Grab the widget  Get Widgets

25 December 2023

लाइसेन्स हराएको बेला

बिहानको चिसो मौसममा कालिमाटीको दोबाटोमा सिरिर सिट्टी बजाए पछि रोकिनु पर्‍यो। ट्राफिक भाईले लाइसेन्स, बिल बुक सबै ठिक छ सर! खोइ निकाल्नुस त हेरुम, भन्नु भयो। मैले बिल बुक निकालेर दिएं, अनि लाइसेन्स खोज्दै थिएं, भेटिएन। र भनें, यतै थियो, भेटिन त!

ट्राफिक भाईले सोध्नु भयो, तपाईं रेडक्रसमा काम गर्नु हुन्छ? मैले जवाफमा रेडक्रसमा रगत दान गर्ने गर्छु। काम चैं पढाउने गर्छु भनें। मेरो बिल बुक फर्काउनु हुँदै मोटरसाइकलको अगाडिको नम्बर प्लेट हेर्नु हुँदै भन्नु भयो, तपाईंको मोटरसाइकलले त काठमाडौंको गल्ली गल्लीका खाल्डाखुल्डी सबै चिनिसके होलान हगी? 

मैले पनि फुर्ति लगाउंदै भने, हो नि, मैले बाटो नहेरी चलाए पनि, यो मेरो मोटरसाइकलले बाटो देखाएर अगाडिको खाल्डाखुल्डी छलेर मलाई बचाउंछ। त्यति अनुभबी छ मेरो मोटरसाइकल!

ट्राफिक भाइ: त्यति सारो त नहोला, हेर्न त आफैले हेर्नु परो नि होइन र सर! 

अलि बढी नै पो भनें की जस्तो लाग्यो, मलाई पनि।

ट्राफिक भाईले मलाई जानु भनेर संकेत गर्नु भयो, त्यतिन्जेल मैले मेरो लाइसेन्स भेट्न सकेन। धन्यवाद भन्दै अगाडि बढें। तर मनमा खुल्दुली भै नै रह्यो। मेरो लाइसेन्स कता मिसिङ भो? कुन ठाउँमा हराएं, होला! एकदम तनावमा कलेज पुगेर फेरि पर्समा खोतल खातल गरें, भेट्न सकेन। अब क्लास सकिए पछि फेरि हेर्नु पर्ला भनें। 
क्लास सकिए पछि, एउटा सम्झना आयो। अस्ति नेपाल पर्बतारोहण संघमा मैले मेरो लाइसेन्स देखाएको थिएं, त्यस पछि मैले लिएको याद आएन भनेर त्यो अफिसमा फोन गरें। फोनमा पुष्प राज ढकाल भाईले अफिसमा आउनुस न त, म खोजेर राख्दिम्ला भने पछि, खुरुर अफिस पुगें।

जाने बित्तिकै पुष्प भाईले पाइएन त सर, यहाँ सबै तिर खोजें। कतै अस्तिको कोटको गोजीमा त परेन? भने पछि घरमा श्रीमतीलाई कोटको गोजी छामछुम पार्न फोन गरें र मैले पनि मेरो बिल बुकमा नै पो छ कि भनेर खोतल्न थालें। 

थुइक्क! बेकारमा सबैलाई यता उता खोज्न लगाएको रैछु। त्यो लाइसेन्स त बिल बुक भित्रै लुकेर जिस्काउंदै रैछ।

लाइसेन्सले भयो, अरे, ए साहुजी! तिम्रो सुद्दी हराइ सकेछ। हेर त! म त यहीं लुकेर बसेको छु, तिम्रो बिल बुक संगै! तनाब खतम। अस्तु।

16 December 2023

सगरमाथा

AI ले लेखेको सगरमाथाको कविता, मलाई त मन पर्‍यो, तपाइँलाई कस्तो लाग्यो?

सगरमाथा, तिमीलाई नमस्कार
तिमी विश्वको सर्बोच्च शिखर
तिमीलाई देख्न लाखौं मानिसहरू आउँछन्
तिमीलाई छुन तिम्रो शक्ति अनुभव गर्न

तिमी नै हौं नेपालको गौरव
तिमी नै हौं हिमालयको रत्न
तिमी नै हौं प्रकृतिको चमत्कार
तिमी नै हौं शान्ति र सौहार्दको प्रतीक

14 December 2023

बेटरी झिक्नुस त!

बिमानस्थलको सुरक्षा जांचको एक्सरेबाट पास भएको ल्यापटप लिएर आर्को आन्तरिक सुरक्षा जाँचमा पुग्दा ग्वांग्रेलाई एकजना सरले सोध्नु भयो, यो झोलामा के छ?

ग्वांग्रे: ल्यापटप !
सर: ल्यापटपमा बेटरी छ? 

ग्वांग्रे: अरे सर! बेटरी बगेरको ल्यापटप कहाँ चल्छ त!

सर: बेटरी त हवाईजहाजमा लान मिल्दैन नि, थाहा छैन? ल बेटरी निकाल्नुस, निकाल्नै पर्छ!

ग्वांग्रे: एक छिन अक्क न बक्क भो। ए हजूर, यो ल्यापटप त बेटरी मै टांसेर बनाको छ, कसरी निकाल्ने? अहिले सम्म निकाल्न परेको छैन, अनि निकाल्न पनि आउंदैन, कां छ पनि था छैन। कुन चैं बेटरी हो भनेर। तपाईंलाई थाहा छ भने निकाल्नुस क्यारे! ग्वांग्रेले थाहा नै नपाको झैं भन्दियो।

अनि अस्ति काठमाडौंबाट आउंदा चैं ल्यापटप ल्याउन मिल्ने आज काठमाडौं जांदा चैं नमिल्ने? कुन किताबमा लेखेको छ? देखाउन सक्नु हुन्छ त, सर!

सर: किताब सिताब हैन, अस्ति एअरपोर्टमा बेटरी पर्केको थाहा छैन? 

ग्वांग्रे: ए! त्यो त पावर बैंक हो नि सर!

सर: त्यस्तो बैंक सेंक होइन बेटरी नै हो। ल! अब निकाल्न मिल्दैन भने जानुस। बेटरी त लान नमिल्ने हो क्यारे! 

ग्वांग्रे: ल्यापटप त लान मिल्छ नि सर जी! धन्यवाद! अस्तु।


10 December 2023

नानीकी आमा हराउंदा

हवाई जहाजबाट ओर्लने बेलामा एउटी भर्खर कि आमालाई निकै गार्‍हो भएको देखें आमाको कांधमा हिस्सी परेकी पुतली जस्ती स्यानी नानी पनि थियो। स्यानी नानी पनि बोक्न नसकेको अवस्थालाई अरु कसैले ध्यान दिएन।

मलाई भने त्यो बालिका आमाको काखबाट खस्ला कि जस्तो लागेर झट्ट बोकि दिएं। आमाले धन्यवाद अंकल भने। जहाजबाट आन्तरिक बिमानस्थलको बसमा उक्लंदा त्यो स्यानी पुतली बालिकाले मेरो अनुहार देख्न पाएको थिएन। मैले पनि मेरो अनुहार देख्यो भने रोइदेला भनेर मेरो अनुहार नदेख्ने गरी बोकेको थिएं। 
एकै छिन पछि सायद त्यो बालिकालाई बोकेको तरिका नमिलेर हो कि अलि चलमल गर्न थाल्यो र उसकी आमालाई देख्यो। तर रोइन। अनि फेरि मलाई हेर्‍यो र मेरो टाउकोमा भएको क्याप चलाएर रमाउन थाल्यो। त्यतिन्जेल आमालाई बिसन्चो भएर होला बोल्न सकेकी थिएन। आफ्नो बालिकालाई लिंदा पनि लिएन। मलाई भने त्यो बालिकाले सु सु गरेर पाइन्ट भिजाइदेला कि भन्ने तनाब भैराथ्यो। तर आमालाई बिसन्चो भएको देख्दा देख्दै तिम्रो नानी लेउ भनेर भन्न मैले सकेन।

बस एअरपोर्टको ग्राउन्डबाट आगन्तुक क्षेत्रसम्म आइ पुग्दा नानीको आमाले यताउता फोन गर्दैथ्यो। तर सम्पर्क हुन सकेको थिएन। निकै तनावमा रहेको भान हुन्थ्यो। आगन्तुक क्षेत्रमा बस रोकिना साथ नानीकी आमा खुरुर डौदेर गइन। बालिका मेरो काखमै छाडेर। म एकछिन अलमल्ल मै परें। के गरेकी हौली! पुतली जस्ती स्यानी बालिका मलाई छाडेर कता डौदेकी होली? कस्ती आमा होली? मनमा अनेक कुराको शंका उपशंका आयो। तनाव पनि भयो। त्यो अबोध बालिका लिएर म कता जाने होला? त्यो नानीकी आमालाई त्यो हुलमा कता खोज्ने होला? फेरि आफ्नो सामान पनि लिनुछ।

हत्तेरीका ! कसैलाई सहयोग गर्छु भन्दा यो के अप्ठेरो आइलाग्यो? त्यो नानीको आमाको नाम पनि थाहा छैन, ठाउँ ठेगाना पनि थाहा छैन। प्रहरीमा जाम भने हुलिया बताउन पनि गार्‍है छ। किन भने नानीकी आमाको अनुहार हेर्न पनि पाएको थिएन। मैले बालिका बोकेर सामान लिने ठाउँ यताउता हेरें। सामान लिने लाईनमा एक एक महिला पात्रहरुको अनुहार हेरें। मलाई त्यो बालिकाको आमाले गुलाबी रंगको ज्याकेट लगाएको याद आयो। अनि गुलाबी रंगको ज्याकेट तर्फ आँखा लगाउन लागें। बालिका म संग मेरो क्याप चलाएरै रमाई राखेको थियो। मेरो सामान आयो। त्यो बालिकाकी आमा आइनन। तनाव ! झन तनाव ! मेरो छोराले मलाई बाहिर कुरी बसेको छ। मेरो कांधमा बोकेको बालिका देखे पछि के सोच्ला? यो बुढेसकालमा कस्को बच्चा बोकेर आएको भन्ला? साथीभाईले के सोच्ला? प्रहरीले बच्चा चोर भन्यो भने? यस्ता यस्तै अनेक कु तर्कहरुको बाढी मन मस्तिष्कमा आयो। 

म निकै तनावग्रस्त भै सकेको थिएं। पर एक छेउमा गुलाबी रंगको ज्याकेट झुन्डिएको देखेर डौदेर गएँ। ज्याकेट त त्यही हो, तर मान्छे चैं छैन। अब झन असिन पसिन भएँ। एकछिन पछि रेष्ट रुमबाट मुख धोएर नानीकी आमा आइन। धन्यवाद अंकल मेरो छोरी हेर्दिनु भएकोमा। मलाई एकदम अप्ठ्यारो भएकोले बाथरुम तिर डौदेर गएं। यो ज्याकेट पनि त्यत्तिकै यहीं फालेर गएँ। अलिकति बान्ता भए पछि टाउको दुखेको पनि सन्चो भयो। भर्खर मुख धोईवरी आउंदा ढीला भयो सरी अंकल। तर धन्यवाद पनि। आउ छुनुमुनु, मेरो बाबा, हजुरबुबा संग ज्ञानी भएर बस्यौ? 

आम्मामा! मेरो शंका उपशंकाले लंका जलाइ दियो। धन्न प्रहरीमा उजुरी गरेन। बेकारमा नानीकि आमालाई शंका गरें। तनाव समाप्त। अस्तु। 

08 December 2023

सूचनाको अभाव

कोठाको ढोका खोल्दा सप्पै सामान गायब! अनि मन खुलुल भयो। के भएको? मेरो आफ्नै कोठामा त आएको हो? कि आर्काको कोठामा पो पुगेंकी! जस्तो लाग्यो। आफुसंग भएको ल्यापटपको झोला एउटा कुनामा राखेर रिसेप्सनमा फोन गरेँ। 

नमस्ते म्याम! मेरो कोठाको सामान त एउटा पनि छैन नि! के भाको? 

रिसेप्सन: अं सर! तपाईंको कोठा सार्देका छौं। तपाईं बिहान देखि भेटिएन, हाम्लाई त्यै कोठा चाहिएकोले तपाईंको सामान सप्पै सार्देको छु। अब एकतला माथी मात्रै जानु भए हुन्थ्यो। 

अस्ति नै पहिलो तल्लामा कोठा राख्नु पर्ने नि भन्नु भएकोले त्यही तल्लामा सार्देकोछु है सर। सूचना दिन नपाएकोमा सरी! एकै सासमा फरर बोलीन। 

कोठा सारेको कुरा थाहा नपाउंदा मनमा अनेक कुरा आयो। मेरो अन्डर गार्मेन्टहरु, रुमाल, कपडा, जुत्ता, भएको झोला, औषधि, केही महत्त्वपूर्ण कागजातहरु सबै सत्यानास भयो भन्ठानेको। ढुकढुकी बढेर आम्मामा झण्डै बेहोस भाको! 
कोठाको सांचो लिएर जांदा सबै सामानहरु जस्ताको तस्तै मिलाएर राखि दिएका रैछ्न। धन्न लामो सास फेर्न पाइयो। अनि झ्याल तिर हेर्दा पारदर्शी पर्दा मात्रै रैछ। टेलिफोन त छ रैछ, तर हेर्नको लागि रैछ, च्या पकाउने कुनामा ट्रे मात्रै रैछ, किट्ली छैन रैछ, पहिलो कोठामा जे जे छ त्यो सबै राख्ने ठाउँ चैं रैछ, तर सामानहरु न रैछ। मैले पनि यहाँको स्थानीय भाखा जानेछु क्यार! 

फेरि रिसेप्सनमा फोन लगाउन फोन उठाएं। हातमा भएको रिसिभर कान सम्म लगें कानमा आवाज आएन, कान कोट्याएर फेरि सुने केही आवाज आएन, मतलब डायल टोन नै छैन रैछ। अब भने हरेक कुरा भन्न रिसेप्सन सम्म नै जानु पर्ने भयो। स्टाफहरुले मेरो स्वास्थ्यको ख्याल गरेर एक तला सम्म तल माथी गर्न सहज हुने भएकोले कोठा सार्देका रैछन। बल्ल बुझियो। अस्तु।

29 November 2023

मेरो बुरी माहारानी! म माहाराज!

आच्या! तिमी त मेरो माहारानी पो हो त! तिमी माहारानी भए पो, मो पनि महाराज जस्तो ठान्छु क्या! मेरा साथीहरु सबैले तिम्रो बुरी त माहारानी जस्तै देखिन्छे भन्दा म दङ्ग पर्छु। हुन पनि किन नहुनु! मैले पनि त तिमीलाई माहारानी जस्तो केही काम गर्न नै दिन्न, हैन बुरी?

माहारानी बनाम्न के पो सारो हो र हैन बुरी? 

मेरो के नै काम छ र? बिहान एक ठाममा डिप्टीमा जाने, आफिसमा गएर च्या स्या पकाउने, हाकिम साकिमलाई च्या पस्केर दिने, भांडा सांडा धुने, यत्ति त हो काम! 

अरु के नै छ र! हाकिमहरु कैले काहीं रिसाए भने गाली साली गर्छन, त्यस्तो गाली खाने, त्यत्ति त हो! अरु के काम हुन्छ र? चांड्चांडो डिप्टीको काम सकाएर घरमा आउने त हो। 

तिमीलाई घरको काम लगायो भने त वरपरका छरछिमेकीले बुरीलाई नोकर्नी बनाएछ भन्ला, हैन बुरी? बरु मैले नै खाना साना बनाम्ला संगै खाम्ला। अनि पो तिमी माहारानी अनि म माहाराज जस्तो लाग्छ हैन र?

तिमी पनि माहारानी जस्तो बन्नु, दिनभरी टेलिभिजनमा भारतीय धाराबाहिक हेर्नु, समाजमा भएका घरघरका कहानीहरुको बारेमा मनन गर्नु, छर छिमेकीको कुरासुरा काट्नु, आफुमात्रै जान्ने, अरु सबै नजान्ने जस्तो बेबार गर्नु, नत्र माहारानी जस्तो देखिन्न क्या! 

तिम्लाई दिम्सो फुर्सद भएर फेरि बारीमा गएर काम गर्ला, नगर्नु नि! बारीमा काम गर्‍यो भने फेरि छिमेकीहरुले मलाई नै गाली गर्छ। हेर त बुरीलाई बारीमा काम गर्न लगाएर नोकर्नी बनाएछ भन्ला, अनि नोकर्नीको बुरा आफु पनि त नोकर नै होला नि भन्ला। 

दिम्सो मो आर्को अफिसको डिप्टीमा जाने त हो! मेरो खासै के काम हुन्छ र? दिनभरी च्या स्या बनाउने, हाकिमहरुलाई ख्वाउने, तलमाथि गर्ने, फाइल बोक्ने त हो। तर पियनहरुको त हाकिम नै हो नि। कम्ताको हो म?

मेरो बुरी! मेरो माहारानी! तिमीलाई समाजको समाचार सुन्न सारै मन पर्छ। मज्जाले सम्चार सुनेर, हेरेर बस। टेलिभिजन हेर्दा हेर्दै थाक्यौ भने आराम गर, फेरि तिमिले च्या स्या बनाएर बस्ला, तातो पानीले पोल्ला, च्या करा भएर तितो भयो भने तिम्रो केही गल्ती हुन्न है, च्या नै खराब हुन सक्छ, अथवा पानी खराब हुन सक्छ, वा आगो बढी बलेको हुन सक्छ, तिम्रो केही गल्ति हुन्न। सबै दोष अरुको मात्रै नै हुन्छ है!

म दिम्सो डीप्टीबाट फर्के पछि मैले नै खाजा बनाउँछु, तिमीलाई फुर्सद नहुन सक्छ, धाराबाहिक छुट्ला, नछुटाउने है! तिमी त मेरो माहारानी पो त! म माहाराज!

12 November 2023

ग्वांग्रे !

एक जनाको पैसाले खाने बस्ने र घर व्यबहार चलाउने, आर्को एक जनाको कमाईको पैसाले घर बनाउने आमाको निर्देशन र ग्वांग्रेको सहमति अनुसार ग्वांग्रेको कमाई जति सबै खाने बस्ने र घर ब्यबहारमा खर्च गर्ने, अनि ग्वांग्रेको बाउको कमाई जति संचय गरेर घर बनाउने काममा खर्च गरे। 

बर्सौं सम्म ग्वांग्रेको परिवार आनन्दले चल्यो, पैसाको कमी भएन। घर मर्मत र दराज सराज बनाउने काममा ग्वांग्रेले आफैले खर्च गरे । अनि घर ठ्ड्याउने काममा चैं ग्वांग्रेको काम खटन पटन र बाउको पैसाले घर बनाउने काममा खर्च गरे । समयको अन्तराल संगै भाई बहिनी हुर्काउने काममा पनि ग्वांग्रेले केही कसर बांकी राखेनन ।  आफुले सबैलाई सक्षम बनाउने काममा सघाउन पाउँदा र आफ्नो घरको जिम्मेवारी बहन गर्न पाएकोमा ग्वांग्रे एकदम खुशी थियो।

भाई बहिनीहरु आफ्नै खुट्टामा उभिन सकेर ग्वांग्रेले भन्दा बढी कमाउने भए पछि सबैजना आ आफ्नो बाटो लागे। दिदी बहिनीको बिहे भयो। भाईको बिहे अनि राम्रो काम पनि भयो।

समयको अन्तरालमा एकदिन ग्वांग्रेको आमा बा, दिदी बहिनीहरुले तैंले के गरिस जिन्दगीमा ? सबै कमाई खाएर त सिध्याइस, एउटा घर पनि बनाउन नसक्ने निकम्मा भइस भनेको देख्दा ग्वांग्रे आकाशबाट झरेको जस्तो भएछ । 

जिन्दगीभर आफ्नो कमाई घर परिवारलाई सुम्पेका ग्वांग्रे अहिले घरको न घाटको भएको छ। बाउको कमाई खान हुन्न, सकेसम्म घर परिवारलाई आफ्नो जिम्मेवारीबाट टाढा राख्न हुन्न भन्नेलाई सबैले छाडेर गएका छन् । बाउ आमा समेतले पहिले पहिले ग्वांग्रेले घर व्यबहार हेर्दिने भएकोले आनन्द भयो भन्ने गर्थे, अहिले कैले के गरिस र सबै बाउको पैसाले त गरेका छन नि भन्दो रैछ। 

सोझो ग्वांग्रेले कति पैसा घर बनाउंदा सकियो, कति भोज भतेरमा सक्यो हिसाब किताब राखेका छैनन् रैछ, त्यत्तिकै ग्वांग्रे नाम राखेको हैन रैछ।

जिन्दगीको उत्तरार्धमा आएर ग्वांग्रे एक्लो भएको छ । खाएको सबै चैत भैहाल्यो, अब ग्वांग्रे बाउको घरमा पो बसेको रैछ, उस्को आफ्नो घर नै छैन रैछ, दराज बनाएर के गर्ने, त्यो दराजमा सुट्न मिल्दैन रैछ, खात बनाएर के गर्ने आकाशलाई छाना बनाउन नमिल्ने रैछ। यहि कुरोले गर्दा छोराछोरी र श्रीमती समेतले ग्वांग्रेलाई नै दोष देखाउंछ। आफ्नो कमाई बलियो भएको बेलामा सबै घर परिवारलाई सुम्पेको फल अहिले देखिस नि! अब हाम्ले समेत यस्तो अवस्था भोग्न परेको छ भन्दै टाउकोमा हात हालेर बसेका छन् । बिचरा ग्वांग्रे! 

13 October 2023

दशैं खर्च

ए बुढा! पल्लो घरमा खसी ल्याइ सक्यो, भाउजुले कति राम्रो साडी ल्याउनु भैसक्यो। हाम्ले चैं कैले किनमेल गर्ने?

मार्साब: के गर्नु बुढी! यसपालि पनि पोहोर परार जस्तै होला भन्ने तनाब भै राछ। स्कुलमा दशैंको छुट्टी भैसक्यो, लेखापाल बिरामी भा रैछ। अब बिरामीले हस्ताक्षर नगरी दशैं खर्चको पैसा न निस्कने रैछ। 
मास्टर्नी: त्यस्तो भनेर काँ पाइन्छ नि बुढा! दशैं जस्तो चाडबाडमा पनि पैसा पाएन भने त के का लागि काम गर्नु? हामीले सेवा मात्रै गरेर हुन्न क्यारे! पेट भर्नलाई सेवाले नहुने रैछ। लौ त्यो बिरामीको उपचार गरेर भए पनि हस्ताक्षर त लिनु पर्ला, अथवा आर्को बिकल्प पनि त होला नि। मेरि आम्मा हो! 

मार्साब: हस! अब झांक्री वा डाक्टर साब खोजेर संगै लिएर लेखापालको उपचार गराउन लै जाम्ला। आखिराँ दशैं खर्चको कुरो छ। मनाउनै परो कर! अस्तु।

05 October 2023

बिचरा ठुले

बा: ए ठुले ! एउटा टाइप गर्दे भनेको, यत्ति ५ पेज टाइप गर्न पनि कति टाइम लाको?

आमा: ए ठुले ! त्यो परेवाको गुंड सार्दे भनेको, त्यत्ति काम गर्न पनि कति समय लाउँछ? 

श्रीमती: ए बुढा ! तरकारी ल्याइदेउ भनेको के गर्दै छ ! त्यत्ति काम गर्न पनि कति समय लिएको?

सानो छोरा: बा ! एउटा फाराम भरम भरेको कति टाइम लिनु भा को?

ठूलो छोरा: टंकि सफा गरम भनेको साथी दिनुस न बा । कति समय लाउनु भाको ? 

छोरी: ए बा! डाइपर ल्याइ दिनुस भनेको एइले हो? त्यत्ति पनि ल्याई दिनु हुन्न भन्यां!
छिमेकी: के गर्छ यो घरमा कस्तो मान्छेहरु रैछन? कै काम गर्दैन कि क्याहो? संधै हल्ला खल्ला भै रहन्छ। काम नभएको मात्रै सुन्छु। काम चै कस्ले गर्ने रैछ? सबैले ठुलेलाई मात्रै काम अर्‍हाएको सुनिन्छ। सबै काम ठुलेले नै गर्दिए हुन्छ भनेर आशा गर्दा रैछन । बिचरा ठुले ! छोरा हो कि? बाउ हो कि? बुढा हो कि? काम गर्न राखेको मान्छे हो? खुट्याउनै गार्‍हो भो बा! अस्तु।

03 October 2023

बचन

वचन पनि गज्जब हुंदो रैछ। खाना खान बोलाउंदाका केही बोली वचन यस्तो सुन्न पाइन्छ हाम्रो समाजमा।
१. सुन्नुस त ! खाना तयार भो !
२. हजूर ! भान्सा तयार भो। आइस्यो।
३. सुन त ! खाना रेडि भयो ! आउ है।
४. ओए ! खाना पाक्यो, खान आउ !
५. ओ ! खाना खान आइजे !
६. खाना पाकी सक्यो, कोठामै खान्छस कि? याँ मर्छस।
७. ओ ! भुक्कड, छिट्टो आइजे। घिचिस्यो !
८. अब खाना आफै हिंड्दैन क्यारे, खाने भए आइजे !
तपाईंले पनि थप्नुस न, है ! समाजको ब्यथा कथा संस्कार, कुसंस्कार सुसंस्कृत गर्न सकिएला कि? अस्तु!