Grab the widget  Get Widgets

30 September 2025

जिम्मेवारीको पीडा

गाउँको पुरानो घर। आँगनमा गोठ, भान्साबाट धुवाँ, चिया पाकिरहेको बास्ना आइरहेछ। बिहानै उठेर बाबुकाजी खेततिर लाग्छन्, खेतमा उम्रेका फर्सी, कुरिलो, कांक्रो, लौकाको हेरचाह गर्छ। काम गर्दा निधारभरि पसिनै पसिनाले भए पनि तरकारीले टोकरी भर्छन्। सबै तरकारी बोकेर कालिमाटी बजारमा लैजान्छ। कालिमाटी सम्म जांदा बसमा खर्च लाग्छ भनेर केही पैसा बचाउन भए पनि हिंडेर जान्छ। आउंदा जांदा चर्को घाम, बाटोको राप अनि दिनै भरी ग्राहक संग मोलमोलाइ गरेर जम्मा गरेको पैसा एक पटक मासु किन्दा स्वाहा नै हुन्छ। त्यसैले पैसा बोकेर नै घर जान्छ।

तर बेलुकी घर फर्कना साथ उनलाई परिवारका सदस्यहरुले मीठो  स्वागत गर्दैनन्, बरु थप सुनाउन लाग्छ। संधै त्यै बारीको तरकारी! कैले काहिँ त मासु लिएर आए पनि त हुन्छ है! 

बाबुकाजीको आमा भन्नुहुन्छ “मेरा कुरा त सुन्ने नै होइन क्यारे! खाली स्वास्नीको कुरो मात्रै सुन्छ्स्। दिनभरी काम गरेपछी बाटो मै केही खाएर आए हुन्छ नि!”
श्रीमती झर्किन्छिन् “तिमीले त तिम्रो आमाको कुरा मात्रै सुन्ने त हो नि। मेरो कुरो त कानमा पर्दै पर्दैन।”
यतिले नपुगेर छोराछोरी आ–आफ्नै गुनासो लिएर खडा हुन्छन्, “बाले हामीलाई कहिल्यै समय दिएनन्, पढाइको लागि राम्रो स्कुल कहिले हालेनन्। हाम्रो भविष्य नै बिगारिदिए। बाउ आमाको कर्तब्य होइन र? याँ हेर्दा बाउ बिहान देखिन ब्यस्त, तर कमाई भने कता लान्छ कुन्नी?”
अब त नातिहरू पनि जिद्दी गर्दै खेतमा खेल्न जाने अनि झटपट खाजा माग्छन्। दिएन भने यो बुढा त कस्तो लोभी रैछ भन्छन् ।

यतिकैमा श्रीमतीले फेरि तिखो वाणी छोड्छिन् “हेर बुढा! अरूका श्रीमानले कत्रो घर ठड्याए, गाडीमा सरर घुमे, बिदेशका फोटो देखाउंदै फेसबुकाँ हाल्छ्न्। हाम्रो बुढा त दिनभर काम गर्न हिंडेका भन्छन् , दुई छाक पनि मीठो खिलाउन सक्दैन।”
आमाले थप्छिन्– “हेर छोरा तंइले सबै खानेपिउनेमा नै पैसा सकिस्, अहिले सम्म सम्पत्ति केही जोड्न सकेनस्। संधै तेरो बाउको घरमा बसेर तेरो जिन्दगी जाने भो। छोरो भनेको जिन्दगीमा एउटा घर बनाउन सके मात्रै हुन्छ। तेरो घर पुजा गर्ने मेरो सपनाथ्यो, सपना मै रहने भो।”

बाबुकाजी, परिवारका मुली भनम भने आफुले कमाए जस्तो खर्च गर्न सकेको छैन नभनम भने सबै खर्च पर्च आफ्नै कमाईले घरपरिवार चलेको छ। न बोल्न मिल्छ, न रुन सकिन्छ। टन्टलापुर घाममा हिंडेर आएर आफ्नै पसिनाले भिजेको लुगा बारीको रुखमा झुण्ड्याउंछ। उनले मनमनै भन्छ, “एक्लो ज्यानले बिहानदेखि बेलुकीसम्म जोतेर, पसिना बगाएर कमाएर ल्याएको पैसाले मेरो परिवारका सबैले बसि बसि खाँदा त मजा आउँछ होला नि। तर जति खाएपछि कसैले पनि ‘धन्यवाद’ सम्म पनि भन्दैनन्! हुन त आशा पनि छैन। धन्यवाद भन्ने त परै जावस, बरु ‘निकम्मा’ 'हुत्तिहारा' भन्ने शब्द सुन्नु पर्दा भने मेरो मन् चसक्क हुन्छ।” 

सारा आरोप, अपेक्षा र गुनासोको बीचमा बाबुकाजी आफैँ घरको भित्ताझैं निःशब्द हुन्छन्। गाउँको त्यो पुरानो घर त अझै ठडिएको छ, तर बाबुकाजीको मन भने भत्किँदै गएको छ।

यसरी परिवारले बाँच्ने बलियो खम्बालाई नै कमजोर बनाउँछ। जुन काँधले सबैलाई थामिरहेको छ, त्यो काँधलाई नै सबैले थिचिरहेका छन्। जिम्मेवारीको भार। अस्तु।

28 September 2025

गालीको पींढी

लघुकथा: “गालीको पींढी”

रामे (रामबहादुर) सानैदेखि गाली खाएर हुर्किएको मान्छे। गाउँका छरछिमेक र बुढाबुढीले उनलाई “ए गधा!”, “ए मूर्ख!”, “ए लम्फु"  "ओए ग्वांग्रे" भन्ने शब्द बिहान देखि बेलुकी सम्म नै सुनेर हुर्केका थिए। त्यसैले रामेले आफ्नो बालबालिकालाई पनि यस्तै परिबेशका बोली नै प्रयोग गरेर बच्चाहरु हुर्काउन पर्छ भन्ने मनोभावना लिएका थिए।

अब रामेको बिहे भैसकेको थियो। मानिसहरुले अलि फरक नजरले हेर्न थाल्यो। सायद रामे सुध्रेर जान्छ भन्ने आशा गरेका थिए। अलि फरक पनि हुनै पर्‍यो। पारिवारिक जञ्जाल र सामाजिक परिबेश संगै घुलमिल हुनै पर्‍यो। समय अनुसार रामेको बच्चाहरु भयो। हुंर्कंदै गयो। कहिलेकाहीं आफ्नो बालपनमा भए गरेका कठिन समयको असर आफ्नो बालबच्चामा नपरोस भन्ने भावना पनि गर्थ्यो।

बच्चाहरू हुर्कंदै जांदा चुलबुल गर्दा घरका भांडाकुंदा टुट्ने फुट्ने हुंदा भने आफु बालक हुंदा खाएको गालीको सट्टा भर्ना लिने जस्तो व्यबहार गर्थ्यो। आफ्नै बालबच्चाहरुलाई ठूलो मान्छेलाई जस्तै गाली गरेर झपार्दी हाल्ने गर्थ्यो। बिचरा बच्चाहरु न त कुरा बुझ्ने उमेरमा थियो, न सम्झिन सक्ने। 


तर रामे बुबा भने बिहानैदेखि गाली बैंक जस्तै लाग्थ्यो "ए अल्छी! ओए ग्वांग्रे!”। बिचरा बच्चाहरुले जे गर्न खोज्दा पनि डराएर गरुंकि  नगरुं कन्फ्युज हुन्थ्यो। आर्काको बच्चाले यसो गर्छ, त्यस्सो गर्छ, तंइले यति जाबो काम पनि गर्न सक्दैनस् ? भनेर हरेक पटक रोक्ने टोक्ने गर्दथ्यो। यसो गर्दा बच्चाले पनि केही काम आफैले नगर्ने र गर्न पनि डराएर मात्रै गर्थ्यो।

आमा सीता त झन् वाक्क। आफ्नो सन्तानलाई हेरेर भन्थिन्, "यो हाम्रो बच्चा हो कि, त्यसका बाबुको गालीको लागि प्रयोगशाला?"

एक दिन टोलमा आएका बाल मनोवैज्ञानिक डाक्टर साबले यो दृश्य देखे। उहाँले रामबहादुरलाई सोधे, “दाइ, किन आफ्नै बालबच्चाहरुलाई यति धेरै गाली गर्नु हुन्छ?”

रामबहादुर हाँस्दै भने, “ किन र! मैले के गल्ती गरें र? मेरै बच्चाहरु हुन! म पनि त जिन्दगीभर गाली खाएरै हुर्केको मान्छे, त्यसैले बानी परेको हो। यति गाली गरेन भने त बच्चाहरुले भोलि मलाई टेर्दै टेर्दैन नि!”

डाक्टर साब मुस्कुराउँदै उत्तर दिए, “त्यसैले त तपाईं अझै पनि रिसाहा  हुनु हुन्छ। गालीले बच्चाको आत्मा नै सुक्छ, डर मात्र बढ्छ। आत्मबल हराउंछ। आफुले आफुलाई बिश्वास गर्न सक्दैन। सायद! तपाईंको आफ्नो बालापनमा तपाइले धेरै गाली खाएको होला, अनि तपाईँमा यो चिडचिडापन अझै आएको हो। नत्र तपाईं यस्तो मान्छे हुन नपर्ने हो। घर ब्यबसाय राम्रै छ। तर तपाईंको बोली भने गोली जस्तो छ। 

आफ्नो सन्तान प्रति तपाईंले दुश्मनको जस्तो व्यवहार गर्दै हुनुहुन्छ। अनि आफ्नो सन्तानबाट तपाईंले सकारात्मक व्यवहार खोजेर आउँछ? प्रेमको बोलीले पो आत्मबल जगाउने गर्छ।  "मेरो छोरा" "मेरो ज्ञानी बाबु", भन्ने शब्द सुन्दा बालक मुस्कुराएर भनेको मान्ने हुन्छ र व्यबहार पनि फरक पर्छ। कमसेकम प्रयास त गर्नुस्!”

रामबहादुर अचम्ममा परे, “गाली बिना पनि बच्चा हुर्कन्छ त?”

डाक्टर साहबले हाँस्दै भने, “गालीले त जिन्दगी नै ध्वस्त बनाउंछ, मायाले मात्र ब्यबहारिक हुन्छ। बच्चालाई हरेक दिन साना–साना कुरामा निरुत्साहित गर्नुको साटो प्रोत्साहनका शब्द दिनुस्। ‘तिमी सक्छौ’, ‘तिमी राम्रो गरिराछौ’। यस्तै यस्तै! मीठो बोली वचनले नै सन्तानको मनोबल अकाशिन्छ।”

त्यस दिनदेखि रामबहादुरले गालीको पसल बन्द गरे। अब छोरालाई देख्नेबित्तिकै भन्थे, “ए मेरो बाबा, आउ त, कति ज्ञानी छोरा।”

सीता हाँस्दै भनिन्, “अब भने सांच्चै राम बहादुर हाम्रो घरमा आएको छ। धन्यवाद डाक्टर साहब! अब हाम्रो घर गालीको कारखाना होइन, मायाको बगैँचा बनेको छ।” अस्तु।