Grab the widget  Get Widgets

26 April 2025

त्यो झोला

मलेसिया डायरी

बैठक सुरु हुनु अघि एकजना म्याडम ठाँटिएर बैठक कक्षमा आउनु भयो, हातमा एउटा घांसे रंगको झोला बोकेर। त्यो देख्नेबित्तिकै मेरो हाकिमको आँखा त्यसैमा गढ्यो। झोलातिर औंलो ठड्याउँदै भन्नु भयो,
"त्यो त मेरो झोला जस्तो छ नि!"

म्याडमले तुरुन्तै प्रत्युत्तर फर्काइन,

"तपाईंको कहाँ हो र! यो त मेरो बोसको हो।"

"ओहो! कस्तो मिल्दोजुल्दो!" हाकिमले भन्नू भयो। "झोलाको साइज, रंग, ब्राण्ड, सबै कस्तो मेरो नै झोला जस्तो।"

म्याडमले पनि प्रष्ट पार्न भ्याइन्,
"मेरो बोसले अहिलेको बैठकका लागि लैजान भनेको हो।"

"एह!" हाकिमको मुखबाट छुट्यो— तर कस्तो सेम, क्या!

बैठक सुरु हुने बेला भयो। सबैजना आ-आफ्नो कुर्सीमा बसिसके थियो र बोस पनि आइपुग्नुभयो—तर हात रित्तै! झोलाको झल्कोसम्म छैन।

हाकिमले झट्ट भन्नु भयो,
"बोस, मैले त्यो झोला त पाएको छैन नि। बैठकका कागजातहरू त झोलामै छन्।"

बोसले म्याडम तिर हेर्नुभयो। हाकिमले पनि हेरे र भनिहाल्नुभयो,
"कतै त्यै झोला मेरो त होइन?"

म्याडम अलमलिइन्। अनुहार रातो, कान रातै—बल्ल सम्झिइन्।
"ओहो! माफ गर्नुहोस् है! मैले मेरो बोसको हो भनेर ल्याएकी थिएँ। तपाईंले सोध्दा पनि 'हैन' भनेकी। यो त तपाईंको झोला पो रहेछ!"

हाकिमले आश्चर्य दृष्टि दिँदै भन्नुभयो,
"त्यै त! मैले सुरुमै भनेको त, तपाईंले होइन भन्नुभो, म पनि चुप लागें।"

त्यसपछि, बैठकको माहोल कस्तो भयो होला? कल्पना गर्नुहोस्—एक थान झोलाले बैठकको सुरुवात हाँसोमै उडाइदियो। झोला एउटा थियो, तर हाँसोले पाँच वटा शाखा पलायो। कसैले झोला ‘ब्राण्डेड’ भनेर हाँसे, कसैले 'झोला जस्तै दोहोरो संवाद' भनेर।

बैठक सुरु त भो, तर ‘एजेन्डा नम्बर १’ झोलाले नै खायो। अस्तु| 

अरू यस्तै रमाइला ब्लगहरू पढ्न मन छ भने प्रतिक्रिया लेख्न नबिर्सनु होला!
#मलेसियाडायरी 

17 April 2025

चिया पिउने बेलामा ध्यान (Tea Meditation)

एक कप चियाको चुस्कीको अद्भुत अनुभूति 

त्यो एक कप चियाको चुस्की, सतिपठान ध्यानको अभ्यासमा डुबेर जब लिइयो, त्यसले मेरो चेतनाको ढोका फराकिलो पारिदियो। चियाको कप समात्ने बित्तिकै औंलाहरूले तातोपनको अनुभूति गरे | हरेक औंलाले छुट्टाछुट्टै तरिकाले तातोपन महसुस गर्यो, कोहीले बढी, कोहीले कम। मानौं मेरो हातका पञ्चेन्द्रियहरूले आ–आफ्नो लयमा तातोपनाको अनुभव गरिरहेका थिए।

चियाको कप मुखतिर लैजाँदा, अनायासै त्यसको तौल महसुस हुन थाल्यो। यसअघि कहिल्यै अनुभव नगरेको भारीपन थियो | सायद सधैं त्यही नै  तौलको थियो, तर चेतनाको उपस्थितिमा त्यो तौलले पनि आफ्नै कथा सुनायो। हातको सुस्त गति, नाडीको झुकाव, सन्तुलनको प्रयास सबैथोक फरक थियो, मेरो अनुभूतिमा।

अझ चियाले जिब्रोलाई छुने बेलासम्म त भर्खर ओंठले चियालाई स्वागत गरेको जस्तो अनुभव भएको थियो। त्यो हल्का तातो बाफ, जसले जिब्रोभन्दा पहिला नै ओंठमा कोमल स्पर्श गर्‍यो, जसले मलाई समयमै सतर्क गरायो, ‘अब चियाको ताप आउनेछ।’ भनेर, अनि बल्ल जिब्रोले चियाको स्वाद चाख्न पायो | त्यो स्वाद पनि सामान्यभन्दा गहिरो लाग्यो, त्यो तातोपन शरीरभित्र फैलिएको जस्तो, एक किसिमको आनन्दित तरल प्रसाद जस्तो।

त्यो एक चियाको चुस्कीमा, मैले केवल चिया पिएको होइन, मैले चियालाई महसुस गरेको थिएँ। हरेक स्पर्श, हरेक बाफ, हरेक स्वादमा जीवनको सूक्ष्मता भेटिएको थियो। जुन चिया हिजोका दिनहरुसम्म केवल पिउने मात्रै  बानी थियो, आजको दिनमा त्यो नै पूजा जस्तो लाग्यो | ध्यान गरेर सचेत भएर चिया पिउँदाको क्षण पनि कति पवित्र र गहिरो हुन्छ भन्ने जीवन्त प्रमाण सतिपठान ध्यान गरेर चिया पिउँदा अनुभव भयो | अस्तु