14 March 2026
बाख्रा र घण्टी (Goat & the Bell)
28 January 2026
15 January 2026
माघे संक्रान्तिको शुभकामना
14 January 2026
विश्व शान्तिको लागि पदयात्रा (Travel for World Peace)
03 January 2026
01 January 2026
27 December 2025
मौनता एक समाधान (Silent Divorce)
झमक्क साँझ पर्न लागेको थियो। उकालो-ओरालो गर्दा थिचिएका गोडाहरू फतक्कै गलेका थिए। बास खोज्दै एउटा चालिसे अंकलको घरको आँगनमा पुगें। त्यहाँका दाइ र भाउजूले 'अतिथि देवो भव' को गाउँले संस्कार अनुसार मलाई न्यानो स्वागत गरे।
भान्सा निरको अँगेनाको तातोले दिनभरिको थकान मेटिए जस्तो भयो। दाइले गाग्रो उचालेर चिसो पानी पिलाउनुभयो भने भाउजू 'सिलौटो' मा खुर्सानी र टिमुर पिन्न व्यस्त हुनुहुन्थ्यो। मैले सोचेँ, "आहा! कस्तो मिलेको परिवार!" दाइले चुल्होमा दाउरा घुसार्ने, भाउजूले कराईमा रायोको साग ओल्टाइपल्टाइ गर्ने। दुवैको तालमेल घडीको सुइ जस्तै मिलेको थियो।
तर अलि बेरमा मलाई एउटा कुराले चसक्क बिझायो। दाइ मलाई 'हैट! बाबु त कति हिँड्न सकेको' भन्दै गाउँले भाखामा कुरा गर्नुहुन्थ्यो, भाउजू मलाई 'दूध हालेको चिया खानुस्' भन्नुहुन्थ्यो। तर, ती दुई प्राणीका बिचमा भने कुनै एक शब्द पनि साटासाट भइरहेको थिएन।
भाउजूलाई नुन चाहियो, उनले दाइको हातको बट्टातिर इसारा मात्रै गरिन्, दाइले तुरुन्तै बुझेर नुनको बट्टा अगाडि सारिदिनुभयो। दाइलाई 'साग' चाहियो, उनले भाउजूको हातको कराई तिर हेरे मात्रै, भाउजूले मुसुक्क पनि नहाँसी साग दाइको थालमा थमाइदिइन्।
म त अचम्ममा परेँ। लोग्ने-स्वास्नीको झगडा त 'परालको आगो' भन्छन्, एकै छिनमा हुर्र बल्ने र झ्याप्प निभ्ने। तर यहाँ त परालको आगो होइन, महिनौंदेखिको 'अखण्ड धुनी झैं मौन युद्ध' को कोइला सल्किरहेको जस्तो देखिन्थ्यो। खाना खान बस्दा भाउजूले 'दाडु' ले दाल पस्किइन्, दाइले चाम्रे भात थपिदिए। सेवामा कुनै कसर बांकी राखेका थिएनन्, तर उनीहरूको मौनता यति गहिरो थियो कि मानौँ उनीहरूले 'मौनता नै परम धर्म' भन्ने दीक्षा लिएका छन्।
भोलिपल्ट बिदाइ हुने बेला मैले ठट्टा गर्दै दाइलाई सोधेँ, "दाइ, भाउजू त कति ज्ञानी हुनुहुँदो रहेछ, बोल्दै नबोल्ने!"
दाइले मलाई अलि पर लगेर सुटुक्क भन्नुभयो, "होइन बाबु, कुरो त्यस्तो होइन। हाम्रो झगडा परेको त ६ महिना भयो। तर पाहुनालाई खुवाउन र घर चलाउन त हामी दुबै मिलिहाल्छम् नि! बोलेपछि दस थरी कुरो चिप्लिन्छ, अनि पो झगडा हुन्छ, नबोलेसी त सधैं शान्ति! यो मौनता नै हाम्रो घरको समाधान हो।"
मैले लामो सुस्केरा हालेँ। अचम्म! 'मौनता' को यस्तो हास्यव्यङ्ग्य त मैले कुनै किताबमा पनि पढेको थिइनँ। 'परालको आगो' निभाउन उनीहरूले 'मौनताको हिउँ' नै ओढेका रहेछन्। म आफ्नो बाटो लागेँ, पछाडि दाइ र भाउजू फेरि त्यही 'साइलेन्ट' तालमेलमा घरको काममा जुटेका थिए। अस्तु।