Grab the widget  Get Widgets

Monday, 10 September 2018

क्लिनिकमा कुराई

खोक्रो खोकि, जर्जर ज्वरो, सिंगाने रुघाले ग्रस्त भएर डाक्टरको खोजीमा जांदा बाटो हल्लिएको जस्तो आभास भयो। बल्ल तल्ल बिरामी जांच्ने क्लिनिकमा त पुगियो, डाक्टर साहेबको सवारी भएको थिएन। एकैछिन कुर्नुस है भन्नू भयो, नजिकैको डेस्कमा बसेकी स्वास्थ्य कर्मी नानीले। हस त भन्नै पर्‍यो। अरु कुनै उपाय नभए पछि।

म कुरेको ठाउँ संगै औषधि पसल थियो। औषधि लिन आएको एकजना बिरामीले खल्तीमा हात घुसार्‍यो, एक पुरिया खोइ के हो झिक्यो, दायाँ हातको चोर औंला र बुढी औंला त्यो पाकेट भित्र घुसाएर एक चिम्टी केही झिक्यो र बिहान बिहान नधोइ आएको मुख आँ गरेर दाँत र गीजाको छेवैमा राखेर, नजिकैको फूलमै पर्ने गरी पीच्च थुक्यो। भर्खर फुल्न लागेको फूलले के भन्यो कुन्नि ? तर मलाई त्यो मान्छेलाई सभ्य भन्न चै मन लागेन। त्यतिले नि पुगेन त्यो प्लास्टिकको पुरिया खाली भएछ कि क्या हो, त्यो नि फ्याट्टै फ्याँक्यो। त्यो पनि आर्को फूलको टाउको मै अल्झियो। फूलको ठाउँमा कस्तो देखियो होला तपाइँ आफै अनुमान लगाउनुस।

अनि त्यो मनुवा, औषधि पसलमा आएर दाँत र गीजाकै उपचारको औषधि किनेर गयो। म अक्कनबक्क भएर हेर्‍या हेरै।

लौ डाक्टर साहेब नि आउनु भएछ। म आफ्नो जाँच गराउन हिंडें। अस्तु।

No comments:

Post a Comment