Grab the widget  Get Widgets

14 September 2024

नागार्जुनमा चट्टान चढाई

काठमाडौंको बालाजुस्थित नागार्जुन जंगलले सधैं मलाई आकर्षित गरेको थियो। विशेषगरी, त्यहाँका चट्टानहरूले साहसिक खेलप्रेमीहरूलाई निम्तो दिने गर्छन्। म र मेरा दुई साथीहरू नागार्जुनको चट्टान चढाई (रक क्लाइम्बिङ) अनुभव गर्न गइरहेका थियौं। हामी सबैजना उत्साहित थियौं तर यो मेरो पहिलो अनुभव भएकाले, म अलिकति नर्भस पनि थिएँ।

हामी चट्टानको आधारमा पुग्दा, हामीले पहिला सुरक्षा सामाग्री तयार गर्यौं। हार्नेस, जसले हाम्रो कम्मर र खुट्टा सुरक्षित राख्थ्यो, कस्स्यौं। क्याराबिनरहरू, जुन धातुको हुक जस्तै थियो, हार्नेसमा जोड्यौं। हेल्मेटले टाउकोको सुरक्षा गर्थ्यो भने क्लाइम्बिङ स्युटले शरीरलाई सहज बनाउँथ्यो। यी सबै लगाइसकेपछि, मुख्य कुरा थियो – डोरी। सहायकले त्यो डोरीलाई बिले गर्ने थियो, अर्थात् म चढिरहँदा डोरी समातेर मेरो सुरक्षा सुनिश्चित गर्ने।

डोरीको एक छेउ मसँग बाँधियो र अर्को छेउ बिले गर्ने सहायकसँग। मेरो बिले गर्ने साथीले चट्टानको आधारमा आफ्नो ठाउँ सुरक्षित गर्‍यो। ऊ सजग थियो, किनकि मेरो सम्पूर्ण सुरक्षाको जिम्मा उसैको हातमा थियो।


चट्टानको पहिलो खण्ड चढ्न सजिलो थियो, मैले हात र खुट्टाले समात्न सक्ने थोरै चौडा ठाउँहरू थिए। जब म माथि जान थालेँ, चट्टान चिप्लो र साँघुरो बन्दै गयो। म हरेक पाइला चाल्नु अघि एउटा राम्रो पकड खोज्दै थिएँ। कहिलेकाहीं, हात र खुट्टाले राम्रोसँग समात्न नपाउँदा म डोरीमा झुण्डिन्थें। सहायकले तुरुन्तै डोरीलाई तन्काएर मलाई सन्तुलनमा ल्याउँथ्यो। उसको त्यो तत्कालको प्रतिक्रिया मेरो जीवनको रक्षा नै थियो।

चट्टानको बीच भागमा पुगेपछि मेरो मनमा डर र थकानले डेरा जमाएको थियो। म सास फेर्न रोकिन्छु, तल हेर्छु—चट्टानको आधार अब धेरै तल भैसकेको थियो। मेरो हात काँप्न थालिसकेको थियो, तर म त्यहाँबाट फर्किन सक्दिनथेँ। सहायकले मलाई हौस्याउँदै करायो, "तिमीले सक्छौ! केही पाइला अझै चढ, अनि आराम गर। म यहाँ छु।" उसको आत्मविश्वासले मलाई नयाँ उर्जा दियो।

म एउटा सानो थलोमा पुगेँ, जहाँ केही समय आराम गर्न सकिन्थ्यो। त्यहाँबाट म चट्टानको टुप्पो नजिकै पुगेको महसुस भयो। माथि नीलो आकाश र चारैतिरको हरियाली दृश्यले मलाई जोश दिलायो। म फेरि चढ्न थालेँ, यो पटक अझै ध्यानपूर्वक—मेरो हात र खुट्टा जहाँ राख्नुपर्थ्यो, त्यहाँ स्पष्टसँग राख्थेँ।
अन्ततः, म चट्टानको टुप्पोमा पुगेँ। त्यो क्षणको अनुभव वर्णन गर्न गाह्रो थियो—माथिबाट देखिने जंगलको मनोरम दृश्य, हरियो जंगलको शान्ति, र निलो आकाशको विशालता। चिसो हावाले मेरो अनुहारमा चुम्बन गरिरहेको थियो, र म आफूलाई भाग्यशाली भएको महसुस गर्दै थिएँ।

तलबाट सहायकले मुस्कुराउँदै हेर्दैथ्यो। मैले उसलाई हेरेर हर्षले हात हल्लाएँ। उसले डोरी सावधानीपूर्वक नियन्त्रण गरेर मलाई चढ्न मद्दत गरेको थियो, र म तल जानको लागि पनि उसको सहारा नै आवश्यक थियो। डोरी खुकुलो हुँदा म हावामा झुण्डिएरै तल झर्न सुरु गरें। सहायकले डोरीलाई राम्रोसँग समातिरहेको थियो, अनि म सुरक्षित रूपमा तल झर्दै थिएँ।

तल पुग्दा, हामी सबैले एकअर्कालाई अंकमाल गरेर बधाई दियौं। त्यो चट्टान चढ्ने अनुभव केवल शारीरिक चुनौती मात्रै थिएन, त्यो मानसिक साहस र सहकार्यको उत्कृष्ट उदाहरण पनि थियो। सहायकको भूमिका बिना, म चट्टानमा सफलतापूर्वक चढ्न सक्दिनथेँ।

त्यस दिनको अनुभवले मलाई एउटा कुरा सिकायो—कुनै पनि साहसिक कार्यमा सहकार्य र आत्मविश्वास अनिवार्य हुन्छ। चट्टान चढ्ने यात्रा केवल शारीरिक विजय मात्र थिएन, त्यो मनको पनि विजय थियो। अस्तु।

12 September 2024

सुन्दरीजलमा छांगारोहण

काठमाडौं नजिकै रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेश टिकट लिएर सुन्दरीजलमा उक्लियौं। सुन्दरीजलको रमणीय वातावरणको दृश्यावलोकन गर्न हामी बिहानै यात्रा सुरु भयो। हामीले स्यालमती खोलाको बारेमा सुनेको थियौं र सोही अनुसार स्यालमती खोला खोज्दै जंगलको बाटो समायौं। जंगलको बाटो उकालो लाग्यो। साथीहरूको समूह रमाइलो गर्दै अघि बढिरहेको थियो, तर मेरो मनमा एउटा रहस्यपूर्ण आकर्षण थियो – स्यालमती खोलाबाट निस्किएको झरना।

त्यो झरना जंगलको बीचमा एकान्तमा शान्त बहिरहेको जस्तो लाग्थ्यो। हामी संग साथै हिंडेका साथीहरू फोटो खिच्दै रमाउंदै अगाडि बढ्दै थियो। हामीलाई भने त्यो झरनाको नजिकै पुग्दा, त्यसको सफा पानीको आवाजले एक किसिमको अद्भुत संगीत दिए जस्तै आभास भयो। म निकै उत्साहित थिएँ, त्यहाँको झरनामा छांगारोहण गर्न सकिने कुरा सुनेको थिएं। साथीहरूले मलाई चेतावनी दिए, “छांगा र ढुंगा चिप्लो छ, खतरनाक छ,” तर म त्यो रोमाञ्चक चुनौतीलाई टार्न सक्दिनथेँ।
म झरनाको छेउ पुगें। मलाई साथीले सहयोग गरेर छांगारोहणको लागि चाहिने डोरी, हेल्मेट, कम्मरमा लगाउने जुमर र अरु आवश्यक सामानहरु सहित पानीमा लगाउने ड्रेस लगाएर रेडि भयौं। साथीले छांगारोहणमा हुन सक्ने खतरा बारे जानकारी गराइदियो। 

हामीलाई ब्रीफिङ गरिसके पछि हामी झरनामा खेल्न गयौं। पानीका छिटाहरू अनुहारमा परिरह्यो, अनि म पहिलो ढुंगामा पाइला राखेँ। सुरुवाती केही पाइला सजिलो थियो, तर झरनामा ओर्लंदै जाँदा ढुंगाहरू चिप्लो हुँदै गएका थिए। पानीको बहावले गर्दा म एकपल्ट चिप्लिएँ, तर मेरो हातले बलियो गरी समातेको डोरीले मलाई तल झर्न दिएन।

पानी बाक्लिंदै जाँदा पानीले जोडदार मेरो अनुहारमा हिर्काउंदै थियो। निरंतरता पानीले हिर्काउंदा म निकै थाकिसकेको थिएँ, तर झरनाको भित्र भित्र पुग्दाको क्षणले सबै थकान बिर्साई दियो। 

माथिबाट तल हेर्दा, झरनाले स्यालमती खोलासम्मको यात्रा गरिरहेको देख्न सकिन्थ्यो। त्यो दृश्य स्वप्निल र रोमान्चित लाग्यो। शीतल पानीको ठण्डा स्पर्शले मलाई झन् ताजगी प्रदान गर्यो।

साथीहरू तलबाट हेरिरहेका थिए, ताली बजाउँदै उत्साहित गरिरहेका थिए। त्यो क्षण, स्यालमती झरनाको टुप्पाबाट ओर्लिएर, पोखरीसम्म आईपुग्दा मैले प्रकृतिको शक्तिलाई महसुस गरेँ र त्यही रोमाञ्चक क्षणले मेरो साहसिक यात्रा सफल बनायो। अस्तु।

01 September 2024

आउट डेटेड ड्याड!

देश भित्र पनि बेग्लै संसार रहेछ। सायद उच्च घराना भनेको यस्तै होला। एउटा कार्यक्रममा सहभागी हुन जांदा सबैजना नेपाली र थोरै बिदेशी। तर कोहि पनि नेपालीमा कुरा नगर्ने। उहिले उहिले नेपालीमा अंग्रेजी घुसाएर कुरा गरेको देख्दा पनि उच्च घरानाको मान्छे रैछ भन्ने समाजमा हुर्केको हामीलाई आजको जमानामा अंग्रेजीमा नेपाली घुसाएर गफ दिनेहरु देख्दा उच्च घरानिया भाषा लाग्यो। 
समय बदलिएको रहेछ। आज सहभागी भएको कार्यक्रममा मैले ९५% पाहुनाहरुले मलाई चिनेन अर्थात मैले पनि ९५% मानिसहरुलाई चिनिन। सबैजना कारमा सवार भएका र अंग्रेजीमा मात्रै बोलेका नेपालीहरुको जमात थियो। 

नमस्ते ! म फलानो, भनेर परिचय दिंदा पनि ! वाउ, ह्वाट ए ओण्डरफुल। योर सन डिड अ ओण्डरफुल जब अंकल। भनेर स्वागत गर्‍यो त नानीले ।

उहिले नेवाहरुले नेपाली बोल्दा, नेपाली बोल्नेले हिन्दी बोल्दा, अनि नेपालीमा अंग्रेजी घुसाइंदा पनि गज्जब लाग्थ्यो, अहिले संसार नै बदलिएको रहेछ। सबैजनालाई अंग्रेजीकरणले छोई सकेको रहेछ।

त्यसैले आजकाल छोराहरुले यु आर आउट्डेटेड ड्याड भन्ने रछन।

25 August 2024

जागौं नेपालीहरु

क्यान्टोनमेन्टको कुरा प्रचण्डलाई थाहा छैन, 
गिरिबन्धुको कुरा ओलीलाई थाहा छैन, 
बालुवाटारको जग्गाको कुरा माकुनेलाई थाहा छैन, 
नक्कली भुटानी शरणार्थीको कुरा देउबालाई थाहा छैन,
बाख्राको कुरा गगनलाई थाहा छैन, 
सहकारीको कुरा रबीलाई थाहा छैन। 

तर सबै जनाले एक आर्काको प्रमाण देखाइ दिम भनेर जनतालाई गफ दिइरा हुन्छ। यस्तै गफ लडाएर हाम्रो परिश्रमको पैसा उडाइरा छन् । लाज पचेका, शरम छाडाहरु।

देश बिकाश, शिक्षा, स्वास्थ्य, अस्पताल, बाढी पहिरो, यातायात, खानेपानी, दुईटा क्षेत्रीय बिमानस्थल कसरी चलाउने, वैदेशिक रोजगारको समस्या कसरी हटाउने भन्ने बारे कस्लाई चासो? 

हामी पनि उस्तै। यस्तै गफ दिएर हाम्रो टाउकोमा ॠण थुपार्नेहरुलाई वाह वाह गरिरा छम। 

अब उठौं, जागौं नेपालीहरु ! जागौं।

24 August 2024

जागिर दे पासा

आज एक जना मित्रले फोन गरेर नै थर्कायो। ग्वांग्रे थरर!

मित्र: ओ सर! तपाईं कता हो?
आजकाल म बेरोजगार भएको छु। यस्सो राम्रो तलब भएको ठाउँ खोजेर मलाई जागिर लगाई दिई हाल्नुस त! मैले सामाजिक सञ्जाल चलाउंदैन। त्यसैले मलाई फोन गरेर खबर गरेर तलब सलब मिलाएर जागिरमा लगाई दिनुस्। नत्र !!!

ग्वांग्रे: नत्र के त? 

मित्र: नत्र तपाई ठूलो मान्छे भएको के मतलब भयो र? 
(एकजना मित्रले थर्काएरै जागिर मागेको छ।)

ग्वांग्रेको सार्बजनिक सुचना:
यदि तपाईहरुलाई जागिर खाई दिने मान्छे चाहिएको छ भने ग्वांग्रेलाई तुरुन्तै मेसेज हान्नुस है। नत्र...! तपाईंहरु ठूलो मान्छे भएको के मतलब? होइन र गांठ्ठे! 
#ग्वांग्रेकोगफ #वाक्कदिक्कहाक्कथुक्क

06 August 2024

पखाला

एकजना कान कम सुन्ने अंकललाई पखाला लागेर डाक्टर कहाँ जँचाउन जानुभएछ। 
२-४ दिनको औषधि उपचारपछि अंकल फलो-अपमा डाक्टर कहाँ पुग्नु भएछ। 
डाक्टर : तपाईंको दिसा अहिले कस्तो छ?
कान कम सुन्ने अंकल : हँ? के भन्नु भएको? म अलि कम सुन्छु। ठुलो स्वरले बोल्नु न! 
डाक्टर (ठूलो स्वरमा) : अहिले तपाईंको दिसा कस्तो छ, भनेको?
अंकल : एहे! अहिले त खाउँ खाउँ लागिराछ। हिजो अस्ति खानै मन लाग्दैनथ्यो।
डाक्टर बेहोश! 🤣🤣🤣
#ग्वांग्रेकोगफ

खाजा

बुढी: खाजा के पकाउने, बुढा? 
बुढा: जे पकाए नि हुन्छ।
बुढी: आलुको चप बनाम?
बुढा: हुन्छ, भै हाल्छ नि!
आधा घण्टा पछि खाजा तयार भयो। 
बुढी: ए बुढा खाजा खान आउनुस!
बुढा दंग पर्दै, आहा क्या मिठो होला जस्तो छ त, हेर्दा त!
बुढी: हेर्दा मात्रै हैन, खाएर हेर्नुस न!
बुढाले क्वाप्प मुखमा हाल्यो, आलु चप त भित्र पाकेकै छैन रैछ भनुम भने यो पनि खान नपाइएला भनेर चुप लाग्यो। 
बुढी: के भयो बुढा, तपाईं त चुप लाग्नु भयो नि। मीठो छैन?
बुढा: छैन भनुम भने बुढी रिसाउने, छ भनुम भने भित्र भित्र पाकेकै छैन रैछ।
बुढी: जैले नि खोट देखाउन पर्ने है बुढा? आफै पकाए हुन्छ नि! कति मिहेनत गरेर बल्ल बल्ल बनाएं। अझै खोट लाउंदो रैछ। असक्ती !
बुढा: हो! त्यै भएर त पाकेको छैन भन्ने आंट न आएको नि। बुढी! खासमा भन्ने हो भने नि, यो आलु नै खराब हो क्या! अझ त्यो ग्यास चुलो खराब हो कि? नभए आगो खराब होला। आखिराँ तिम्रो हातले बनाएको आलु चप नपाकेको र नमीठो त हुँदै नहुनु पर्ने, होइन र?
बुढी: त्यस्तो होइन होला बाहिर क्रन्ची, भित्र जुसी बनाउन खोजेको हो। सायद तिम्रो जिब्रो नै खराब होला।
बुढा झण्डै बेहोस भएको, खुरुक्क चुप्प लागेर खाएर हिंड्यो। अस्तु।