मलेसियाबाट काठमाडौं फर्कने क्रममा सामान चेक गरेर बोर्डिङ पास लिईसके पछि म ढुक्क भएर मेरो हाकिम संग काममा ब्यस्त भएं। ३ घण्टा अगाडि नै सामान चेक गराई सकेर बोर्डिङ पास लिए पछि मलाई कस्ले छाडेर जाला र भन्ने लाग्यो। अनि आफ्नै तालमा मेरो हाकिमको पछि पछि लागेर वाईफाई लाग्ने कुर्सी खोजेर बस्यौं।
अनि हाम्रो काम सुरु भयो। काम गर्दा गर्दै मैले मेरो फ्लाइटको बारेमा केही अपडेट आयो कि भनेर बारम्बार डिस्प्ले बोर्डमा आँखा लगाउन जान्थें। मेरा हाकिमले भने किन आत्तिएको? अब बोर्डिङ पास हातमा परेपछि जहाजले पक्कै पनि छोडेर जान्न केरे, भन्नु भयो। तर मेरो मन बेचैन थियो। मेरो हाकिम आर्को देशमा जाने भएकोले बोर्डिङ गर्न बांकी थियो।
मलाई भने मेरो फ्लाइटको एनाउन्समेन्ट भए जस्तो लागि रहेथ्यो। सर, म जान्छु भनेर आत्तिएं।
हाकिम साब: हैट! कति आत्तिएको? बेला भएको छैन क्या, यति काम सकाउन भ्याइन्छ, भन्नुभएपछि, होला त नि भनेर कामकै धुनमा लागें। आफु त जिन्दगीमा कैले काहिँ मात्रै देश बिदेश जाने गरेको, मेरो हाकिम संसार घुमिसकेको, भनेपछि उहाँलाई सबैकुरा थाहा भएकै हुनु पर्छ।
तै पनि मन मानेन, अनि अलि जिद्दी गरेरै म त जान्छु सर। ढीलो भएर प्लेन छुट्यो भने त बर्बाद होला। भनेर डौदेर गएं। सेक्युरिटी जांच गर्ने प्रहरीले यु आर टु लेट। हरि अप! टेक अ बस एण्ड रन भन्यो।
अनि कता डौदेर जाने भनेर पनि नसोधी, जुन पायो तेही लेनमा घुसेर जांदा इमिग्रेसनले रोक्यो। फेरि पासपोर्ट र बोर्डिङ पास देखाएर, प्लेन छुट्न लाग्यो, कता गएका थियौ ? भनेर केरकार गर्दै छिटोछिटो बसमा चढेर एअरपोर्ट पुग भनेर इमिग्रेसनको हाकिमले हकार्दा म त झसङ्ग भएं।
म एअरपोर्टमा नै छु भन्ठानेको मात्रै रहेछु। एअरपोर्ट त कता हो कुन्नी टाढा पो रैछ। दौडेर बसमा चढें, म संगै मेरो प्लेनमा जाने मान्छेहरु कोहि पनि भेटिएन। मनमा खलबली, केही बेर बस चढेर आर्को ठाउँमा पुगेपछी बोर्डिङ पासमा भएको गेट नम्बर सी २१ खोज्दै दौडदै गएँ। दौड्दै बोर्डिङ पासमा लेखेको गेट नं सी २१मा बल्ल तल्ल पुगें,
तर त्यहाँ कोहि पनि भेटिएन। कर्मचारी पनि थिएन। यताउता हेरें र बोर्डिङ पास देखाएँ। गेट त यहीँ हो। बेला पनि भएकै हो, अलि ढीला पनि भएको छ। एकै छिन पर्खनुस भनेर संगै आर्को प्लेनको एक जना कर्मचारीले भन्यो। त्यहाँ कोहि नदेखे पछि मेरो पसिना छुट्यो। खल खल पसिनाले ज्यान निथ्रुक्क भयो। खल्तीमा पैसा पनि थिएन। सर संग पैसा माग्न पनि बिर्सियो।
एकपटक मागेको पनि हो। अब पैसा चाहिंदैन नेपाल पुगे पछि त किन बिदेशी पैसा चाहियो र! भन्नुभएको झल्यांस्स भयो।
त्यही समयमा आर्को एक जना नेपाली पनि म जस्तै गेट खोज्दै आएका रहेछन् । मलाई लाग्यो मेरो मात्रै होइन अरुको पनि हालत उस्तै रहेछ। अनि हामी दुबैजना आत्तिएर प्रहरीको मद्दत लिनको लागि गयौं। प्रहरीले गेटपास हेर्यो, "गेट त यही हो, एकैछिन है" भनेर मोबाइल खोल्यो, ईन्टरनेट चलेन, पछि डिस्प्ले बोर्ड हेर्न जाम भनेर हामीलाई पनि संगै साथ दियो।
गेट नम्बर ६ भएछ, चेन्ज भएछ तपाईंहरु दौडेर जानुस भन्यो। कता हो कता? फेरि गेट नम्बर हेर्दै खोज्दै दौडदै गर्दा रिले दौडमा दगुर्दै गर्दाको ख्याल आयो। एक मनमा डर, आर्को मनमा आफ्नो लापरबाही भएको देखेर झोंक पनि चल्यो। तर के गर्ने? प्लेन छुट्यो भने झन दिमाग खराब!
दगुर्दै जांदा आर्कै बाटोमा पुगिएछ। गेट नम्बर छ भन्ठानेको त आर्कै तिर पो रैछ। थुक्क!
फेरि त्यो बाटोबाट फर्किएर आउंदा आर्को ग्रुप नेपालीहरु र केही पर्यटकहरु पनि बाटो भुलेर अलमल भएको देखियो। अनि सबैजना गेट नम्बर छ भनेर दौडेर जांदा भने म अगाडि पुगेछु। अनि फेरि झोला, बेल्ट, पर्स खोलेर सुरक्षा जाँच। किन ढीलो? भनेर प्रश्न। अनि तिम्रो देशको एअरपोर्ट काम नलाग्ने रैछ भनेर उल्टो जवाफ दिएं। धन्न प्लेनले छाडेर गएनछ। अनि लामो श्वास फेरें र प्लेन तिर हेरें। धन्न प्लेनले मलाई पर्खेर बसेको रहेछ।
एकैछिनमा प्लेन अलि ढीलो भएछ धैर्य गर्नुस भनेर जानकारी आयो। प्लेन ढीला नभएको भए! के हुन्थ्यो होला मेरो हालत? आधा घण्टा ढीलो प्लेन उड्यो। नेपाल फर्किन पाइयो। अस्तु।