बुढा: हुन्छ! कहिले काहिँ यस्तो त भै रहन्छ नि। उमेर पनि त भो नि बुढी! अब उमेरले भर्खर ३ बीस मात्रै छोएसी क्यार्नु र बुढी। म पनि तिम्रै उमेरको हो क्यारे! आफुलाई भने अझै आफ्नो उमेर चैं १ बीस र पांच जस्तो नै लाग्छ। त्यै पसलमा जांदा साथीको छोरोले अंकल भन्यो भने त खुशी नै लाग्छ। अनि पसलमा आएकी नानीहरुले ए बा! अलि यस्सो गर्नुस त भन्यो भने मेरो उमेर निकै बढेछ कि क्या हो! जस्तो लाग्छ।
एक्छिन त! म मनै होइन कि क्या हो? जस्तो पो लाग्यो बुढी!
बुढी: किन भनेको होला भनेर अनुमान लायौ कि लाएनौ त! मैले त भनेकै हो नि दारी काट, कपाल कोर, मुख पनि साबुन पानीले धोउ भनेर। ऐना हेरेका थियौ। आफ्नो अनुहार चैं कस्तो भैसक्यो हेर्नु सेर्नु छैन। जैले नि १ बीस र ५ बर्ष भन्दै बस। अनुहार न दनुहार खोइ कुन्नी के भने झैँ।
बुढा: त्यो त हो। अस्ति आर्को अस्पतालमा पनि अब बा को उमेर पनि ख्याल गर्नु परो नि भनेर फिजियो गर्ने डाक्टर नानीले भनेथ्यो। त्यै बेला नै आफुलाई चसक्क चैं भाकोथ्यो। तिमीलाई नभनेको मात्रै हो। बुढेसकालमा हात गोडा दुख्ने त भै हाल्छ नि बा! अनि जोर्नीहरु पनि सुक्दै जान्छ नि। उमेर अन्सार पार्ट पुर्जा खराब भै हाल्छ नि! पुरानो गाडी जस्तै सामान नपाउने जस्तै हाम्रो शरीरमा परिबर्तन हुन्छ। यो त सामान्य नै हो नि, भन्यो।
बुढी: अनि अस्ति आँखा अस्पतालमा पनि त आँखामा मोतिबिन्दु आयो भनेको बिर्स्यो? अब सबै पार्ट पुर्जाहरु पाउनु पनि त पर्यो नि। पाएन भने उई, रसान ससान लाएर सामान मरम्मत गरे जस्तै काटकुट गरेर मिलाई देलान नि सर्जन डाक्टरहरुले।
लौ! जति कुरा गरेनी मेरो टाउको दुखेको निको भाको छैन क्यारे! तिमी आफै खाना बनाएर मलाई पनि ल्याई देउ है। इत्ति खान्छु। अस्तु।
No comments:
Post a Comment