Travel Consultant at Tripitak Holidays, Blogger, Lecturer, Content Writer, Story Teller.
Monday, 22 June 2020
Saturday, 20 June 2020
Friday, 19 June 2020
हत्तेरिका ईन्टरनेट !
आज त झन बिहानै देखि अनलाईन क्लास लिनु पर्यो भनेर मेरा विद्यार्थीहरुसंग पहिला मेसेन्जर मै खबर गर्दै जूममा ठिक्क समयमा आउनु है भन्दै जानकारी दिंदै थिएं, क्लास सुरु हुने बेलामा यो ईन्टरनेट भन्ने चीज स्वाट्टै हरायो। पहिला त मेरो ल्यापटपलाई के भयो? भनेर एताउता हेरेर Restart गरें। Zoom App पनि Restart गरें। तर पनि आएन। अनलाईन क्लासमा आएका विद्यार्थीहरुले के भने होलान! कस्तो मास्टर साब होला! अनलाइनमा आउँदा आउंदै गायब भयो भने होलान, कतिले कुरेर बसे होलान, कतिले सुतेर बसे भने होलान, यतिले नपुगेर कतिले बल्ल बल्ल क्लास ज्वाईन गरेको आजै मास्टर साब त बेपत्ता भने होलान।
अनि यो ईन्टरनेट दातालाई फोन गर्दा त पटक्कै उठेन। अरु बेलामा तुरुन्तै उठाउने मर्मतका स्टाफहरुलाई सायद भ्याइ नभाइ भयो कि? वा तलब नपाएर वास्ता गरेनन कि? वा आ...! छु मतलब भनेर हुन कि? फोन लागेर पनि उठेन। मलाई भने उकुस मुकुस भयो। सन्देश दिन पनि भ्याएन। हामी कति निर्भर रहेछौं यो ईन्टरनेटमा! ओहो! कहिले काहिँ विद्यार्थीहरु गाएब भयो भने किन हराएको भनेर सोध्ने मास्टर साबलाई आज भने अचाक्ली टेन्सन भयो।
बल्ल एस एम एस आयो ईन्टरनेट दाताले सिस्टम डाउन भन्यो। भने पछि मैले लिएको दाता सप्लाएरका सबैको ईन्टरनेटले साथ नदिने भयो। अचम्म त के भने मेरो एरियामा बिजुली गुल भए पनि ईन्टरनेट पनि गुल। सोलार ले पनि नचल्ने।
क्या बोर भयो। अब कुरो के भनेनि काठमाडौंमा ईन्टरनेटको यस्तो हालत छ। बाहिर प्रदेशमा यो सेवा कति भर पर्दो होला? सरकारले दुर शिक्षाको कल्पना गरीरा बेलामा यस्ता आधारभुत ब्यबस्थालाई प्राथमिकता दिनु पर्छ। नत्र सरकारको योजना किताबमा मात्रै सिमित रहने हुन सक्छ। बेलैमा सचेत हुन सेवा दायक र सरकारलाई अनुरोध छ। अस्तु।
Wednesday, 17 June 2020
Monday, 15 June 2020
पब्जी
अब त पसल पनि घरमै आएर दैनिक खाध्य सामान भान्सा सम्म पुर्याइ दिने भएछ, हाम्रो घर पनि अटोमेटिक भएछ, बाथरुम पनि स्वचालित भएछ। नुहाउंछु भन्ने मनमा आउनासाथ स्याम्पू रेडि, साबुन रेडि, पानी आउने धाराको तापक्रम पनि मेरो ज्यानको तापक्रम संग मिल्ने, अनि बाथरुममा जाने बित्तिकै लुगा पनि आफसे आफ फुकालिने जमाना आएछ। स्याम्पू सरर टाउकोमा फिंज फिंज, ज्यानमा साबुन र पानीले मसाज अनि बाथटबमा मनतातो पानी, खै कता कताको प्वालहरुबाट तातो चिसो पानीको फोहरा। आहा ! क्या आनन्द !
यो गर्मीमा जैले नुहाउंदा नि आकाशे पानीको भरमा मात्रै कति नुहाउने ! बल्ल आज मौका मिल्यो, यो स्वचालित भन्ने पनि गज्जब नै हुने रहेछ। यो कोरोनाले यस्तो अल्छी बनाउला जस्तो लागेको थिएन।
खास गरी यो महत्त्वपूर्ण खेल पब्जी खेलेको बेलामा कसैले बोलायो भने दिमाग नै खराब हुन्छ हो। ठ्याक्कै आफुले मज्जाले जित्ने, खाने बेलामा खाना खान बोलाइ दि रा भने। आफुले बल्ल बल्ल कोरोनाको समय सदुपयोग गरीरा बेलामा बिच बिचमा डिस्टर्ब हुने गरेर घरका मान्छेहरुले बोलाइ दिने गर्दा त, ओहो यस्तो झ्याउ लाग्छ कि। अनि हेड फोन लाएर खेलिराछ, भन्ने थाहा हुंदा हुँदै पनि चिच्याएर पो बोलाउंछ्न। कस्तो नबुझ्ने भने ! यसपाली त पब्जीमा टप हुन्छु भनेर बिहान देखि दिशा पिसाब नै नगरी खेलिरा है, ठ्याक्कै जित्ने बेलामा खान आइजे आइजे भनेर क्या डिस्टर्ब गर्दिरा भने। खत्तम नै हो क्या !
अनि भन पासा! तेरो घरमा के छ? तेरो बौले नेटको पैसा त तिर्दिरा छ नि। मेरो त कस्तो लोभी बौ छ भने नेटको पैसा नै तिरिदिन्न पो भन्दिरा भने। न दिने भए यो लकडाउन सकडाउन मलाई था छैन साथीको घरमा गएर खेल्दिन्छु भनेर धम्की देको त बौ त थरर भएर एक बर्ष कै रिन्यू गर्दिरा भने। अनि फेरि पब्जी नखेल रे क्या ! क्या भन्दिरा मेरो बौ त कुरै नबुझ्ने क्या! अब त बाथरुम पनि अटोमेटिक छ मेरो, पब्जी खेल्दै नुहाइन्छ।
ए लम्फु! के गर्दैछ्स! छिट्टो आइजे। हैट! क्या मजाको बाथरुम थियो! नुहाउन नपाई नै ब्युंझाइ दियो। आ ! अब के नुहाउने यो आकाशे धारामा। अस्तु।
Sunday, 14 June 2020
क्वारेन्टाइन जिन्दगी
बल्ल तल्ल नेपाल आइयो! क्वारेन्टाइनमा बस्नु पर्यो। क्वारेन्टाइनमा सरकारले राख्ने भनेसी मनमा अनेक कुरो आयो। कति पैसा लिने हुन वा सित्तैमा खुवाउने हुन। यतिका दिन सम्म, न खाना, न पानी, न घर, न घाट भएर बसेको। बल्ल बल्ल आफ्नो देश आउन पाएको छ। बाटोमा कैयन दु:ख पीडा सहेर आएको छु ।
नेपाल आउंदा, क्वारेन्टाइन त गज्जब नै रहेछ। आम्मामा ! दिनको दुई पल्ट खाना बिहान बेलुकी खाजा र चिया। क्या ! आनन्द ! अब हरेक बिहान दुध, दुधको चिया, अण्डा दुइटा, अम्लेट, आलु चट्ट फ्राइ गरेको, दुइटा जति प्यान केक, अलिकति बिन्स, दुईवटा जति टोस्ट पाउरोटी अनि फ्रुट जुस पनि चट्ट खान पाए त १४ दिन भन्दा बढी क्वारेन्टाइनमा बस भने पनि कम्पप्लेन चैं गर्दिन बा! अनि दिउँसो यस्सो फ्रेस फलफूल अनि चिसो जुस अथवा चिया, कफी पाए त धरोधर्म यो सरकारको जय जयकार गरेर बस्छु|
बाटोमा खाना खान नपाएर जिन्दगी नै ध्वस्त भयो जस्तो लागेको थियो अब घर आइपुग्ने बेलामा खातिरदारी राम्रो भयो भनेसी आनन्द भो| यो गर्मी चैं सरकारले नियन्त्रण नै गर्न नसकेको अवास्था छ| पंखाको सट्टा ए सी, म्याट्रेसको सट्टा राम्रो खालको खात अनि भेन्टिलेसन सहितको कोठा भएको क्वारेन्टाइन भए त यो मेयर सेयर र सरकारको राजिनामा माग्ने नै छैन|
ओ भाइ ! कता हराएको ? लौ यो पाउरोटी खाउ, अनि यो कालो चिया पनि राख्देको छु है ! दिउंसै सपना देखेर बस्छ्न यो क्वारेन्टाइनमा पनि। अझै दिन गनेर बस बांकी छ। अलि दुरि मिलाएर पनि बस। यो तिम्रो घर हो र?
बिचरा झसङ्ग भएछ। ब्युंझिदा त तहरोमा पो रहेछ। तै तै सपना देखि हालेका छ्न हाम्रो सरकारले क्वारेन्टाइनको रुप बदलिदिन्छ कि? अस्तु।
Monday, 8 June 2020
Friday, 5 June 2020
कोरोना न सोरोना
एक दिन मेरो जिग्रीले फोन गर्यो।
ए जिग्री! आजकाल तेरो काम छैन होला मेरो काम गर्दे न! म यता उता हिंडी राख्नु पर्छ। समाज सेवा गरीराछु। कोरोनाले डराएका छर छिमेकीहरुको सेवामा छु। औषधि लिन जान न सकेकाहरुलाई औषधि पसलमा गएर किनेर घर घर पुर्याइ दिने गरेकोछु। तरकारी छिमेकीहरुलाई पनि घर घर पुर्याइ दिने गरेको छु। के गर्ने? जिग्री! समाज सेवा गर्नै पर्यो? भोलिको भोटर हो। एक दिन कस्सो नजितिएला यो जीवनमा!
हेर पासा! म तेरो जिग्री त पक्कै हो। तर तेरो चाला मलाई निको लागेन है! घर घर डुल्ने काम छोड। कोरोनाले तंलाई छुंदैन र? यसरी डुलेर हिंड्न हुंदैन। अनि तंलाई यसरी हिंड्न कस्ले अनुमति दियो?
हेर जिग्री! यस्तो अनुमती सनुमती भन्ने मलाई नसिका। एक दिन दुइ दिन पो घर बसिन्छ। यसरी महिनौं सम्म नि घर बस्छ? तेस्का बाजे! घर बस्दा बस्दा पागल हुन लागि सक्यो। बरु यसरी समाज सेवा गर्दा मन आनन्द हुन्छ। मान्छेहरु पनि कति डराएका?
धत! यसरी डराएर नि काम हुन्छ? खोइ ! म त यता उता सहर बजार जतासुकै हिंडेकै छु। अस्ति आर्को जिल्ला पनि गएर आएं। तं मुला त डरपोक रहेछ। थुइक्क ! तेस्ता कोरोना सोरोना हाम्लाई लाग्दैन बुझिस। ढुंगा खाएको जिन्दगी हो। ढुंगा ! यस्ता कोरोनाले केही हुन्न।
हेर पासा! तैंले जे गरेर हिंडेका छ्स नि मलाई त ठिक लागेको छैन है! अनि तेरो कोरोनाको जाँच गरीस त?
हे मुला ! कति डराएको? म तेरो घर आएर भेटेर देखाइ दिम्ला मलाई कोरोना ले मलाई छुन्न भन्ने कुरो।
भो भो पासा! तं मेरो घर आउने कष्ट नगर! यो फोन बाटै सर्ला जस्तो भै सक्यो। बरु फोन राख। अस्तु!
कोरोनाको डरले सिर्जना भएको उदासिनता
आजकाल मलाई अति डर लाग्छ। समाचार सुन्दा पनि रिस उठ्छ। सामाजिक संजालमा आएको झुठो सांचो समाचार पढ्दा पनि चित्त दुख्छ। दुखभरी गीत सुनेर आँसु आउँछ। दुर्घटनाको समाचार सुन्दा यो मन बहकिन्छ। बोल्न पनि मन लाग्दैन। एकै ठाउँमा पनि बस्न मन लाग्दैन। मनोचिकित्सकको कुरा सुन्दा अलि सहज हुन्छ।
घर परिवार, साथीहरू संग कुरा गर्दा मलाई गिज्याए जस्तो हुन्छ। यो किन गरेको ? भनेर सामान्य प्रश्न सोधे भने नि जिरिङ रीस उठ्छ। हुंदा हुंदा, मोबाइल र टेलिफोनको घण्टी बज्दा पनि यो मन भारी हुन्छ। कोरोना लागेको छ भनेर दुखद समाचार आउने हो कि? भनेर। धेरै संका लाग्छ। मेरो बारेमा कसैले जासुसी गरेको छ कि भनेर।
कसैले काम अर्हाए भने त ठ्याक्कै उल्टो काम गरुम या वास्ता नै नगरुम जस्तो लाग्छ। कसैले बोल्यो भने जिब्रो थुत्दिम जस्तो लाग्छ।म तिर हेरेर अरु कसै संग कुरा गरेको देख्दा मेरै कुरा काटेर बसेको जस्तो लाग्छ। अनि झन रिस उठ्छ।
डाक्टर साहेब ! मलाई के भएको हो। तपाईं संग मैले यति भने। अरुलाई हो भने त अहिले सम्म भुत्ल्याइ सक्थें होला। तपाईंले मेरो कुरो सुन्नु भयो। तर अरुले मेरो कुरो नै सुन्दैन र बुझ्दैन पनि, के गर्ने ? यस्तो जीन्दगी कसरी बांच्ने?
आफ्नो परिवारमा यस्तो व्यवहार देख्नु भएमा मनोचिकित्सक संग सल्लाह लिएर, मनमा आएका कुराहरु शेयर गर्न सघाउनु पर्छ। अहिले कोरोनाको संक्रमणले गर्दा एकान्तबासमा बस्नु पर्दा र दिनभरी कोरोनाको समाचार सुन्दा सुन्दा संसारभर मानसिक बिरामीको समस्या बढेकोछ।
(नोट: एक जना बिरामीले मनोचिकित्सक संग गरेको बार्तालापमा आधारित कथा हो कसै संग मिल्न गए संयोग मात्रै हुनेछ)
Subscribe to:
Posts (Atom)