Grab the widget  Get Widgets

Wednesday 24 July 2013

अतिथि सत्कार

पहिलो पटक मेरो जन्म थलो तानसेनमा अतिथि भवन देख्दा के रहेछ, यस्तो ठाउमा को बस्न आउछ होला, किन आउछ होला, भनेर निकै खुल्दुली हुन्थ्यो | त्यस्तै कतिपय औपचारिक कार्यक्रममा अतिथि सत्कार समिति भन्ने किन राखेको होला भनेर मन मनै गुन्थें | तर पछी आएर यहि पेशा अंगाल्नु पर्ला भनेर सोचेको पनि थिएन |

के हो त अतिथि सत्कार ? आज यसबारे केहि लेख्ने जमर्को गर्दैछु | मैले पढेको, देखेको, लेखेको, पाएको स्वागत सत्कारबारे लेख्ने प्रयास गरेको छु | पाठकहरुले पनि आ -आफ्नो विचार पोखिदिनुस है |

कुनै कार्यालयमा जाना साथ, कसैले तपाईलाई दुई हात मज्जाले जोडेर नमस्कार ! भनेर सम्बोधन गरि दिंदा तपाईले गर्नु हुने अनुभब कस्तो हुन्छ ? न जोख्न सकिन्छ, न नाप्न सकिन्छ, न तातो, न चिसो  केवल महसुस गर्न मात्रै सकिन्छ | तर तपाईलाई बेग्लै आनन्द आउँछ | नमस्कार गर्ने तरिकाले पनि फरक पार्छ | मुखले मात्रै भन्ने त हात नजोड़ने नमस्कारको त वजन पनि हुँदैन | बेकार हुन्छ |

हवाई जहाज चढ्ने बेलामा बिमान परिचारिकाले मुसुक्क हाँसेर गर्ने स्वागत र स्थानीय बसमा कन्डक्टर साहेबले ठुसुक्क भएर बोलिने भाषामा कत्ति फरक महसुस गर्नु हुन्छ ? दुवै यातायात कै साधन न हुन् |

ट्याक्सीको ड्राइभर र कारको ड्राइभरको बोलीचालीको भिन्नता हेर्नुस | अझै पर्यटक बाहनको चालकको भाषा हेनुस् | गाडी त गाडी नै हो तर कति सफा, कुन गाडी भन्ने मात्रै हो | किन पर्यटक चड्ने गाडी र निजि गाडी चिटिक्क हुन्छन् त | आखिरमा ट्याक्सीले पनि भनेकै ठाउमा पुर्याई हाल्छ क्यारे | जो चढे पनि ग्राहकले भनेको ठाउँ त जान्छ नै |

चालकले ग्राहकलाई गर्ने बोलि, चाली, भाषामा मिठास, सेवा, सत्कारमा नौलो पन आदिले गर्दा पर्यटक तथा अतिथिहरुले ढुक्क संग पैसा तिर्न हिच्किचाउदैनन्  पर्यटक बाहनमा | खरो बोलि, घमण्डी, बोल्दा पनि पैसै तिर्नु पर्ने मान्छे चालक, सह चालक पर्यो भने खत्तम |

होटल, लज, होम स्टे, गेस्ट हाउसमा गरिने सेवाको पनि कुनै नाप तौल गर्न सकिन्न | असाध्यै रमाइलो भयो, साह्रै मज्जा भयो, भन्ने अनुभब मात्रै हो | गाडी एकछिन चड्दा पनि कति ठाउको तिता मिठा सम्झनाहरु याद आइ रहन्छ | साथी भाई संग घुमफिर गर्न जाँदा होस् वा पिकनिक जाँदा, नाच्दाको रमाइलो होस् यी सबै सम्झनामा मात्रै सिमित हुने गरी हामीले हाम्रा अतिथिलाई गर्ने सत्कार, बोलि चाली, ब्यबहार नै "अतिथि सत्कार" रहेछ | जति सुकै मिठो खान दिए पनि "लौ घिच" भन्यो भने त्यो खानाको स्वाद सबै झ्वाम हुन्छ | एक अम्खोरा पानि मात्रै, मीठो बोलीले खुवाउन दियो भने पनि त्यो अमृत जस्तो हुन्छ |

तपाई पर्यटन व्यवसायमा हुनुहुन्छ भने त झन् नभई नहुने गुण मा पर्छ है "अतिथि सत्कार" | तपाइको बोलि गोलि जस्तो भयो भने भोलि देखि तपाईको व्यवसायमा ध्याम्मै धक्का लाग्ला है ख्याल गर्नुस है | बोलि र गोलि एक पटक निस्के पछी आर्काको हुन्छ | सम्हाल्न सकिदैन | अस्तु |

No comments:

Post a Comment