Grab the widget  Get Widgets

Saturday, 5 March 2016

मोटरसाइकल र म

न आत्तिनु न साउजी ! अलिकति डोर्‍याउन पर्‍यो भनेर किन आत्तिएको?

किन न आत्तिनु नि ! घण्टौ हुन लाग्यो, डोर्‍याएको डोर्‍याई छु । मोटरसाइकल !

हा हा ...! मैले यत्रो बर्ष सम्म तिमीलाई बोकेको बोकै छु बिर्स्यौ ? अहिले बल्ल बल्ल भारतको बलमा मलाई दोर्‍याउन पाएका छौ । तिम्रो अहो भाग्य हो, मलाई बोक्न पाउनु ! सन्सारको जुनसुकै ठाँउमा गए पनि मलाई बोक्न पाम भनेर भगवान संग प्रार्थना गरे पनि पाउन्नौ है ! नेपालमा जन्मेको भएर तिमी भाग्यमानी भयौ ! मलाई डोर्‍याउन पायौ। बुझ्यौ ? कुरा गर्छ !

हैन ए मो.सा. ! पेट्रोल पनि कति खान सकेको ? यस्तो अभावमा । अरु बेला भन्दा अहिले यो गाह्रो भएको बेलामा कम पेट्रोलले धेरै गुड्न पनि जान्नु पर्छ नि । रक्सी खा जस्तै खान्छौ त ! खन्चुवा मो.सा.।

यो लाइनमा लाग्दा तिमी साउजीलाई गाह्रो भए पनि म मो.सा. लाई त ठिकै लाग्छ है !  उ त्यो Deo, Aviator स्कूटर मैयाको पछि पछि लागेका Pulsar, Unicorn का ठीटाहरुको चालामाला हेर्दाहेर्दै रमाइलो लाग्छ ।

साझको छ बजिसकेछ ।
एक घण्टा भैसक्यो ! पम्पको नाक मुख देख्न पा छैन । पेट्रोल त दिए जस्तै छ । तर किन हो लाइन चै बिस्तारै चलेको छ ठ्याक्कै हलचल नभाको चै हैन ।

ओ दाइ ! ओ दाइ ! तपाईंको बाइकमा आगो लाग्यो। पछाडी बाट आवाज आयो । फर्केर हेर्दा मेरो बाइक भन्दा दुइटा बाइक पछाडीको बाइकमा आगो बलि रहेको थियो। हत्तपत्त चाबी निकाल्यो ।

हामी लाइनमा बसेकाहरुको भने सात्तोपुत्लो गयो । पड्केको भए हामी सबै झ्वाम, सोत्तरै ।
आम्मामा ! सोच्दै मुटुको धड्कन बढछ ।
संगैको ढलबाट आएका दुर्गन्ध र भुसुनाले नाकको प्वालमै आक्रमण गर्‍यो । तर के गर्नु ! सहेरै बस्नु पर्‍यो । यस्तो अप्ठ्यारो परेको बेला जाबो भुसुनाले पनि हेप्नु हेप्दो रहेछ ।
उफ ! फेरि आखामा आक्रमण । डुङ्डुङ गन्हाएर दिक्क पारी सक्यो ।

लौ ! अब खाना खान गएम है ! एक घण्टामा फर्किन्छम । सूचना आयो । भर्खर बेलुकीको सात मात्रै बजेको रहेछ । हामीले भने पम्पको गेटको दर्शन गर्न चै पाएम । सूचना सुने पछी लाइनमा रहेकाहरुको दिमाग खराब भयो । गेटैमा आएर मोरोहरु खाना खान गएम भन्दियो । हाम्रो केहि चल्ने वाला छैन । लाइनमा बसेकाहरु  यताउता लागेको मौकामा घुसपैठ भै हालेछ । आज पनि चार पाँच ओटा बाइक बिच बिचमा घुसेछ । झेल्ला गर्नेहरुको पनि संगठन छ कि क्या हो । नेपाल झेल्ली संगठन हो कि संघ हो । जे होस अरुलाई मारेर आफू दङ्ग पर्ने कुलङघारहरु !! थुक्क बुद्दी !

एउटालाई निक्कै च्यापेछ क्यारे । भित्ता तिर फर्केर तुर्क्याएछ । अँध्यारोको फाइदा । बाटोमा नागबेली आकार आयो ।

के हो भाइ ? जहाँ पायो त्यहीँ पाइखाना त बनाउन भएन नि !

के गर्नु दाइ ! पेट्रोल पम्पमा जुनबेला पायो तै बेलामा गेट खोल्ने बन्द गर्न मिल्ने । मैले चै प्राकृतिक पेट्रोल चै फ्याक्न नमिल्ने ? आयो त के गर्ने ? पाइखानाको ब्यबस्था पनि त छैन नि पम्प वरपर । यो हाम्रै देश त हो नि सिङ्गापुर हो र ? यहाँ जस्ले जे गरे पनि हुन्छ । मैले पनि गरे । ढुक्क संग गरे । आफुलाई त आनन्द आयो । पेट्रोल नपाए पनि केही छैन । अस्तु ।

No comments:

Post a Comment