Grab the widget  Get Widgets

29 November 2023

मेरो बुरी माहारानी! म माहाराज!

आच्या! तिमी त मेरो माहारानी पो हो त! तिमी माहारानी भए पो, मो पनि महाराज जस्तो ठान्छु क्या! मेरा साथीहरु सबैले तिम्रो बुरी त माहारानी जस्तै देखिन्छे भन्दा म दङ्ग पर्छु। हुन पनि किन नहुनु! मैले पनि त तिमीलाई माहारानी जस्तो केही काम गर्न नै दिन्न, हैन बुरी?

माहारानी बनाम्न के पो सारो हो र हैन बुरी? 

मेरो के नै काम छ र? बिहान एक ठाममा डिप्टीमा जाने, आफिसमा गएर च्या स्या पकाउने, हाकिम साकिमलाई च्या पस्केर दिने, भांडा सांडा धुने, यत्ति त हो काम! 

अरु के नै छ र! हाकिमहरु कैले काहीं रिसाए भने गाली साली गर्छन, त्यस्तो गाली खाने, त्यत्ति त हो! अरु के काम हुन्छ र? चांड्चांडो डिप्टीको काम सकाएर घरमा आउने त हो। 

तिमीलाई घरको काम लगायो भने त वरपरका छरछिमेकीले बुरीलाई नोकर्नी बनाएछ भन्ला, हैन बुरी? बरु मैले नै खाना साना बनाम्ला संगै खाम्ला। अनि पो तिमी माहारानी अनि म माहाराज जस्तो लाग्छ हैन र?

तिमी पनि माहारानी जस्तो बन्नु, दिनभरी टेलिभिजनमा भारतीय धाराबाहिक हेर्नु, समाजमा भएका घरघरका कहानीहरुको बारेमा मनन गर्नु, छर छिमेकीको कुरासुरा काट्नु, आफुमात्रै जान्ने, अरु सबै नजान्ने जस्तो बेबार गर्नु, नत्र माहारानी जस्तो देखिन्न क्या! 

तिम्लाई दिम्सो फुर्सद भएर फेरि बारीमा गएर काम गर्ला, नगर्नु नि! बारीमा काम गर्‍यो भने फेरि छिमेकीहरुले मलाई नै गाली गर्छ। हेर त बुरीलाई बारीमा काम गर्न लगाएर नोकर्नी बनाएछ भन्ला, अनि नोकर्नीको बुरा आफु पनि त नोकर नै होला नि भन्ला। 

दिम्सो मो आर्को अफिसको डिप्टीमा जाने त हो! मेरो खासै के काम हुन्छ र? दिनभरी च्या स्या बनाउने, हाकिमहरुलाई ख्वाउने, तलमाथि गर्ने, फाइल बोक्ने त हो। तर पियनहरुको त हाकिम नै हो नि। कम्ताको हो म?

मेरो बुरी! मेरो माहारानी! तिमीलाई समाजको समाचार सुन्न सारै मन पर्छ। मज्जाले सम्चार सुनेर, हेरेर बस। टेलिभिजन हेर्दा हेर्दै थाक्यौ भने आराम गर, फेरि तिमिले च्या स्या बनाएर बस्ला, तातो पानीले पोल्ला, च्या करा भएर तितो भयो भने तिम्रो केही गल्ती हुन्न है, च्या नै खराब हुन सक्छ, अथवा पानी खराब हुन सक्छ, वा आगो बढी बलेको हुन सक्छ, तिम्रो केही गल्ति हुन्न। सबै दोष अरुको मात्रै नै हुन्छ है!

म दिम्सो डीप्टीबाट फर्के पछि मैले नै खाजा बनाउँछु, तिमीलाई फुर्सद नहुन सक्छ, धाराबाहिक छुट्ला, नछुटाउने है! तिमी त मेरो माहारानी पो त! म माहाराज!

12 November 2023

ग्वांग्रे !

एक जनाको पैसाले खाने बस्ने र घर व्यबहार चलाउने, आर्को एक जनाको कमाईको पैसाले घर बनाउने आमाको निर्देशन र ग्वांग्रेको सहमति अनुसार ग्वांग्रेको कमाई जति सबै खाने बस्ने र घर ब्यबहारमा खर्च गर्ने, अनि ग्वांग्रेको बाउको कमाई जति संचय गरेर घर बनाउने काममा खर्च गरे। 

बर्सौं सम्म ग्वांग्रेको परिवार आनन्दले चल्यो, पैसाको कमी भएन। घर मर्मत र दराज सराज बनाउने काममा ग्वांग्रेले आफैले खर्च गरे । अनि घर ठ्ड्याउने काममा चैं ग्वांग्रेको काम खटन पटन र बाउको पैसाले घर बनाउने काममा खर्च गरे । समयको अन्तराल संगै भाई बहिनी हुर्काउने काममा पनि ग्वांग्रेले केही कसर बांकी राखेनन ।  आफुले सबैलाई सक्षम बनाउने काममा सघाउन पाउँदा र आफ्नो घरको जिम्मेवारी बहन गर्न पाएकोमा ग्वांग्रे एकदम खुशी थियो।

भाई बहिनीहरु आफ्नै खुट्टामा उभिन सकेर ग्वांग्रेले भन्दा बढी कमाउने भए पछि सबैजना आ आफ्नो बाटो लागे। दिदी बहिनीको बिहे भयो। भाईको बिहे अनि राम्रो काम पनि भयो।

समयको अन्तरालमा एकदिन ग्वांग्रेको आमा बा, दिदी बहिनीहरुले तैंले के गरिस जिन्दगीमा ? सबै कमाई खाएर त सिध्याइस, एउटा घर पनि बनाउन नसक्ने निकम्मा भइस भनेको देख्दा ग्वांग्रे आकाशबाट झरेको जस्तो भएछ । 

जिन्दगीभर आफ्नो कमाई घर परिवारलाई सुम्पेका ग्वांग्रे अहिले घरको न घाटको भएको छ। बाउको कमाई खान हुन्न, सकेसम्म घर परिवारलाई आफ्नो जिम्मेवारीबाट टाढा राख्न हुन्न भन्नेलाई सबैले छाडेर गएका छन् । बाउ आमा समेतले पहिले पहिले ग्वांग्रेले घर व्यबहार हेर्दिने भएकोले आनन्द भयो भन्ने गर्थे, अहिले कैले के गरिस र सबै बाउको पैसाले त गरेका छन नि भन्दो रैछ। 

सोझो ग्वांग्रेले कति पैसा घर बनाउंदा सकियो, कति भोज भतेरमा सक्यो हिसाब किताब राखेका छैनन् रैछ, त्यत्तिकै ग्वांग्रे नाम राखेको हैन रैछ।

जिन्दगीको उत्तरार्धमा आएर ग्वांग्रे एक्लो भएको छ । खाएको सबै चैत भैहाल्यो, अब ग्वांग्रे बाउको घरमा पो बसेको रैछ, उस्को आफ्नो घर नै छैन रैछ, दराज बनाएर के गर्ने, त्यो दराजमा सुट्न मिल्दैन रैछ, खात बनाएर के गर्ने आकाशलाई छाना बनाउन नमिल्ने रैछ। यहि कुरोले गर्दा छोराछोरी र श्रीमती समेतले ग्वांग्रेलाई नै दोष देखाउंछ। आफ्नो कमाई बलियो भएको बेलामा सबै घर परिवारलाई सुम्पेको फल अहिले देखिस नि! अब हाम्ले समेत यस्तो अवस्था भोग्न परेको छ भन्दै टाउकोमा हात हालेर बसेका छन् । बिचरा ग्वांग्रे! 

13 October 2023

दशैं खर्च

ए बुढा! पल्लो घरमा खसी ल्याइ सक्यो, भाउजुले कति राम्रो साडी ल्याउनु भैसक्यो। हाम्ले चैं कैले किनमेल गर्ने?

मार्साब: के गर्नु बुढी! यसपालि पनि पोहोर परार जस्तै होला भन्ने तनाब भै राछ। स्कुलमा दशैंको छुट्टी भैसक्यो, लेखापाल बिरामी भा रैछ। अब बिरामीले हस्ताक्षर नगरी दशैं खर्चको पैसा न निस्कने रैछ। 
मास्टर्नी: त्यस्तो भनेर काँ पाइन्छ नि बुढा! दशैं जस्तो चाडबाडमा पनि पैसा पाएन भने त के का लागि काम गर्नु? हामीले सेवा मात्रै गरेर हुन्न क्यारे! पेट भर्नलाई सेवाले नहुने रैछ। लौ त्यो बिरामीको उपचार गरेर भए पनि हस्ताक्षर त लिनु पर्ला, अथवा आर्को बिकल्प पनि त होला नि। मेरि आम्मा हो! 

मार्साब: हस! अब झांक्री वा डाक्टर साब खोजेर संगै लिएर लेखापालको उपचार गराउन लै जाम्ला। आखिराँ दशैं खर्चको कुरो छ। मनाउनै परो कर! अस्तु।

05 October 2023

बिचरा ठुले

बा: ए ठुले ! एउटा टाइप गर्दे भनेको, यत्ति ५ पेज टाइप गर्न पनि कति टाइम लाको?

आमा: ए ठुले ! त्यो परेवाको गुंड सार्दे भनेको, त्यत्ति काम गर्न पनि कति समय लाउँछ? 

श्रीमती: ए बुढा ! तरकारी ल्याइदेउ भनेको के गर्दै छ ! त्यत्ति काम गर्न पनि कति समय लिएको?

सानो छोरा: बा ! एउटा फाराम भरम भरेको कति टाइम लिनु भा को?

ठूलो छोरा: टंकि सफा गरम भनेको साथी दिनुस न बा । कति समय लाउनु भाको ? 

छोरी: ए बा! डाइपर ल्याइ दिनुस भनेको एइले हो? त्यत्ति पनि ल्याई दिनु हुन्न भन्यां!
छिमेकी: के गर्छ यो घरमा कस्तो मान्छेहरु रैछन? कै काम गर्दैन कि क्याहो? संधै हल्ला खल्ला भै रहन्छ। काम नभएको मात्रै सुन्छु। काम चै कस्ले गर्ने रैछ? सबैले ठुलेलाई मात्रै काम अर्‍हाएको सुनिन्छ। सबै काम ठुलेले नै गर्दिए हुन्छ भनेर आशा गर्दा रैछन । बिचरा ठुले ! छोरा हो कि? बाउ हो कि? बुढा हो कि? काम गर्न राखेको मान्छे हो? खुट्याउनै गार्‍हो भो बा! अस्तु।

03 October 2023

बचन

वचन पनि गज्जब हुंदो रैछ। खाना खान बोलाउंदाका केही बोली वचन यस्तो सुन्न पाइन्छ हाम्रो समाजमा।
१. सुन्नुस त ! खाना तयार भो !
२. हजूर ! भान्सा तयार भो। आइस्यो।
३. सुन त ! खाना रेडि भयो ! आउ है।
४. ओए ! खाना पाक्यो, खान आउ !
५. ओ ! खाना खान आइजे !
६. खाना पाकी सक्यो, कोठामै खान्छस कि? याँ मर्छस।
७. ओ ! भुक्कड, छिट्टो आइजे। घिचिस्यो !
८. अब खाना आफै हिंड्दैन क्यारे, खाने भए आइजे !
तपाईंले पनि थप्नुस न, है ! समाजको ब्यथा कथा संस्कार, कुसंस्कार सुसंस्कृत गर्न सकिएला कि? अस्तु!

30 September 2023

पाइन्टको प्वाल

बुढी: के हो बुढा? पाइन्ट लाउन आउंदैन? 
६० बर्षे बुढालाई आफ्नै बुढीले हपार्दै सोधेछ। 
बुढा: खोइ कता, के भो र बुढी? संधै लाइरा त हो नि! 
बुढाले कता के भो भेउ पाउन सम्म सकेन। 
बुढी: तिम्रो राजखानी निर हेर त! के ताल होला पाइन्टमा प्वाल पारेर आएछ। किन प्वाल पारेको हँ? उमेर गएसी दु:ख दिन्छन् भन्थे, हो क्यार! 
बुढा: मलाई के थाहा? कहिले कता प्वाल परेछ भनेर, न मैले जानी जानी प्वाल पारेको ! पुरानो भएसी पर्‍यो होला नि प्वाल। अनि मैले राजखानी मै प्वाल पार्छु होला त! 
बुढी: तिम्ले नपारेसी कस्ले पार्‍यो होला त? बूढो भएसी पात्तिन्छ भन्ने पनि सुनेको छु। पात्तेको बूढो! तिम्रो बानी राम्रो संग थाहा छ। मलाई नि! यत्रो बर्ष जेनतेन बिताई नै राछु क्यार!
बुढा: मतलब मैले नै प्वाल पारेको? 
बुढी: हो त !
बुढा: हो, हो, मैले पाइन्टलाई लगाउनु अगाडि सोधें, प्वाल पार्दिम? भनेर। पाइन्टले भन्यो, पार्दे, मेरो के जान्छ र, तैंले नै दुःख पाउने त हो नि भन्दैथ्यो। कता पार्दिम? भनेको त, कता पार्ने ? र राजखानी नीर पार्दे, सबैको आँखा तेतै जान्छ क्यार, भन्यो, अनि त्यैं प्वाल पार्दिएं। खेल खत्तम!
बुढी: मलाई त अघि नै शंका लागेकोथ्यो। यो बुढाको चालामाला अलि ठिक छैन भनेर। हेर त अहिले ठ्याक्कै मिल्यो। यसको दिमाग सहि छैन रैछ। पाइन्टमा प्वाल पारेर आएछ।
बुढाले केही बोलेन, चस्मा खोलेर, सियोमा धागो राख्ने प्रयास गर्‍यो, सियोमा धागो पसेन, आँखा मिचेर, कोशिश गर्‍यो, धागो पसेन, असिन पसिन भएर धागोको टुप्पो मुखमा लगेर, र्‍यालले भिजायो, नजीक हेर्ने चस्मा लगायो, बल्ल बल्ल छिर्‍यो। प्वाल परेको पाइन्ट झिक्यो, र सिलाउन थाल्यो, त्यति सानो प्वाल सिलाउंदा पांच पल्ट सियोले बुढाको औंलामा अरु प्वाल पार्दियो। बुढीलाई भन्न सकेन। सानो सानो प्वालबाट आएको रगत मुखमा लगेर च्वाप्प पार्‍यो। अस्तु।

25 September 2023

गफै त हो

गफै त हो, ग्वांग्रे धेरै दिन पछि च्या पसलाँ देखा पर्‍यो अनि सबैले, के छ ग्वांग्रे? कता हराइस? तेरो अनुपस्थित खड्कियो नि यार! भनेको सुन्दा, ग्वांग्रे दंग पर्‍यो। ओहो! मान्छेहरुले ग्वांग्रेलाई मिस गर्दो रैछ।

अनि ग्वांग्रेले गफ दिन थाल्यो। के गर्नु यार! कति ब्यस्त भइयो? कति? तिमीहरूलाई के थाहा? मैले पनि तिमीहरूलाई मिस गरें नि। 

आजकाल तालिम दिन थालिरा छु। यो मास्टरहरुले हर्ताल गर्न थाल्यो, के गर्ने भनेर ठुल्ठुला नेताहरु आए, अनि के गर्ने? सिकाई दिनै पर्‍यो। त्यै काम सिकाउन तालिमेहरु खोज्दा खोज्दै दिन गएको थाहै भएन। 

कुरा मिल्यो त? 

के मिल्नु? यस्सो मिटिङ गरे जस्तो गर्नु, सहमति गरे जस्तो गर्नु, कार्यान्वयन नगरे भै हाल्यो नि! यति सानो तिनो कुरा नि मैले सिकाउन पर्छ? भनेर पठाई दिएं। खोइ त्यस्तै गरेछन, क्यारे! दुई चार जनालाई यस्सो मिलाए भै हाल्यो नि। चुप लागि हाल्छन नि भन्देको थिएं। त्यसै गरेछन क्यारे!

यो देशमा काण्ड मच्चिन थाले पछि मेरो काम नि बढ्छ। नेताहरु सबै कुरा मिलाउन नसके पछि मेरो आंगनमा भिख माग्न आए झैं सित्तैमा सल्लाह माग्न आउंछन क्यारे, के गर्ने? दिनै परो। तर मेरो सल्लाह अन्सार चैं कै काम गर्दैनन् । 

किन आउंछन त नेता? तं काँ भन्लास! हैन! मेरो त जंक्सन हो नि! सब नेता, फेताहरु काम नपाए पछि, यै ठाममा च्या खान आउंछन अनि नानाथरीका कुरा काट्छन। मैले नि सुनेको हुन्छु। मेरो कुरा उन्हरुलाई मिल्छ रे भन्छन। आफुलाई त गफै त हो जस्तो लाग्छ। भन्दिन्छु। सुन्ने ले सुन्छन, चाहिने ले लिन्छन, नचाहने ले गाली गलौज गरेर हावा गफ दियो भन्छन। मलाई बाल मतलब! गफै त हो!
#ग्वांग्रेकोगफ

24 September 2023

रहर हैन बाध्यता

रहर हैन बाध्यता रेन्त
हडताल गर्ने,
रहर हैन बाध्यताले,
पुलिसले डन्डा लाउने पनि
रहर हैन बाध्यताले,
घुस खाने,
रहर हैन बाध्यताले,
सुन भंसार छ्लेर वारपार गर्ने,
रहर हैन बाध्यताले,
नागरिकलाई गैर नागरिक बनाउने,
रहर हैन बाध्यताले,
ललिता निवास बेच बिखन गर्ने,
रहर हैन बाध्यताले।
सांच्चै कैले होला?
रहर पुर्‍याउने बाध्यताले।

17 September 2023

म को हो ? चिन्छस?

साला ! म को हो ? चिन्छ्स ?
हजुर, जो सुकै भए पनि कुपन त दिनु परो नि सर! 
म फलानो कम्पनीको VP हो!
बिचरा त्यो केटोलाई के थाहा? VP भनेको भालुलाई पुराण भन्ठानेछ। 
मुख छाड्ने राहु मान्छेले त्यो केटोलाई हपार्नु हपारेछ। खान नपाएर आएको हो? तेरो जागीर अहिले नै खाई दिन्छु। साला! म संग कुपन माग्छस? भनेर चर्को स्वरमा कराएछ। 
बिचरा त्यो केटोलाई गाली गर्नु गरेछ। 
आर्को एक जनालाई त्यो VP संग निहु खोज्न मन लागेछ। अनि भनेछ। तं को होस? तेरो घरमा तं जे सुकै भए पनि हाम्रो लागि त भालुलाई पुराण नै हो VP भनेको लौ जा! के गर्छस गर भनेर खुरुर भागेछ। यो ठाउँमा कुपन नदिईकन खान पाइन्न। बुझिस? बडा ठूलो भनेर घमण्ड गर्दो रैछ!
मुख छाड्ने राहु मान्छेको रक्सीको मातले छाडेछ । अनि बल्ल होसमा आएछ। म होइन यार ! रक्सी बोलेको रैछ । मेरो कम्पनीमा पो म VP, बाहिर त म आम मानिस नै हो नि। अस्तु। 

10 September 2023

बिदेशको रहर

तेरो बाउले उ बेला देखि नै बिदेशमा गुमाउन लैजान्छु भन्थ्यो, त्यै छिमेकी राष्ट्र बाहेक कतै लान सकेको छैन। अनि हेलिकप्टरमा कता कता लान्छु भन्थ्यो। त्यो पनि सपना नै भो। फुर्ती मात्रै गर्छ, गफ मात्रै दिन्छ, हिम्मतहारा, नामर्द भै सक्यो तेरो बाउ त। 

छोरा छोरीको अगाडि नै बुढीले यस्तो घोच पेच गरेको सुने पछि सुनिलले आफ्नो अहिलेको आर्थिक अवस्था ठिक छैन। घुमघाम गर्न त आफू संग जगेडा पैसा पनि त हुनु पर्‍यो नि भनेर आफु लाचार रहेको स्पष्ट जानकारी गरायो।

बुढीले आफ्नो साथीहरु, युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, गोसाइँकुण्ड, रारा अनि कता हो कता घुम्न गएको फोटो मात्रै हेरेर बस्ने त? उ त्यो साथीको बुढो बितेको यति बर्ष भयो, घुमेकै छ, आर्को साथीको बुढो बितेको एक दुई बर्ष मात्रै भयो, त्यो पनि घुमेकै छ। आफ्नो त बुढो जिउंदै छ नि। तै पनि कतै घुमाउन लै जांदैन।

साथीहरू भने बुढो भएको भए अझ कति रमाइलो हुन्थ्यो होला। खोइ हाम्रो बुढो त बितेर गयो। जता घुमे पनि खाली खाली जस्तो लाग्छ, साथी भन्छन् । आफ्नो भने बुढो मात्रै छ, संसार घुम्ने सपना मात्रै हुने भो। म त जसरी भए पनि एक पटक बिदेश त जान्छु जान्छु। आफ्नो त इज्जत नै गै सक्यो। कहिँ कतै लाने होइन, यस्तो निकम्मा बूढो!

सुनिललाई डाह भएछ। लौ अब तिमीलाई पनि संसार घुमाउने बाचा गरें। जसरी भए पनि म तिमीलाई घुमाउने जोहो गर्छु, भनेर आफ्नो सयन कक्ष तिर गयो। बुढीलाई भोलि सम्म केही बन्दोबस्त गरम्ला, म सुत्न गएं है! भनेर टेलिभिजन कोठाबाट उठेर गयो। राती सुत्ने कोशिश गर्दै थियो। अचानक उस्को छाती दुख्यो, तर आफ्नो बुढीलाई खबर गरेन। उस्ले खोक्न थाल्यो, अहं खोक्न पनि सकेन, ग्यास्टिक होला भनेर ग्यास्टिकको औषधी खायो र सुत्यो। निक्कै घोच्यो छातिमा, तर उस्ले बोलेन। 

बुढी धाराबाहिक हेरेर आएर बुढोलाई सुनाउंद, भोलि त केही गर्ला नि बुढो ! तिम्रो त बिश्वास नै लाग्न छाडिसक्यो, भनेर खुरुक्क सुती। तर, बुढोले जवाफ फर्काएन। बुढो सुतेछ भन्दै मेरो कुरा सुनेको नसुनै गर्‍यो भनेर उठाउन खोज्यो। 

भोलिको काम त याद छ हैन बुढो! कि भोलि पनि त्यै त होला नि। भन्दै झक्झक्यायो। अहं बुढोले केहि बोलेन। बुढीले फेरि भन्यो, यस्तो नाटक गर्छ भन्ने मलाई थाहा छ बूढो, भोलि कताबाट बन्दोबस्त गर्छौ, खाली फुर्ति मात्रै त हो। बुढो उठेन, बूढो त चिसो भएछ। नबोल्ने भएछ। हतार हतार अस्पतालमा लान पर्‍यो भन्यो। छोराछोरीलाई चिच्यायो। एम्बुलेन्समा अस्पताल पुर्‍यायो। तर बुढो उठेन। अस्तु।