Grab the widget  Get Widgets

Sunday 29 September 2024

उभिने ध्यान (Standing Meditation)

उभिने ध्यान: 
उभिएर ध्यान गर्दा शरीरको सजगता बढाउन आवश्यक छ। यसका लागि तौल समान रूपमा खुट्टामा बाँड्ने, आरामदायी ठाउँ रोज्ने, शान्त वातावरणमा ध्यान गर्ने र मनको विकार हटाउनको लागि ध्यानपूर्वक रहनु उपयुक्त हुन्छ।

ध्यान गर्ने तरिका:
उभिएर ध्यान गर्दा शरीरको सजगता र सन्तुलनलाई ध्यानमा राखिन्छ। तलका चरणहरू पालना गर्न सकिन्छ:

१. सिधा उभिने: आफुलाई अनुकुल हुने गरि जमीनमा मजबुत भएर उभिनुहोस्। ढाड सिधा हुनुपर्छ र शरीरलाई आरामदायी बनाउनुस्।

२. सासको ध्यान: ध्यानपूर्वक सास लिनुहोस् र निकाल्नुहोस्। सासको गति र यसको गहिराइलाई ध्यान दिनुहोस्। पेट फुलेको र सुकेको ध्यान दिनुहोस्।

३. शरीरको अनुभव: खुट्टाले जमीनमा टेक्दा, जमीनको स्पर्श, मस्तिष्कसम्मको सम्पूर्ण शरीरको अनुभव गर्नुहोस्। शरीरको कुनै अंगमा कस्तो ठाउँमा कस्तो अनुभूति भइरहेको छ भनेर सजग हुनुहोस्।

४. चेतनाको प्रवाह: शरीरको पांच इन्द्रियहरुमा भएका संबेदनाहरुमा ध्यान केन्द्रित गर्दै क्रमशः मनलाई शान्त पार्नुहोस्।

५. समय: सुरुमा ५-१० मिनेट जति उभिएर ध्यान गर्न सकिन्छ, विस्तारै यो समय बढाउन सकिन्छ।

फाइदा:
१. सजगता बढ्छ: सतिपठान ध्यानले शरीरको हरेक गतिविधिमा सजगता ल्याउँछ।
२. सन्तुलन: शारीरिक र मानसिक सन्तुलन राख्न मद्दत गर्छ।
३. सांसारिक तनाव कम गर्छ: दैनिक तनाव र चिन्ताबाट मुक्ति दिलाउँछ।
४. एकाग्रता: ध्यानले मनको एकाग्रता र शान्ति ल्याउँछ।

साबधानी:

१. नयाँ व्यक्तिहरूका लागि कठिनाई: उभिएर लामो समय ध्यान गर्दा सुरुमा असहज हुन सक्छ।

२. शरीरमा थकान: शारीरिक रूपमा बलियो नभएको खण्डमा लामो समयसम्म उभिएर ध्यान गर्दा शरीरमा थकान हुन सक्छ।

३. सुरुवाती अवस्थामा ध्यान भङ्ग: उभिएको अवस्थामा मनलाई स्थिर राख्न गाह्रो हुन सक्छ, जुन समयसँगै सुध्रिन्छ।

कस्तो ठाउँमा गर्ने?
शान्त र स्वच्छ वातावरणमा उभिएर ध्यान गर्न उपयुक्त हुन्छ। माटो, घाँस वा काठको सतहमा उभिएर ध्यान गर्दा शरीरको ऊर्जा सन्तुलित रहन मद्दत गर्छ। अर्थिङ अथवा पृथ्वी तत्वसंग सिधा सम्पर्कमा आउने हुंदा शरीरको उर्जालाई उजागर गर्न मद्दत गर्ने ठाउँमा उभिने ध्यान गर्न उपयुक्त हुन्छ।

को-कस्ले गर्ने?

साधकहरू: जो नियमित ध्यान गर्छन्।

व्यस्त मानिसहरू: छोटो समयमा सजगता र एकाग्रता बढाउन चाहनेहरूले गर्न सक्छन्।

योगीहरू: उभिएर ध्यानले शरीरलाई बलियो बनाउन र आत्म-चेतना बढाउन मद्दत गर्छ।

प्रत्येक व्यक्ति: जो सजगता र शान्ति खोज्छन्, सबैले उभिएर ध्यान गर्न सक्छन्।

किन गर्ने?

सजगता विकास: शरीर, मन र श्वासप्रश्वासमा सजगता ल्याउन।

स्वास्थ्य सुधार: मानसिक र शारीरिक स्वास्थ्यलाई राम्रो बनाउन।

मानसिक शान्ति: मानसिक शान्ति प्राप्त गर्न।

ध्यानको प्रगति: ध्यानलाई थप गहिरो र शक्तिशाली बनाउन।

सतिपठान ध्यानको यो विधि नयाँ र अनुभवी साधकहरूका लागि उपयोगी मानिन्छ।

Thursday 26 September 2024

तेश्रो लिंगी संगको रोमान्चक रेलयात्रा: नियात्रा

तेश्रो लिंगी संगको रोमान्चक रेलयात्रा: नियात्रा 

सन् १९९७ सालको कुरा हो। म बिशाखापट्नमबाट मद्रास (हालको चेन्नई) सम्मको रेलयात्रामा निस्किएँ। म पोण्डिचेरी कलेजमा स्नातकोत्तर पढ्दा साथीको घरबाट फर्किंदा रेलबाट दक्षिण भारत जाँदाको रमाइलो अनुभव थियो। टिकट त आरक्षित नै थियो, तर यात्रामा कहिलेकाहीं सीट नम्बर मिले पनि नमिले पनि डिब्बामा रमाइलो अनुभव गर्न पाइन्छ भनेर सोच्दै म आफ्नो सीटमा बसेँ। मेरो अगाडि केही अनौठा तर हँसिला अनुहारहरू थिए। सातजना तेश्रो लिंगीहरू, जो आफ्नो आफ्नो पोशाकमा सजिएका थिए। तर मलाई उनीहरुको पहिरण र व्यबहार देख्दा अजीब लागेको थियो। यात्रामा मेरो अन्य कोही साथी थिएनन्, तर ती सात जनाले मेरो यात्रा अजिब र रोचक बनाई दियो।



रेल चढेको केही समयमै हामीबीच परिचय भयो। उनीहरू सबैले मन्द मुस्कानसहित मसँग बोल्न थाले। मैले आफ्नो परिचय दिएँ, “म नेपालबाट आएको हुँ, दक्षिण भारतको पोण्डिचेरीमा पढ्न आएको।” उनीहरूका आँखामा एकैचोटि चमक देखियो। हिन्दी जानेकी एउटीले हाँस्दै भनिन्, “नेपाली भैया, तुम मेरे सैयाँ, लेकिन तुम हमारे अतिथी हो!” सबैजना हांस्दै ठट्टा गर्न थाले। उनीहरूको रसरंग सहितको स्वागतले मलाई एक किसिमको न्यानोपन अनुभव गरायो।

त्यसपछि हामीले कुराकानीको सिलसिला चलायौँ। मैले उनीहरुलाई तेश्रो लिंगी भएर समाजमा बस्दा कस्तो व्यवहार भोग्नुपर्छ भन्ने सोधेँ। एउटीले भने, “हामीलाई त समाजले त्यस्तो बाल मतलब गर्दैन, महत्त्व पनि दिने गरेको छैन। कोही त हामीलाई देखेर हाँस्छन्, कोही त डराउँछन् पनि। कुनै कुनै गाउँमा भने निक्कै सम्मान पनि गर्छन्। घरमा बच्चा जन्मियो भने नजर उतार्न र आशीर्वाद दिन बोलाउंछन। तर हामीलाई त अब बानी परिसक्यो। हामी आफ्नो जिन्दगीलाई रमाइलोसँग बाँच्न चाहन्छौं।”

हाम्रो गफगाफ यसैगरी चल्दै गयो। मैले देखेँ, उनीहरूको जीवनको कथा भने जति संघर्षमय र कठिनाइले भरिएको थियो, त्यति नै उनीहरू खुशीको खोजीमा थिए। ती मध्येकी एकजनाले भने, “हाम्रो जीवनमा चुनौतीहरू त छन्, तर हामी रमाउनुपर्छ। नत्र त हाम्रो अस्तित्वलाई स्वीकार नगर्नेहरूलाई त रमाइलो नै हुन्छ नि।”

यात्राको दौरानमा मैले उनीहरूलाई चिया पिउन आग्रह गरें । उनीहरू खुसी हुँदै “हाँ, पिलाओ!” भने। मैले रेलमा चिया किनेर उनीहरूलाई दिएँ। उनीहरूले म प्रति धन्यवादको भावमा नतमस्तक हुँदै हाँसेर भने, “तुम तो अच्छे आदमी हो, भैया, अब बनो मेरा सैयां। हाम्रो समाजले तेश्रो लिंगीलाई हेर्ने दृष्टिकोण यस्तो हुँदैन, तर तिमीले हामीलाई गरेको व्यबहार र सम्मानका साथ चिया खुवायौ।” मैले भने, “मलाई त हामीहरू सबै मानिस नै हौ नि। मानिसले मानिस बिचमा भेदभाव गर्न हुंदैन र तिमीहरूको साथमा मलाई अझ रमाइलो नै लागेको छ, हामी सबै मानिस हौं, फरक कहाँ छ र?” उनीहरुले सहमत जनाए |

त्यहि बेला उनीहरूले चियाको बदलामा मलाई केही खुवाउन चाहेको कुरा व्यक्त गरे। तीमध्ये एकले भनिन्, “हामी तिमीलाई समोसा खुवाउँछौं। तिमी हाम्रो पाहुना भएकाले केही त तिमीले पनि खानु पर्छ!” अनि उनीहरूले आफ्नो पिठ्युँमा बोकेको झोला खोलेर समोसा निकाले। मैले पनि उनीहरुले दिएको समोसाको स्वाद संकोच नमानी चाखेँ। त्यतिबेला हामीलाई झन् रमाइलो भयो। समोसाको स्वाद अलि फरक र मीठो थियो।

त्यही क्रममा मैले भारतमा तेश्रो लिंगीहरूप्रति ठाउँ अनुसार समाजको विभेदपूर्ण व्यवहारबारे पनि सुनेँ। उनीहरूले भने, “हामीलाई धेरैले हेप्छन्, तर हामी आफैँलाई कमजोर महसुस गराउँदैनौं। हाम्रो अधिकारका लागि लडिरहेका छौं। यद्यपि, सबैले हाम्रो अस्तित्वलाई सहजै स्वीकार्ने दिन पनि आउला भन्ने आशा चाहिं छ। तर कहिले आउला?”

हाम्रो गफगाफले समय कट्दै गयो र रेलले पनि आफ्नो गति बढाउँदै मद्रासतर्फ अगाडि बढ्यो। ती तेश्रो लिंगीहरूको दु:ख, सुख, साहस, आत्मसम्मान र खुशीप्रतिको दृष्टिकोणले मलाई निकै प्रेरित गर्यो। यात्राको अन्त्यमा, हामीबीच आत्मीयता बढिसकेको थियो। उनीहरू सबैले मसँग विदा माग्दै भने, “नेपाली भैया, ओ मेरे सैंया! तिमी राम्रो मान्छे छौ। फेरि भेट्न पाउँला।”

त्यो यात्रा मेरो जीवनको एउटा अविस्मरणीय रेलयात्रा बनेको थियो। तेश्रो लिंगीहरूसँगको त्यो यात्राको क्षणले समाजप्रति मेरो दृष्टिकोणलाई अझ फराकिलो बनायो। ती सातजनासँगको त्यो सानो तर गहिरो यात्राले मलाई मानवता र समानताको महत्त्व सिकायो। अस्तु।

Wednesday 25 September 2024

तारकेश्वर महादेव मन्दिरको रोमाञ्चक यात्रा: नियात्रा

तारकेश्वर महादेव मन्दिरको रोमाञ्चक यात्रा

दुई बर्ष अघि, म र मेरा तीन जना विद्यार्थीहरू मिलेर शिवपुरी डाँडामा अवस्थित तारकेश्वर महादेव मन्दिरको यात्रामा निस्केका थियौं। यात्राको योजना बनाएर हामी सबै मोटरसाइकलमा पांचमानेसम्म पुगेका थियौं। त्यहाँबाट हाम्रो रोमाञ्चक हाईकिङ सुरु भयो। बिहानको चिसो हावामा म टाउकोमा छातावाल टोपी लगाएर हिँडिरहेको थिएँ, जुन टोपी देखेर बाटोमा भेटिएका मानिसहरू हाँस्न थाले। छातावाल टोपीले बाटोमा हिँड्नलाई सहजता दिएको थियो, तर मेरा बिद्यार्थीहरूले भने यसलाई रमाइलोको रूपमा लिएका थिए।


जंगलको बिचबाट उकालो लाग्दै गर्दा, घनघोर जंगलको हरियालीले भरिएको वातावरण र चिरबिर गर्ने चराचुरुंगीको आवाजले हामीलाई मन्त्र मुग्ध पारिदियो। मन्दिरसम्मको बाटोमा ढुंगा छापेको र गोरेटो थियो। बाटोमा केही ठाउँमा भीरको छेउमा हिँड्नुपर्दा अलिकति डर लागे पनि, यात्राको उत्साहले त्यो भयलाई हराइ दिन्थ्यो। 

तारकेश्वर मन्दिरमा पुग्दा भने सबै थकान हरायो। मन्दिरको शान्त वातावरण, उचाइबाट देखिने काठमाडौँ उपत्यकाको रमणीय दृश्यले मनै आनन्द भयो। उपत्यका टाढाटाढासम्म फैलिएको दृश्य देख्दा एक अनौठो शान्ति र आनन्दको अनुभूति भयो। मन्दिरको दर्शन गरी केही समय विश्राम गर्ने बेलामा दायाँबायाँ रहेका दृश्यलाई मोबाइलमा कैद गरेका थियौं। 


अनि त्यहाँ आश्रममा रहेका एक योगी बाबासँग भेट भयो। बाबाले स्नेहपूर्वक तातो पानीमा सित्तल चिनी र जडिबुटी मिसाएर पिउन दिनुभयो। त्यो तातो पानी पिएर शारीरिक र मानसिक थकान दुवै मेटिएको अनुभव भयो। बाबासँगको कुराकानीमा एकान्तबासका जीवनका बारेमा गहिरा कुरा थाहा पाउँदै गर्दा हामीलाई समय बितेको पत्तै भएन।


मन्दिरबाट फर्किंदाको एउटा क्षण भने निकै जोखिमपूर्ण रह्यो। एउटा ओरालो भीरमा ओर्लंदा भने अचानक स्याउलामा म चिप्लिएँ। त्यो भीरबाट तल खस्नै लाग्दा, मेरो मुटुको धड्कन आम्मामा भयंकर तीव्र भयो। झण्डै खस्नबाट बचेपछि म केही समय अक्क न बक्क भएर उभिरहें। विद्यार्थीहरू पनि डराएर चिच्याए। ए! ए! ए! भन्दै सर! भने। तर, हामी सबै फेरि आत्मबल जुटाउँदै अघि बढ्यौं।


त्यसपछी त्यै क्षणको डरलाई सम्झेर विद्यार्थीहरूको उपद्रो सुरु भयो। भीरालो बाटोमा ओर्लंदा उनीहरूले रमाइलो गर्दै हाँसो ठट्टा गरे। उनीहरूको उटपट्याङले कहिलेकाहीं मेरो मनमा डर लाग्थ्यो भने, कतै फेरी कोही चिप्लिने त होइन? भन्ने डर लागि रहेको थियो। तर, उनीहरूको जोश र उत्साहले हाम्रो यात्रालाई अझै रमाइलो बनाइदियो। ओर्लंदाको त्यो कठिन बाटोमा पनि हामी सबैले रमाउँदै एक अर्कालाई सहयोग गर्दै यात्रा पूरा गर्यौं।

यो यात्रा मेरो जीवनको एक अविस्मरणीय अनुभव बन्यो। हाईकिङको रोमाञ्चकता, भीरमा चिप्लेर झण्डै खस्न लागेको क्षण, तारकेश्वर मन्दिरको शान्त वातावरण, योगी बाबाको स्नेह, र विद्यार्थीहरूको रमाइलो उट्पटांग सबै एक साथ मिसिएर यो यात्रालाई विशेष बनायो। अस्तु।

#tarkeshwar #travelogue #domestictourism #pilgrimage #edutour #hiking 

Monday 23 September 2024

कलेज टुर: पारिलेक बगैंचा, तानसेन

पारिलेकको सन्देश

२०६२ सालको एक रमाइलो वसन्तको बिहान, काठमाडौंस्थित पब्लिक युथ क्याम्पसका पर्यटन बिषयमा अध्ययनरत विद्यार्थीहरूको समूह तानसेन, पाल्पा घुम्न जाँदै थियो। कलेजको क्यालेन्डर अनुसार शैक्षिक भ्रमणको एक अंशको रूपमा यो भ्रमण आयोजना गरिएको थियो, र यो यात्राले विद्यार्थीहरूलाई पर्यटनको व्यावहारिक ज्ञान दिने, तर वातावरण संरक्षणको महत्त्वसमेत बुझाउने उद्देश्य लिएको थियो।

पोखराबाट पाँच घण्टा लामो बस यात्रा पछि, बसले तानसेनको बस स्टेसनमा पुगियो। विद्यार्थीहरू उत्साहित थिए, किनभने उनीहरूले पहिलो पटक पाल्पाको सुन्दरताको प्रत्यक्ष अनुभव गर्न पाउँदै थिए। तानसेनको इतिहास र संस्कृतिले सबैलाई आकर्षित गरेको थियो।
सांझ भएकोले सबैजना सरसफाई गरी आराम गर्न लागेका थिए। माओवादीको जगजगी भएकोले सांझ ८ बजे देखि नै कर्फ्यु लाग्यो। बिद्यार्थीहरु खानपिन गरिसकेर आ आफ्नो कोठामा तालिका अनुसार आराम गर्न गए। 

भोलिको मुख्य गन्तव्य भने पारिलेक बगैंचा थियो। भुसाल डाँडाको उचाइमा रहेको पारिलेक बनमा बुद्धको शान्त मुर्ति रहेको एउटा सानो बगैंचाले यस स्थानलाई झन् विशेष बनाएको थियो।

विद्यार्थीहरू र शिक्षकहरूको समूह डाँडामा पैदल यात्रा गर्दै पारिलेकतिर उक्लियो। बाटोमा हरियाली, पाखाहरूमा फुलिरहेका रंगीचंगी फूलहरू, र सेता बादलले ढाकिएका डाँडाहरूले सबैको मन प्रफुल्ल बनायो। बस पार्कमा रहेको होटल बज्रबाट लगभग एक घण्टा लामो आरामदायी पैदल यात्रा पछि हामी सबैजना पारिलेकमा पुगेका थियौं।

पारिलेकको बगैंचा शान्त र सौम्य देखिन्थ्यो। छेउमा बुद्धको मुर्ति थियो, जुन शान्तिको प्रतीक थियो। चारैतिर फुलेका फूलहरू रोपेका थिए। रमणीय वातावरण, र टाढा-टाढा सम्म फैलिएको मनमोहक दृश्यावलोकनले बिद्यार्थीहरूलाई मन्त्रमुग्ध बनायो। विद्यार्थीहरू उक्त स्थानमा केही समय रमाउँदै दृश्य अवलोकन गर्दै फोटो खिचेर रमाई रहे।

तर, केही बेर पछि, विद्यार्थीहरूको एक समूहले त्यहाँ फ्याँकिएका प्लास्टिकका बोतलहरू, चाउचाउ र चकलेटका खोलहरू, र अन्य फोहोरहरू देखे। यस रमणीय स्थलमा फोहोर देख्दा उनीहरूलाई दुःख लाग्यो। त्यहाँको सुन्दरता र शान्त वातावरणलाई यी फोहोरहरूले कुरुप बनाएको थियो। शिक्षकहरूले पनि यो दृश्य देखेर निराशा प्रकट गरे।

त्यसपछि, शिक्षकले विद्यार्थीहरूलाई जम्मा गर्दै भने, "यो यात्रा केवल रमाइलो गर्नका लागि होइन, यो यात्राले हामीलाई हाम्रो कर्तव्य र जिम्मेवारी पनि सिकाउँछ। पर्यटन भनेको केवल यात्रा मात्र होइन, वातावरणको संरक्षण पनि हो। आज हामी यहाँ आएको छौं भने यसको सरसफाइ गर्ने जिम्मा पनि हाम्रो हो।"

शिक्षकको प्रेरणाले सबै विद्यार्थीहरूले सरसफाइ गर्ने निर्णय गरे। उनीहरूले प्लास्टिकका झोलाहरू हातमा लिएर बगैंचामा फैलिएका फोहोर उठाउन थाले। ७५ जनाले एकैक्षणमा बगैंचामा रहेका सबै फोहोर मैला हातेमालो गरेर संकलन गरे। विद्यार्थीहरूले बुद्धको मुर्तिको वरिपरि फुलहरू पनि सजाएका थिए, जसले वातावरणलाई अझ सुन्दर बनायो।

जब सरसफाइ कार्य सकियो, सबैले एकअर्कालाई हौस्याए र त्यो सानो तर महत्त्वपूर्ण कार्यले ठूलो गर्वको महसुस गरायो। बुद्धको शान्त मुर्तिको सामुन्ने उभिएर शिक्षकले भने, "आज हामीले सन्देश दिएका छौं कि पर्यटनको मतलब केवल आनन्द उठाउने मात्र होइन, तर हाम्रो वातावरण र प्रकृतिको सुरक्षा पनि हो। यदि हामीले हाम्रा प्राकृतिक स्थलहरूको सरसफाइ गरिराख्यौं भने मात्र यी स्थानहरूले सधैं सुन्दरता कायम राख्न सक्छन्।"

त्यस दिनको यात्रा केवल रमाइलो मात्र रहेन, एक गहिरो सन्देश बोक्ने यात्रा बन्यो। विद्यार्थीहरूले पारिलेकको त्यो रमणीय वातावरणमा गरेको सरसफाइले उनीहरूलाई मात्र होइन, त्यस वडामा बासिन्दाहरुले पनि सरसफाइको महत्व बुझे र भविष्यका आगन्तुकहरूलाई पनि वातावरणको महत्त्व बुझाउन मद्दत मिल्ने बिश्वास व्यक्त गरे।

पारिलेकले बुद्धको शान्त मुर्तिको माध्यमबाट शान्तिको सन्देश दिएको थियो, र त्यो दिन विद्यार्थीहरूले वातावरण संरक्षणको जिम्मेवारी बोकेर फर्किएका थिए। अस्तु !

#travelog #tourism #tour #collegetour #travel #travelnepal #tourisminnepal #edutour #education #environment #cleaning

Sunday 22 September 2024

विपश्यना ध्यान

विपश्यना ध्यान प्राचीन बौद्ध ध्यान प्रविधि हो, जसले वस्तुहरूलाई तिनीहरू जस्तो छ, ठीक त्यसरी नै अवलोकन गर्न सिकाउँछ। "विपश्यना" शब्दको अर्थ "विशेष रूपमा देख्नु" अथवा "दृष्टिकोणको स्पष्टता" हो। यसको उद्देश्य वास्तविकताको साक्षात्कार गर्न र मनको अशुद्धता हटाई पूर्ण शुद्धता, अर्थात् निर्वाण प्राप्त गर्नु हो। विपश्यना ध्यान गौतम बुद्धले दिएको ध्यान विधि मानिन्छ, र यसलाई दुःखबाट मुक्तिको मार्ग मानिन्छ।

किन गर्ने?

१. दुःखको कारण पत्ता लगाउने: विपश्यना ध्यानले हामीलाई हाम्रो दुःख, तनाव, र समस्याहरूको जरा के हो भनेर बुझ्न मद्दत गर्छ।

२. चित्तको शुद्धि: मनको अशुद्धता, लोभ, द्वेष, र अज्ञानता जस्ता नकारात्मकताहरूलाई पन्छाउन सहयोग गर्छ।

३. मनोवैज्ञानिक र भावनात्मक स्वास्थ्य: ध्यान गर्दा मन शान्त हुन्छ, जसले तनाव, चिन्ता र मानसिक असन्तुलन कम गर्न मद्दत गर्दछ।

४. आध्यात्मिक उन्नति: यो अभ्यासले व्यक्ति आफ्नै अस्तित्व र संसारलाई गहिरो रूपमा बुझ्न मद्दत गर्छ, जसबाट मोक्षको मार्ग खुल्छ।

कसरी गर्ने?

विपश्यना ध्यान दुई प्रमुख चरणहरूमा गरिन्छ:

१. आनापान सति (श्वासको सजगता):

ध्यानको प्रारम्भिक चरणमा, साधक आफ्नो श्वासप्रश्वासमा पूर्ण ध्यान दिन्छ। यो सजगता (सति) अभ्यास हो, जहाँ श्वास भित्र र बाहिर जाने प्रक्रियामा अवलोकन गरिन्छ।

श्वासलाई नियन्त्रण गर्ने होइन, केवल सजग भएर श्वास लिँदा र छोड्दा मनमा आउने कुनै पनि विचार वा भावना बिना सजग रहनु हो।

२. विपश्यना (सजगता र निरीक्षण):

एक पटक साधकले आफ्नो श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्न सक्षम भएपछि, शरीरका विभिन्न भागहरूमा संवेदनाहरूको सजग अवलोकन गर्न थालिन्छ।

यहाँ हामी शरीरको प्रत्येक भागमा आएका सुखद, दुःखद, तटस्थ, चिसो, तातो आदि संवेदनाहरूको निरीक्षण गर्छौं। यी सबै परिवर्तनशील र क्षणिक (अनित्य) हुन्छन्, जसलाई बुझ्न र मनमा कुनै प्रतिक्रिया नगरी अवलोकन गर्नु नै विपश्यना हो।

यो अभ्यासले मनलाई वस्तुगत बनाउन र अनुभवहरूलाई अज्ञानताको पर्दाबाट देख्न नदिन सिकाउँछ।

कुन बेला गर्ने?

बिहानपख: शान्त वातावरणमा अभ्यास गर्न उपयुक्त समय हो, जब मन स्पष्ट र एकाग्र हुन्छ।

राति सुत्नुअघि: यसले दिनभरको तनावलाई कम गर्न र शान्त निद्रामा मद्दत गर्छ।

विशेष ध्यान सत्रहरूमा: धेरैजसो विपश्यना ध्यान सत्रहरू १० दिनको लामो अवधिमा गरिन्छ। यो अवधिमा साधकले गहिरो ध्यान अभ्यास गरेर चित्तको गहिराइमा पुग्न सक्छ।

ध्यान गर्ने तरिका:

१. सही आसनमा बस्ने: ध्यान गर्दा साधकले आरामदायक आसनमा बस्नुपर्छ। ध्यानको समयमा शरीर स्थिर राख्न प्रयास गरिन्छ।

२. श्वासप्रश्वासको अवलोकन गर्ने: पहिलो चरणमा, श्वासलाई निरीक्षण गर्दै ध्यानमा प्रवेश गरिन्छ। श्वासको लयलाई बिना हस्तक्षेप सजग भएर अनुभव गरिन्छ।

३. संवेदनाहरूको अवलोकन गर्ने: जब मन स्थिर हुन्छ, शरीरमा उत्पन्न भएका संवेदनाहरूको सजग रूपमा अवलोकन गरिन्छ। सुखद, दुःखद वा तटस्थ संवेदनाहरूलाई प्रतिक्रिया नगरीकन तिनीहरूको निरीक्षण गरिन्छ।

४. निर्णय नगर्ने र प्रतिक्रिया नजनाउने: ध्यानको सबैभन्दा महत्त्वपूर्ण कुरा हो—आफ्नो अनुभवहरूलाई प्रतिक्रिया नगर्नु। चाहे ती सुखद हुन् या दुःखद, तिनलाई तटस्थ रूपमा अवलोकन गर्नुपर्छ।

५. अनित्यता बुझ्ने: प्रत्येक संवेदना क्षणिक हुन्छ। विपश्यना अभ्यासको मुख्य उद्देश्य यो हो कि सबै अनुभवहरू परिवर्तनशील छन् (अनित्य), र तिनलाई स्थायी रूपमा नसम्झनु।

विपश्यना ध्यानले नियमित अभ्यासमा मानसिक शुद्धता, आत्म-समझ, र जीवनमा गहिरो शान्ति र सन्तुलन ल्याउन मद्दत गर्छ।

Saturday 21 September 2024

सतिपठान ध्यान (Satipathan Meditation)

सतिपठान ध्यान बौद्ध धर्मको आधारभूत ध्यान प्रविधि हो जसमा चित्तलाई शुद्ध गर्न, वास्तविकता बुझ्न र मुक्ति प्राप्त गर्न अभ्यास गरिन्छ। यसको मुख्य उद्देश्य मनलाई वर्तमान क्षणमा एकाग्र गराउनु हो, जसबाट दुःखको कारणहरू पहिचान गरिन्छ र अन्ततः उनीहरूबाट मुक्ती प्राप्त हुन्छ।

किन गर्ने?

१. मनको शान्ति: सतिपठान ध्यानले मनलाई एकाग्र र शान्त बनाउन मद्दत गर्छ।

२. दुःखको अन्त्य: यस ध्यानको अभ्यासले हाम्रो जीवनमा दुःखको वास्तविक कारण पत्ता लगाउन र उनीहरूलाई हल गर्न मद्दत गर्दछ।

३. सम्पूर्ण चेतनशीलता: यसले आफ्नो शरीर, भावना, मन, र वास्तविकता प्रति गहिरो समझ र चेतनशीलता विकसित गर्न सहयोग गर्छ।

४. आध्यात्मिक मुक्ति: अन्ततः सतिपठान ध्यानको अभ्यासले निर्वाण (मुक्ति) को प्राप्तिमा सहयोग पुर्‍याउँछ।

कसरी गर्ने?

सतिपठान ध्यान चार प्रमुख आधारमा ध्यान केन्द्रित गरिन्छ:

१. कायानुपश्यना (शरीरमा ध्यान): श्वासप्रश्वासको निरीक्षण गर्ने, शरीरका हरेक भागको अनुभूति गर्ने, चालचलनको सजगता राख्ने।

श्वासप्रश्वासलाई प्राकृतिक रूपमा लिइन्छ। आफ्नो श्वासलाई बाहिर र भित्र जाँदा सजगता राखिन्छ। शरीरमा भएका विभिन्न संवेदनाहरूलाई ध्यानपूर्वक निरीक्षण गरिन्छ।

२. वेदनानुपश्यना (भावनामा ध्यान): आफूले अनुभव गरिरहेको सुख, दुःख, वा तटस्थ भावनाहरूलाई सजग रूपमा अवलोकन गर्ने।

यो अभ्यासले मनोवैज्ञानिक प्रतिक्रिया र ती भावनाहरूको उत्पत्तिलाई बुझ्न सहयोग गर्दछ।

३. चित्तानुपश्यना (मनमा ध्यान): आफ्ना विचार, भावना र मानसिक अवस्थाहरूको निरीक्षण गर्ने।

यहाँ मनमा आएका विभिन्न विचारहरू, आवेगहरू र मानसिक अवस्थाहरूलाई कुनै पनि प्रकारको मूल्याङ्कन नगरी निरीक्षण गरिन्छ।

४. धम्मानुपश्यना (धर्ममा ध्यान): मनमा उठ्ने विचार, प्रवृत्ति र विषयहरूको निरीक्षण गर्ने।

यसमा सांसारिक सत्यहरूको गहिरो अध्ययन गरिन्छ, विशेषगरी दुःखको सत्य, यसको कारण र अन्त्य।

कुन बेला गर्ने?

सतिपठान ध्यान दिनको कुनै पनि समयमा गर्न सकिन्छ। तर, बिहानको शान्त वातावरणमा ध्यान गर्ने धेरैले प्रभावकारी ठान्छन्। केही महत्वपूर्ण समय यस प्रकार छन्:

बिहानपख: बिहानको समयमा मन शान्त र एकाग्र हुन्छ।

सुत्नुअघि: यसले दिनभरको तनाव कम गर्न र शान्त निद्रामा मद्दत गर्छ।

तनाव वा चिन्ता हुँदा: जब मनमा तनाव वा चिन्ता हुन्छ, ध्यान गर्नाले मनलाई शान्त र स्थिर राख्न मद्दत गर्दछ।

ध्यान गर्ने तरिका:

१. सही आसनमा बस्ने: ध्यान गर्दा आरामदायक आसनमा बस्ने, शरीर सीधा राख्ने, र लामो समयसम्म आरामसँग बस्न मिल्ने।

२. श्वासप्रश्वासको अवलोकन: आफ्नो श्वासप्रश्वासमा ध्यान दिने। श्वासलाई जबरजस्ती नियन्त्रण नगर्ने, श्वास भित्र र बाहिर जानुलाई सजग भएर अनुभव गर्ने।

३. ध्यानको वस्तु छनोट गर्ने: शरीर, भावना, मन, वा धर्म (विचार वा सत्य) लाई ध्यानको केन्द्र बनाउने।

४. ध्यानको अभ्यास जारी राख्ने: सुरुवातमा केही मिनेट, अनि विस्तारै समय बढाउँदै लैजाने। नियमित अभ्यासले ध्यानको प्रभावकारिता बढाउँछ।

सतिपठान ध्यान निरन्तर अभ्यासको माध्यम हो। यसले जीवनमा गहिरो परिवर्तन ल्याउन सक्छ।

Friday 20 September 2024

चङ्क्रमण ध्यान (Walking Meditation)

चङ्क्रमण ध्यान (चलिरहेको ध्यान) शारीरिक गतिविधिमा आधारित ध्यानको एक प्रकार हो। यसको नाम "चङ्क्रमण" बाट लिइएको हो, जसको अर्थ "हिँड्नु" हो। चङ्क्रमण ध्यान, सामान्यतया, चलिरहेको वा हिँड्ने ध्यानको रूपमा बुझिन्छ। यस ध्यानमा ध्यानकर्ताले हिँड्दा वा चल्दा आफ्नो हरेक पाइलामा पूर्ण सजगता राख्छ, जसले उनीहरूको चित्तलाई वर्तमान क्षणमा एकाग्र गर्न मद्दत गर्दछ।

किन गर्ने?

चङ्क्रमण ध्यानको धेरै फाइदाहरू छन्:

१. वर्तमानमा बस्न मद्दत गर्ने: यस ध्यानले हरेक पाइलामा सजगता र चनाखोपन ल्याउँछ, जसले मनलाई वर्तमान क्षणमा एकाग्र बनाउन मद्दत गर्दछ।

२. तनाव कम गर्ने: शारीरिक गतिविधिमा आधारित ध्यान गर्दा मन र शरीरमा उत्पन्न भएको तनावलाई कम गर्न मद्दत हुन्छ।

३. शारीरिक स्वस्थता: यो ध्यान शारीरिक चलायमान क्रियाकलापमा आधारित छ, जसले शरीरलाई हलचलमा राख्न र स्वस्थ राख्न मद्दत गर्छ।

४. दिमागलाई शान्त पार्ने: चल्दा श्वासप्रश्वासमा र शरीरका चालचलनमा ध्यान दिनाले मनलाई शान्त पार्न र बेचैनी वा चिन्तालाई घटाउन मद्दत गर्छ।

५. ध्यानको निरन्तरता: लामो समयसम्म बसेर ध्यान गर्न कठिन भएमा, चङ्क्रमण ध्यानले सरल तर प्रभावकारी तरिकाले ध्यानको अभ्यास जारी राख्न मद्दत गर्दछ।

कसले गर्ने?

चङ्क्रमण ध्यान सबै उमेरका व्यक्तिहरूले गर्न सक्छन्। विशेष गरी:

ध्यानको सुरुवाती साधक: ध्यानमा नौसिखुवा भएका व्यक्तिहरूले यस ध्यानको सजिलो विधि अपनाउन सक्छन्।

ध्यानमा लामो समयसम्म बस्न कठिनाई भएको व्यक्तिहरू: कुनै कारणले लामो समयसम्म बस्न नसक्ने व्यक्तिहरूले चङ्क्रमण ध्यान गर्दा शारीरिक सक्रियता कायम राखेर ध्यान गर्न सक्छन्।

शारीरिक रूपमा सक्रिय रहन चाहनेहरू: शारीरिक स्वस्थता र ध्यानको संयोजन खोज्ने व्यक्तिहरूले यसलाई गर्न सक्छन्।

कसरी गर्ने?

१. सही स्थान चयन गर्ने: शान्त र खुल्ला ठाउँ जहाँ सजिलै हिँड्न सकिन्छ। बगैंचा, पार्क, वा खुला क्षेत्रमा यो ध्यान गर्न उपयुक्त हुन्छ।

२. सजग भएर हिँड्न सुरु गर्ने: चङ्क्रमण ध्यानमा पहिलो पाइला सजग भएर हिँड्न थाल्नु हो। हरेक पाइलामा आफ्नो खुट्टा जमीनमा कसरी स्पर्श गर्छ भन्ने कुरामा ध्यान दिनुहोस्।

३. शरीरको चालचलनमा ध्यान केन्द्रित गर्ने: हिँड्दा आफ्नो खुट्टा कसरी उठ्छ, कसरी अघि बढ्छ र जमीनमा स्पर्श हुन्छ भन्ने कुरालाई सजग भएर अवलोकन गर्नुहोस्।

४. श्वासप्रश्वासको अवलोकन गर्ने: हिँड्दै गर्दा श्वासप्रश्वासको लयमा ध्यान दिनुहोस्। श्वासलाई कुनै बल नगरी प्राकृतिक रूपमा लिने र छोड्ने काम गर्नुहोस्।

५. मनमा आएका विचारहरूलाई नजरअन्दाज गर्ने: हिँड्दा मनमा आएका विचारहरूलाई प्रतिक्रिया नगरी तिनीहरूलाई जान दिनुहोस्। केवल वर्तमान क्षणमा रहन प्रयास गर्नुहोस्।

६. बिस्तारै गति परिवर्तन गर्ने: सुरुमा विस्तारै हिँड्न थाल्नुहोस् र अभ्यासअनुसार गति परिवर्तन गर्न सक्नुहुन्छ। मुख्य कुरा सजगता कायम राख्नु हो।
कुन बेला गर्ने?

चङ्क्रमण ध्यान दिनको कुनै पनि समयमा गर्न सकिन्छ। तर केही विशेष समय यसप्रकार छन्:

बिहानपख: शान्त वातावरणमा अभ्यास गर्दा मन र शरीरलाई ताजगी महसुस हुन्छ।

लामो समय बस्ने ध्यानपछि: ध्यानको सत्रको बीचमा छोटो चङ्क्रमण ध्यान गरेर ध्यानको अभ्यासलाई ताजा राख्न सकिन्छ।

विश्राम लिन चाहिँदा: यदि मानसिक थकान छ भने, हिँडेर ध्यान गर्नाले दिमागलाई ताजगी दिन्छ।

फाइदा:

१. शारीरिक र मानसिक लाभ: यसले शारीरिक रूपमा सक्रिय रहन मद्दत गर्छ भने, मानसिक रूपमा चनाखो र स्थिर राख्छ।

२. तनाव र चिन्ता घटाउने: हिँड्दा शारीरिक चलायमानतासँगै मनलाई शान्त राख्न यसले सहयोग गर्छ।

३. मनलाई एकाग्र गर्ने: मनमा आउने अनावश्यक विचारहरूलाई कम गर्दै मनलाई वर्तमान क्षणमा एकाग्र राख्न मद्दत गर्छ।

४. ध्यानको निरन्तरता: लामो ध्यान सत्रमा विश्रामका लागि चङ्क्रमण ध्यान गर्नाले ध्यानको निरन्तरता कायम राख्न मद्दत गर्दछ।

साबधानी:

१. प्रारम्भिक रूपमा सजिलो भए पनि गहिराइमा प्रवेश गर्न कठिन: लामो समयसम्म हिँड्दा शरीर थाक्न सक्छ, जसले ध्यानमा बाधा पुर्‍याउन सक्छ।

२. स्थानको आवश्यकता: चङ्क्रमण ध्यानका लागि खुला ठाउँ आवश्यक हुन्छ, जुन सधैं उपलब्ध नहुन सक्छ।

३. शुरुआतीका लागि सजगता कायम राख्न कठिनाई: यो ध्यान गर्दा हिँड्न र मनलाई पूर्ण सजग राख्न गाह्रो हुन सक्छ, विशेष गरी नवप्रवेशीहरूका लागि।

चङ्क्रमण ध्यान साधारण तरिकाले वर्तमानमा रहन सिकाउने ध्यान प्रविधि हो, जसले शारीरिक र मानसिक रूपमा सन्तुलित रहन मद्दत गर्छ।

Wednesday 18 September 2024

कृषि पर्यटन

कृषि पर्यटन भनेको के हो? 
- लेखक: विनय शाक्य
कृषि पर्यटन भनेको कृषि कार्यलाई पर्यटनसँग जोडेर गरिने एक प्रकारको पर्यटन हो। यसमा पर्यटकहरूलाई कृषि कार्यमा संलग्न गराउने, कृषि उत्पादनको बारेमा जानकारी दिने र कृषि वातावरणमा रमाउने अवसर प्रदान गरिन्छ। यसले पर्यटकहरूलाई शहरको कोलाहलबाट टाढा लगेर प्राकृतिक वातावरणमा रमाउने मौका दिन्छ भने किसानहरूलाई थप आम्दानीको स्रोत प्रदान गर्दछ।
नेपालमा कृषि पर्यटन कहाँ गर्न सकिन्छ?
नेपालको ग्रामीण क्षेत्रमा कृषि पर्यटनका लागि प्रशस्त सम्भावनाहरू छन्। जस्तै:
 * पहाडी क्षेत्र: अन्नपूर्ण, लुम्बिनी, रसुवा जस्ता क्षेत्रहरूमा अन्नबाली खेती, फलफूल बगैचा, चिया बगान जस्ता गतिविधिहरूमा पर्यटकहरूलाई संलग्न गराउन सकिन्छ।
 * तराई क्षेत्र: चितवन, बारा, पर्सा जस्ता क्षेत्रहरूमा तरकारी खेती, फलफूल खेती, माछापालन जस्ता गतिविधिहरूमा पर्यटकहरूलाई संलग्न गराउन सकिन्छ।
 * डांडाकाँडा: इलाम, पाँचथर जस्ता क्षेत्रहरूमा चिया बगान, कफी बगान, अदुवा खेती जस्ता गतिविधिहरूमा पर्यटकहरूलाई संलग्न गराउन सकिन्छ।

कृषि पर्यटन कहिले गर्ने?
कृषि पर्यटनका लागि सबैभन्दा उपयुक्त समय मौसमअनुसार फरक-फरक हुन्छ। जस्तै:
 * वसन्त ऋतु: फूल फुल्ने समय भएकाले यो समयमा बगैंचा घुम्ने, फूल टिप्ने जस्ता गतिविधिहरू गर्न सकिन्छ।
 * ग्रीष्म ऋतु: तरकारी खेती, फलफूल टिप्ने जस्ता गतिविधिहरू गर्न सकिन्छ।
 * शरद ऋतु: अन्न बाली पाक्ने समय भएकाले धान काट्ने, कोदो काट्ने जस्ता गतिविधिहरू गर्न सकिन्छ।

कृषि पर्यटन कस्ले गर्ने?
कृषि पर्यटन किसानहरू, कृषि सहकारी संस्थाहरू, होमस्टे सञ्चालकहरू, स्थानीय सरकारहरू, निजी क्षेत्रका कम्पनीहरू आदिले सञ्चालन गर्न सक्छन्।

कृषि पर्यटन कस्को लागि गर्ने?
कृषि पर्यटन प्राकृतिक वातावरणमा रमाउन चाहने, कृषिबारे जान्न चाहने, स्थानीय संस्कृति अनुभव गर्न चाहने सबैका लागि उपयुक्त हुन्छ। विशेष गरी शहरवासीहरू, विद्यार्थीहरू, परिवारहरू कृषि पर्यटनमा रुचि राख्न सक्छन्।

कृषि पर्यटनको समाज र अर्थतन्त्रमा प्रभाव
कृषि पर्यटनले समाज र अर्थतन्त्रमा निम्न प्रभाव पार्न सक्छ:
 * आर्थिक विकास: कृषि पर्यटनले ग्रामीण क्षेत्रमा आर्थिक विकास गर्न मद्दत गर्दछ। यसले किसानहरूको आय वृद्धि गर्छ, रोजगारी सिर्जना गर्छ र स्थानीय उत्पादनको बजार बढाउँछ।
 * सांस्कृतिक संरक्षण: कृषि पर्यटनले स्थानीय संस्कृति, परम्परा र जीवनशैलीको संरक्षणमा मद्दत गर्दछ।
 * पर्यावरण संरक्षण: कृषि पर्यटनले जैविक विविधताको संरक्षण र वातावरणमैत्री कृषि प्रणालीको विकासमा प्रोत्साहन गर्दछ।
 * गाउँ र शहरबीचको सम्बन्ध सुधार: कृषि पर्यटनले गाउँ र शहरबीचको सम्बन्ध सुधार गर्न मद्दत गर्दछ।
 * पर्यटन विकास: कृषि पर्यटनले नेपालको पर्यटन क्षेत्रको विस्तारमा योगदान पुर्‍याउँछ।

अन्तमा, कृषि पर्यटन नेपालको लागि एक महत्वपूर्ण अवसर हो। यसले ग्रामीण क्षेत्रको विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र पर्यावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

Tuesday 17 September 2024

हाइकिङ किन जाने?

हाइकिङ किन जाने? 
शारीरिक र मानसिक फाइदा 
हाइकिङ एकदमै रमाइलो र स्वास्थ्यका लागि फाइदाजनक गतिविधि हो। यसले शारीरिक र मानसिक दुवै रूपमा धेरै फाइदा पुर्‍याउँछ।
शारीरिक फाइदा:
 * स्वास्थ्य सुधार: हाइकिङले हृदयलाई स्वस्थ राख्छ, मांसपेशीलाई बलियो बनाउँछ, र मोटोपन कम गर्न मद्दत गर्छ।
 * रोग प्रतिरोध क्षमता बढाउँछ: नियमित हाइकिङले रोग प्रतिरोध क्षमता बढाउँछ र विभिन्न रोगहरूबाट बचाउँछ।
 * हड्डी बलियो बनाउँछ: हाइकिङले हड्डीलाई बलियो बनाउँछ र ओस्टियोपोरोसिसको जोखिम कम गर्छ।
 * सन्तुलन र समन्वय बढाउँछ: असमान भू-धरातलमा हिँड्दा सन्तुलन र समन्वय बढ्छ।

मानसिक फाइदा:
 * तनाव कम गर्छ: प्राकृतिक वातावरणमा हिँड्दा तनाव कम हुन्छ र मानसिक शान्ति मिल्छ।
 * उत्पादकत्व बढाउँछ: हाइकिङले दिमागलाई तनावमुक्त बनाई उत्पादकत्व बढाउन मद्दत गर्छ।
 * निद्रा राम्रो लाग्छ: नियमित हाइकिङले निद्रा राम्रो लाग्छ र थकान कम गर्छ।
 * आत्मविश्वास बढाउँछ: नयाँ ठाउँहरू अन्वेषण गर्दा आत्मविश्वास बढ्छ।

काठमाडौंमा हाइकिङका लागि उपयुक्त स्थानहरू
काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू हाइकिङका लागि निकै लोकप्रिय छन्। केही लोकप्रिय गन्तव्यहरू यस्ता छन्:
 * चन्द्रागिरि हिल्स: काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने यो स्थान हाइकिङका लागि निकै मनमोहक छ।
 * शिवपुरी राष्ट्रिय निकुञ्ज: यहाँ विभिन्न पदमार्गहरू छन् जहाँ जङ्गलको मनोरम दृश्य अवलोकन गर्दै हिँड्न सकिन्छ।
 * फूलचोकी: काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो स्थान फूलचोकीमा पुग्नका लागि विभिन्न पदमार्गहरू छन्।
 * दक्षिणकाली: दक्षिणकाली मन्दिर पुग्ने पदमार्ग पनि हाइकिङका लागि लोकप्रिय छ।
 * नगरकोट: नगरकोटबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

प्रवेश शुल्क, दूरी र समय:
प्रवेश शुल्क, दूरी र समय पदमार्गको आधारमा फरक-फरक हुन्छ। सामान्यतया, राष्ट्रिय निकुञ्जहरूमा प्रवेश शुल्क लाग्छ भने अन्य स्थानहरूमा प्रायः निःशुल्क हुन्छ। दूरी र समय पनि तपाईंले छानेको पदमार्गको लम्बाइ र कठिनाइको आधारमा निर्भर गर्दछ।

हाइकिङका लागि आवश्यक सामग्रीहरू
 * जुत्ता: कम्फर्टेबल र पाइला चिप्लिने सम्भावना कम भएको जुत्ता लगाउनुहोस्।
 * लुगा: मौसमअनुसारको हलुका र न्यानो लुगा लगाउनुहोस्।
 * ब्याकप्याक: पानी, खाना, र अन्य आवश्यक सामान बोक्नका लागि ब्याकप्याक आवश्यक हुन्छ।
 * पानीको बोतल: पर्याप्त मात्रामा पानी बोक्नुहोस्।
 * खाना: हल्का खानेकुरा जस्तै फलफूल, नट्स, चकलेट आदि बोक्नुहोस्।
 * सनस्क्रीन: घामबाट जोगिन सनस्क्रीन लगाउनुहोस्।
 * टोपी र चस्मा: घामबाट आँखा र टाउको जोगाउन टोपी र चस्मा लगाउनुहोस्।
 * रेनकोट: वर्षाको सम्भावना भएमा रेनकोट बोक्नुहोस्।
 * मोबाइल फोन: आपतकालीन अवस्थाका लागि मोबाइल फोन बोक्नुहोस्।
 * नक्सा: पहिलो पटक जाने हो भने नक्सा वा जीपीएसको सहायता लिनुहोस्।

कसरी जाने र कति खर्च लाग्छ?
तपाईं सार्वजनिक यातायात, निजी गाडी वा हाइकिङ टुरमा सहभागी भएर हाइकिङमा जान सक्नुहुन्छ। यातायात खर्च, प्रवेश शुल्क र अन्य खर्चहरू तपाईंले छानेको गन्तव्य र यात्राको तरिकामा निर्भर गर्दछ।

साबधानी:
 * मौसमको पूर्वानुमान: हाइकिङमा जानु अघि मौसमको पूर्वानुमान अवश्य हेर्नुहोस्।
 * समूहमा जानु: एक्लै भन्दा समूहमा जानु सुरक्षित हुन्छ।
 * स्थानीयबासीसँग सल्लाह लिनुहोस्: स्थानीयबासीसँग सल्लाह लिएर मात्रै अज्ञात क्षेत्रमा हाइकिङमा जानुहोस्।
 * फोहोर व्यवस्थापन: फोहोर जथाभावी नफाल्नुहोस्।

हाइकिङ एकदमै रमाइलो र स्वास्थ्यका लागि फाइदाजनक गतिविधि हो। त्यसैले, आफ्नो स्वास्थ्य र मनोरञ्जनका लागि नियमित रूपमा हाइकिङमा जानुहोस्।

#Hiking #adventure #tourisminnepal #stress #travelnepal #travelasia

Monday 16 September 2024

नेपालमा होमस्टे

नेपालमा होमस्टे:
नेपालको भौगोलिक विविधता, सांस्कृतिक धरोहर र अद्वितीय प्राकृतिक सौन्दर्यले गर्दा ग्रामीण क्षेत्रमा होमस्टे पर्यटनले निकै राम्रो सम्भावना बोकेको छ। होमस्टेले स्थानीय समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, उनीहरूको जीवनशैली, संस्कृति र परम्पराको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्दछ। यसले गर्दा पर्यटकहरूलाई एक अविस्मरणीय अनुभव प्रदान गर्दछ भने अर्कोतर्फ स्थानीय समुदायको सम्बृद्धी र आर्थिक विकासमा पनि टेवा पुग्दछ।

होमस्टेको संरचना:
सांस्कृतिक विविधता: नेपालमा विभिन्न जातजाति, भाषा, भेष, भुषा र संस्कृति भएका मानिसहरू बसोबास गर्दछन्। यसले गर्दा होमस्टेमा बस्ने पर्यटकहरूले विभिन्न जातजातिका संस्कृति र परम्पराहरूको नजिकबाट अनुभव गर्न सक्छन्।

प्राकृतिक सौन्दर्य: हिमाल, पहाड, तराई, नदी, ताल, जंगल आदि प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालमा होमस्टे सञ्चालन गर्नका लागि आधारभूत आवश्यकता अनुसारको भूगोल छ। पर्यटकहरूले प्राकृतिक सौन्दर्यको आनन्द लिँदै स्थानीय जनजीवनको अनुभव लिन सक्छन्।
 
सस्तो र सुलभ: होटलहरूको तुलनामा होमस्टे सस्तो र सुलभ हुन्छ। यसले गर्दा बजेट यात्रीहरूका लागि आकर्षक विकल्प बन्न सक्छ।

स्थानीय उत्पादन: होमस्टेमा स्थानीय उत्पादनहरू जस्तै: स्थानीय खाना, हस्तकलाका सामग्रीहरू आदि पाइन्छन् जसले गर्दा पर्यटकहरूलाई स्थानीय अर्थतन्त्रलाई साथ सहयोग र समर्थन गर्न प्रोत्साहित गर्दछ।

समुदायको सहभागिता: होमस्टे सञ्चालनमा स्थानीय समुदायको सक्रिय सहभागिता रहने हुँदा यसले स्थानीय समुदाय विकासमा पनि प्रत्यक्ष योगदान पुर्‍याउने गर्छ।
नेपालमा होमस्टेका चुनौतीहरू:
पूर्वाधारको अवस्था: धेरै जसो ग्रामीण क्षेत्रमा सडक, विद्युत, खानेपानी जस्ता आधारभूत पूर्वाधारको अभाव छ जसले गर्दा होमस्टे सञ्चालनमा कठिनाइ हुन सक्छ। 

प्रशिक्षणको अभाव: होमस्टे सञ्चालकहरूलाई पर्यटक व्यवस्थापन, ग्राहक सेवा, खाना पकाउने आदि विषयमा पर्याप्त तालिमको अभाव हुन सक्छ।

प्रचारप्रसारको कमी: नेपालमा होमस्टेको बारेमा पर्याप्त मात्रामा  प्रचारप्रसार नहुँदा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्न कठिनाइ रहेको छ।

स्वच्छता र सरसफाइ: केही होमस्टेहरूमा स्वच्छता र सरसफाइको अवस्था कमजोर हुन सक्छ जसले गर्दा पर्यटकहरूलाई असहज हुन सक्छ।

निष्कर्ष:
नेपालमा होमस्टेको असीमित सम्भावना छ। सरकार, निजी क्षेत्र र स्थानीय समुदायको सहकार्यमा पूर्वाधार विकास, तालिम प्रदान, प्रचारप्रसार गर्ने र स्वच्छता तथा सरसफाइमा ध्यान दिइने हो भने नेपाललाई विश्वमा नै होमस्टेको लागि एक प्रमुख गन्तव्य बनाउन सकिन्छ। यसले गर्दा स्थानीय समुदायको जीवनस्तर उकासिनेछ भने नेपालको पर्यटन क्षेत्रको विकासमा पनि ठूलो योगदान पुग्नेछ। साथै युवाहरुलाई आफ्नै देशमा काम गर्न प्रोत्साहन दिन सकिन्छ।

सुझावहरू:
 * पूर्वाधार विकास: ग्रामीण क्षेत्रमा सडक, विद्युत, खानेपानी जस्ता आधारभूत पूर्वाधारको विकास गर्नुपर्छ।
 * तालिम: होमस्टे सञ्चालकहरूलाई पर्यटन व्यवस्थापन, ग्राहक सेवा, खाना पकाउने आदि विषयमा तालिम प्रदान गर्नुपर्छ।
 * प्रचारप्रसार: नेपालमा होमस्टेको बारेमा विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने गरी प्रचारप्रसार गर्नुपर्छ।
 * गुणस्तर नियन्त्रण: होमस्टेको गुणस्तर कायम गर्न नियमित अनुगमन र मूल्यांकन गर्नुपर्छ।
 * स्थानीय समुदायको सहभागिता: होमस्टे सञ्चालनमा स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्छ।

यसरी, नेपालमा होमस्टेको विकास गरी स्थानीय समुदायको आर्थिक विकासमा टेवा पुर्‍याउन सकिन्छ भने अर्कोतर्फ पर्यटन क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुग्न सक्छ।

Sunday 15 September 2024

मेनोपज र श्रीमान्

श्रीमती अधबैंसेकी थिइन्, हंसमुख स्वभावकी, जिन्दगीलाई सहज र रमाइलो तरिकाले लिने बानी परेकी। उनका श्रीमान्, उनीभन्दा अलि जेठो, त्यस्तै सहज स्वभावका ज्ञानी। उनीहरूका छोराछोरीले अध्ययन सकाएर कामको सिलसिलामा बिदेशिए। 

अब उनीहरू दुई जना ब्वाए फ्रेन्ड र गर्ल फ्रेन्ड लिभिङ टुगेडरमा बसे जस्तै बस्न थालेका थिए। समय बित्दै जांदा श्रीमतीले आफूलाई अजीब महसुस गर्न थालिन्। अचानक शरीरमा गर्मी आउने, पसिना आउने, रातभरि निद्रा नलाग्ने, कहिले-काहीं मूड एकदमै खराब हुने। श्रीमानलाई यसबारे केही बताउँदा, खासै गम्भीरता दिएनन्। अझ भनौं वास्ता नै गरेनन् । तर श्रीमती भने दिनदिनै अझ तनावमा पर्न थालिन्। स-साना कुरामा झर्किन थालिन्, आफूलाई अचम्मको निराशा र थकानले घेर्न थालेको अनुभव गरिन्। उता श्रीमान पनि हैरान! संधै हंसमुख रहने श्रीमती अचेल किन यस्तो बदलिएकी?
एकदिन, श्रीमती चुपचाप कोठामा बसिरहेकी थिइन्। श्रीमानले उनलाई बोलाएर भने, "के भयो बुढी? तिम्रो स्वभावमा चिढ चिढापन बढ्दै गएको भान भएको छ। स-सानो कुरामा पनि मलाई खाउला झैं गर्छौ। म सोझो भएर हो कि, मैले बुझ्नै नसकेको हो कि? यस्तो त कहिल्यै गरेको थिइनौ। हामी बसेरै कुरा गरौं न।"

श्रीमतीले गहभरि आँसु झार्दै भनिन्, "मलाई पनि थाहा छैन, बुढो। यस्तो किन भइरहेको छ, म आफैँ अलमलमा छु। मेरो शरीर, मेरो मन, सबै कुरा परिवर्तन भइरहेको छ। निकै रिस उठ्छ। तिम्लाई देख्दा नि कांचै खाउँ झै हुन्छ। बोक्सी नै दुब्यो, कि प्रेत आत्माले छोयो खोइ! अब बाजेकोमा जानु पर्ला।"

श्रीमानले श्रीमतीको हात समात्दै भने, "तिम्रो बदलिएको व्यबहार देख्दा मेनोपज हुंदाको लक्षण जस्तो लाग्यो। अस्ति मेरो अफिसको म्याडमले पनि श्रीमान देख्यो कि कुटुम कुटुम जस्तो हिर्काउन मन लाग्छ, भनेको थियो। पछि मनोचिकित्सक डाक्टर संग परामर्श गरे पछि ठिक भयो रे! यस्तो कुरा उमेरले हुने होला, हामीले राम्ररी बुझ्नुपर्छ। तिम्रो समस्या बुझ्न कोशिश त गरि नै राखेको छु। तर तिमीमा निकै बदलाब आएकोले परामर्श त गर्नु पर्छ होला। समस्या त समाधान गर्नु पर्‍यो नि हैन?"

दुबैजना मिलेर इन्टरनेटमा अध्ययन गरेर थाहा पाए कि श्रीमती पक्का मेनोपजको चरणमा थिइन्। मेनोपजले महिलाको शरीर र मनमा ठूलो परिवर्तन ल्याउँछ—हर्मोनल परिवर्तनका कारण शारीरिक र मानसिक दुवै समस्याहरू उत्पन्न हुन्छन्।

दुबैजना डाक्टरकहाँ गए र डाक्टरको सल्लाह अनुसार हर्मोनल थेरापी र स्वस्थ जीवनशैलीको लागि खानपानमा परिवर्तन गर्न थाले। घरको नियमित काम दुबैले मिलेर गरे, व्यायाम, सन्तुलित आहार, ध्यान र योगले उनीहरु दुबैले संग संगै गर्न थाले र मानसिक तथा शारीरिक रूपमा श्रीमतीलाई धेरै राहत मिल्न थाल्यो।

बुढीको मूड स्विङ् हुने बित्तिकै जिद्दी हुने व्यबहारलाई बुझ्नै पर्ने बाध्यता भएकोले श्रीमतीले झम्टिन लागेको थाहा पाउना साथ, बुढा चुपचाप भागेर बादबिबादलाई टुङ्याइ दिने गरे। श्रीमानको समझदारीपन श्रीमतीले पनि बुझेकोले उनीहरूबीचको सम्बन्ध पहिलेभन्दा अहिले ठाक ठुक गर्दा गर्दै पनि बलियो हुन थाल्यो।

एकदिन, बुढा बुढी बार्दलीमा बसिरहेका थिए। हावा शीतल थियो, आकाशमा तारा चम्किरहेका थिए। बुढीले हाँस्दै भनिन्, "तिमीले मेनोपज जस्तो कठिन समयमा, मलाई जसरी साथ दियौ नि मैले तिमीलाई जति झम्टिए पनि चुप लागेर नबसेको भए आजको दिन देख्न पाउंदैन थियो होला हगी? म त साँच्चै नै भाग्यमानी रहेछु।"

बुढाले मुस्कुराउँदै भन्यो, "जिन्दगीमा यस्ता उतार चढाब आएन भने त जिन्दगी रोमान्चक नै नहुने होला नि। हामीले एकअर्कालाई सधैं साथ दिनुपर्छ, चाहे जस्तो सुकै उतार चढाबको समय होस्। अब त तिमीले हरेक कुरामा झर्किन पनि छाड्यौ, तिमीले कुटेर मार्ला भन्ने डर लाग्न पनि छाड्यो। म त फेरि तिमीलाई पहिलेको जस्तो रमाइलो पो देख्न पाएको छु।"

बुढीले पनि हाँस्दै भने, "शायद हामी दुवैजनाले यो कठिन यात्रा सँगै पार गर्यौं, त्यसैले फेरि यो रमाइलो भएको छ।"

यो उनीहरूको सम्बन्धको अर्को चरण थियो—जहाँ उनीहरुको एकअर्का प्रतिको समझदारी, धैर्यता र माया झन् गाढा भएर गएको थियो। मेनोपजले ल्याएका चुनौतीहरूलाई उनीहरूले बहुत समझदारीताका साथ सामना गरेर जीवन अगाडि बढाएकाले कठिन अवस्थाले पनि उनीहरुलाई अलग पार्न सकेन, बरु उनीहरूको सम्बन्धलाई अझ बलियो बनायो। 

पाठक बृन्दहरुले पनि यस्तो अवस्थामा मनोचिकित्सक परामर्श र समझदारी अपनाउनु हुनेछ भन्ने बिश्वास लिएको छु। अस्तु।

Saturday 14 September 2024

वाच्या वाच्या राम

एकदिन डा. साबको क्लिनिकमा एकजना अचम्मको बिरामी आयो। उसको नाम राम थियो, तर स्थानीयले उसलाई वाच्या वाच्या राम भनेर चिन्थे। डा. साबले उसलाई पहिलो पटक देख्दा नै रामको व्यबहार अनौठो देखे। राम बोल्न थालेपछि त अझ अचम्मै भयो—उ बिस्तारै बोल्थ्यो। आरामले बोल्ने। बेली बिस्तार लगाएर बोल्ने। सानो कुरा पनि बयान गर्दा गर्दै वाक्क लगाउंथ्यो। डा. साबले आफ्नो डायरी खोलेर नोट गर्न थाले, तर रामको छेउ न टुप्पोको कुरा सुन्दै गएपछि उनी झन्-झन् अलमलमा पर्दै गए।

रामले भने, "डाक्टर साहेब, तपाईंलाई थाहा छैन, म वास्तबमा अमिर खान भन्दा पर्फेक्ट मान्छेमा आफैले गन्छु। एउटा उदाहरण दिन्छु, सुन्नुस हैपानी पिउनु भन्दा पहिला त्यो पानी कुन धाराको हो? पिउने हो कि, खाने हो? पिउन मिल्ने भए कतिको सफा छ? कति चिसो छ? कति तातो छ? गिलासमा राखेर पिउने कि पिलेटमा राखेर खाने? सब बिचार पुर्‍याएर मात्रै खाने गर्छु।

डा. साबले भन्नु भयो, "तो त अलि बढी भएन र?"

राम: खल्टिमा रहेको दाहिने हात झिक्दै डा. साबको टेबुलमा बजार्दै चिच्यायो। "हो, त्यै त भनेको नि, म एकदम पर्फेक्ट मान्छे, म लरतरो पानी न पिउने मान्छे, मिस्टर पर्फेक्ट।"

डाक्टर: "सबै जाँच गरिसकेर तपाईंले भने जस्तो पानी पाउनु भएन भने के गर्नु हुन्छ त? पिउनु हुन्न?"

राम: टोइट! पानी पनि नपिउने भन्ने हुन्छ र। हेर्ने, सोधखोज गर्ने। लास्टाँ जे भेट्छ त्यै पिउने। पिउनु अगाडि चैं पर्फेक्ट हुनु पर्छ, त्यस्सै वाच्या वाच्या राम नाम राखेको छ, मेरो? अस्तु।

नागार्जुनमा चट्टान चढाई

काठमाडौंको बालाजुस्थित नागार्जुन जंगलले सधैं मलाई आकर्षित गरेको थियो। विशेषगरी, त्यहाँका चट्टानहरूले साहसिक खेलप्रेमीहरूलाई निम्तो दिने गर्छन्। म र मेरा दुई साथीहरू नागार्जुनको चट्टान चढाई (रक क्लाइम्बिङ) अनुभव गर्न गइरहेका थियौं। हामी सबैजना उत्साहित थियौं तर यो मेरो पहिलो अनुभव भएकाले, म अलिकति नर्भस पनि थिएँ।

हामी चट्टानको आधारमा पुग्दा, हामीले पहिला सुरक्षा सामाग्री तयार गर्यौं। हार्नेस, जसले हाम्रो कम्मर र खुट्टा सुरक्षित राख्थ्यो, कस्स्यौं। क्याराबिनरहरू, जुन धातुको हुक जस्तै थियो, हार्नेसमा जोड्यौं। हेल्मेटले टाउकोको सुरक्षा गर्थ्यो भने क्लाइम्बिङ स्युटले शरीरलाई सहज बनाउँथ्यो। यी सबै लगाइसकेपछि, मुख्य कुरा थियो – डोरी। सहायकले त्यो डोरीलाई बिले गर्ने थियो, अर्थात् म चढिरहँदा डोरी समातेर मेरो सुरक्षा सुनिश्चित गर्ने।

डोरीको एक छेउ मसँग बाँधियो र अर्को छेउ बिले गर्ने सहायकसँग। मेरो बिले गर्ने साथीले चट्टानको आधारमा आफ्नो ठाउँ सुरक्षित गर्‍यो। ऊ सजग थियो, किनकि मेरो सम्पूर्ण सुरक्षाको जिम्मा उसैको हातमा थियो।


चट्टानको पहिलो खण्ड चढ्न सजिलो थियो, मैले हात र खुट्टाले समात्न सक्ने थोरै चौडा ठाउँहरू थिए। जब म माथि जान थालेँ, चट्टान चिप्लो र साँघुरो बन्दै गयो। म हरेक पाइला चाल्नु अघि एउटा राम्रो पकड खोज्दै थिएँ। कहिलेकाहीं, हात र खुट्टाले राम्रोसँग समात्न नपाउँदा म डोरीमा झुण्डिन्थें। सहायकले तुरुन्तै डोरीलाई तन्काएर मलाई सन्तुलनमा ल्याउँथ्यो। उसको त्यो तत्कालको प्रतिक्रिया मेरो जीवनको रक्षा नै थियो।

चट्टानको बीच भागमा पुगेपछि मेरो मनमा डर र थकानले डेरा जमाएको थियो। म सास फेर्न रोकिन्छु, तल हेर्छु—चट्टानको आधार अब धेरै तल भैसकेको थियो। मेरो हात काँप्न थालिसकेको थियो, तर म त्यहाँबाट फर्किन सक्दिनथेँ। सहायकले मलाई हौस्याउँदै करायो, "तिमीले सक्छौ! केही पाइला अझै चढ, अनि आराम गर। म यहाँ छु।" उसको आत्मविश्वासले मलाई नयाँ उर्जा दियो।

म एउटा सानो थलोमा पुगेँ, जहाँ केही समय आराम गर्न सकिन्थ्यो। त्यहाँबाट म चट्टानको टुप्पो नजिकै पुगेको महसुस भयो। माथि नीलो आकाश र चारैतिरको हरियाली दृश्यले मलाई जोश दिलायो। म फेरि चढ्न थालेँ, यो पटक अझै ध्यानपूर्वक—मेरो हात र खुट्टा जहाँ राख्नुपर्थ्यो, त्यहाँ स्पष्टसँग राख्थेँ।
अन्ततः, म चट्टानको टुप्पोमा पुगेँ। त्यो क्षणको अनुभव वर्णन गर्न गाह्रो थियो—माथिबाट देखिने जंगलको मनोरम दृश्य, हरियो जंगलको शान्ति, र निलो आकाशको विशालता। चिसो हावाले मेरो अनुहारमा चुम्बन गरिरहेको थियो, र म आफूलाई भाग्यशाली भएको महसुस गर्दै थिएँ।

तलबाट सहायकले मुस्कुराउँदै हेर्दैथ्यो। मैले उसलाई हेरेर हर्षले हात हल्लाएँ। उसले डोरी सावधानीपूर्वक नियन्त्रण गरेर मलाई चढ्न मद्दत गरेको थियो, र म तल जानको लागि पनि उसको सहारा नै आवश्यक थियो। डोरी खुकुलो हुँदा म हावामा झुण्डिएरै तल झर्न सुरु गरें। सहायकले डोरीलाई राम्रोसँग समातिरहेको थियो, अनि म सुरक्षित रूपमा तल झर्दै थिएँ।

तल पुग्दा, हामी सबैले एकअर्कालाई अंकमाल गरेर बधाई दियौं। त्यो चट्टान चढ्ने अनुभव केवल शारीरिक चुनौती मात्रै थिएन, त्यो मानसिक साहस र सहकार्यको उत्कृष्ट उदाहरण पनि थियो। सहायकको भूमिका बिना, म चट्टानमा सफलतापूर्वक चढ्न सक्दिनथेँ।

त्यस दिनको अनुभवले मलाई एउटा कुरा सिकायो—कुनै पनि साहसिक कार्यमा सहकार्य र आत्मविश्वास अनिवार्य हुन्छ। चट्टान चढ्ने यात्रा केवल शारीरिक विजय मात्र थिएन, त्यो मनको पनि विजय थियो। अस्तु।