मलाई भने त्यो बालिका आमाको काखबाट खस्ला कि जस्तो लागेर झट्ट बोकि दिएं। आमाले धन्यवाद अंकल भने। जहाजबाट आन्तरिक बिमानस्थलको बसमा उक्लंदा त्यो स्यानी पुतली बालिकाले मेरो अनुहार देख्न पाएको थिएन। मैले पनि मेरो अनुहार देख्यो भने रोइदेला भनेर मेरो अनुहार नदेख्ने गरी बोकेको थिएं।
एकै छिन पछि सायद त्यो बालिकालाई बोकेको तरिका नमिलेर हो कि अलि चलमल गर्न थाल्यो र उसकी आमालाई देख्यो। तर रोइन। अनि फेरि मलाई हेर्यो र मेरो टाउकोमा भएको क्याप चलाएर रमाउन थाल्यो। त्यतिन्जेल आमालाई बिसन्चो भएर होला बोल्न सकेकी थिएन। आफ्नो बालिकालाई लिंदा पनि लिएन। मलाई भने त्यो बालिकाले सु सु गरेर पाइन्ट भिजाइदेला कि भन्ने तनाब भैराथ्यो। तर आमालाई बिसन्चो भएको देख्दा देख्दै तिम्रो नानी लेउ भनेर भन्न मैले सकेन।
बस एअरपोर्टको ग्राउन्डबाट आगन्तुक क्षेत्रसम्म आइ पुग्दा नानीको आमाले यताउता फोन गर्दैथ्यो। तर सम्पर्क हुन सकेको थिएन। निकै तनावमा रहेको भान हुन्थ्यो। आगन्तुक क्षेत्रमा बस रोकिना साथ नानीकी आमा खुरुर डौदेर गइन। बालिका मेरो काखमै छाडेर। म एकछिन अलमल्ल मै परें। के गरेकी हौली! पुतली जस्ती स्यानी बालिका मलाई छाडेर कता डौदेकी होली? कस्ती आमा होली? मनमा अनेक कुराको शंका उपशंका आयो। तनाव पनि भयो। त्यो अबोध बालिका लिएर म कता जाने होला? त्यो नानीकी आमालाई त्यो हुलमा कता खोज्ने होला? फेरि आफ्नो सामान पनि लिनुछ।
हत्तेरीका ! कसैलाई सहयोग गर्छु भन्दा यो के अप्ठेरो आइलाग्यो? त्यो नानीको आमाको नाम पनि थाहा छैन, ठाउँ ठेगाना पनि थाहा छैन। प्रहरीमा जाम भने हुलिया बताउन पनि गार्है छ। किन भने नानीकी आमाको अनुहार हेर्न पनि पाएको थिएन। मैले बालिका बोकेर सामान लिने ठाउँ यताउता हेरें। सामान लिने लाईनमा एक एक महिला पात्रहरुको अनुहार हेरें। मलाई त्यो बालिकाको आमाले गुलाबी रंगको ज्याकेट लगाएको याद आयो। अनि गुलाबी रंगको ज्याकेट तर्फ आँखा लगाउन लागें। बालिका म संग मेरो क्याप चलाएरै रमाई राखेको थियो। मेरो सामान आयो। त्यो बालिकाकी आमा आइनन। तनाव ! झन तनाव ! मेरो छोराले मलाई बाहिर कुरी बसेको छ। मेरो कांधमा बोकेको बालिका देखे पछि के सोच्ला? यो बुढेसकालमा कस्को बच्चा बोकेर आएको भन्ला? साथीभाईले के सोच्ला? प्रहरीले बच्चा चोर भन्यो भने? यस्ता यस्तै अनेक कु तर्कहरुको बाढी मन मस्तिष्कमा आयो।
म निकै तनावग्रस्त भै सकेको थिएं। पर एक छेउमा गुलाबी रंगको ज्याकेट झुन्डिएको देखेर डौदेर गएँ। ज्याकेट त त्यही हो, तर मान्छे चैं छैन। अब झन असिन पसिन भएँ। एकछिन पछि रेष्ट रुमबाट मुख धोएर नानीकी आमा आइन। धन्यवाद अंकल मेरो छोरी हेर्दिनु भएकोमा। मलाई एकदम अप्ठ्यारो भएकोले बाथरुम तिर डौदेर गएं। यो ज्याकेट पनि त्यत्तिकै यहीं फालेर गएँ। अलिकति बान्ता भए पछि टाउको दुखेको पनि सन्चो भयो। भर्खर मुख धोईवरी आउंदा ढीला भयो सरी अंकल। तर धन्यवाद पनि। आउ छुनुमुनु, मेरो बाबा, हजुरबुबा संग ज्ञानी भएर बस्यौ?
आम्मामा! मेरो शंका उपशंकाले लंका जलाइ दियो। धन्न प्रहरीमा उजुरी गरेन। बेकारमा नानीकि आमालाई शंका गरें। तनाव समाप्त। अस्तु।
No comments:
Post a Comment