माटोको कसौंडीमा घरकै भैंसीको बाक्लो दही, बोरामा कुटिएको मसिनो र बास्नादार चिउरा, आफ्नै बारिको केरा र आँप अनि सखरको डल्लो। आहा! हेर्दै मुख रसाउने।
"लौ कान्छा, मुछ्," बाजेले मलाई अह्राए। "दहीले चिउरालाई राम्ररी नभिजाएसम्म मज्जा आउँदैन, बुझिस!"
मैले हातले मज्जाले मुछेर एक गाँस मुखमा हालेँ। स्वाद पनि यति गज्जबको थियो कि मैले आँखा चिम्लिएर भनेँ, "आहा बाजे! दही-चिउरा भनेको त यस्तो पो हुनुपर्छ। चिउरा दहीमा लपक्कै परेर, आफ्नो अस्तित्व नै बिर्सेर, दहीकै स्वादमा विलिन भए जस्तो!"
मेरो कुरा सुनेर रामहरि बाजे खित्का छाडेर हाँसे। हाँसो रोकिएपछि गम्भीर हुँदै भने, "कान्छा, तैंले कुरो त ठिकै गरिस्। तर एउटा कुरा सधैं याद राख्।
बाजेले सखरको डल्लो चपाउँदै, दार्शनिक मुद्रामा भने, "हेर् न कान्छा, यो चिउरालाई हेर्। जबसम्म यो सुक्खा हुन्छ, यसको आफ्नै कडकपन हुन्छ, आफ्नै आकार हुन्छ, आफ्नै चिनारी हुन्छ। यसलाई चपाउँदा ‘झुरुम-झुरुम’ आवाज आउँछ। तर जब यसमा दही पर्छ नि, यो लत्रक्कै पर्छ। नरम हुन्छ, फुल्छ र अन्त्यमा दहीमा यस्तो घुल्छ कि यसको आफ्नो कडकपन, आफ्नो पहिचान नै हराउँछ। त्यसपछि यसलाई जे गरे पनि हुन्छ, जसरी खाए पनि हुन्छ। लड्डु बनाए पनी हुन्छ।"
म अझै ध्यान दिएर सुन्दै थिएँ।
बाजेले अगाडि बढाए, "हाम्रो समाजमा पनि यस्तै ‘दही-चिउरे’ मान्छेहरु हुन्छन्। जबसम्म एक्लै हुन्छन्, उनीहरुको आफ्नै सानोतिनो विचार, आफ्नै अडान भएजस्तो देखिन्छ। तर जब कुनै ठूलो ‘दही’ जस्तो नेता, हाकिम वा पैसावाला मान्छे अगाडि पर्छ, उनीहरु खुरुक्कै त्यसमा भिज्न पुग्छन्। आफ्नो विचार, आफ्नो स्वाभिमान, आफ्नो ‘झुरुम-झुरुम’ गर्ने चरित्र सबै बिर्सेर त्यही दहीमा लपक्कै टाँसिन्छन्।"
बाजेले पर खेतमा काम गरिरहेको झिल्के दाइलाई देखाउँदै भने, "ऊ त्यो झिल्केलाई हेर् त। अस्ति गाउँमा ‘क’ पार्टीको भेला हुँदा, उसले रातो टोपी लगाएर 'हाम्रो नेता जस्तो कोही छैन' भन्दै नारा लगायो। हिंजो ‘ख’ पार्टीको मान्छे आएर मासु भात खुवाउँदा, रातो टोपी फुकालेर 'अब त परिवर्तन चाहियो, फलानो नेता नै देशको कर्णधार हो' भन्न थालिहाल्यो। ऊ आफैंमा एउटा सुक्खा चिउरा हो, जो जता दही भेट्यो, उतै भिज्न तयार हुन्छ। उसको आफ्नो कुनै स्वाद छैन, विचार छैन। जो आउँछ, उसैको गुणगान गाएर लत्रक्क पर्छ। त्यस्तै मान्छे हो ‘दही-चिउरे’ भनेको।"
बाजेको कुराले मेरो दिमागको बत्ती बल्यो। मैले हाँस्दै भनेँ, "ए... कुरो पो यस्तो! भनेपछि, आफ्नो विचार र अडान नभएको, जो जता शक्तिशाली भयो उतै ढल्किने मान्छे नै ‘दही-चिउरे’ रहेछ।"
"हो नि त कान्छा, हो," बाजेले मेरो ढाडमा धड्याम्म धाप मार्दै भने। "जीवनमा दही-चिउराको स्वाद लिनु, तर आफ्नो चरित्रलाई कहिल्यै ‘दही-चिउरे’ बन्न नदिनु। आफ्नो स्वाभिमानको ‘झुरुम-झुरुम’ आवाजलाई कहिल्यै मर्न नदिनु। बुझिस्?"
"बुझेँ बाजे, राम्रैसँग बुझेँ," भन्दै मैले दही-चिउराको अर्को गाँस मुखमा हालेँ।
यसपटक दही-चिउरा खाँदा मलाई स्वाद मात्र आएन, रामहरि बाजेको गहिरो जीवन-दर्शनको शिक्षा पनि मिल्यो। हामी दुवै जना पिपलको शीतल छहारीमा बसेर, आ-आफ्नो कचौराको दही-चिउरा झुरुम-झुरुम चपाउँदै, पर खेतमा लत्रक्क परिरहेको झिल्के दाइलाई हेरेर मुस्कुराइरह्यौं। अस्तु!