एक दिन साहुजीले नयाँ प्रस्ताव ल्याए – “अबदेखि तिमीहरू एक दिन पसल आउ, अर्को दिन बिदा। आराम पनि चाहिन्छ नि! आलो पालो गरि पसल हेर्ने, अब अफ सिजन पनि भो। काम पनि धेरै छैन, तिमी आएको दिन उ आउन पर्दैन, उ आएको दिन तिमी आउन पर्दैन।"
काले रमाइलो स्वभावको मान्छे, मुस्काउँदै सोध्यो, “अनि तलब चैं महिना भरकै?”
साहुजी आत्तिए! "तेस्का बाजे! मलाई बौलाहा कुकुरले टोकेको छ र, काले? नआएको दिन को पनि तलब बाँड्छ कसैले, त्यो पनि मैले, आफ्नै कपडा किन्दा त कमिसन लिन्छु मैले पसलाँ बुझिस? आएको दिनको तलब दिइन्छ। बिदा भएको दिन त तलब हुने कुरै भएन। त्यत्ती पनि बुझ्दैनस लाटा?”
गोरे कर्मचारी गम्भीर हुँदै: “अनि महिनामा त चार टा शनिबार पनि त हुन्छ नि साउबा?”
“हो त! त्यो त आरामको लागि हो,” साहुजीले ढुक्क संग भने।
“त्यो आराम चै तलब सित कि तलब बिना?” काले कर्मचारीले आँखा झिम्काउँदै सोध्यो।
“काम नगरेसी दाम किन?” साहुजीले अर्थशास्त्र पढाए जस्तो गर्वले भने।
गोरे कर्मचारी अब झन् गम्भीर हुँदै बुझ्ने कोशिश गर्दै: “त्यसो भए महिनामा ४-५ शनिबार कट्टी हुंदा २५ दिन बांकी हुन्छ, त्यसमा एकदिन आउने एक दिन नआउने गर्दा जम्मा १२ दिन काम गरे पुग्ने भयो र तलब पनि १२/१२ दिनको मात्र हुने भो होइन त साहुजी?”
“हो, बल्ल बुझ्यो, गोरेले। काले! तैंले पनि बुझिस होला नि ! जुन दिन काम गरियो, त्यो दिनको दाम पाइयो – हिसाब र पिसाब भनेको सफा हुनु पर्छ, नत्र हिसाब बिग्रे सम्बन्ध बिग्रन्छ, पिसाब बिग्रीए मिर्गौला!”
दुबै कर्मचारीले हातमा औंला गन्दै भन्यो, “अनि महिनाभरमा तं र म मिलेर काम चैं सबै गर्ने, अनि दाम चैं १२/१२ दिनको पाइने भो होइन त पासा? साउबाले त गज्जबको आइडिया निकाल्नु भएछ। आधा लगानी, दोब्बर फाइदा!”
“होइन हो,” साहुजी अलिक हडबडमा परे।
“अनि के हो त, साउबा?” कालेले कर्मचारी ठट्टात्मक मुस्कानसहित भन्यो, “साहुजी, यस्तो राम्रो प्रस्ताव’ तपाईं नै राख्नुस्, फाइदा पनि तपाईंले नै खानुस्! हामलाई फुर्सद छ, त्यस्को मतलब तपाईंलाई जुन बेला मन लाग्छ काममा लगाउने! मन नलागेसी धपाउने हो भने ज्यालादारीमा कामदार खोज्नुहोला। तपाईंलाई कर्मचारी होइन र छ, ज्यालादारी मान्छे फिट हुन्छ। हुन त कर्मचारी भनेको तपाईंको लागि खल्तीमा राखेको खैनी जस्तो रैछ, जुनबेला चाहियो त्यो बेला खानी! त्यो चै हामी हुन सकिन है। तपाईंको प्रस्ताव तपाईलाई नै दिएम। हामी त बरु घरमै खेती किसान गरम्ला, लौ दुई हात जोडेरै, नमस्कार!”
काले र गोरे दुबैजना गाउँ फर्के। साउजी कर्मचारीहरुको ताल देखेर "आजकाल भलोको जमाना नै रहेन", भन्दै आफै पसलको रेखदेख गर्दै बसे। अस्तु।
साउबाको आइडिया कस्तो लाग्यो? कमेन्टमा लेख्नुस है!
