एकादेशको रमाइलो बजारमा एउटा पुरानो किराना पसल थियो — "सिमसिम स्टोर"। यो पसल चलाउने थिए बाजे, जसलाई सबैले सिमसिम बाजे भनेर चिन्थे।
बाजे त बडो कठोर, पुरातनबादी र घनचक्कर सोचका मान्छे। उनी भन्थे,
“ए बाबु, व्यापार भनेको त बिहानको घामसँगै पसल खोल्नु र साँझ अँध्यारोसम्म गफ गर्दै सामान बेच्नु हो। यो अनलाइन सनलाइन के नाटक हो? मोबाईल चलाएर पैसा कमाइन्छ र?”
उनका केही कर्मठ कर्मचारीहरु पनि थिए। शंकर र मनिका उनीहरू युट्युब, टिकटक, इन्स्टाग्राममा व्यापार चलाउने उपाय सिकिरहेका थिए। एकदिन मनिकाले प्रस्ताव राखिन्,
“बाजे, अब त सबै अनलाइन शपिङ गर्छन्। हामी पनि फेसबुकमा स्टोर बनाऔँ न। ग्राहक पनि बढ्ला, काम पनि सजिलो होला।”
बाजे कड्किए,
“तिमीहरूलाई सामाजिक संजाल चलाउने बहानामा चाहियो? पसलमा झोला बोक्न नमान्ने अनि फेसबुकमा स्टोर खोल्ने? मेरो समयमा गोरु बाँधेर काम सुरु हुन्थ्यो!”
शंकरले मनमनै सोचे — "बाजेको समयमा इन्टरनेट त गोरुले तान्थ्यो होला!"
तर मनिका अडिइन्। उनले मोबाइलले खिचेका केही सामानका फोटोहरू फेसबुकमा राखिन्। "सिमसिम स्टोर – अनलाइन सेवा" नामको पेज बनाइन्। ३ दिनमै १०० जना ग्राहकले मेसेज पठाए। कसैले भने — "डालचिनी १ किलो चाहियो", कसैले लेखे — "नुन सकिएको छ, घरमै ल्याइदिनु है!"
शंकरले साइकलमा घर घर गएर डेलिभरी गर्न थाले। ग्राहक खुशी, कमाइ दोब्बर।
तर बाजेचाहिँ झन् झन् रिसाए।
“डालचिनीको व्यापार फेसबुकले गर्यो भने अब म के गर्नु? साथै गफ गर्ने ग्राहकहरु पनि हराउन थाले!”
तर एक दिन भयो के भने — उनकै पुराना साथी कान्छा विदेशबाट फर्किए र बाजेलाई भने,
“बुहारीको फेसबुकमा तिम्रो पसल देखेँ। यत्रो ठुलो व्यापार गरेर बाजे तिम्ले त गज्जब गरेका रैछौ त!”
बाजे हाँसे —
“हो नि, त्यो कम्प्युटरवाला व्यापार अब मैले आफै हेर्छु।”
अब त बाजेले पनि फेसबुक लाइभमा बोल्न थाले —
“नमस्कार हो! आज म तपाईलाई असली घरेलु चनाको पिठो देखाउँछु, चामल सित पीठो साट्नुस।"
पसलको नाम पनि फेरियो —
"सिमसिम बाजेको डिजिटल दोकान"।
अब ग्राहकको मेसेज आउँछ —
“बाजे! लाइभ रमाइलो हुन्छ है! एक किलो बेसार र एउटा जोक पनि पठाइदिनुस।”
पुरानो सोचले व्यापार चल्दैन। डिजिटल जमाना हो, अब फेसबुकको लाइभले पनि बेसार बेचिन्छ है!
No comments:
Post a Comment