Grab the widget  Get Widgets

05 March 2016

मोटरसाइकल र म

न आत्तिनु न साउजी ! अलिकति डोर्‍याउन पर्‍यो भनेर किन आत्तिएको?

किन न आत्तिनु नि ! घण्टौ हुन लाग्यो, डोर्‍याएको डोर्‍याई छु । मोटरसाइकल !

हा हा ...! मैले यत्रो बर्ष सम्म तिमीलाई बोकेको बोकै छु बिर्स्यौ ? अहिले बल्ल बल्ल भारतको बलमा मलाई दोर्‍याउन पाएका छौ । तिम्रो अहो भाग्य हो, मलाई बोक्न पाउनु ! सन्सारको जुनसुकै ठाँउमा गए पनि मलाई बोक्न पाम भनेर भगवान संग प्रार्थना गरे पनि पाउन्नौ है ! नेपालमा जन्मेको भएर तिमी भाग्यमानी भयौ ! मलाई डोर्‍याउन पायौ। बुझ्यौ ? कुरा गर्छ !

हैन ए मो.सा. ! पेट्रोल पनि कति खान सकेको ? यस्तो अभावमा । अरु बेला भन्दा अहिले यो गाह्रो भएको बेलामा कम पेट्रोलले धेरै गुड्न पनि जान्नु पर्छ नि । रक्सी खा जस्तै खान्छौ त ! खन्चुवा मो.सा.।

यो लाइनमा लाग्दा तिमी साउजीलाई गाह्रो भए पनि म मो.सा. लाई त ठिकै लाग्छ है !  उ त्यो Deo, Aviator स्कूटर मैयाको पछि पछि लागेका Pulsar, Unicorn का ठीटाहरुको चालामाला हेर्दाहेर्दै रमाइलो लाग्छ ।

साझको छ बजिसकेछ ।
एक घण्टा भैसक्यो ! पम्पको नाक मुख देख्न पा छैन । पेट्रोल त दिए जस्तै छ । तर किन हो लाइन चै बिस्तारै चलेको छ ठ्याक्कै हलचल नभाको चै हैन ।

ओ दाइ ! ओ दाइ ! तपाईंको बाइकमा आगो लाग्यो। पछाडी बाट आवाज आयो । फर्केर हेर्दा मेरो बाइक भन्दा दुइटा बाइक पछाडीको बाइकमा आगो बलि रहेको थियो। हत्तपत्त चाबी निकाल्यो ।

हामी लाइनमा बसेकाहरुको भने सात्तोपुत्लो गयो । पड्केको भए हामी सबै झ्वाम, सोत्तरै ।
आम्मामा ! सोच्दै मुटुको धड्कन बढछ ।
संगैको ढलबाट आएका दुर्गन्ध र भुसुनाले नाकको प्वालमै आक्रमण गर्‍यो । तर के गर्नु ! सहेरै बस्नु पर्‍यो । यस्तो अप्ठ्यारो परेको बेला जाबो भुसुनाले पनि हेप्नु हेप्दो रहेछ ।
उफ ! फेरि आखामा आक्रमण । डुङ्डुङ गन्हाएर दिक्क पारी सक्यो ।

लौ ! अब खाना खान गएम है ! एक घण्टामा फर्किन्छम । सूचना आयो । भर्खर बेलुकीको सात मात्रै बजेको रहेछ । हामीले भने पम्पको गेटको दर्शन गर्न चै पाएम । सूचना सुने पछी लाइनमा रहेकाहरुको दिमाग खराब भयो । गेटैमा आएर मोरोहरु खाना खान गएम भन्दियो । हाम्रो केहि चल्ने वाला छैन । लाइनमा बसेकाहरु  यताउता लागेको मौकामा घुसपैठ भै हालेछ । आज पनि चार पाँच ओटा बाइक बिच बिचमा घुसेछ । झेल्ला गर्नेहरुको पनि संगठन छ कि क्या हो । नेपाल झेल्ली संगठन हो कि संघ हो । जे होस अरुलाई मारेर आफू दङ्ग पर्ने कुलङघारहरु !! थुक्क बुद्दी !

एउटालाई निक्कै च्यापेछ क्यारे । भित्ता तिर फर्केर तुर्क्याएछ । अँध्यारोको फाइदा । बाटोमा नागबेली आकार आयो ।

के हो भाइ ? जहाँ पायो त्यहीँ पाइखाना त बनाउन भएन नि !

के गर्नु दाइ ! पेट्रोल पम्पमा जुनबेला पायो तै बेलामा गेट खोल्ने बन्द गर्न मिल्ने । मैले चै प्राकृतिक पेट्रोल चै फ्याक्न नमिल्ने ? आयो त के गर्ने ? पाइखानाको ब्यबस्था पनि त छैन नि पम्प वरपर । यो हाम्रै देश त हो नि सिङ्गापुर हो र ? यहाँ जस्ले जे गरे पनि हुन्छ । मैले पनि गरे । ढुक्क संग गरे । आफुलाई त आनन्द आयो । पेट्रोल नपाए पनि केही छैन । अस्तु ।

24 February 2016

गोबरमेन्ट

बिदेशी: अरे काठमाडौंमे कति आवर लोडसेडिङ हुन्छ ?
नेपाली: कति भन्नु खै , बत्ति गा को गइ हुन्छ |
बिदेशी: अनि पब्लिकले के भन्छ?
नेपाली: के भन्नु नि ! कति बेला बत्ति आउँछ भनेर लोडसेडिङको टेबुल हेरेर बस्छ |
बिदेशी: अनि नेपालको गोबरमेन्ट ले के गर्छ त?
नेपाली: गभरमेंट भएको भए त काम गर्छ होला | तर हाम्रो देशमा तपाइले भने जस्तै गोबरमेन्ट  भएकोले कहिले समस्या सुल्झाउने भनेर सोचेर बस्छ | काम कैले गर्ने भनेर सल्लाह मात्रै गरेर बस्छ | सहमति हुनु पर्छ भनेर भन्छ | अब सहमति हुन लाग्यो भनेर जनता छक्याएर बस्छ | त्यो सब हामीलाई पनि अब रमाइलो लाग्न थालेको छ | किन भने यो गभरमेन्ट होइन फ्यूज गाको बत्ति जस्तै लोडसेडिङको गोबरमेन्ट नै हो |
#वाक्कदिक्कहाक्कथुक्क

22 February 2016

गज्जब छ बा २ !

मेरो घरको आगनमा एक जना मानिस तहल्दै थियो । के हो ? भनेर त्यो मानिसको ध्यान आकर्षण गर्ने जमर्को गरियो ।

मेरो कम्पनीको साइन बोर्ड हेरेर त्यो मान्छेलाई दया जागेछ । बिचरा ! यस्तो कुनामा रहेको कम्पनीको प्रबर्द्धन गरिदिनु पर्‍यो । अहिले यस्तो अनिकाल परेको समयमा आफुले पनि काम पाउने आर्काको पैसामा घुम्न पनि पाउने भन्ने मनसाय आएछ ।

खास के काम गर्नु हुन्छ ? मैले सोधेँ ।

पाहुना: मार्केटिङ ।

ए ! अनि कस्तो टाइपको मार्केटिङ गर्नु हुन्छ नि?

पाहुना: म बिदेशमा रहेको University मा मार्केटिङ गर्छु।

म पनि एकदम Excited. अनि कुन University मा जानु हुन्छ त ?

पाहुना: म सबै टाइपको University मा जान्छु यो त्यो भन्ने चै छैन । Singapore, Malaysia, Thailand, South east सबै तिर मेरो चिनजान छ ।

कुनै एउटा University को नाम भन्नुस न त !

पाहुना : त्यो चै यही नै भन्ने छैन । तपाईंले टिकट दिनुस म Singapore को सबै University मा मार्केटिङ गरिदिन्छु ।

मलाई मनमनै डाको छाडेर रुने कि दात निकालेर हास्ने कि भयो। चिन्नु न जान्नु त्यो बटुवालाई मैले के भनेर टिकट दिने? किन दिने? न त्यो मनुष्यलाई मैले चिनेको, न त नाता परेको। न आमा पट्टीको न त बाउ पट्टीको। तर त्यो मान्छेको मानसिकतालाई चै मैले माने ।

मैले कत्रो कत्रो कम्पनीमा काम गर्दा त माग्न नसकेको बिदेश यात्राको टिकट, त्यो बटुवाले एक पल मै म संग माग्यो ।

गज्जब छ बा ।

19 February 2016

यमराजको बहान

पर्यटक : तिम्रो देशमा गाई गोरुलाई पूजा गर्छ । तर राङ्गोको मासु चै खान्छ । किन ?

नेपाली : राङ्गो यमराजको बहान हो । अर्थात् यमराजको गाडी हो । त्यो गाडीमा चढेर नेपाली मान्छेहरुलाई खोजी खोजी लैजान्छ । त्यो कुरा नेपालीले राम्रै संग बुझेको छ । त्यसैले त्यस्को गाडी नै काटेर खाइ दिए पछि यमराज के मा चडेर आउला ? भनेर खाइ दिएका हुन । कम्ता छन नेपालीहरु ? हामी त निक्कै बाठा छम नि यमराजलाई नै Challenge गर्ने ।
पर्यटक डङ्रङ्ग ढलेछ ।

10 February 2016

मागी मागी छोरोको बिहे

सर मेरो छोराको बिहेमा नआइ भएन है |

कहिले ?

यही हप्तामा |

ओहो यो हप्तामा त गाह्रो पो हुने भो त | मेरो त कार्यक्रम तय भइ सकेको छ | ल तिमीलाई बधाई छ अनि तिम्रो छोरालाई पनि |

बधाई त ठिकै छ सर | तपाई नै नआउने भएपछी चै नरमाइलो लाग्यो |

किन नरमाइलो मान्नु र ! रमाइलो गरे भइ हाल्छ नि | म नै किन चाहियो र ?

सरलाई के कुरा लुकाउने र ! रमाईलो गर्न खर्च चाहियो, खर्च गर्न सर चाहियो | खासमा कुरा के भने नि, मेरो सम्धी अलि टाढाका हुन् | अलि राम्रै बन्दोबस्त गर्छु, खर्च चै मज्जाले ल्याउनु भनेथ्यो | तर आफु संग सुको पैसा छैन | 

त्यसो भए खर्च कम गर्ने । टिका टालो गरेर सिध्याए भै हाल्छ नि । किन टन टन टेन्सन लिने ।

कहाँ हुन्छ सर ! अलि अलि भाको जाड रक्सी किन्न मै सकियो, अब बुहारीलाई अलि अलि गर गहना किन्नु पर्ने, त्यसैले सरलाई सम्झेको | सर आउन नभ्याउने भए बरु म नै आउकि ?

यसलाई चै पक्कै मागी मागी छोराको बिहे भन्न ठिकै होला कि ?

अस्तु ।

05 February 2016

पेट्रोलका कुरा

आज पेट्रोल दिने रे। लौ है दाजु छिट्टै जाम। लाइन लागम। भाइ दौडेर मोटरसाइकल लिएर पेट्रोल पम्पको लाइनमा बसे। पालो राखेको एक घण्टा पछि पो थाहा पाएछन, आज त आफ्नो पालो नै हैन रेछ। थुक्क !
हत्तपत्त दाजुलाई फोन गरेछ। ए दाजु ! आज त तपाईंको पालो पो रछ। मेरो हैन रछ। ल झत्तै आउ है! दाजु चै पालो सालो कैले आउने हैन, जैले नि लाइनमा बस्यो, रित्तै फर्कियो भाछ।

आ ...! ल ल पाउन चै पाउने नै हो भने आज आइ दिम्ला। ल! एक छिन बस्दै गर है।
आधा घण्टा पछि दाजु आइ पुग्छ।

भाइ र दाजुको भट्भटे साट्न खोज्दा पछाडि पाच पट्टीको लाइनवालाहरु कराउन आउछन। तर भाइले छाडेको ठाममा दाजु बस्ने भनेसी कुरा मिल्छ।

कुराकानी
हैन यो कुपन चै कैले दिन्छ?
खै कैले कैले। ९ बजे दिन्छ भन्ने सुन्या हो।
कति वटा दिन्छ क्यारे?
खै १००० त दिन्छ होला।
पेट्रोल कि कुपन?
१००० को पेट्रोल दिने कि १००० कुपन बाड्ने?
खोइ के खोइ के।
लाइन चै बसम क्यारे पाए लैजाम्ला नपाए फर्किम्ला।
कहाँ फर्किने कुरा गर्नु हुन्छ।
लाइन बसेसी जसरी भए नि पेट्रोल चै लानै पर्छ। झगडा गरेर भएनी, तर्साएर भएनी, थर्काएर भएनी पेट्रोल चै लानु पर्छ है। तपाईंहरु नि यत्रो दुख गरेर लाइन बसेसी तेस्सै फर्किने कुरा चै नगर्नुस है! म छु नि। मलाई सपोर्ट गर्नुस न। बाकी मैले पेट्रोल लिने काम गरि हाल्छु नि।

तीन घण्टा पछि लाइन सर्ला जस्तो गरेथ्यो, चार पाच वटा घुसपैठ भै हाल्यो।
हल्ला आयो।
आज पान सयको मात्र बाड्ने रे।
कुपन कि पेट्रोल ?
खै !
कुपन हो कि पेट्रोल हो कि। था पाए त मार्दिम!
ओहो दाइ त कस्तो बाठो, म भन्दा पछाडि हुनु हुन्थ्यो अगाडि पो आइ पुग्नु भएछ।
यस्तैमा कुपन बाड्न आयो। दाजु को भन्दा ५ जना अगाडि सम्म मात्र दियो। दाजु त हिस्स बुढी खिस्स दात भयो। नारायण भयो। आज पनि पाइएन। लौ पेट्रोल महाराज कि जय !
अस्तु।

05 January 2016

हाम्रो नेपाल

हाम्रो देशमा आउने पर्यटकले भन्यो, कस्तो देश हो तिम्रो यार ! तिम्रो देशमा बिजुली, बत्ती, पानी केही पनि छैन?
मैले भने त्यो सबै भयो भने नेपाल आएको र तिम्रो देश गएको फरक कसरी छुट्याउने? हामी नेपाली स्वाभिमानी, प्रकृति प्रेमी हौं।
Back to nature हाम्रो concept हो।
कुनै पनि सुबिधा बिना कसरी बाच्न सकिन्छ भन्ने सिक्न नेपालमा घुम्न आउने हो। सबै सुबिधा भोग्न परे, तिम्रो देश नै छ नि।
पर्यटक: तिम्रो देशको सरकारले के गर्छ त?
मैले भने, हाम्रो तथ्यांक लिएर बस्छ। जलविद्युत, सौर्य उर्जा, बायो ग्यास, बाटो, यस्तै यस्तै कुरामा गम्भीरताका साथ सोचेर बस्छ। जनताहरुलाई के सुबिधा दिए प्राकृतिक रुपमै बाच्न सक्छ्न, पर निर्भर हुदैनन् भनेर बिचारेर बस्छन।
पर्यटक: बिचार त राम्रै रैछ।
त्यसैले त हामी हाम्रो स्वाभिमानको अभिमानमा हाम्रो सरकारलाई साथ दिई रहेका छौं नि। जति मन्त्री थपे नि, जतिसुकै घण्टा बिजुली नभए नि हामीलाई परापुर्ब कालमा हाम्रा पुर्बजहरु जसरी बाचेका थिए त्यसै गरी बाच्न सिकाएका छन। हाम्रो सरकारले ।
पर्यटक: राम्रो बडा राम्रो। अब Live Human History हेर्न नेपाल भ्रमण गर्नु पर्छ भनेर मैले प्याकेज बनाउछु है।
मैले पनि भने हुन्छ । त्यो प्याकेज मेरो कम्पनीबाट चलाम है । अस्तु ।
भवतु सब्ब मङ्गलम ।

04 January 2016

नयाँ बर्ष २०१६

नयाँ बर्ष २०१६ (इस्वी सम्बत)  

नयाँ बर्ष त कति हो कति हाम्रो नेपालमा | तैपनि अन्तराष्ट्रिय सम्बत मनाउने भनेर अनेक नाटक गर्छौं हामी | आफ्नो संकारको अलावा कमसेकम हामीले बाहिरकै भए पनि एउटा संस्कार सिक्ने जान्ने मौका पाएका छौं | कमसेकम शुभकामना आदान प्रदान गरेर भए पनि आफन्तलाई सम्झने कामको निरन्तरता दिने गरेकै छौं | यो राम्रै लाग्छ मलाई पनि | शिष्टाचार आदान प्रदान पनि सामाजिक प्राणीको अभिन्न अंग नै हो |

सबै नयाँ बर्षहरुमा हाम्रा नेताहरुले शुभकामना दिएकै हुन्छन | खुशी लाग्छ | तर बिहान बेलुकी खाना पकाउने बेलामा ग्यास नहुँदा, नुहाउने बेलामा पानी नहुँदा, काम गर्ने बेलामा बिजुली नहुँदा, कतै जान खोज्दा सवारीसाधनमा इन्धन नहुँदा भने यो देशमा किन जन्मिए होला जस्तो पनि लाग्छ |

यति हुँदा हुँदै पनि हामीले यो देशको शासन चलाउने सरकार भन्ने के कुन्नी लाई हामीले गाली गर्न पनि सकेका छैनम | बिचरा भनेर छाडेका छम् |

लाग्छ हामी सबै जनताहरु लाटो र यो देशhका शासकहरु गांडो | भन्छन नि लाटो देशमा गांडो तन्नेरी | यो उखाने बाजेलाई ठ्याक्कै मिल्छ |

नयाँ सालमा नयाँ काम सुरुवात गर्न आधारभूत कुरा नै ब्यबस्था गर्न नसके पछि के का लागि यो प्रधान मन्त्री, छ छ जना उप प्रधानमन्त्री चाहियो ? हाम्रो अर्थतन्त्रले नै धान्न नसक्ने गरेर पाल्नु पार्ने ?

नयाँ उखान टुक्का चाहिएको छैन हामीलाई प्रधानमन्त्री ज्यू | नयाँ सोचमा काम गरोस सरकारले | 

हाम्रो शुभकामना छ सबैलाई | अस्तु | 

भवतु सब्ब मङ्गलम |