Grab the widget  Get Widgets

Friday, 17 September 2021

पादयात्रा

के लेखेको होला! पदयात्रा लेख्नु पर्नेमा पादयात्रा लेखेछ, भन्नुहोला। तर यो पादयात्रा नै हो। कुरो पदुवाहरुको गर्न लाएसी पादयात्रा लेख्दा के बिग्रेको छ र! पादने मान्छेहरूको बहादुरी बारे लेख्न लागेको हो क्या! 

अनि कै बिषय पाएनस र पाद बारे लेख्ने? भन्नु होला। तर आजको बिषयमा तपाईंको जाँच पनि हुनेछ। थाहा छ? अनुभव छ? भने कमेन्टमा लेख्नु होला।

तपाईंले रेक्जीन सोफामा पाद्नु भएको छ?
तपाईंले सुनसान बाटोमा पाद्नु भएको छ?
अनि पिन ड्रप साइलेन्ट भएको हलमा पाद्नु भएको छ?
माइक लाएर पाद्नु भएको छ?
पोखरीमा पाद्नु भएको छ?
ससुराको अगाडि पाद्नु भएको छ?
अडिटोरियम हलमा पाद्नु भएको छ?
एयर कन्डिसन कोठामा, हवाइ जहाजमा, भान्सामा, कक्षामा, पादनु भएको छ?
पखाला लाग्दा, आउँ परेको बेलामा पाद्नु भएको छ?
अनि पाददा कति मज्जा आउँछ भनेर अनुभव गर्नु भएको छ? कैले काहीं निकै अप्ठ्यारो परेको पनि अनुभव भएको होला नि! छैन र? हो! यस्तै यस्तै कुराहरुको संकलन लेख्ने भनेर यो लेखको नाम पादयात्रा भएको हो। उ.. पुइंक्क पादी हालेछ!

कुरो पदयात्रामा जांदाको हो। मतलव ट्रेकिङ जांदा त बिहान सबेरै उठेर हिंड्नु पर्छ, होइन? कोहि कोहि साथीहरू अलि ढीला उठ्छन, अनि हतारमा नित्य कर्म गर्न पनि भ्याउंदैनन। त्यस्तालाई चै बाटोमा पछ्याएर हिंड्न हुन्न। पादेर हैरान पार्छन। खुला ठाउँमा पाददा रमाउंदै पादछन। पछाडी पछाडी हिंड्दा आवाज पनि अचम्म अचम्म सुनिन्छ। सम्म ठाउँमा हिंड्दा र उकालोमा हिंड्दा पर्ने प्रेसरले पादने मान्छेले पनि ठाउँ अनुसार बल पुर्‍याउने गर्छ। अनि पादको पनि आवाज फरक फरक हुँदै जान्छ। 

तपाईंले भर्‍याङ चढ्दा चढ्दै पादेको याद गर्नु भयो? अस्ति भर्‍याङमा बुहारीले पाददै बढार्दै गरेको ससुरोले सुनेछ। ससुरोको कान अलि बाक्लो रहेछ। झ्यालबाट बाहिर तिर हेरेर को हं? किन कराएको? भनेर खोज्दैथ्यो। धन्न सुनेनछ्न भनेर बुहारी ढुक्क! 

तर आर्को पट्टी सासुले कस्ती लाज नभाकी बुहारी रहेछ! हेर हेर! पाददै बढार्दै रेछ। हरे शिव! के देख्नु पर्‍यो? यो बुढेसकालमा! 
छोरोले सुनेको रहेछ। आफ्नो श्रीमतीको बचाउ गर्दै आमालाई भन्दैथ्यो; ह्या बुढिमाउ के कराई राख्या भने? हिंजो गुन्ड्रुकको झोल खुवाए पछि आज गुन्ड्रुक नै त निस्कन्छ नि! पादेर को सानो भएको छ? बरु पाद्न नपाएर बुहारीहरुको पेट दुखेको छ। आफुले प्यार प्यार पाददा चैं कै नहुने बुहारीले पादयो भनेर कराई राख्नु पर्ने?

ल त्यो घरको पादको कथा त्यैं छाड्दिम। पदयात्राको क्रममा एउटा गाउँमा बास बसेका थियौं। बिहान सबेरै बुहारीले चिया लिएर आइन। चिया ससुरोलाई दिन लागेको बेलामा पुइंक्क.. ! आवाज आयो। बुहारीले हांसो रोक्न सकिन। हातमा भएको चियाको गिलास खसालेर चिया पोखाई। ससुरोले फ्याट्टै सोध्नु भयो, बुहारी! तिमी पाद्न मात्रै आएकी कि? चिया पुर्‍याउन? बुहारी, लाजले भुटुक्कै। हजूर! मात्रै भनेकी थिइ, आर्को आवाज त झन ठुलो पो आयो। भुइँक्क...! बुहारी टाप!

हामीलाई पनि हांसो उठ्यो! हांस्दा हांस्दै एक जना मित्रले पनि आवाज निकाल्यो, पुँ..! तर मुलाको अचार जस्तै ! ओए पासा! ख्वास्सा मुला खाएर पाडेर ल्यायो। आर्को हांसो चल्यो। लौ आजलाई पादयात्रा यति नै! बांकी आफै सम्झनुस अनि हांसेर बस्नुस। अस्तु!

Thursday, 16 September 2021

बाउचा


किन किन आजकाल म आफुलाई निक्कै जान्ने सुन्ने लाग्छ भनेर बाउचा आफ्नो खुबी देखेर आफै दंग छ। कसैले राजनीतिको कुरा गर्‍यो भने बाउचाले राजनीतिमा राष्ट्रपतिले गर्ने काम, प्रधानमन्त्रीले गर्नु पर्ने काम, मन्त्री सन्त्रीले गर्नु पर्ने काम, न्यायाधीशले गर्नु पर्ने फैसला त्यो च्या पसल मै गर्दिन्छ। मोदिले यस्तो गर्नु पर्ने! इमरान खानले यस्तो गर्नु पर्ने! जो बाइडेनले यस्तो भन्नु पर्ने! पुटिनले यस्तो गर्नु पर्ने! 
टोल छिमेकमा मात्रै होइन संसारमा जो कसैलाई समस्या पर्‍यो भने त्यो समस्याको समाधान बाउचाले ठ्याक्कै गर्दिन्छ, मुखले मात्रै। सारा संसार एकापट्टी बाउचा आर्कोपट्टी भए पनि बाउचाले त्यो समाज जितिदिन्छ। त्यस्तो हिक्मत छ रे उसंग। आफैले आफैलाई संसारको उत्कृष्ट मनुवा सम्झिन्छ। 

हाम्लाई के छ र। उस्को कुराले हाम्रो माना पाक्दैन क्यारे! यस्सो सुन्दिए जस्तो गर्ने त हो नि। उम उम, हो, ठिक भन्यो बाउचाले भन्दिने हो। बिचरा बाउचा दङ्ग। तेस्का बाजेलाई उडाएको पनि थाहा नपाउने संसारको सल्लाहकार। लौ आजलाई यत्तिनै है! अस्तु।


Tuesday, 14 September 2021

हैट कस्तो आगोमा परिएछ?

किनेर ल्याउने म, अनि मेरो भाग चैं छैन? सांसद बजारमा गएर छानी छानी ल्याउने म, अनि मलाई चैं केही छैन? त्यो हिजो भर्ना भएको सांसदलाई मन्त्री अनि म बर्षौं देखि पार्टीको सेवामा लागेकोलाई केहि न केही? अहं! म त मान्दिन, मान्दै मान्दिन! 

तपाईंलाई सभापति बनाउन, संसदिय दलको नेता बनाउन रात दिन खटेको बिर्सनु भयो? साम दाम दण्डभेद गरेर तपाईलाई भनेर ज्यान दिएँ। आज यस्तो? हेप्नी? हेप्ने नि एउटा सिमा हुन्छ नि यार! मेरो मात्रै परिवार छैन? एउटा घर बनाउने आशा हुन्न? यत्रो बर्ष पार्टी पार्टी भनेर खटेर बल्ल बल्ल आज हाम्रो पालो आयो भनेको त तपाईंले पनि काखा र पाखा गर्ने? 

इमान जमानको त समय नै भएन हो। अब यस्तो पार्टीमा लागेर के होला र? आफ्नो पार्टी सरकारमा पुग्दा कस्लाई खुशी लाग्दैन र! खोइ के भन्ने? पीडा छ हजूर पीडा। आफ्नै पार्टी भित्र यस्तो आसेपासेले बिगार्छ भने सरकारको वरपर बस्नेहरुले झन के गर्ला?

होइन के हो पारा? मन्त्री बनाउने होइन? मेरो पालो कैले आउँछ? त्यसलाई बनायो भने म त बिद्रोह नै गर्ने हो। 

आम्मामा! बेकारमा जिम्मेवारी लिइएछ! जो पनि मन्त्री बन्छु भन्छ। त्यस्का बाजे! आफ्नो क्वालिटी के हो थाहा नपाएका मान्छेले पनि मन्त्री बन्छु भन्छ बा! हैन! के भाको हँ? बरु जति मन्त्री भा का छ्न, त्यतिबाटै देश हांक्दिछु, लौ जा! के को ङ्यार ङ्यार! पचास साठी जना मन्त्री भएनी काम थोपो हुने हैन। 

हैट! कस्तो आगोमा परिएछ? बेकारमा मेरो टाउको मात्रै दुखाउंछ्न। जति मन्त्री बनाए नि जसै नदिने भए। यो देशां काम गर्नै गार्‍हो भो बा! मलाई त यस्तो गार्‍हो छ, जनताले के आशा गर्छन? आश गर्नु भरोसा नगर्नु। अस्तु!

Thursday, 9 September 2021

फुलबारी

पर्यटनको घुमन्ते जीवनमा मैले एउटा गज्जबको फुलबारी देखेको थिएं। मौसम अनुसारका फुल फुलेको देख्दा मन आनन्द आउंथ्यो। समय समयमा गोडमेल, मलजल, सरसफाइ, गमला फेर्ने, काटछांट गरी राख्ने मालीको मिहेनत यत्र तत्र सर्बत्र वाह वाही थियो। मलाई अचम्म पनि लाग्थ्यो। फुल बेचेर पनि ज्यान पाल्न सकिन्छ र भनेर। तर उसले त ज्यान मात्रै होइन धेरैका परिवार समेत पालेको देख्दा खुबै अचम्म मानेको थिएं।

मालीको अचानक देहावसान भए पछि मालीका सन्तानहरुलाई बज्रपात नै भयो। फुलबिरुवा बारे अलि अलि ज्ञान भए पनि, यस्को बजारलाई आफ्ना पिताले कसरी ब्यबस्थित गरेका थिए भन्ने बारे अनुमान सम्म लगाउन नसक्दा, पिताको बिरासत छताछुल्ल भयो। समय छंदै आफ्ना पिताका पीर मर्का बुझ्ने, ब्यबसाय बारे ज्ञान लिने गरेका भए अहिले यस्तो अवस्था आउने थिएन। 

एक दुई जना सन्तानले आफ्ना पिताको बिरासतलाई निरन्तरता दिनु पर्छ भनेतापनि केही सन्तानले भने क्षणिक समस्यालाई पनि आकाश नै खसे जस्तो गरेर निरन्तर धान्न नसकिएला भनेर बेचिदिने सल्लाह दिए। सन्तान थरीथरीका! पिताको बिरासतलाई निरन्तरता दिएर धरोहर बचाउने अथवा भएको सम्पत्ति बेचेर ब्याज खाने सन्तानहरुबारे समाजले अनेक अड्कल काट्ने गरेका छ्न आजकाल। समयले देखाउला बिरासतले कसरी निरन्तरता पाउँछ, वा बिरासतको दु:खद समाप्ति। अस्तु! 

Friday, 3 September 2021

मलाई त चित्त बुझेन है पासा!

भन्यो भने भन्यो भन्ला, मलाई त चित्त बुझेन है पासा!

पर्यटक भिसामा नेपालमा आएर बाटो बाटोमा चिया बेच्ने र गीत गाएर पैसा मागेर गैर कानुनी क्रियाकलापमा लागेका पर्यटक देखेर दंग परेर बस्न हुन्छ र सरकार?

यस्ता पर्यटक चैं नेपालमा आउन पाउने, लन्ठङ लन्ठङ घुम्न पनि पाउने पैसा कमाउन पनि पाउने, उनीहरूलाई न आइसोलेसन, न क्वारेन्टिन। 

अनि पैसा खर्च गर्न आउने पर्यटकहरुलाई क्वारेन्टिनमा बस भन्ने अनि डुकुलन्ठक जस्तै डुलेर हिंड्न पाउने हो र? यस्ता वाहियात नियमहरु तुरुन्तै खारेज गरेर पर्यटकहरुलाई सहज वातावरण बनाई दिनु पर्छ।

मलाई लागेको त लेखी दिएं, अब पासाहरुले नै भन्नुस! संगठित संस्थाहरुले पनि सरकारको आँखा खोल्दिनु परो नि पासाहरु! कान खोल्दिनु पर्‍यो। 

बिचरा सरकारले अनुदान दिन सक्दैन होला, तर पर्यटक स्थलहरुको मर्मत तथा संभार गर्न, पदयात्रा मार्गहरुको संरक्षण, पर्वतारोहण मार्गहरु सरसफाइ गर्न हाम्रा पर्यटक ब्यबसायमा निर्भर रहेका पेशारतहरुलाई सामाजिक दुरीकायम गरेर रोजगारी सिर्जना गर्न गराउन त सक्छ नि यदि व्यवसायिक संघ संस्थाहरुले आ आफ्नो सदस्यहरुलाई परिचालन गर्न सक्छ भने।

पर्यटनमा पेशारत सबैलाई खोप दिनेकाम सम्पन्न गर्न सकिन्छ। स्थानीय सरकारलाई र स्थानीय पर्यटन ब्यबसायिक संघ, संस्थाहरुलाई परिचालन गरेर पर्यटन स्थलहरुलाई चुस्त दुरुस्त बनाउन सकिन्छ। यसबाट रोजगारी सिर्जना पनि हुन्छ, ब्यस्त पनि हुन्छ, हाम्रो पर्यटनलाई सहयोग पनि हुन्छ। जय पर्यटन! अस्तु!