Grab the widget  Get Widgets

14 January 2026

विश्व शान्तिको लागि पदयात्रा (Travel for World Peace)

अहिले अमेरिकामा केही बौद्ध भिक्षुहरु विश्व शान्तिको सन्देश बोकेर मौन पदयात्रामा निस्किएका छन्। यो यात्रा कुनै राजनीतिक आन्दोलन, प्रचार अभियान वा शक्ति प्रदर्शन होइन। यो करुणा, अहिंसा र आत्मचिन्तनको अभ्यास हो। उनीहरु विभिन्न राज्य र सहर हुँदै निरन्तर हिँडिरहेका छन्, तर न भाषण छन्, न नारा, न जुलुस। मौनतामै शान्तिको गहिरो सन्देश समेटिएको छ।

यस पदयात्राको अर्को विशेष पक्ष भनेको एउटा कुकुर आलोक पनि भिक्षुहरुसँगै संगसंगै हिँडिरहेको छ। आलोकलाई अहिले धेरैले “Peace Dog” भनेर चिन्ने गरेका छन्। उसले कुनै शब्द बोल्दैन, कुनै माग राख्दैन, तर उसको उपस्थितिले नै मानिसहरुको ध्यान तानिरहेको छ। भिक्षुहरु र आलोकबीचको आत्मीय सम्बन्धले मानव र प्रकृतिबीचको सहअस्तित्व र करुणाको सन्देशलाई अझ जीवन्त बनाएको छ।

आजको विश्व युद्ध, हिंसा, घृणा र विभाजनले ग्रस्त छ। यस्तो समयमा बौद्ध भिक्षुहरुको यो मौन पदयात्राले फरक किसिमको चेतना फैलाइरहेको छ। उनीहरुको विश्वास छ कि शान्ति बाहिर खोज्नु अघि मनभित्र स्थापित हुनुपर्छ। मौन हिँडाइले मानिसलाई रोकिएर सोच्न बाध्य बनाउँछ। शब्दविनाको सन्देशले आत्मपरीक्षणको ढोका खोल्छ।

यो अभियानले स्पष्ट रुपमा देखाएको छ कि क्रान्ति सधैं आवाज र भीडबाट मात्र हुँदैन। कहिलेकाहीँ मौनता नै सबैभन्दा शक्तिशाली माध्यम हुन्छ। बिना भाषण पनि सन्देश पुग्न सक्छ। बिना नारा पनि परिवर्तन सम्भव छ। भिक्षुहरुको अनुशासित जीवन र आलोक “Peace Dog” को सरल साथले शान्ति एउटा अभ्यास हो भन्ने सन्देश दिइरहेको छ।

अमेरिकाजस्तो व्यस्त समाजमा यो शान्त पदयात्राले धेरै मानिसलाई छोएको छ। यो अभियान नेपाली जनसमुदायका लागि पनि प्रेरणादायी छ। शान्ति साना व्यवहार, मौनता र करुणाबाट सुरु हुन्छ भन्ने कुरा यस पदयात्राले विश्वसामु राखेको छ। अस्तु।

No comments:

Post a Comment