हामीले कल्पना गर्ने आदर्श कार्यस्थल यस्तो हुन्छ, जहाँ विचारहरू स्वतन्त्र रूपमा बहन्छन्, सिर्जनशीलता सम्मानित हुन्छ, र प्रत्येक कर्मचारी सदस्यले आफूलाई मूल्यवान महसुस गर्छन्। तर वास्तविकता प्रायः फरक हुन्छ। धेरै संस्थामा एउटा अदृश्य तर गम्भीर समस्या देखिन्छ -हैकमबादी | यस्तो नेतृत्वशैली, जहाँ हाकिमले प्रेरणाबाट होइन, अहंकार र नियन्त्रण मार्फत नेतृत्व गर्छन्।
एउटा चिरपरिचित कथा
धेरैलाई यो कथा सुनेको जस्तो भएको जस्तो लाग्न सक्छ । यस्तो भयो भने संयोग मान्नु होला ।
एउटा कर्मचारी — बौद्धिक, रचनात्मक र कामप्रति समर्पित। उसले एउटा नयाँ विचार ल्याउँछ र आफ्नो बोससँग बाँड्छ। उसलाई आश हुन्छ कि प्रतिक्रिया, सुझाव वा कम्तिमा प्रशंसा पाउनेछ। तर हाकिम मौन रहन्छन्।
केही दिनपछि, त्यही विचार हाकिमले टिम मिटिङमा आफ्नै विचारझैँ प्रस्तुत गर्छन्। न त वास्तविक स्रोतको उल्लेख हुन्छ, न श्रेय दिन्छन्। टिमले ताली दिन्छ, हाकिमलाई बधाई दिन्छ। तर त्यो मौन रचनाकार भने छायाँझैँ बसिरहन्छ — चुपचाप, पीडित, र उपेक्षित।
यो पटक–पटक दोहोरिन्छ। कर्मचारी आफूलाई महत्वहीन र निराश महसुस गर्न थाल्छ। अन्ततः उसले निर्णय लिन्छ — कार्यालय छोड्ने। किनभने वातावरणले उसको प्रतिभालाई सम्मान गर्न सकेन।
पछुतो... तर ढिलो भइसकेको हुन्छ
कर्मचारीको बिदाइपछि हाकिमले महसुस गर्न थाल्छन् — विचारहरू हराए, ऊर्जाको खालीपन महसुस हुन्छ। टिम अब प्रेरित छैन। उनी पछुतो गर्छन्। तर पछुतोले त्यो प्रतिभा फिर्ता ल्याउन सक्दैन।
हाकिमवादले फेरि एक रत्न गुमाउँछ।
किन हाकिमवाद समाजका लागि खतरनाक हुन्छ?
हाकिमवाद केवल कार्यस्थलको समस्या होइन — यो सामाजिक समस्या हो। यसले यस्तो संस्कृति जन्माउँछ, जहाँ:
- सिर्जनशील विचारहरू दबिन्छन्,
- प्रतिभाशाली कर्मचारीहरू हतोत्साहित हुन्छन्,
- आपसी विश्वास टुट्छ।
अन्ततः यो अवस्था निम्त्याउँछ:
- ब्रेन ड्रेन —असल मानिसहरू पलायन हुन्छ
- विषाक्त वातावरण — कोही पनि खुलेर बोल्न सक्दैन।
र यो समस्या केवल कार्यालयमा सीमित छैन — विद्यालय, संघ–संस्था, समाज, र परिवारसम्म फैलिएको छ।
नेतृत्व कस्तो हुनुपर्छ?
साँचो नेतृत्व भनेको सबैभन्दा ठूलो आवाज हुनु होइन। यो हो:
- सहनशीलतासाथ सुन्ने क्षमता,
- विचारहरूको कदर गर्ने संस्कार,
- श्रेय बाँड्न सक्ने उदारता,
- सबैलाई अगाडि बढ्न प्रेरित गर्ने सोच।
सक्षम नेता आफ्नो वरिपरि महल होइन, सक्षम मानिसहरू बनाउँछन्।
नेताहरू र टिम सदस्यहरूका लागि सन्देश
यदि तपाईं नेतृत्वमा हुनुहुन्छ भने केही समय निकालेर आफैंसँग सोध्नुस्:
- के मैले पछिल्लो पटक कहिले कसैको योगदानको खुलेर प्रशंसा गरेको छु?
- के कहिल्यै मैले अरूको विचार आफ्नोझैँ प्रस्तुत गरेको छु?
- मेरो टिम बढ्दैछ कि केवल आदेश पालना गर्दैछ?
यदि तपाईं टिम सदस्य हुनुहुन्छ भने — आफ्नो आवाज थुनिन नदिनुस्। बोलिरहनुहोस्, सिर्जना गरिरहनुहोस्। तर, आफ्नो मूल्य पनि चिन्नुहोस्। जुन ठाउँले तपाईंको सम्मान गर्दैन, त्यहाँ रहनु तपाईंको लागि न्याय होइन।
अन्तिम शब्द
हामी यस्तो कार्यसंस्कृति बनाऔँ, जहाँ अहंकारभन्दा सम्मान ठूलो होस्, र श्रेय दिनु सामान्य बानी होस्। जहाँ नेतृत्व साँचो अर्थमा सबैलाई अघि बढाउने होस्।
हाकिमवादको अन्त्य गरौं — सिर्जनशीलता, सम्मान, र सहकार्यको यात्रा सुरु गरौं।
No comments:
Post a Comment