डिप्रेसन भनेको के होला कस्तो बेलामा हुन्छ, कसलाई हुन्छ, किन हुन्छ भन्ने निक्कै खुल्दुली लाग्ने गर्थ्यो । थाहा थिएन मलाई पनि डिप्रेसन भएको भन्ने । कुनै समय थियो, जुनबेला मलाई कार्यालय जाने समय भयो कि टाउको निक्कै भारी हुने, रिंगटा लाग्ने, नाडी को धड्कन नै हराउने, पसिना आउने, ज्वरो नै आए जस्तो हुने, रक्तचाप (ब्लडप्रेसर), कहिले निक्कै कम हुने कहिले निक्कै बढ्ने हुने भयो ।
मोटरसाइकल चढेर कार्यालय सम्म पुग्न पनि हम्मे हम्मे हुन्थ्यो। बाटोमा कसैले धक्का दिन्छ कि, गाडीले झ्याम्म हिर्काउछ कि भन्ने डर हुन्थ्यो । कहिले काहीं अगाडीको गाडीलाई धक्का दिएर उछिनेर जाउकि जस्तो लाग्थ्यो । कसैले ओभरटेक गर्यो भने पनि झनक्क रिस उठ्ने पनि हुन्थ्यो ।
घरमा पनि पुगे पछि एकान्तमा बस्न मन् लाग्ने, कसै संग कुरा गर्न मन नलाग्ने, आफ्नो मनमै थुप्रै कुरा खेलाएर बस्न मन लाग्ने भयो ।
कार्यालयमा सामान्य कुरा पनि गाह्रो लाग्ने, अझ टेलिफोनको घन्टी बज्योकी मलाई फुटेको आँखाले पनि हेर्न मन नलाग्ने हाकिमले फेरी किन बोलायो होला भन्ने मनमा त्रास हुने भयो । ग्राहक हरु पनि कहिले जाला जस्तो लाग्ने, त्यो हाकिम को त नाम मात्र लिंदा पनि मलाई रनक्क रिस उठ्थ्यो । हुँदा हुँदा कलेजमा पढाउन पनि जान मन नलाग्ने, गए पनि एकाग्र हुन नसक्ने । क्लास् नै छाडेर जान मन लाग्ने भयो ।
हुन त मैले कर्मचारीहरुलाई डिप्रेसन भयो भने यस्तो हुन्छ उस्तो हुन्छ, फ्रस्त्रेसनबाट कसरी उम्किने भनेर सल्लाह सुझाब समेत दिने गर्ने भएकोलेमा म आफै डिप्रेसनमा जान्छु जस्तो लागेको थिएन ।
एकदिन गंगालाल अस्पतालमा गएर सबै स्वास्थ्य जांच गराउंदा शारीरिक हिसाबमा सबै ठिक छ । एकपटक पल्लो कोठामा गएर काउन्सेलिङ्ग गर्नु पर्छ भनेर डाक्टर साहेबले भन्नु भयो । म संग गएकी मेरी अर्धाङ्गिनिले भनिन " के भयो डाक्टर साहेब मेरो बुढा त खुस्क्यो कि क्या क्या हो?"
डाक्टर: त्यस्तो त होइन एक पटक सर सल्लाह लिंदा के बिग्रिन्छ र भनेर नि । तपाईको बुढालाई शारीरिक रोग केहि लागेको छैन ।
अर्धाङ्गिनि: मतलब मानसिक रोग हुन सक्छ ? ए बुढा ! खुस्क्यो जस्तो छ है मलाई त संका नै लागेको छ है ।
"नकरा बुढी, खुस्के के गर्ने नि ।" एकछिनमा हामी काउन्सेलिंग गर्ने कोठामा पुग्यौं । तरुनी डाक्टर साहेबले हामी दुबैलाई भित्र बोलायो । मलाई हुने र भएका कुरा हरु सबै सुनीन ।
डाक्टर: तपाई माइल्ड डिप्रेसनमा जानु भएछ । आफैलाई सबै थाहा छ भनेर हुन्न । मूल जड के हो पत्ता लगाउनु पर्छ । के कुरा चित्त बुझ्दैन त्यो स्पष्ट राखिदिनुस । जागिर भनेको आफुलाई मन लागे सम्म खाने हो, बाताबरण छैन भने स्वास्थ्य भन्दा ठुलो कुरा केहि हुँदैन । स्वाथ्य छ, स्वस्थ्य हुनुहुन्छ भने जत्ति पनि काम पाइन्छ, स्वास्थ्य नै छैन भने काम को के महत्व । जिन्दगी रमाएर बाँच्नु पर्छ । भन्नु भए पछि मात्र म झसंग भएँ । बास्तब मै म डिप्रेसन मा गएको रहेछु ।
त्यस पछी मेरो घैटो मा पनि घाम लाग्यो । हरेक दिन रसरंग गरेर काम गर्नु पर्ने मेरो जिबनमा एक्कासी नकरात्मक सोचले जकड्न थाल्नु नै डिप्रेसनमा जानु हो भन्ने मैले बुझे पछि मैले काम छाड्नु नै बेस माने ।र काम छाडे पछी सबै ठिक ठाक । अचम्म के भने, मेरो रक्तचाप देखि मुटुको धड्कन सबै ठिक भयो। नकरात्मक सोंच बाट सकारात्मक सोंचमा आएँ । मेरो दैनिक जिबन सामान्य भयो ।
मेरो भनाईको मतलब सबैले जागिर नै छाड्नु पर्छ भन्ने होइन । मन नलागेको काम गरेर डिप्रेसनमा जानु भन्दा आफुलाई मन परेको काम गरेर खुशी खुशी रमाई रमाई काम गर्दा आफ्नो वृत्ति विकासका साथै आफुले काम गरेको कम्पनिको पनि विकास हुन्छ भन्न खोजेको मात्रै हो । अस्तु ।
No comments:
Post a Comment