Grab the widget  Get Widgets

24 September 2022

नजान्ने मान्छे!

उहिले पदयात्रा बाट फर्कंदा बुढी दंग परेर स्वागत गर्थी । बेलैमा घर आयो भनेर दंग पर्थी । आजकालको जमाना के भाको कुन्नी ! ए! बूढो पनि समय अनुसार चल्नु पर्‍यो भन्छे ! तर जे गरे नि उल्टो उल्टो मात्रै गर्छ ! असिद्धी मोरो ! भनेर पनि भन्छे।

बुढोले बुढिलाई ट्रेकिङबाट केही सामान ल्याइ दियो भने बुढीले बाढी पैर्‍हो नै गए जस्तो गरेर कराएर धुमधाम गर्छ, त्यो त नल्याएको भए हुन्थ्यो भन्छ । ल्याएन भने त्यति त आफ्नै बुध्दिले ल्याइ देको भए पनि त हुन्थ्यो नि भन्छ ।

कहिलेको एक पटक बाबाले पुजा गरेको फोटो खिच्यो भने, फोटो सोटो खिच्नु पर्दैन भन्नु हुन्छ, जे पनि फेसबुकाँ राखेर के पर्चार पर्सार गर्नु पर्ने ? जे पनि हल्ला गर्नु पर्ने ? भन्नुहुन्छ । उता बाबाको साथीहरूले तिमीहरुले तिम्रा बा आमाको फोटो खिचेर राख न हाम्लाई पनि हेर्न मनलाछ नि हउ ! भन्नु हुन्छ । त्यति त गर्न हुन्छ नि भन्नुहुन्छ । 
फोटो नराखे, हाम्री आमाले क्यामेरा हात हातमा भएर के गर्ने ? हाम्ले त फोटो सोटो खिच्न जान्दैन क्यारे भन्नुहुन्छ। जान्नेहरुले खिचेर राख्देको भए हुन्छ क्यारे भन्नुहुन्छ । खिचेर राख्यो भने कति पर्चार गर्नु पर्ने भन्नु हुन्छ । आ..! राख्दिन भन्यो भने, हाम्लाई राख्न आउंदैन क्यारे, जान्नेहरुले राख्देको भए हुन्थ्यो क्यारे, भन्नुहुन्छ। बेलैमा फोटो राखे, जे पनि तुरुन्तै राख्नु पर्ने यिनीहरूलाई कति देखाउन पर्ने भ्वास्सीहरु भन्नुहुन्छ । 

खोइ आजकाल के भाको कुन्नी ! धेरै जानेर पनि नजान्ने भाको छु यो मान्छे ! अस्तु !

23 September 2022

बाउ होस त यस्तो!

म लाहुरे होइन, पदयात्रा पर्यटनको कर्मचारी हो। मेरो काम देखेर छिमेकीहरु दंग पर्छन्। कति रमाउंछन, कति अचम्म मान्छन्। मेरो काम कति कठिन छ, भन्ने अनुमान लगाउन नसक्नेहरु चैं मैले पैसा भेट्टाएर ल्याउंछ कि जस्तो ठान्छ्न। कसैले कुइरेलाई ठगेर ल्यायो होला पनि भन्न भ्याउंछन। के गर्ने? आफ्नो काम आफैलाई!

तर मेरो लवाई खवाई देखेर ईर्ष्या गर्नेहरुको पनि कमी छैन। मेरो काम बारे थाहा नहुनेहरुले सोध्छन् , घुमेर पनि पैसा आउने हे हे! कस्तो काम होला? हगी! अचम्म! हामी जति घुमे पनि पैसा आउंदैन, बरु उल्टो खर्च पो हुन्छ, वहाँ दाइचाको त कति आनन्द! घुमेर पैसा कमाउंछ। छिमेकी दिदीले सुनाउनु हुन्छ।

ए दाइचा! मेरो बुरोलाई पनि टिम जस्तै घुमेर पैसा कमाउने काममा लाई देउन! यो पसलाँ बसेर दिन भरी टाकन टुकन गरेर २०००/- रुप्पे कमाउँछ, सामान भाउ बेसा सबै मंगो भै सक्यो, काट्कुट गरेर पान सय पनि बच्दैन अनि के खाने? के लाउने? तै पनि भोज खान छुटाउनै भेन।

मेरो कमाईलाई के कमाई भन्ने खोइ? तर दुईछाक खान लाउन पुगेकै छ, छोराले मोटरसाइकल किनेर, कलेज गाकै छ, पेट्रोल बरु मांगो भेछ। आजकाल बरी बरी खर्च निस्किरा छ, केटो कलेज गैरानै छ त होला नि! कतै कलेज भनेर अन्तै अन्तै घुम्न पो गा छ कि? शंका गर्न हुन्न भन्छ्न। खर्च अलि बरी बरी नै आएकोले सोध्न मिल्छ कि? न रिसाउने पोन्हो कि? अलि संकाहा छ छोरा? डर लाग्छ, आजकालका केटाहरु संग बोल्न पनि नहुने!
ए बा! अब शनिबार घुम्न जानु पर्छ है, संधै तिमी घुमेर पैसा कमाउंथ्यो, यसपाली खर्च गर्न सुन्दरीजलमा क्यान्योनिङ गर्न जाम है। ओ हो! जाम जाम! बाउ छोरा साहसिक खेल खेलम। 
बाउ होस त यस्तो! अस्तु!

03 August 2022

दोषी म!

 अचम्मको जन्तु परेछु। स्कूलमा पढाउने मास्टर म बिद्यार्थी कक्षामा आएन भने मैले राम्ररी पढाएन होला र मेरो क्लासमा बिद्यार्थी आएनन होला। दोषी म मास्टर ! व्यावसायिक बेपारीको पसलमा काम गर्ने कामदार म, पसलमा ग्राहक आएन भने दोषी म मैले किनकि मैले ग्राहक तान्न सकेन। साउजीले गर्न नसकेर मलाई काममा लाएका रछन। सक्ने भए आफै गर्थें तंलाई किन काम लाउंथें भन्छ्न साहु। दोषी म काम्दार ! दिन भरी ठेलागाडा चलाएर केहि कमाएर मेरा लालाबालालाई केही खानेकुरा किनेर लग्दिन्छु अनि मेरो खाली पेटमा पानी ठेलेर खाना सम्झेर सुट्ने काम्दार म, दोषी म। मलाई पनि पुग्ने गरेर कमाएर ल्याउने पर्ने हो। ल्याउन नसके पछि म भोकै नसुते को सुट्छ त।

सानै उमेरमा बिहे गर्ने म, कमाएर खुवाउन नसक्ने बेलामा नै मैले बिहे गरेछु। दोषी म। कमाएर खुवाउन नसक्नेले किन बिहे गर्नु पर्ने? बिहे म एक्लैले गरेछु क्यारे दोषी म मात्रै भएछु। परिवार बढ्यो, दोषी म, पाल्न नसक्नेले किन बाल बच्चा पाउन पर्ने? भनेर श्रीमतीले मलाई नै दोषी मान्छे, म एक्लैले बच्चा जन्माएछु क्यारे। दोषी म। खाना पकाउंदा खाना राम्ररी पाकेन भने, मैले ल्याएको चामल नै कमसल राम्ररी नपाक्ने, पकाउन नजान्नु पनि मेरो गल्ती, भए पछि दोषी म। खानामा नुन चर्को भयो भने मेरै दोष, मैले किनेर ल्याएको नुन कडा खालको परेछ। कस्तो नुन ल्याएको भन्छे, दोषी म। नुन पनि छानेर ल्याउन नसक्ने म।
साइकल चडेर, मेरो छोरा बजार गयो, साइकलबाट चिप्लियो, दोषी म, साइकल किन किनेर ल्याएको होला? नल्याएको भए मेरो छोरा चिप्लिने नै थिएन। अलि कमाएर मोटरसाइकल किन्दियो। छोराले बाटोबाट फोन गरेर ल्यायो, कस्तो मोटरसाइकल किन्दिएको होला? पेट्रोल नै सकियो। दोषी म। पेट्रोल नसकिने मोटरसाइकल पो किन्दिनु पर्ने रैछ। यस्तो लाईन नै छ। बांकी तपाईंले पनि थप्नुस न! अस्तु।

28 July 2022

मेरो पोई!

ओइ! तेरो पोइ त कस्तो? यार ! 
किन र मन पर्‍यो? मेरो पोइ!
होइन होइन, त्यस्तो पनि पोइ रोज्ने? 
मेरो जस्तो नरोजे, कस्तो रोज्ने नि? नत्र तैंले आँखा लाउलिस नि!

तं यति राम्री, चिटिक्क परेकी, तेरो पोइ, तंलाई सुहाएन भनेकी नि!
मैले मेरो यस्तै पोइ रोजेको। हेर मेरो यस्तो पोइ रोजेको कारण नै, तैंले आँखा लाईनस, नि! नत्र त तं मेरी सौता नै भै हाल्थिस कि के थाहा?
मेरो पोइको खाईलाग्दो भुँडी, लुखुरे हात, खुट्टा अनि खुइलेको टालु, मलाई मन पर्छ। तिमिलाई नराम्रो लागेकै मलाई फाइदा भो त! हेर हात खुट्टा सुकेको, पेट फुलेको, हेर्दा सुकेनास लागेको जस्तो मान्छेलाई पोइ बनाउँदा हामी बजारमा हिंड्दा मलाई धेरैले हेर्छ, मेरो पोइलाई कसैले हेर्दैन, आँखा पनि लाउँदैन। मेरो पोइले पनि कसैलाई हेर्न आंट पनि गर्दैन। अनि मेरो कब्जामा नै हुन्छ। बुझिस। म जस्ति राम्री जोई पाएकोमा आफुलाई भाग्यमानी सम्झन्छ मेरो पोई। अनि आफुले भनेको सबै काम पूरा गर्दिरा नै छ। तँ जस्ती उत्ताउलीहरुबाट पनि टाढा हुन्छ। मलाई त आनन्द छ।

हामी पदयात्रामा हिंड्दा आर्काको श्रीमतीले पनि हेर्दैन, बाटोमा, घर छिमेकी भाउजुहरुले पनि हेर्दैन, हुंदा हुंदा कुइरेनीहरुले पनि हेर्दैन। आनन्द, म त ढुक्क। मेरो पोइ, मेरो लागि! अस्तु! 

04 July 2022

म चरा

एक दिन मलाई एउटा चराले यस्तो भन्न आयो। म संग भएको बार्ताले मलाई च्वास्स घोच्यो। चराको मर्मलाई मैले मात्रै सुनेर हुंदैन भनेर यो बार्तालाप प्रस्तुत गरेको छु।

म चरा: भुरुर उड्नु मेरो काम र कर्तव्य। तर मलाई समातेर एउटा पिंजडामा राखेर दिनको ३-४ पल्ट खान दिन्छ, पानी दिन्छ अनि घरका सदस्यहरु आलोपालो गरेर हेर्न आउँछ। मेरो पखेटा काटेर, मलाई पिंजडामा बन्द गरेर मेरो भुरुर उड्न पाउने स्वतन्त्रतालाई बन्धनमा राखेर मजा लुट्ने लुटेराहरुले आफुलाई मान्छे भन्दा रहेछन। 
कोहि कोहि त यस्ता पाहुनाहरु पनि आए, मलाई देखेर यस्को मासु खान पाए त आहा! भन्नेहरुलाई मैले यमराज नै ठान्छु। कोहि कोहि मलाई भुटेर खान पाए त खास्सा हुन्छ भन्छन। यी राक्षसहरुले कुन दिन मलाई क्वाप्प खान्छन।

महिनौं अनि बर्षौं मलाई यसरी थुनेर राखे पछि मैले अब उड्न पनि जान्दैन, पिंजडाबाट निकाले पनि म उड्न सक्दिन, किन भने मेरो उड्ने रहर हराइ सकेछ, लाग्छ म अब दौडिन पनि सक्दैन, मेरो उड्ने शक्ति क्षीण भै सकेछ। अनि मलाई उड चरा उड भनेर मेरा मालिकहरु सिकाई रहन्छन् । मैले उड्न जानेको बेलामा मेरा पखेटा काटेर क्रुर कर्म गर्नेहरु आज मलाई दया देखाउंदै मलाई नै जिस्क्याएर मजा लुटिरहनेहरु आफुलाई मान्छे भनिरहेका छन् । 

हे भगवान! मैले पुर्ब जुनीमा के पाप गरेको थिएँ र यो जुनीमा मलाई यस्तो मान्छे भन्ने राक्षसहरुको जमातमा पुर्‍यायौ। म चरा, मेरो कर्म अनुसार मलाई उड्न मन छ, उड्न देउ, यसरी मलाई थुनेर नराख, मेरा प्वाँखहरु नकाट। म स्वतन्त्र उड्न चाहन्छु, मलाई उड्न देउ। अस्तु।

29 June 2022

फेरि रुन मन लागेको छ।

फेरि रुन मन लागेको छ।
किन किन आजकाल मलाई भारी बोक्दा पनि रुन मन लाग्छ। फेरि रुन मन लागेको छ, उज्यालो देखि टाढा भाग्न मन लागेको छ। बाटोमा कसै संग बोल्न मन लाग्दैन, मान्छेहरु हिंडेको देख्दा नि झर्को लाग्छ, न्यास्रो लाग्छ, गहभरी आँसु आई रहन्छ, भारीले किचेर पो मार्छ कि जस्तो हुन्छ, कतै भीरमा खसेर दुर्घटना पो हुन्छ कि जस्तो लाग्छ, ट्रेकिङ गाइडले गाली गरिहाल्छ कि जस्तो लाग्छ, हिंड्दा हिंड्दै खसेरै मरिन्छ कि जस्तो लाग्छ, निक्कै डर लाग्छ। पर्यटक वा गाइड सरहरुले केही भन्यो भने पनि सार्‍है नै मन दुख्छ। डाक्टर साहेब! मलाई के भाको? कतै मलाई डिप्रेसन भन्ने रोग त भएको छैन? कतै म पागल त भएको छैन? के गरुम म?
डाक्टर साब: तपाईंलाई एङ्जाईटी भन्ने रोग भएको हो, डिप्रेसनको बारेमा धेरै सोच्नु हुंदैन, साधारण लेखा पढी गरेको भरमा डिप्रेसन हो होइन छुट्टाउन सकिँदैन। मनमा धेरै कुरा खेलाएर बस्न हुंदैन। उज्यालोमा बस्नु पर्छ! अनि मन प्रफुल्ल हुने काम आफैले गर्नु पर्छ। घरमा भएको दु:ख जे जति छन त्यसमा अरुलाई दोष दिएर बस्यो भने यस्तो तनाबको शिकार हुने चान्स हुन्छ। ध्यान दिएर भारी बोक्नुस, चिन्ता नगर्नुस, बर्तमानमा बस्नुस। पीर नलिनुस। भोलि के हुन्छ न सोच्नुस। समय बलवान हुन्छ। संधै यस्तै हुंदैन। आफुलाई भएको कुराहरु मिल्ने साथीहरू संग सेयर गर्नुस है। मन हल्का हुनु पर्छ। सफा हुनु पर्छ। अस्तु।

20 May 2022

माईला ! के हो तेरो पारा?

ओइ माइला! माइला! हैन के हो, तेरो पारा! यत्रो बर्ष भैसक्यो, जिन्दगीमा केहि गर्नु पर्दैन? न घर बनाएको छ, न गाडी किन्यो, हैन पैसा चैं के गर्छस हं? सबै खाएर सिध्याएको भनौं भने कतै रेस्टुरेन्टमा गएर जांड रक्सी खाएको नि देख्दिन। कतै आर्कैलाई पो पोस्दैछस कि क्या हो?

खोइ दाई! म पनि छ्क्क परेको छु। गर्न त धेरै गरेको छु नि दाई। हरेक पटक ट्रेकिङ गएर आएको पैसाले घर खर्च चलाएको छु। आफुले स्कुलको अनुहार देख्न नपाएकोले मेरा भाइ बहिनीलाई राम्रो स्कुलमा पढाएर हुर्काएकै हो। उनीहरूलाई आफ्नै खुट्टामा उभ्याउन सक्षम बनाएकै हो। अहिले आ आफ्नो काम गरेर बन्दोबस्तीका साथ बसेका छन् । 

त्यै त भनेको तेरो दाई, दिदी, भाई, बैनी सबैले आ आफ्नो बन्दोबस्त गरिसकेका छन् , तं चै जस्ताको तस्तै छस। न तेरो घर छ, न गाडी? अझै डेरामै छस। आफ्नो पनि त बेबस्था गर्नु परो नि। कैले गर्छस? तेरो दाई, भाई, दिदी, बहिनीहरु सबैलाई तैंले बेबस्था गर्न सघाउने अनि तं चाहिँ संधै यस्तै डेरा मै बस्ने? अब त तेरो उमेर पनि हेर्नु नि। 

हुन त हो दाई। उ बेलामा दाई र म ट्रेकिङमा जांदा आमाले दुबैले पैसा खर्च नगर्नु, एकजनाको कमाई जम्मा गर्नु, आर्कोले घर खर्च गर्नु, अनि हाम्रो जीवन सजिलो हुन्छ। अनि घरजम गर्न पनि सजिलो हुन्छ भन्नु भएकोले दाईको पैसा जति जम्मा गर्दै जानू भयो, घर खर्च सबै मैले नै धानें। घर किने पछि दाई, दिदी, बहिनी, भाइ र आमा उतै बस्न जानु भयो। तर पनि भाई र बहिनीको स्कूलको फिस चैं मैले नै जम्मा गर्दै पढाएकै हो। उनीहरुको पढाई सकेर बिहेबारी गरि सके पछि, कमाउने भए पछि छुट्टै बसे। खुशी लाग्छ। सबैको आ आफ्नो घर छ। मैले चैं के गर्ने? कमाउन सकिएन। कमाएको जति यस्तैमा उडाइयो भनेर चित्त बुझाएको छु दाई। 

अस्ति बाबाले पनि, तपाईंले भन्नु भएझैं नै भन्नु भयो। के गरिस जिन्दगीमा? एउटा घर पनि बनाएनस, एउटा गाडी पनि किनेनस, पैसा चै के गर्छस? भन्नु भयो। मेरो घर, मेरा दाजुको घर एउटै त हो नि भनें। त्यो त तेरो दाईको पो हो? तेरो हक लाग्दैन भन्नुभो। आमाले पनि दाजुकै हो तैंले के गरिस र भन्नुभो। तैंले खाएरै सिध्याइस भन्नुभो! हुन पनि सबैलाई ख्वाएरै सिध्याएको हो मैले। 

जिन्दगीभर कमाएर खुवाएर, बिमारी हुंदा, औषधि खुवाएर, बिजुली, पानी, टेलिफोन, मोबाईल खर्च, स्कुलमा तिरेको फिस, दशैं, तिहार, ल्होसार, मनिरिम्दु, दुम्जीमा पाहुनालाई बोलाएर खुवाएको सबै बिर्सिने पो रहेछ। 

मैले जिन्दगीमा केही गर्न सकिन दाई। न घर बनाएं, न गाडी किने! सबै खाएर नै सकियो। मरिलानु के छ र अब कति काम गरिएला, कति बांचिएला, बाचुन्जेल परिवारको सेवा गर्न पाएकै छु। भाग्यले साथ दिए साउजीले काम दिई नै हाल्छ। ट्रेकिङ जान सकेकै छु। सकुन्जेल कमाएर एउटा स्वास्नी पालेकै छु। अब त स्वास्नी पनि पाल्न नसकिएला भनेर चिन्ता लागेको छ। सबैले भन्छन, माईला! के हो तेरो पारा? अस्तु।

17 May 2022

रेबिजको तनाब

मलाई १३ नम्बर खुशी र दु:ख लाग्ने दिन हो। धेरैले १३ गते अथवा १३ तारिख १३ तल्ला १३ औं कोठा १३औं घरमा बस्न डर मान्ने र केही घटना, दुर्घटना हुने भएको कथाहरु सुन्न पाइन्छ। सायद तेह्रौं दिन पनि यसरी नै राख्ने गरेको होकि। 

तर मेरो केशमा प्राय १३ गते र तारीख तिर बितेको दिनहरुमा मेरो काम जुट्ने र छुट्ने गरेको छ। यसपाली मे महिनाको १३ तारिखको दिनमा पशुपति आर्यघाटमा मलामीमा सहभागी हुन जाँदा एउटा बांदरले खम्बा चढ्ने क्रममा मेरो दायाँ हातमा टेकेर माथी चढ्ने क्रममा हातमा कोपार्‍यो। सुरुमा सामान्य देखिएको त्यो घाउबाट केहिबेर पछि रगत बग्न थाल्यो। रगत बगेको देखिसकपछि मैले स्यानीटाइजरले घाउ सफा गरें। मलामीमा सहभागी सदस्यहरुले एउटा  टिटानसको सुइ चैं लगाउ है भन्नुभयो। मैले पनि त्यो त लगाउनै पर्ला भनेर त्रि. वि. शिक्षण अस्पताल, महाराजगन्जमा गएर इमेर्जेन्सीमा जांदा, डाक्टर साबले यो टिटानस लाएर मात्रै हुंदैन भोलि बिहान एकपटक टेकु अस्पतालमा गएर सरुवा रोग विशेषज्ञ डाक्टर संग सल्लाह लिनु पर्छ भन्नू भयो। शिक्षण अस्पतालका डाक्टरलाई धन्यवाद।

रेबिजको खोप भन्ने बित्तिकै मेरो दिमागमा अनेक कुराहरू खेल्न थाल्यो। हालसालै मात्रै मैले चिनेको एकजना मान्छेले गरेको लापरबाही र उसका अन्तिम दिनहरुमा गरेका भएको घटनाको परिदृश्य सिनेमा झैँ फ्लासब्याक भयो। अस्पतालबाट घर सम्म आइपुग्दा मानौं म रेबिजको बिरामी भएर कुकुर जस्तै व्यबहार भएको कल्पनाले तनावग्रस्त भएँ। घरमा आएर खाना समेत बाहिरै बसेर खाएँ। राती निद्रा लाग्न गार्‍हो भयो। टेकु अस्पतालले राती फोन उठाएको भए सायद मेरो तनाब कम हुन्थ्यो कि? तर फोन उठेन। भोलिपल्ट बिहान विभिन्न अस्पतालमा फोन गर्दा पहिलो डोज टेकु अस्पतालमा नै लगाउँदा बेस हुने थाहा पाइयो।
इमर्जेन्सीमा गएर रु. १७०/- को टिकट काटेर रेबिज विशेषज्ञ डाक्टर संग परामर्श गर्दा मैले डाक्टर साब, बांदरले खोस्रेको मात्रै हो, रेबिजको खोप नै लाउन पर्छ र? भनेर सोधेको त गज्जबको जवाफ दिनु भयो, बांदरले कहिले हात धोएको देख्नु भएछ? त्यो हात, कैले मुखमा, कैले छालामा, कैले कता, कहिले त्यता लाने भएकोले फोहोरले इन्फेक्सन हुने चान्स धेरै हुन्छ, अहिले सम्म बांदरबाट रेबिज लागेको केश हामी संग छैन, तर रिस्क नलिनुस मजाले खोप लिएर जानुस भन्नु भए पछि ढुक्क भएर पहिलो डोज लगाए पछि बल्ल मेरो तनाव कम भयो। एक हप्तामा ३ डोज लगाउन पर्छ भन्नु भएको छ, आज दोश्रो डोज लगाइयो। 

त्यसैले यसपालिको १३ तारिख मेरो लागि अशुभ भयो। तर मेरो विचारमा यो सबै संयोग मात्रै हो। अस्तु।