Grab the widget  Get Widgets

19 May 2025

जागिर खान आई देउ बाबा ठाकुरे।

एउटा बिज्ञापन कता तिर पो देखेको थिएँ। जागिर खान आइजे भनेको। अनि कुरा था पाएसी के चाहियो र! यो संसारमा म बाहेक जागिर खान उपयुक्त मान्छे कोई माइकालाल ज जस्तो लागेन। आफु भने बेरोजगार भएको महिनौं भैसकेको अवस्थामा यस्तो जागिर खान आइजे भनेसी बुरुक्क भै हालियो। अनि फोन गरियो।

हलो! तपाईंलाई जागिर खाइदिने मान्छे चाहिएको भनेर बिज्ञापन हाल्नु भाको रछ। अब त्यो बिज्ञापन हटाई हाल्नोस त। म आईसकेको छु। बरु भन्नुस कति तलब दिनु हुन्छ? कैले दिनु हुन्छ, हरेक हप्तामा दिनु हुन्छ कि महिना मरे पछि?
उता: (फोन उठाउने मान्छे, त्वां पर्दै) के कामको लागि हो क्यारे?
यता: हैट, बिज्ञापन दिएको र छ त!
उता: त्यो त हो, अनि तपाईंले निवेदन दिनु भो त?
यता: किन चाहियो? निबेदन सिबेदन। म भए पुगिहाल्यो नि। मलाई चिन्नु हुन्न? म भनेको यो देशमा सबैभन्दा उपयुक्त क्यान्डिडेट। अरु आउँदैन, अरुलाई यो जागिर दिन पनि पाउनु हुन्न। सिधै मेरो पोल्टामा। 
उता: अनि तपाईंको क्वालिफिकेसन के हो? के कति अनुभव छ?
यता: हैट, तपाईं को हो? म त मेरो क्वालिफिकेसन भनेर हिंड्दैन नि। अरु कुरा जान्दिन, त्यो जागिर मेरो भयो।
उता: अन्तरबार्ता दिनु पर्ला नि त!
यता: के को अन्तरबार्ता, कस्ले लिन्छ? मलाई चिन्दैन? मेरो अन्तरबार्ता लिने? कस्को हिम्मत?
उता: हजूर, चिन्दिन त! को हो तपाईं?
यता: हैट, मलाई नै नचिन्ने? को हो तिमी?
उता: म यो कम्पनी चलाउने मान्छे। मैले मान्छेको अनुहार र व्यबहार नहेरीकन जागिर खान आइजे भनेको छैन। काम के हो? कसरी गर्ने? के गर्ने? भन्ने जानकारी नै नलिइकन आफै जागिर पक्का गर्ने, मै हुं भन्ने मान्छे मलाई चाहिएको छैन, है ! मैले जागिर खान आइ देउ, बाबा ठाकुरे भनेको छु र? अस्तु। 

15 May 2025

फ्रक लाको नानी

आज बिहान एकजना नानीले रत्न पार्कको दक्षिण तिरको आकाशे पुल मुनीबाट बाटो काट्न लागेकोले उनीलाई रोकेर एक जना बटुवाले "नानी! यो मुनीबाट होइन आकाशे पुलबाट जाउ है। यहाँ हुईंकेर गाडी, मोटरसाइकल आउँछ", भने।
नानी: नाईं मैले फ्रक लाको छु। 
बटुवा: के भो त!
नानी: फ्रक लाएर आकाशे पुलमा हिंड्दा अप्ठेरो पो हुन्छ बाजे! भनी।
बटुवा: अप्ठ्यारो किन कि नानी! तिमी आकाशे पुल बाट हिंडेको कल्ले पो हेरि बस्छ? 
नानी: आकाशे पुलबाट जांदा हावाले फ्रक उचाल्छ नि त!
बटुवा: अनि के भो त?
नानी: ह्या बाजे! जे भए पनि म पुलबाट बाटो काट्दिन। म यहीँ बाट जान्छु। 
बास्तबमा नानीले पहिलो पटक फ्रक संगै टाइट लेगिन्स र पोइन्टेड हिल जुत्ता लगाएर आएकी रैछेl हिंड्ने प्राक्टीस पुगेको रैनछ। अस्तु।

12 May 2025

माकफुईं

आज एकजना भद्र देखिने सज्जनले हामीले जलदान गरिरहेको ठाउँबाट पानी लिएर आफुले नै दान गरेको जस्तो व्यबहार गर्दैथ्यो। अनि हाम्रो संस्थाको नाम पनि भनिदिनुस है महासय! भनेको त कति पैसा चाहिन्छ? भन्, मैले दिन्छु भनेर फुर्ति लगायो। 

मेरो पालो यो पानी पाल्पा तानसेनको भुल्के देखि बोकाएर बुटवलमा ल्याएर जारमा भरेर भैरहवा सम्म फेरि गाडी चढाएर भैरहवा देखि काठमाडौं सम्म पिलेनाँ चढाएर काठमाडौंको एअरपोर्ट देखि आनन्द कुटी विहार सम्म ल्याउंदाको सबै पैसा जोड्दा एक जारको १० गोटा हजार मात्रै पर्छ। लौ ल्याउनुस भनेको। त्यो सज्जनको बोली नै फुटेन। चार जार लगिसकेको रैछ, फोकटमा। बिचरो तनावग्रस्त भएछ। 

ओहो! त्यति त तिर्न सक्दिन भन्यो। अनि मलाई पनि के को बाल!
अब देखि मेरो अगाडि माकफुईं गर्ने हैन, सक्छ भने आफै किनेर पानी दान देउ। हैन भने हाम्रो पानी दान गर्ने बेलामा कमसेकम हामीले दिएको हो भनेर कृतज्ञता देखाउ, भनेर पठाई दिएं। 

अरुलाई जे भनेर फुईँ गरे पनि यो ग्वांग्रेको अगाडि माकफुईं गर्दा होस गर है सज्जन भन्देको, सेन्टीफ्लाट भयो गांठ्थे!
#ग्वांग्रेकोगफ #वाक्कदिक्कहाक्कथुक्क #BuddhaJayanti

10 May 2025

राम नारान बाजेको "इज्जत"

गाउँको चौतारीमा बसेर गफ हाँक्नु राम नारान बाजेको नित्यकर्म जस्तै थियो। उनको गफको मुख्य विषय हुन्थ्यो – "आफ्नी स्वास्नीलाई कसरी तह लगाउने?" उनी छाती फुलाउँदै भन्थे, "मेरी बुढी त मेरो अगाडि चुँसम्म बोल्न सक्दिन। अलि अटेर गर्न खोजी भने दुई लाठी बजाईदिन्छु, अनि सिधा हुन्छे। लोग्नेमान्छेको रवाफ त हुनैपर्छ नि हैन! स्वास्नीले टाउकोमा टेक्ने बित्तिकै भुईमा ल्याई हाल्नु पर्छ हैन!" सुन्नेहरु कोही मुसुमुसु हाँस्थे, कोही टाउको हल्लाउँथे, तर कसैले पनि मुख फर्काएर प्रतिवाद गर्दैनथ्यो।

किन भने प्रतिबाद गर्‍यो भने प्रतिबाद गर्ने माथि नै जाइलाग्ने राम नारान बाजेको खत्तम बानी थियो। बिरोधिको कुरा कैले नसुन्ने र तुरुन्त जाई लाग्ने बानी भएकोले कसैले प्रतिबाद पनि गर्दैनाथ्यो अनि मतलब पनि गर्दैन थियो। तर गफ सुन्नेहरुले त्यो गफाडी बाजेको कथा सुन्न जांदा फोकटको सितन सहित जांड रक्सी पनि खान पाउने भएकोले मन नलागे पनि हो मा हो मिलाइ दिन्थ्यो। राम नारान बाजे मख्ख पर्थ्यो। आफ्नो इज्जतको कुरो थियो|

घरमा भने उनकी श्रीमती, सुन्तली बज्यै, दिनरात काममा जोतिन्थिन्। उनको जिउमा र अनुहारमा कहिलेकाहीँ देखिने नीला डाम र सुन्निएको आँखाले राम नारान बाजेको "रवाफ"को साक्षी दिन्थ्यो। तर उनी कसैलाई केही भन्दैनथिन्, चुपचाप आफ्नो पीडा सहेर बस्थिन्।


एकदिन चौतारीमा यस्तै गफ चलिरहेको थियो। राम नारान बाजे हौसिएर भन्दै थिए, "हिजो दालमा नुन चर्को भएछ। त्यही निहुँमा चार वचन सुनाएर एक झापड दिएँ। आँखा त नील्लै भएछ बुढीको, अब हेर्नुहोला, एक हप्तासम्म चुं पनि गर्ने छैन, तिमीहरुको बजैले! नाती खेलाएर कुनामा बस्दैछे|"


त्यहीबेला, शहरबाट छुट्टीमा घर आएका, गाउँकै पढेलेखेका नवयुवक रमेशले बाजेको गफ सुने। उसलाई बाजेको कुरा पटक्कै मन परेन। उसले नम्र तर दृढ स्वरमा भन्यो, "बाजे, माफ गर्नुहोला, सानो मुख, ठूलो कुरो नभन्नुस है, तर तपाईंले यो कुन बहादुरीको कुरा गर्नुभएको? आफ्नो शारीरिक शक्ति आफूभन्दा कमजोर, त्यसमाथि जीवनभर साथ दिने आफ्नै श्रीमतीमाथि प्रयोग गर्नु त कायरता हो नि। यसरी कुटेर, पिटेर तपाईंले कस्तो इज्जत कमाउनुभयो?" थुक्क कायर बुढा! भनेर खुरुक्क हिंड्यो।

रमेशको कुराले चौतारीमा सन्नाटा छायो। राम नारान बाजेको हावाले फुलेको छाती खुम्चियो। उनको अनुहार नीलो कालो भयो। उनले केही बोल्न खोजे तर शब्द निस्किएन। अरु दिन बाजेको कुरामा हाँस्नेहरु पनि आज चुपचाप थिए, कतिपयको अनुहारमा लाज मिसिएको देखिन्थ्यो। अनि बिस्तारै जांड रक्सी स्वात्त पार्दै केही नभनी गफ सुन्ने फोकटका हरि लट्ठकहरु सबैले चौतारी नै खाली हुने गरी राम नारान बाजेलाई छाडेर हिंडे। बाजेको मनमा चसक्क भयो।


त्यसदिनदेखि राम नारान बाजेको चौतारीको गफ सुन्ने र फोकटमा खाने श्रोताहरु पनि कम भयो। गाउँलेहरूले पनि बुझे, श्रीमतीलाई कुटेर पिटेर फुर्ति लगाउनेहरू वास्तवमा भित्रदेखि खोक्रा र कायर हुन्छन्। समाजमा त्यस्ता व्यक्तिहरूको साँचो इज्जत हुँदैन, बरु उनीहरू हाँसो र घृणाका पात्र बन्छन्। साँचो सम्मान र इज्जत त प्रेम, सद्भाव र आपसी समझदारीबाट मात्र कमाइन्छ, घरेलु हिंसाबाट कदापि होइन। अस्तु।