घामले डाँडा काट्नै लागेको बेला मनबहादुर बुढा धुलो टक्टक्याउँदै, लङ्गडो खुट्टा खोच्याउँदै आँगनमा भित्रिए। पिंढीमा बसेर गुन्द्रुक केलाइरहेकी धनमाया बुढीको नजर सिधै बुढाको नयाँ घाउमा पर्यो। उनको पारा तात्यो।
"होइन ए बुढा! फेरि लोटाएर आयो? लाज-सरम छैन? हिजो मात्रै कुहिनोमा आलो घाउ थियो, आज घुँडामा अर्को 'डिजाइन' थपेर आएछ!" धनमाया बुढीको बोलीमा तोप पड्के जस्तो आवाज थियो।
मनबहादुरले ङिच्च दाँत देखाए, "के गर्नु बुढी, काम गर्दा यस्तै त हो। यो बुढेसकालमा हात-खुट्टाले धोका दिन्छन् नि!"
"काम?" धनमाया बुढी झनै जंगिइन्, "कुन काम? बिहानै कोदाली बोकेर निस्केको मान्छे, दिउँसो खाजा खान पनि आउँदैन। राति जून लागिसकेपछि मात्रै घर फर्किन्छ। गाउँभरि हल्ला छ, मनबहादुर बुढो कता बरालिन्छ भनेर। साइँली बज्यैले त अर्कै कुरा सुनाउँथिन्। मलाई त तपाईंको चाल निको लागेन है बुढा!"
मनबहादुरले तुरुन्तै दुःखी अनुहार बनाए, "छि छि! के कुरा गर्छेस् यस्ती? समाजमा काम नगरी बस्दा 'बुढो त हल्लिएरै खायो' भन्छन्। त्यही भएर अलिअलि ज्याला-मजदुरी गर्न जान्छु। काम गर्दा गर्दा थाकेर लोटिन्छु। यता मलाई घाउले पोलिरा'छ, तँ भने शंकाको आगो फुकिरा'छेस्! जा, बरु एउटा कचौरामा नुन, तेल र बेसार ल्याएर मल्हम बनाइदे त! तेरो किचकिचले घाउ निको हुन्न क्यारे!"
धनमायाको मन अलि पग्लियो। "लौ लौ, कराउनु पर्दैन," भन्दै उनी भान्सातिर लागिन्। एकैछिनमा बेसार-तेलको मल्हम लिएर आइन् र बुढाको घुँडामा लगाइदिन थालिन्।
"ऐया! बिस्तारै लगा न!"
धनमाया फतफताउंदै "यो बुढा नि मैले भनेको पटक्कै मान्दैन, कुन चैं फतौरी संग सल्केको छ कुन्नी! कैले रुखबाट लोट्यो भन्छ, कहिले भीरबाट गुल्टियो भन्छ, कुन दिन त्यो फतौरीलाई मैले भेट्टाएं भने कपाल सपाल लुछेर ठिक पार्दिन्छु।"
एकछिनमा मल्हम लाउंदै गर्दा बुढोलाई हेरिन्। बिचरो बुढो दिन भरको कामले लोथ भएको रहेछ, भुक्लुक्क निदाएछ। अन्त्यमा आफ्नो लोग्नेको आलो घाउ र सुन्निएको घुँडातिर हेरिन्। हुनत, मेरै लागि बुढाले आफ्नो काममा कहिले पनि थकाइ लाग्यो भनेको सुन्नु परेको छैन र दिनभरिको ब्यस्तताले थकित हुनु स्वभाबिक नै रहेछ।
उनले मनबहादुरतिर हेरेर मनमनै भनिन, "आज बिचरो बुढालाई मनपर्ने खाना बनाई दिनु पर्यो। म पनि कस्ती? बेफ्वांकमा बुढोलाई के के भनेछु!" अस्तु!

No comments:
Post a Comment