Grab the widget  Get Widgets

18 September 2020

अल्छिलाई बल्छि

खोइ केही काम गरौँ भन्छु, भोलि गरे पनि हुन्छ जस्तो लाग्छ, आज चैं त पक्का सुरु गर्छु भन्छु, फेरि बादल लागेछ, हिजो सुरु गर्न खोजेको, टन्टलापुर घाम लागेर मुड अफ, आज बादल, फेरि भोलि पानी पर्ने होला।

हत्तेरीका! कैले होला फ्रेस हुने! केही गर्न खोज्यो, कैले लकडाउन, कैले सट्डाउन, कैले कर्फ्यु, कैले के? कैले के? कति झ्याउ लागि सक्यो, तर काम चैं सुरु नै गर्न सकिएको छैन। के गर्ने होला?

फ्रेस भएको मुडमा सुरु गर्छु भन्छु, कैले फोन आएर डिस्टर्ब, कैले टाउको दुख्ने, कैले पेट दुख्ने, ह्या...! के हो? के हो? 

यस्सो अल्छि नगरम भनेर यो क्वारेन्टिनमा एउटा काम गरुम भनेको, यस्तो अल्छि लाग्छ? दिमाग खराब! मलाई मात्रै हुन्छ कि तंलाई पनि हुन्छ पासा? भनेर सोधेर ल्यायो त पासाले। 

मैले पनि भन्दिएँ, अल्छिलाई बल्छि भनेको यहि हो पासा! बरु माछा मार्न गए अहिले सम्म कति वटा माछा परि सक्थ्यो होला। अस्तु!

03 September 2020

लौका

आज लौकाले सान दिएर भन्यो, "देखिस, ह्या ! यो लौका पनि के खाने? भनेर भन्थिस नि! मनुवा! अहिले मेरो भाउ कति पुग्यो? था पाइस?"

मनुवा: त्वाँ परेर, लौका तिर हेर्दै, मनमनै हांसेर भन्यो, "हुंदा हुंदा, अब लौकाले पनि हेप्ने दिन देख्नु पर्‍यो। तेस्काबाजे!" 

यो कोरोनाले गर्नु गर्‍यो, महंगो नि कति हो? पैसा त कागज पो भएछ। यो सरकार, के सरकार भन्ने! यो दुई तिहाईले नेपाली पैसालाई कागज सरह भनाइ सकेछ। कता हो अनुगमन? कता हो नियन्त्रण? जथाभावी बजारभाउ भैसकेको छ। सरकारको दिमागमा कोरोनाले सिथिल बनाएछ कि क्या हो? पैसा आउने बाटोमा कोरोना लागेको छ। खर्च गर्ने बाटो खुला चौर जस्तो मात्रै होइन बाढी पैर्‍होको खोलो जस्तो भैसक्यो। खर्चको खर्च।

जे पनि प्रधानमन्त्रीले नै भन्नु पर्ने? हाम्ले भनेको कुरा नसुन्ने? 

यो लौकाको भाउ पनि प्रधानमन्त्रीले नै तय गर्नु पर्ने? अस्तु!

07 August 2020

अनलाइन क्लास

आर्को बिहान मैले तलब आयो भनेर पैसा गन्दै थिएं । बुढी औंलामा थुक राख्दै यति धेरै समय पछि बल्ल पढाएको पैसा पाएं भनेर दङ परेर नोट गनिरा त !

आयो ! आयो ! खुब आयो ? लकडाउन अघि पढाएको त पैसा ल्याउन नसक्ने मार्सापले अनलाइन पढाएको पैसा पाएं भएर गन्दै रेछ। कैले पो पैसो गन्ने हो ? अनि अनलाइन भनेर घण्टौं घण्टा घरको ढोका थुनेर पढाएर नि हुन्छ ? कस्ले बुझ्छ ? मैले त बुझ्दिन ! तिम्रा ति बिद्यार्थीहरु सुतेर बसेका छन कि उठेर डुलेका छन, तिम्ले देख्छौ र? कुरा गर्छ ! के के न गरें भन्दा हुन यी बुढा! तिम्रो यो अनलाइन पढाइ त एक छेउ नि पट्याउन सक्दिन । क्लासमा पढाए जस्तो हुन्छ र? हामी स्कूलां पढदा संगैको केटोलाई हैरान खेलाउदै पढ्दा जस्तो, त्यो कोठाको ढोका थुनेर पढाउदा रमाइलो हुन्छ ? कुरो गर्छ ! तिम्रो कलेजको हाकिमले त पट्याउंछ कि पट्याउंदैन ? 

हैन ! तिमि संधै ढोका लाएर अनलाइन क्लास छ भनेर बस्छौ । पढाएको छौ कि त्यो सामाजिक संजाल चलाएर के के समाचार हेरेर बस्छौ हं ? मलाइ त शंका लाग्छ है बुढा !

Online Class


त्यो तिम्रा बिद्यार्थीहरुका बाउ आमाहरुलाई पनि शंका नै लाग्दा हुन । अनि किन फिस तिर्ने ? छोरा छोरी घरमा ढोका लाएर के के गर्छन के के ? के गर्छ ? भनेर सोध्यो भने जहिले नि अनलाइन क्लास छ भन्छ्न। यस्सो पसलमा जा ! तरकारी किनेर ल्या भन्दा पनि क्लास नै छ भन्छ । अनि यो अनलाइन क्लास भन्ने जतिखेर नि क्लास भै रहने हो ? मैले हेर्दा त दिनैभरी कोठामा धुम्धुती बसेका मात्रै देख्छु। अनि केहि भन्न पनि नहुने । झर्केर बोलेका छन, जवाफ फर्काएका छन । मान्छे पनि हो कि होइन ? खोइ के हो ? के हो ? छ्या के चलन आएछ। यो अनलाइन भन्ने बस्तु ? अस्तु।

06 August 2020

सरकारी नियुक्ति

बल्ल बल्ल सरकारमा बस्ने महान नेताहरुको बुध्दिले काम गरेछ। अनि हाम्रो मान्छे होइन राम्रोको चयन भएछ। सरकारले मलाई पनि ठुलै पदमा नियुक्ति दिने जमर्को गरेको रेछ। अहिले भने अलि पट्याउन गार्‍हो भयो। तै तै नियुक्तिमा आफ्नो नाम गएको थाहा पाए पछि म पनि जबरजस्ती दङ्ग पर्नै पर्‍यो। 

नियुक्तिको कुरो भन्दा नि ठुलो कुरो मेरो लागि त तलब नै भयो। आम्ममा ! यो देशमा बौध्दिक सम्मान हुन्न भनेर अब कस्ले भन्छ? मलाई बिश्वास नलागे पनि बिश्वास गर्नै पर्ने भयो। अब चै पट्याएं है।

मैले तलब मेरो हातमा आउंदाको अवस्था अनुमान गरेर पैसा गन्दै थिएं। बुढीले ठ्याक्कै उठायो। ए बुढा ! के गरेको ? के हो ? निकै तलब पाए जस्तो पैसा गन्दै छौ त ! खोइ पैसा ? 

हत्तेरीका बुढी ! अलिक पछि ब्युंझाउनु पर्ने नि ! पैसा गन्न नै पुगेको थिएन ! सरकारले मलाई ठुलै पदमा नियुक्ति दिइराथ्यो ! उठाइ हाल्यो । अनि तलब नि कति कति ! आहा ! कति मीठो सपना पो देखिएछ। होइन बुढी ! यो बिहानको सपनाको कुरो सांचो हुन्छ भन्छ। नयाँ नियुक्तिमा पर्छु कि क्या हो ? अस्तु!

03 August 2020

धुर्त मान्छे

हैट! पासा त बडो धोकेबाज पो रेछ। खत्तम नै पार्‍यो नि, बर्बाद नै पार्‍यो नि बाबै! झण्डै खाल्डोमा जाकेको। अस्ति त्यो मुला पासाले एक ठाममा जाम भन्यो। म पनि सोजो मान्छे खुरु खुरु गैदेको है, अनि त्यो मान्छेलाई चिनाइ पनि देको है! कुरो मिलुन्जेल त म संग ज्यान फालेरै मिलेको जस्तो नाटक गर्‍यो। 

मैले पनि ओहो पासा त क्या खासा रेछ, भनेर दङ्ग परेर ल्याको त लौ, त्यस्ले त गर्ल्याम गुर्लुम पारेर मलाई त झण्डै खसालेन। त्यो मुलाको के कुरा मिलेन कुन्नी! मलाई नै खत्तम पार्न पोल्टिस पो गरेछ त। खातेले त के के कुरा लाएछ मेरो मान्छे संग। मैले नै चिनाई देको मान्छेलाई मेरो बारेमा अन्तसन्त कुरा गरेर मलाई नै खत्तम बनाएछ भन्या! अनि मेरो अगाडि मलाई चै सब ठिकठाक! भन्दो रेछ। #तेस्काबाजे! भन्दै दिक्क मानेर मेरो साथीले मलाई गुनासो गर्‍यो। 

साथीलाई कस्ले के गर्‍यो? भन न भनेर मैले पनि ढाडस दिंदै भने। हेर साथी म छु नि भन न के गर्नु पर्‍यो? कस्ले तिमिलाई खाल्डोमा राख्न थाल्यो? अनि तिमी जस्तो बाठो मान्छेले पनि कसरी चाल नपाएको नि?

साथी: कसरी चाल पाउने यार! संधै संगै खाने बस्ने पासा हो त्यो पासा। तिमिलाई जस्तै नै बिश्वास गर्ने गरेको। तर त्यो पासा त ज्यादै स्वार्थी निस्क्यो यार। म संग संगै हिंड्ने, खाने डुल्ने गर्दा गर्दै पनि मेरै बारेमा अरु मेरा साथीहरूलाई अर्थको अनर्थ लाग्ने गरेर कुरो लाएर  षड्यन्त्र गरेछ। मेरो हुनै लागेको काम पनि बिगार्देछ। पासा त गए गुज्रेकै रहेछ।

थुक्क! त्यस्ता पासा पनि पासा हुन्छ। त्यो मुलालाई धुलो चटाउन लाउनु पर्ने। काममा नै धक्का दिने गरेर नि धोका दिने? लौ साथी त्यस्ता साथीलाई अहिले नै छाड्देउ। पासालाई तिमिले चिनिहाल्यौ केरे! अनि पहिले पहिले बुढा पाकाले भन्ने गरेको उखान टुक्का छ नि, हरेक टुक्कामा कारण हुन्छ? "मान्छे तौलिने एक पटक, सुन तौलिने सय पटक भन्न्छ। 

अब त्यो पासा संग दोस्ति छाड्देउ। अस्तु!!!