भाको थियो?"
"उ बेला हाम्रा बाले दाइजो लेरा भनेको थियो?"
तपाईंले नै हैन, हाम्रां कसैले पनि दाइजो ल्याउन परेन भनेर गाउँ भरी फलाक्दै हिंड्ने? 
"पहिले चाहिँदैन भन्ने, अहिले बुहारी आउँदा चाहिँ किन चाहिने?"
गाउँकि "देवी आमा" भन्थे त! खोइ अहिले के भाकी?
अहिले तलतिर गाउँमा जानै नहुने भैसक्यो, सबै गाउँलेले ‘तिम्री आमा त पहिले देबी जस्ती अहिले कस्ती अलक्षिणी आमा’ भनेर जिस्काउन थालिसक्यो।”

त्यो कुरा सुनेर देबी आमाको मुख पहेंलो भयो, अलि सम्हालेर देबी आमाले भनिन् , "हो त हाम्ले त दाइजो ल्याएका थेनम्। सबै मिलिजुली नै घर सम्हालेका हुम्। म मा यस्तो घमण्ड कसरी आयो? सांच्चै, म कस्ती थिएँ, अहिले यस्ती भाको छु। मलाई महसुस भयो छोरा, अनि बुहारी, तिमीहरुलाई मैले धेरै नै दु:ख दिएं। अब देखि यस्तो हुन्न। हरि शरणम्।” अस्तु।

30 September 2025

जिम्मेवारीको पीडा

गाउँको पुरानो घर। आँगनमा गोठ, भान्साबाट धुवाँ, चिया पाकिरहेको बास्ना आइरहेछ। बिहानै उठेर बाबुकाजी खेततिर लाग्छन्, खेतमा उम्रेका फर्सी, कुरिलो, कांक्रो, लौकाको हेरचाह गर्छ। काम गर्दा निधारभरि पसिनै पसिनाले भए पनि तरकारीले टोकरी भर्छन्। सबै तरकारी बोकेर कालिमाटी बजारमा लैजान्छ। कालिमाटी सम्म जांदा बसमा खर्च लाग्छ भनेर केही पैसा बचाउन भए पनि हिंडेर जान्छ। आउंदा जांदा चर्को घाम, बाटोको राप अनि दिनै भरी ग्राहक संग मोलमोलाइ गरेर जम्मा गरेको पैसा एक पटक मासु किन्दा स्वाहा नै हुन्छ। त्यसैले पैसा बोकेर नै घर जान्छ।

तर बेलुकी घर फर्कना साथ उनलाई परिवारका सदस्यहरुले मीठो  स्वागत गर्दैनन्, बरु थप सुनाउन लाग्छ। संधै त्यै बारीको तरकारी! कैले काहिँ त मासु लिएर आए पनि त हुन्छ है! 

बाबुकाजीको आमा भन्नुहुन्छ “मेरा कुरा त सुन्ने नै होइन क्यारे! खाली स्वास्नीको कुरो मात्रै सुन्छ्स्। दिनभरी काम गरेपछी बाटो मै केही खाएर आए हुन्छ नि!”
श्रीमती झर्किन्छिन् “तिमीले त तिम्रो आमाको कुरा मात्रै सुन्ने त हो नि। मेरो कुरो त कानमा पर्दै पर्दैन।”
यतिले नपुगेर छोराछोरी आ–आफ्नै गुनासो लिएर खडा हुन्छन्, “बाले हामीलाई कहिल्यै समय दिएनन्, पढाइको लागि राम्रो स्कुल कहिले हालेनन्। हाम्रो भविष्य नै बिगारिदिए। बाउ आमाको कर्तब्य होइन र? याँ हेर्दा बाउ बिहान देखिन ब्यस्त, तर कमाई भने कता लान्छ कुन्नी?”
अब त नातिहरू पनि जिद्दी गर्दै खेतमा खेल्न जाने अनि झटपट खाजा माग्छन्। दिएन भने यो बुढा त कस्तो लोभी रैछ भन्छन् ।

यतिकैमा श्रीमतीले फेरि तिखो वाणी छोड्छिन् “हेर बुढा! अरूका श्रीमानले कत्रो घर ठड्याए, गाडीमा सरर घुमे, बिदेशका फोटो देखाउंदै फेसबुकाँ हाल्छ्न्। हाम्रो बुढा त दिनभर काम गर्न हिंडेका भन्छन् , दुई छाक पनि मीठो खिलाउन सक्दैन।”
आमाले थप्छिन्– “हेर छोरा तंइले सबै खानेपिउनेमा नै पैसा सकिस्, अहिले सम्म सम्पत्ति केही जोड्न सकेनस्। संधै तेरो बाउको घरमा बसेर तेरो जिन्दगी जाने भो। छोरो भनेको जिन्दगीमा एउटा घर बनाउन सके मात्रै हुन्छ। तेरो घर पुजा गर्ने मेरो सपनाथ्यो, सपना मै रहने भो।”

बाबुकाजी, परिवारका मुली भनम भने आफुले कमाए जस्तो खर्च गर्न सकेको छैन नभनम भने सबै खर्च पर्च आफ्नै कमाईले घरपरिवार चलेको छ। न बोल्न मिल्छ, न रुन सकिन्छ। टन्टलापुर घाममा हिंडेर आएर आफ्नै पसिनाले भिजेको लुगा बारीको रुखमा झुण्ड्याउंछ। उनले मनमनै भन्छ, “एक्लो ज्यानले बिहानदेखि बेलुकीसम्म जोतेर, पसिना बगाएर कमाएर ल्याएको पैसाले मेरो परिवारका सबैले बसि बसि खाँदा त मजा आउँछ होला नि। तर जति खाएपछि कसैले पनि ‘धन्यवाद’ सम्म पनि भन्दैनन्! हुन त आशा पनि छैन। धन्यवाद भन्ने त परै जावस, बरु ‘निकम्मा’ 'हुत्तिहारा' भन्ने शब्द सुन्नु पर्दा भने मेरो मन् चसक्क हुन्छ।” 

सारा आरोप, अपेक्षा र गुनासोको बीचमा बाबुकाजी आफैँ घरको भित्ताझैं निःशब्द हुन्छन्। गाउँको त्यो पुरानो घर त अझै ठडिएको छ, तर बाबुकाजीको मन भने भत्किँदै गएको छ।

यसरी परिवारले बाँच्ने बलियो खम्बालाई नै कमजोर बनाउँछ। जुन काँधले सबैलाई थामिरहेको छ, त्यो काँधलाई नै सबैले थिचिरहेका छन्। जिम्मेवारीको भार। अस्तु।

28 September 2025

गालीको पींढी

लघुकथा: “गालीको पींढी”

रामे (रामबहादुर) सानैदेखि गाली खाएर हुर्किएको मान्छे। गाउँका छरछिमेक र बुढाबुढीले उनलाई “ए गधा!”, “ए मूर्ख!”, “ए लम्फु"  "ओए ग्वांग्रे" भन्ने शब्द बिहान देखि बेलुकी सम्म नै सुनेर हुर्केका थिए। त्यसैले रामेले आफ्नो बालबालिकालाई पनि यस्तै परिबेशका बोली नै प्रयोग गरेर बच्चाहरु हुर्काउन पर्छ भन्ने मनोभावना लिएका थिए।

अब रामेको बिहे भैसकेको थियो। मानिसहरुले अलि फरक नजरले हेर्न थाल्यो। सायद रामे सुध्रेर जान्छ भन्ने आशा गरेका थिए। अलि फरक पनि हुनै पर्‍यो। पारिवारिक जञ्जाल र सामाजिक परिबेश संगै घुलमिल हुनै पर्‍यो। समय अनुसार रामेको बच्चाहरु भयो। हुंर्कंदै गयो। कहिलेकाहीं आफ्नो बालपनमा भए गरेका कठिन समयको असर आफ्नो बालबच्चामा नपरोस भन्ने भावना पनि गर्थ्यो।

बच्चाहरू हुर्कंदै जांदा चुलबुल गर्दा घरका भांडाकुंदा टुट्ने फुट्ने हुंदा भने आफु बालक हुंदा खाएको गालीको सट्टा भर्ना लिने जस्तो व्यबहार गर्थ्यो। आफ्नै बालबच्चाहरुलाई ठूलो मान्छेलाई जस्तै गाली गरेर झपार्दी हाल्ने गर्थ्यो। बिचरा बच्चाहरु न त कुरा बुझ्ने उमेरमा थियो, न सम्झिन सक्ने। 


तर रामे बुबा भने बिहानैदेखि गाली बैंक जस्तै लाग्थ्यो "ए अल्छी! ओए ग्वांग्रे!”। बिचरा बच्चाहरुले जे गर्न खोज्दा पनि डराएर गरुंकि  नगरुं कन्फ्युज हुन्थ्यो। आर्काको बच्चाले यसो गर्छ, त्यस्सो गर्छ, तंइले यति जाबो काम पनि गर्न सक्दैनस् ? भनेर हरेक पटक रोक्ने टोक्ने गर्दथ्यो। यसो गर्दा बच्चाले पनि केही काम आफैले नगर्ने र गर्न पनि डराएर मात्रै गर्थ्यो।

आमा सीता त झन् वाक्क। आफ्नो सन्तानलाई हेरेर भन्थिन्, "यो हाम्रो बच्चा हो कि, त्यसका बाबुको गालीको लागि प्रयोगशाला?"

एक दिन टोलमा आएका बाल मनोवैज्ञानिक डाक्टर साबले यो दृश्य देखे। उहाँले रामबहादुरलाई सोधे, “दाइ, किन आफ्नै बालबच्चाहरुलाई यति धेरै गाली गर्नु हुन्छ?”

रामबहादुर हाँस्दै भने, “ किन र! मैले के गल्ती गरें र? मेरै बच्चाहरु हुन! म पनि त जिन्दगीभर गाली खाएरै हुर्केको मान्छे, त्यसैले बानी परेको हो। यति गाली गरेन भने त बच्चाहरुले भोलि मलाई टेर्दै टेर्दैन नि!”

डाक्टर साब मुस्कुराउँदै उत्तर दिए, “त्यसैले त तपाईं अझै पनि रिसाहा  हुनु हुन्छ। गालीले बच्चाको आत्मा नै सुक्छ, डर मात्र बढ्छ। आत्मबल हराउंछ। आफुले आफुलाई बिश्वास गर्न सक्दैन। सायद! तपाईंको आफ्नो बालापनमा तपाइले धेरै गाली खाएको होला, अनि तपाईँमा यो चिडचिडापन अझै आएको हो। नत्र तपाईं यस्तो मान्छे हुन नपर्ने हो। घर ब्यबसाय राम्रै छ। तर तपाईंको बोली भने गोली जस्तो छ। 

आफ्नो सन्तान प्रति तपाईंले दुश्मनको जस्तो व्यवहार गर्दै हुनुहुन्छ। अनि आफ्नो सन्तानबाट तपाईंले सकारात्मक व्यवहार खोजेर आउँछ? प्रेमको बोलीले पो आत्मबल जगाउने गर्छ।  "मेरो छोरा" "मेरो ज्ञानी बाबु", भन्ने शब्द सुन्दा बालक मुस्कुराएर भनेको मान्ने हुन्छ र व्यबहार पनि फरक पर्छ। कमसेकम प्रयास त गर्नुस्!”

रामबहादुर अचम्ममा परे, “गाली बिना पनि बच्चा हुर्कन्छ त?”

डाक्टर साहबले हाँस्दै भने, “गालीले त जिन्दगी नै ध्वस्त बनाउंछ, मायाले मात्र ब्यबहारिक हुन्छ। बच्चालाई हरेक दिन साना–साना कुरामा निरुत्साहित गर्नुको साटो प्रोत्साहनका शब्द दिनुस्। ‘तिमी सक्छौ’, ‘तिमी राम्रो गरिराछौ’। यस्तै यस्तै! मीठो बोली वचनले नै सन्तानको मनोबल अकाशिन्छ।”

त्यस दिनदेखि रामबहादुरले गालीको पसल बन्द गरे। अब छोरालाई देख्नेबित्तिकै भन्थे, “ए मेरो बाबा, आउ त, कति ज्ञानी छोरा।”

सीता हाँस्दै भनिन्, “अब भने सांच्चै राम बहादुर हाम्रो घरमा आएको छ। धन्यवाद डाक्टर साहब! अब हाम्रो घर गालीको कारखाना होइन, मायाको बगैँचा बनेको छ।” अस्तु।