६० बर्षे बुढालाई आफ्नै बुढीले हपार्दै सोधेछ।
बुढा: खोइ कता, के भो र बुढी? संधै लाइरा त हो नि!
बुढाले कता के भो भेउ पाउन सम्म सकेन।
बुढी: तिम्रो राजखानी निर हेर त! के ताल होला पाइन्टमा प्वाल पारेर आएछ। किन प्वाल पारेको हँ? उमेर गएसी दु:ख दिन्छन् भन्थे, हो क्यार!
बुढा: मलाई के थाहा? कहिले कता प्वाल परेछ भनेर, न मैले जानी जानी प्वाल पारेको ! पुरानो भएसी पर्यो होला नि प्वाल। अनि मैले राजखानी मै प्वाल पार्छु होला त!
बुढी: तिम्ले नपारेसी कस्ले पार्यो होला त? बूढो भएसी पात्तिन्छ भन्ने पनि सुनेको छु। पात्तेको बूढो! तिम्रो बानी राम्रो संग थाहा छ। मलाई नि! यत्रो बर्ष जेनतेन बिताई नै राछु क्यार!
बुढा: मतलब मैले नै प्वाल पारेको?
बुढी: हो त !
बुढा: हो, हो, मैले पाइन्टलाई लगाउनु अगाडि सोधें, प्वाल पार्दिम? भनेर। पाइन्टले भन्यो, पार्दे, मेरो के जान्छ र, तैंले नै दुःख पाउने त हो नि भन्दैथ्यो। कता पार्दिम? भनेको त, कता पार्ने ? र राजखानी नीर पार्दे, सबैको आँखा तेतै जान्छ क्यार, भन्यो, अनि त्यैं प्वाल पार्दिएं। खेल खत्तम!
बुढी: मलाई त अघि नै शंका लागेकोथ्यो। यो बुढाको चालामाला अलि ठिक छैन भनेर। हेर त अहिले ठ्याक्कै मिल्यो। यसको दिमाग सहि छैन रैछ। पाइन्टमा प्वाल पारेर आएछ।
बुढाले केही बोलेन, चस्मा खोलेर, सियोमा धागो राख्ने प्रयास गर्यो, सियोमा धागो पसेन, आँखा मिचेर, कोशिश गर्यो, धागो पसेन, असिन पसिन भएर धागोको टुप्पो मुखमा लगेर, र्यालले भिजायो, नजीक हेर्ने चस्मा लगायो, बल्ल बल्ल छिर्यो। प्वाल परेको पाइन्ट झिक्यो, र सिलाउन थाल्यो, त्यति सानो प्वाल सिलाउंदा पांच पल्ट सियोले बुढाको औंलामा अरु प्वाल पार्दियो। बुढीलाई भन्न सकेन। सानो सानो प्वालबाट आएको रगत मुखमा लगेर च्वाप्प पार्यो। अस्तु।
No comments:
Post a Comment