ओइ माइला! माइला! हैन के हो, तेरो पारा! यत्रो बर्ष भैसक्यो, जिन्दगीमा केहि गर्नु पर्दैन? न घर बनाएको छ, न गाडी किन्यो, हैन पैसा चैं के गर्छस हं? सबै खाएर सिध्याएको भनौं भने कतै रेस्टुरेन्टमा गएर जांड रक्सी खाएको नि देख्दिन। कतै आर्कैलाई पो पोस्दैछस कि क्या हो?
खोइ दाई! म पनि छ्क्क परेको छु। गर्न त धेरै गरेको छु नि दाई। हरेक पटक ट्रेकिङ गएर आएको पैसाले घर खर्च चलाएको छु। आफुले स्कुलको अनुहार देख्न नपाएकोले मेरा भाइ बहिनीलाई राम्रो स्कुलमा पढाएर हुर्काएकै हो। उनीहरूलाई आफ्नै खुट्टामा उभ्याउन सक्षम बनाएकै हो। अहिले आ आफ्नो काम गरेर बन्दोबस्तीका साथ बसेका छन् ।
त्यै त भनेको तेरो दाई, दिदी, भाई, बैनी सबैले आ आफ्नो बन्दोबस्त गरिसकेका छन् , तं चै जस्ताको तस्तै छस। न तेरो घर छ, न गाडी? अझै डेरामै छस। आफ्नो पनि त बेबस्था गर्नु परो नि। कैले गर्छस? तेरो दाई, भाई, दिदी, बहिनीहरु सबैलाई तैंले बेबस्था गर्न सघाउने अनि तं चाहिँ संधै यस्तै डेरा मै बस्ने? अब त तेरो उमेर पनि हेर्नु नि।
हुन त हो दाई। उ बेलामा दाई र म ट्रेकिङमा जांदा आमाले दुबैले पैसा खर्च नगर्नु, एकजनाको कमाई जम्मा गर्नु, आर्कोले घर खर्च गर्नु, अनि हाम्रो जीवन सजिलो हुन्छ। अनि घरजम गर्न पनि सजिलो हुन्छ भन्नु भएकोले दाईको पैसा जति जम्मा गर्दै जानू भयो, घर खर्च सबै मैले नै धानें। घर किने पछि दाई, दिदी, बहिनी, भाइ र आमा उतै बस्न जानु भयो। तर पनि भाई र बहिनीको स्कूलको फिस चैं मैले नै जम्मा गर्दै पढाएकै हो। उनीहरुको पढाई सकेर बिहेबारी गरि सके पछि, कमाउने भए पछि छुट्टै बसे। खुशी लाग्छ। सबैको आ आफ्नो घर छ। मैले चैं के गर्ने? कमाउन सकिएन। कमाएको जति यस्तैमा उडाइयो भनेर चित्त बुझाएको छु दाई।
अस्ति बाबाले पनि, तपाईंले भन्नु भएझैं नै भन्नु भयो। के गरिस जिन्दगीमा? एउटा घर पनि बनाएनस, एउटा गाडी पनि किनेनस, पैसा चै के गर्छस? भन्नु भयो। मेरो घर, मेरा दाजुको घर एउटै त हो नि भनें। त्यो त तेरो दाईको पो हो? तेरो हक लाग्दैन भन्नुभो। आमाले पनि दाजुकै हो तैंले के गरिस र भन्नुभो। तैंले खाएरै सिध्याइस भन्नुभो! हुन पनि सबैलाई ख्वाएरै सिध्याएको हो मैले।
जिन्दगीभर कमाएर खुवाएर, बिमारी हुंदा, औषधि खुवाएर, बिजुली, पानी, टेलिफोन, मोबाईल खर्च, स्कुलमा तिरेको फिस, दशैं, तिहार, ल्होसार, मनिरिम्दु, दुम्जीमा पाहुनालाई बोलाएर खुवाएको सबै बिर्सिने पो रहेछ।
मैले जिन्दगीमा केही गर्न सकिन दाई। न घर बनाएं, न गाडी किने! सबै खाएर नै सकियो। मरिलानु के छ र अब कति काम गरिएला, कति बांचिएला, बाचुन्जेल परिवारको सेवा गर्न पाएकै छु। भाग्यले साथ दिए साउजीले काम दिई नै हाल्छ। ट्रेकिङ जान सकेकै छु। सकुन्जेल कमाएर एउटा स्वास्नी पालेकै छु। अब त स्वास्नी पनि पाल्न नसकिएला भनेर चिन्ता लागेको छ। सबैले भन्छन, माईला! के हो तेरो पारा? अस्तु।