Grab the widget  Get Widgets

Thursday 18 July 2024

लामखुट्टे सम्मेलन

लामखुट्टेहरुको सम्मेलन हुने भए पछि नेपालमा भएका लामखुट्टेहरु सबै काठमाडौ उड्ने भए। अनि लामखुट्टेहरु पनि सम्मेलनमा ? भन्ने मानिसहरु पनि हुने रैछ यो संसारमा।
सम्मेलनमा के गर्दा हुन भन्ने मानिसहरुलाई निक्कै चासो हुने रैछ।
अब सम्मेलन भने पछि केही एजेण्डा त हुनै पर्‍यो। नेपालका लामखुट्टेहरु सबै नेपालीहरुकै रगत चुसेका त हुन, तिमीहरुको नेताहरु भन्दा हामी के कम भन्दा रैछन, लामखुट्टेहरु!

एउटा लाम्खुट्टेले कानमै आएर भन्यो। हे मनुवा! हाम्रो एजेण्डा सुनिस भने मुर्छा पर्लास, बुझिस?

मैले पनि कानमा प्याट्ट हान्देको, लामखुट्टे त प्याच्याक्क भयो। कानको छेउमै रगताम्मे भएर मरेछ। तर एजेण्डा सुन्न नपाएकोले बडो तनाब भयो। बिचरा लामखुट्टेले के भन्न लागेको थियो कुन्नि? कुरै नसुनी मार्दिएं। अब आर्कोलाई सोधुम्ला भन्दै थिएँ, ठ्याक्कै आर्को कानमा आर्को लामखुट्टे आएर मेरो साथीलाई मारिहालिस हेर मनुवा! तंलाई न टोकि छाड्दिन भन्यो।

मैले नि माफ गर लाम्खुट्टे! गल्ती भयो भनें। मलाई तंहरुको सम्मेलनको एजेण्डा भन त, अनि तंलाई मार्दिन भनें। तेसो भए सुन मनुवा! हाम्रो सम्मेलनमा पनि नेपालमा भएका पार्टीका झोलेहरुको रगत चुसेकाहरुको कुरा बेग्लै, अनि नेपालीका रगत चुसेकाहरुको बेग्लै कुरो हुने गर्छ। 

अस्ति हाम्रो पनि नयाँ कार्यसमिति बनेको छ। सके सम्म जस्ले धेरै नेपाली जनताका रगत चुसेका छन्, तिनीहरूकै वरपरका र नातालागेका चुसकहरुलाई कार्यसमितिमा हुल्ने नीति बनाएका छम।

रगत नै नचुस्ने लामखुट्टेलाई हाम्रो समुदायबाट निस्कासन गरेका छम। तिमीहरुको देशमा बसेर रगत चुस्न पनि रमाइलो नै हुने रैछ। जताततै फोहोरका डंगुर हुने भएकोले हाम्लाई बांच्न र जनसंख्या बढाउन सजिलो भाछ।

अनि सुन, मनुवा! हाम्रोमा जस्ले धेरै रगत चुस्न सक्छ त्यै लामखुट्टे हाम्रो अगुवा हुन्छ। त्यो अगुवाले जे भन्छ त्यै कुरामा हाम्ले साथ दिन्छम। हामीले आफ्नो दिमाग लगाएर रगत चुस्ने काम गर्दैनम। हाम्रो नीति अनुसार कैले, मलेरिया, कैले फलेरिया, कैले डेङ्यु, रोग सार्ने काम गर्छौं । 

एउटा कुरा के भनेनी! तिमीहरुको देशमा रहेका नेताहरुको रगत चुसेका लामखुट्टेहरुले चाहिँ हाम्रो समुदायमा पनि समय समयमा धोखाधारीको खेल खेल्दा रैछ्न। त्यो नेतागिरी गुण हाम्रो लामखुट्टे समुदायमा पनि सरिसकेको छ। र अहिले हाम्लाई समस्यामा परिरा छ। राम्रा कुरा नसुन्ने र छिन छिनमै कुरा फेर्ने लामखुट्टेहरुको जमात बढ्दै छ। अहिले धेरै रगत चुसकहरुको बर्चस्व हाम्रो कार्यसमितिमा छन् । 

यो सब सुने पछि मैले आफ्नै कानमा आफ्नै हातले प्याट्ट बजाई दिएं। तर तुँ गरेर उडेर गएछ। अस्तु!

No comments:

Post a Comment