Grab the widget  Get Widgets

20 October 2025

गल्ती निकाल्ने मेसिन

तिहार नजिकिँदै थियो। बजारभर विभिन्न थरीका रङ, मिठाई र दियोको चहलपहल थियो। काले र गोरे पनि तिहारको किनमेल गर्न हिँडेका थिए। बाटोमा कुरा गर्दै जाँदा गोरेले अचानक भन्यो, “यार काले, यो श्रीमती भन्ने प्राणी पनि अचम्मको हुन्छ नि! जे गरे पनि गलत नै ठहराउँछे।”

काले हाँस्यो, “मेरो त झन् त्यसभन्दा बढी खतरनाक छ। बिहान चाँडै उठेँ भने, ‘आज के हो र बिहान बिहानै उठेछस्!’ भन्छे। ढुक्कसँग सुतिरहेँ भने ‘यो घरको काम म मात्रै गर्ने हो नि! तिमी त राजा साब नै भयो!’ भन्छे।”

गोरेको अनुहारमा ठट्टाको मुस्कान फैलियो। “अनि हेर त, अस्ति बिहान पानी तान्ने मेसिन चलाउँदा ‘सबैलाई डिस्टर्ब गर्‍यौ!’ भनी। हिजो बेलुकी चलाउँदा ‘बिजुली महँगो हुन्छ, हैन! थाहा छैन!’ भनी। अब के गर्ने?”

कालेले हाँस्दै उपाय बतायो, “बिजुलीको दररेट सहित तालिका बनाएर मेसिनको अगाडि टाँस। जब भाउजुले पानी तान भन्नुहुन्छ, त्यही बेला मात्रै चलाऊ। अरु बेला तान्यौ भने फेरि फस्ने खतरा हुन्छ!”

दुबै हाँस्दै बजारतिर लागे। बाटोमा कुरैकुरामा कालेले भन्यो, “स्वास्नी भनेको गल्ती निकाल्ने मेसिन हो, हामीचैं गल्तीको कच्चापदार्थ।”
तीन दिनपछि तिहार आयो। घर घरमा दियो बल्यो, आंगनमा रङ्गोली र मुखमा मिठाईको स्वाद। गोरेले हाँस्दै कालेलाई फोन गर्‍यो, " यार! म त दियो बाल्दै छु, तर स्वास्नीले आज पनि भनिन् ‘यो दियोको आकार नै ठीक भएन!’ अब भन त, त्यो पनि मेरो गल्ती?”

काले ठट्टायो, “गल्ती त हामी नै हौं नि यार, तिहारमा पनि।”

दुबै तिहारको हाँसोमा हराए।

शुभ दीपावली! हरेक घरमा शान्ति, हाँसो र मिठासको उज्यालो फैलियोस्। अस्तु।

19 October 2025

"एक्लोपनाको घर"


शहरको भीडभाडभित्र एउटा सानो घर छ, जसमा बाँचिरहेका छन् केही थाकेका अनुहारहरू र अधुरा सपनाहरू। त्यो घरमा बस्ने मानिसहरूका कथा आ-आफ्नै छन्, तर पीडा एउटै।

घरको जेठो मान्छे, कान नसुन्ने बुबा, बिहान बिहान साथीको स्वास्थ्यको चिन्तामा डुब्छन्। आफ्नै शरीर थाकिसकेको छ, औषधि खानु पर्ने समय बिर्सन्छन्, तर साथीको लागि चिन्ता गर्दै फोन मिलाउँछन्। अनि भन्छन् , मेरो साथीसँग अब कोही छैन, छोराछोरीहरू सबै विदेशतिर दौडेका छन्। पैसा पठाउँछन्, तर माया पठाउँदैनन्। त्यसैले मैले हेर्न जानु परेको छ। 

त्यस घरकी आमा अझै पनि अस्पतालभन्दा झारफुकको भरमा बाँचिरहेकी छन्। औषधिको नाम भन्दा “झांक्री बाजेको मन्त्रले ठीक हुन्छ” भन्छिन्। उनको विश्वास पुरानो समयमै अड्किएको छ।

त्यो घरको मुख्य ढोकाबाट भित्र पस्दा खेरि एकजना थकित मान्छे देखिन्छ। दैनिक श्रमको गन्धमा भिजेको, त्यो मान्छे बिहानदेखि बेलुकीसम्म पसिना बगाएर घर फर्किन्छ। हातमा झोला नभए उसलाई घरमा स्वागत होइन, हप्कीदप्की मिल्छ। “सारा दिन के गरेर आयो कुन्नी? फर्किंदा यस्सो तरकारी सरकारी बोकेर आएर के बिग्रन्छ र?” भन्दै श्रीमतीको कर्कस आवाज घन्किन्छ।
उ उसकै घरको सबैभन्दा बढी जिम्मेवार बोक्ने मान्छे हो, तर उही घरमा उ नै सबैभन्दा एक्लो हुन्छ। एकोहोरो काम गर्दै गर्छ, बोल्दैन, सुन्छ मात्र। नुहाउने बेलामा टंकीमा पानी सकिन्छ, खाने बेलामा थालमा खाना कम पर्छ। उसका लागि “फुर्सद” भन्ने शब्द मानौँ शब्दकोशमा मात्र बाँकी छ।

तर जब उ निद्रामा जान्छ, मनमा एउटै प्रश्न बजिरहन्छ,
“घर भरी मान्छे भएर पनि किन सबै फरक व्यबहारमा चलेका छन्?
किन सबैको आत्मा बिस्तारै मरेजस्तो लाग्छ?”

र बिहान फेरि ऊ उठ्छ, उही जीवन दोहोर्याउन, एक मान्छे भएर, तर मेसिनझैँ। अस्तु।

12 October 2025

अपना कोहि नहिं होता हे

सिखो अपनो से
सपने तो हर कोहि देख सकते हैं
ईश संसारमे कोहि अपना नहिं होता हे,
खुदका लास भि छोडकर जाना पडता हे।

11 October 2025

अभागी बुढा

कालुको दिनचर्या सधैं एकनासको थियो। बिहान उठ्नेबित्तिकै गोठमा गाईवस्तुलाई दाना दिन्थ्यो, त्यसपछि तीन धाराबाट घरको लागि पानी भर्ने उसको मुख्य काम हुन्थ्यो। खानपिन सकेर दिउँसो घाँस र दाउराको जोहो गर्न जंगलतिर लाग्थ्यो। 

साँझमा डोकोभरि घाँस र सुकेका दाउरा लिएर फर्किएपछि बेलुकीको खाना पकाउन चुल्होमा दाउरा मिलाउँथ्यो। घरपरिवारको लागि उसले मरिहत्ते गर्थ्यो, तर उसलाई भने पानी पिउन मन लाग्दा जगमा पानी हुन्नथ्यो, भोक लाग्दा थालमा खानेकुरा हुन्नथ्यो। ऊ आफूलाई सधैँ अभागी ठान्थ्यो। घरमा कसैलाई पनि उसको महत्त्व याद थिएन।

​एकदिन अचानक कालुलाई मुटुको व्यथाले समात्यो र केही घण्टामै देहत्याग गर्‍यो।

​लाश उठाउने बेला भयो। घरपरिवारका सदस्यहरूले अन्तिम श्रद्धाका लागि उनको मुखमा जल हाल्न खोजे। तर, घरभरि कतै पानीको थोपा पनि भेटिएन। जग र गाग्री सबै रित्ता थिए।

​त्यसपछि मात्र सबैले बल्ल भेउ पाए, "बिचरा बाले नै घरभरि पानीको बन्दोबस्त गर्नुहुँदो रहेछ। आज बालाई मृत्युपछि जल चढाउने बेलामा घरमा एक थोपो पानी छैन रहेछ।"

​घरका एक सदस्यले बोले, "बाले पूर्वजन्ममा धेरै पाप गर्नुभएको रहेछ, हाम्रा बा ले। यस्तो छ कर्मको फल। लौ हेर, मृत्युपश्चात् पनि उहाँले पानीको व्यवस्था आफैले नगरेकाले जल चढाउन पाइएन।"

​यो मार्मिक घटनाले हामी सबैलाई एउटा महत्त्वपूर्ण सन्देश दिएको छ, घरको काम कुनै एक व्यक्तिको मात्र जिम्मेवारी होइन। घरको हरेक काममा सबैले मिलेर हात बटाउनु पर्छ र एकअर्काको श्रमको कदर गर्नुपर्छ। कसैको महत्त्व उसले यो संसार छोडेर गएपछि मात्र थाहा पाउनु ठूलो भूल हो। समय छँदै हरेक सदस्यको योगदानको सम्मान गरौं र जिम्मेवारी बाँडौं, ताकि कसैले पनि कालुले जस्तो नियति भोग्न नपरोस्। अस्तु!

09 October 2025

धर्मात्मा बजै

​छाँयादेवी बजैको बोली त सर्पको टोकाइभन्दा पनि कडा। मन्दिरमा गएर ठूलठूला दान गर्छिन्, हर हप्ता सत्संगमा गएर 'जय माता दि' भन्छिन्। तर छाँयादेवी बजैको दिनचर्या भने बिहान उठ्ने बित्तिकै गाउँका मान्छेको कुरा काटेर मात्र सुरु हुन्छ। 'यसको यस्तो, उसको उस्तो' भन्दै नुन, तेल, खुर्सानी सबै हालेर कुरा नबनाएसम्म उहाँलाई खाना नै नपच्ने!

​घर परिवारको कुरा के गर्नु? उनको यो 'मिठो' बानीले गर्दा छोराछोरी, बुहारी सबैले वाक्क भएर घर छोडे। विचरा श्रीमान पनि कति दिन सहनु, बुढो भए पनि शान्तिको खोजीमा एक्लै बस्न थाले। बजै भने बाहिरबाट 'म कति धर्मात्मा!' भनेर गाउँभरि फुर्किन्छिन्, तर घरभित्रको सन्नाटाले उनको दिमागमा कत्ति पनि घोचेको छैन।

​कसैले हिम्मत गरेर "बजै, अलि बोली सुधार्नुस् न" भन्यो भने आम्मामा! उल्टै 'तँ को होस मलाई सिकाउने?' भन्दै यस्तो गाली गर्छिन् कि राम-राम! सम्झाउने मान्छेको मुखै रातो हुने गरी टालिदिने। त्यसैले आजकाल गाउँलेहरू बजैलाई देख्नेबित्तिकै बाटो फेर्छन्। कोही पनि उनीसँग बात मार्न चाहँदैनन्।

​"हे भगवान्, यी बजैको बुद्धि कहिले फर्किने होला?" भनेर गाउँलेहरू भगवानलाई गुहार्छन्।

​यी बजैलाई सम्झाउनु भनेको साँढेको अगाडि बाँसुरी बजाउनु जस्तै हो। तर एउटा उपाय छ भन्दै गाउंलेहरु मिलेर यसो गरे कसो होला भनेर सल्लाह गरे।

'जस्तालाई त्यस्तै' थेरापी: अब गाउँका कसैले पनि बजैको कुरा नसुन्ने। उहाँले कसैको कुरा काट्न थाल्नेबित्तिकै सबैले मुख बिगारेर हिँड्ने वा उल्टै उहाँकै बानी 'दान र बोलीको भिन्नता' माथि ब्यङ्ग्य गर्ने। जस्तै: "आहा! बजै, तपाईंको बोली त सत्संगको प्रसाद जस्तै मीठो छ! आज कसको कुराको भोग लगाउनुभयो?" यसरी उनलाई लाजले छुनुपर्छ।

​मन्दिरमा पर्चा टांस्ने: सबैले देख्ने गरी मन्दिरको भित्तामा वा सत्संग हुने ठाउँमा ठूलो अक्षरमा लेखेर टाँसिदिने: "जसको बोली मीठो छैन, उसको दान र धर्म केवल देखावटी हो।" सायद, धर्मको डरले उनलाई चेत आउँछ कि!

​अन्त्यमा, छांयादेबी बजैको बुद्धि कहिले फर्कला? कमेन्टमा लेख्नु होला है। अस्तु।

08 October 2025

फूलबारीको शान्ति

​एकादेशमा, गाउँको फेदीमा सानो झुपडी थियो। त्यहाँ रामबहादुर र उनकी श्रीमती सीता बस्थे।

​रामबहादुरलाई आफ्नै घर-आँगन, बारी-बगैंचा चिटिक्क परेको देख्दा मनमा अचम्मै शान्ति मिल्थ्यो। बिहान-बेलुकी गाउँका चौतारीमा चियागफ गरेर समय काट्ने मानिसहरूको संगत छाडेर उनी सधैँ खुर्पी समातेर फूलबारी गोड्थे, घरको छेउछाउमा आँप, अभोकाडो, भोगते, अम्बाको रुख र सुन्तलाको बोटमा पानी हाल्थे।

​तर, सीताको मनमा भने यो मान्छेले नोकरले गर्ने काम मात्रै गर्छ भन्ने परेको थियो। उनी आफै भने घरको सबै परिवारका लागि चुलो-चौका सम्हाल्थिन्। रामबहादुर काम गर्दा गर्दै निथ्रुक्क पसिना पसिना परेको देख्दा उनी नाक खुम्च्याउँथिन्। "ए होइ, रामबहादुर! सारा गाउँलेको लोग्नेमान्छे काममा जान्छ, पैसा कमाउँछ। तपाईं चाहिँ आफ्नै घरको नोकर जस्तो गरेर पैसा नआउने ज्यामीको काम गर्नुहुन्छ! तपाईंले गर्ने काम हो त्यो?"

​सीताको यो तीतो वचनले रामबहादुरको मन कुँडिन्थ्यो, तर उनी जवाफ फर्काउँदैनथे। मनमनै भन्थे— 'घरलाई रानी जस्तै सजाउँदा कसरी नोकर भइन्छ र, कुन्नी? यो कामलाई यस्ले कहिले नसहने भो! यो कामलाई त सौता नै मान्छे।'

​एकदिन, सीतालाई टाउको दुखेर साह्रै गाह्रो भयो। उनले घरको दलिन र भित्तातिर हेरिन्। रामबहादुरले मेहनत गरेर सफा बनाएका झ्यालका सिसाहरू टल्किएका थिए। बारीको कान्लामा सुन्दर फूलहरू हाँसिरहेका थिए। चौर सफा, बगैचाको बारमा घाम चम्किरहेको थियो।

​एक्कासि सीताले महसुस गरिन्, उनको शान्ति त यही चिटिक्क परेको घर र सफा आँगनबाट आइरहेको रहेछ। जहाँ शान्ति र सन्तुष्टि हुन्छ, त्यहाँ नोकर वा ज्यामी होइन, परिवारको प्रेमले वास गर्छ।

​उनी दौडेर रामबहादुरकहाँ गइन्, जो बगैंचामा काम गर्दै थिए। "घरमा गरेको काम नोकरले गरेको होइन, यो त मायाले गरेको हो र छ," सीताले गल्ती स्वीकार्दै भनिन्। एक्कासि यस्तो व्यबहार देखेर रामबहादुर मुस्कुराए।

​कुनै पनि काम कसैको बोझ वा दास बन्नु होइन। यो त प्रेम हो। जब आफ्नो घर चिटिक्क राम्रो हुन्छ, तब मात्रै मनमा बास्तबमा शान्ति छाउँछ। हरेक सदस्यले गरेको काम सेवा हो, नोकर होइन। अस्तु।

07 October 2025

कालेको मनगढन्ते तनाव

शनिबारको दिन, सुन्दरीजलको पदयात्राको उकालो बाटोमा हिँड्दै गर्दा कालेको अनुहारमा गुनासोको भारी देखियो। उस्ले आफ्नो भारी मनका कुरा संगै हिंड्ने साथीलाई बताउने बिचार गर्‍यो र भन्यो, “रामु, म तंलाई मेरा मनका कुरा भन्छु, अनर्थ नलगा है! मलाई त अहिले कोही कसैले वास्ता ब्यास्ता नै गर्दैन जस्तो लाग्छ। यार! अस्ति मामा आइपुग्नु भयो हगि! ‘सन्चै छ?’ भनेर पनि सोधेनन्। आजकाल मेरी प्यारी साली ले पनि फोन समेत गर्दिनन्, पहिले त समय समयमा के छ भेना? भनेर कुरा गरिरहन्थिन। अनि त्यो च्या पसलको साहुजीले त अनुहारै नहेरी चिया दिन्छ, यार! हुंदा हुंदा त्यो दूध बेच्ने केटीले पनि ‘दाइ’ भनेर सम्बोधन गर्न छोडी सकि भन्या! त्यस्तै त्यो मन्दिर अगाडि तरकारी बेच्ने च्याखुरीले त अस्ति बाटोमा नमस्ते धरी गरेन।” यस्तो कुरा मैले पहिले याद गर्दिन थिएं। अहिले मनमा आउँछ।

रामु हाँस्यो, “अरे काले, तैंले त मनमा भाँडाकुँडाको पसल जस्तै मनगढन्ते पसल खोलेछस् जस्तो छ। मान्छेले नमस्ते नगरेकोमा तं यस्तो चिन्ता गर्छस्? तं को होस्, गाउँको प्रधान मन्त्री हो?”
काले अझ गम्भीर, “तर यस्ता कुरा मनमा अड्किएपछि राति निद्रा पनि आउँदैन। सबैले बेवास्ता गरेको जस्तो लाग्छ।” क्यार्ने?

रामुले काँध थप्थपाउंदै भन्यो, “काले, यो त तेरो मनको खेला हो। अरुले के गरे, के भने भनेर अल्झिनु हुन्न, नत अल्झेर बस्नु पर्छ। तं आफ्नै सुरमा आफ्नै काममा मन लगाएर काम गर्न यार! अनि दुनियाँको पछि लागेर उस्ले यो गरे हुन्छ, तेस्ले त्यो किन गरेन? भनेर संसारको ठेक्का लिएर हिंडेर हुन्छ? यो सब छाडी दे, अनि सबै कुरा सामान्य लाग्छ। अरुले नमस्ते नगरेर दुःखी हुनु भनेको मानसिक तनाब बोक्नु हो, किन बोक्छस् हं!” थुक्क! 

काले केही बेर मौन रह्यो, अनि हाँस्यो, “हैन नि, तेरो कुरा सुन्दा लाग्यो, म त आफ्नै दिमागको हाटबजारमा अनावश्यक कुरा किनबेच गर्दैछु, कि क्या हो?”

त्यो हाईकिंगबाट फर्केर आउँदा कालेले रामुलाई भन्यो, “हो यार! तैंले भनेको कुरो ठिक लाग्यो, अब देखि म अरुले के गर्‍यो, गरेन भनेर होइन, म आफैंले के गर्न सक्छु भनेर सोच्ने र काम गर्ने गर्छु।”

वास्तवमा मनगढन्ते कुराले मन बिगार्छ रैछ। बेकारमा अरुले वास्ता गरेनन् भनेर दिमाग खराब गरेर बसेछ। आफ्नो मूल्य आफैले बुझ्ने हो, सकारात्मक सोच राख्ने र आफ्नो काममा आफैले ध्यान दिने हो, आर्काको कुरा सुनेर वा अन्दाज लगाएर मनमा कुरा खेलाएर बस्ने हैन। अनि मात्रै मानसिक तनावबाट उम्कन सकिन्छ। यहि नै असली उपाय हो। अस्तु।

06 October 2025

सासुमा

नमस्कार म्याडम! अस्ति तपाइँको सासुमा भेटेको थिएँ।

म्याडम: अनि मेरो कुरो काट्यो कि काटेन नि!

किन र कुरा कटुवा हो र तपाईंको सासुमा?

म्याडम: त्यसो त होइन, तर जो भेट्यो उसलाई मेरो कुरो काटेर हैरान पार्नु हुन्छ क्या! खास गरि मेरा आफन्त र चिनाजानेकालाई।

तर मलाई भने ठ्याक्कै उल्टो सुनाउनु भो नि!

म्याडम: के भन्नु भो र!

के भन्नु नि, दुई दुई जना छोराछोरी हुर्काउंदै, घर धन्दा गर्ने मेरी बुहारीलाई फुर्काउन हुन्न भनेर मैले गाली गरे जस्तो गर्छु। बुझ्दैनन्! अनि म संग च्याठिन्छे।

म्याडम: अनि हाम्रो सासुमा च्याठ्ठिने कुरो गर्नु भएन त!

किन नभन्नु नि! म पनि कराउने बेलामा आँखा देख्दिन, मुख सम्हाल्न पनि सक्दिन, जे मनमा आयो, फ्याट्ट बोल्दिहाल्छु, अनि मनमा घोच्यो भन्छे मेरी बुहारी! अस्तु।

05 October 2025

रिस

आज घरमा दाजु-भाउजूको बिहानैदेखि नोकझोंक चलेको रहेछ। मान्छे न हो, मलाई दाजु- भाउजूको झगडा तगडा हुन्छ भनेर बिरालाको चालामा भान्साको ढोकाबाट यस्सो चिहाएर हेर्दै थिएं, भाउजूको आँखा त आम्मामा आगो जस्तै, बोलाइ त क्या खत्रा, अहिले नै खाउंला जस्तो, झ्याप्पै झपार्दी हाल्ने! दाजु पनि चुप लाग्ने मान्छे कहाँ हुनु त, उनले पनि दुईचार शब्द तेस्र्याएछन्। त्यसपछि गाउँमा हुने मेलाको झैँ घमासान वाकयुद्ध सुरु भो।

म त "बिरालो झैँ बिस्तारै भित्र पसुँ कि" भन्ने सोच्दै थिएँ, एक्कासी भाउजूले दाजुको खाना खाने प्लेटै समातेर "स्वाईंट्ट" गर्दै फ्याँकिदिनु भयो। त्यो प्लेट त झण्डै मेरो टाउको निर आयो। धन्नै मैले ढोका समाएर शरीर टाउको बटारेर छलें। आँखै अगाडिबाट त्यो प्लेट उडन तस्तरी उडेको झैं देख्दा त थरर भएँ।

प्लेट उडेर सीधै छिमेकीको पर्खालमा "ढयाम्म" गर्दै ठोक्कियो। प्लेटको आवाजै सुन्दा पनि लाग्थ्यो, मानौँ मान्छे नै पछारिएको हो कि जस्तो। छिमेकी आमा त आँगनबाटै चिहाउँदै, "आम्मामा! के भयो नि यो?" भनेर कराउनुभयो। मैले नदेखे जस्तो गरि ताप कसें।

दाजु र भाउजू भने अझै रोकिएनन्। भाउजूको हातमा त अरु भाँडा नपरोस् भनेर दाजु चुप लागेझैँ देखिए। म भने मनमनै सोचें, मेरो पनि बुढीसंग यस्तो भयो भने पहिले नै ताप कस्छु, यी बुढाबुढीको जस्तो रिसको झोंकमा आफ्नै प्लेट चैं छिमेकीको घर सम्म पुग्ने  गरि फ्यांक्दिन। रिसको झोंकमा आफ्नै अगाडि भाँडा उड्छ, मन त के न उड्ला?

त्यसै बेला बुबाले भनेको कुरा सम्झिएँ, "घरको आगो छिमेकीलाई देखिन्न तर धुवाँ चाहिँ सबैतिर पुग्छ।" यो घटना देखेपछि त त्यो भनाइ झन् पक्का लाग्यो। अस्तु।

04 October 2025

गोरे दाई

उस्लाई गाउँमा सबैले गोरे दाई भन्छन्। सरकारले रिटायर गरेको, तर जीवनले रिटायर गर्न नसकेको मान्छे। गाउँलेको मनमा गोरे दाईको ठाउँ सधैंको लागि महान छ। उसको त्यो सहयोगी स्वभावले सबैलाई मन पर्छ, एक जनालाई बाहेक, त्यो उसको आफ्नै श्रीमतीलाई।

गोरे दाईको श्रीमतीको नाम राधा हो। राधाले गोरे दाईको एकोहोरो काम देखेर कहिले काहिँ गोरु जस्तो जोतिने मान्छे पनि भन्छिन्। मतलब त "गोरु" नै हो। "भान्साको काममा कहिले नसघाउने र गर्न पनि मन नलाग्ने। संधै त्यही बगैंचा, त्यही फुलबारी। फुलले पेट भरिँदैन क्यारे!" भन्छिन्, राधा।

गोरे दाई भन्छन्, "फुलले पेट भराउँछ नि, अनि मन पनि त भराउँछ। बगैंचामा हात हालेर माटो छोएर काम गर्दा हाम्रो स्वास्थ्य पनि राम्रो बन्छ।" कहिले काहीं गोरेदाई फुल संग बात मारिरहन्छ, जुनबेला राधाले गाली गरेको हुन्छ। एक्लै फुल संग मनका ब्यथा साटासाट गरेझैं भुत्भुटाई रहन्छ। बर्षाले फुल ढल्यो भने उठ! उठ! है फुल। भनिरहन्छ, फुल पनि केही दिनमा उठछ नै।

तर राधाको स्वास्थ्य भने चुल्हो, चौका र भाँडाकुंडामा हुन्छ। फुल फुलेको बेला गाउँलेहरू आउँछन्, "आहा, कति राम्रो फुल!" भनेर टपक्क टिपेर लैजान्छन्। राधाले भने आफ्नै बगैंचामा फुल पनि पूजा गर्न खोज्दा फुल टिप्न नै पाउंदैन। अनि उनको रिस बगैंचामा चरिरहेका हांस कुखुराहरुमाथि बर्सिन्छ, "यो घरमा काम गर्ने कालु मकै खाने भालु, गाउंलेहरु पनि त्यस्तै, फुल चाहिए आफ्नै घरको बारीमा उमार्नु नि!"
एक दिन गोरे दाईले बगैंचामा गुलाफको बोट लगाए। त्यो फुल फुल्यो, र गाउँकी सानी कीर्तिले टिप्दै गर्दा काँडाले खोपिएर रुंदै घर तिर फर्कींदै थियो। गोरे दाईले उसलाई फुल दिए, मन बहलाए। त्यो देखेकी राधाले भनिन्, "तिम्रो फुलले अर्काको आँसु मात्रै पुछ्छ, तर घरभित्र मेरो मन रुंदा केही गरेका छौ?"

गोरे दाईले मुस्कुराउँदै भने, "तिमीले नै भन्यौ, फुलले पेट भर्दैन, तर मन भराउँछ। आज कीर्ति रोएकी थिइन्, मेरो फुलले उसलाई हँसाउन सक्यो। तिमी पनि कहिले काहीं रोऊ, मेरो बगैंचाको फुलले तिमीलाई पनि हँसाउनेछ।"

राधाको मुखमा हल्का हांसो आयो। अर्को दिन, उनले गोरे दाईलाई भान्सामा चिया बनाउँदै गर्दा भनिन्, "आज बिहान तिम्रो बगैंचामा फुलेको फुलको चिया बनाउँछु। तर आजैबाट भान्सामा पनि सहयोग गर्नु पर्छ।"

गोरे दाईले चिया हेरे, मीठो मानी पिए अनि "हुन्छ, आजैबाट फुल र भात दुवैको जुक्ती गर्छु।"

बगैंचाको रंगीन फुल र चुल्होको तातो आगो बीचको यो कथा सधैं चलिरहनेछ। गाउँलेहरू भन्छन्, "गोरे दाई र उनकी श्रीमतीको झैं, फुल र चुल्हो पनि एकअर्काको परिपूरक हुन्।" अस्तु।

01 October 2025

देवी आमा

ए हजुर, सुन्नुस् त एउटा कथा।
उहिले एकादेशमा एउटी आमा थिइन्, गाउँलेले उनलाई “देवी” भन्थे। आफू भोकै बसेर भएपनि छोरो–छोरीलाई खुवाउने, जंगलबाट घाँस दाउराको भारी बोक्दा पनि हाँस्ने।
गाउँका सबैले गर्व गर्थे–“देवीले घर अडाइन्।”

अब समय फेरिएको छ। देबीको छोरोको बिहे गरेपछि देवीको चालामाला नै पल्टियो।
पहिले गर्वका साथ भन्थिन् “हाम्राँ कसैले पनि दाइजो ल्याउन परेन, पर्दैन्थो, बरु सकेको दिदिबहिनीलाई पुर्‍याइयो।”
तर छोरोको बिहेपछि भने देबीको मुखै फरक–“दाइजो ल्याएको भएपो फुर्ती लगाउने, सबै मैले नै जुराएको सम्पत्तिमा बुहारीले रजाइँ गर्न खोज्छे, म पनि कम छु र! छुन पनि दिन्न।”
मानौँ दाइजो बिना बुहारी त मान्छे नै होइन, भूत प्रेत, राक्षस पो हो जस्तो।
बुहारीले केही गरी जवाफ फर्काई भने तुरुन्तै “ए अलक्षिणी, तंइले के ल्या छस् र फुर्ति गर्छेस्! मेरो सम्पत्तिमा मोज गरौंला भनेकी होली, फुटेको कौडी पनि दिन्न। तेरो बाउले दिएको छ?”
त्यस्तो कडक शब्द बोल्दा देबी आमाको मनमा शान्ति हुंदो हो, मुखै उज्यालो, मानौं एउटा लडाइँ जितेको जस्तो घमण्ड। 
बुहारीलाई हेपेर बोल्न पाएपछि आमाले भन्थिन्, “मलाई हेप्न त कसैले पनि सक्दैनन्, बुझिस! जेठानी, देबरानीहरुलाई त थर्काएर आएको, अहिले तं झुसे बुहारीलाई त एक वचन मै ठिक गर्दिहाल्छु।”

एकदिन छोरोले हिम्मत गरेर भन्यो, “आमा, तपाईंले यो घरमा आउंदा दाइजो ल्याउनु भाको थियो?"
"उ बेला हाम्रा बाले दाइजो लेरा भनेको थियो?"
तपाईंले नै हैन, हाम्रां कसैले पनि दाइजो ल्याउन परेन भनेर गाउँ भरी फलाक्दै हिंड्ने? 
"पहिले चाहिँदैन भन्ने, अहिले बुहारी आउँदा चाहिँ किन चाहिने?"
गाउँकि "देवी आमा" भन्थे त! खोइ अहिले के भाकी?
अहिले तलतिर गाउँमा जानै नहुने भैसक्यो, सबै गाउँलेले ‘तिम्री आमा त पहिले देबी जस्ती अहिले कस्ती अलक्षिणी आमा’ भनेर जिस्काउन थालिसक्यो।”

त्यो कुरा सुनेर देबी आमाको मुख पहेंलो भयो, अलि सम्हालेर देबी आमाले भनिन् , "हो त हाम्ले त दाइजो ल्याएका थेनम्। सबै मिलिजुली नै घर सम्हालेका हुम्। म मा यस्तो घमण्ड कसरी आयो? सांच्चै, म कस्ती थिएँ, अहिले यस्ती भाको छु। मलाई महसुस भयो छोरा, अनि बुहारी, तिमीहरुलाई मैले धेरै नै दु:ख दिएं। अब देखि यस्तो हुन्न। हरि शरणम्।” अस्तु।