Grab the widget  Get Widgets

Sunday 25 August 2024

जागौं नेपालीहरु

क्यान्टोनमेन्टको कुरा प्रचण्डलाई थाहा छैन, 
गिरिबन्धुको कुरा ओलीलाई थाहा छैन, 
बालुवाटारको जग्गाको कुरा माकुनेलाई थाहा छैन, 
नक्कली भुटानी शरणार्थीको कुरा देउबालाई थाहा छैन,
बाख्राको कुरा गगनलाई थाहा छैन, 
सहकारीको कुरा रबीलाई थाहा छैन। 

तर सबै जनाले एक आर्काको प्रमाण देखाइ दिम भनेर जनतालाई गफ दिइरा हुन्छ। यस्तै गफ लडाएर हाम्रो परिश्रमको पैसा उडाइरा छन् । लाज पचेका, शरम छाडाहरु।

देश बिकाश, शिक्षा, स्वास्थ्य, अस्पताल, बाढी पहिरो, यातायात, खानेपानी, दुईटा क्षेत्रीय बिमानस्थल कसरी चलाउने, वैदेशिक रोजगारको समस्या कसरी हटाउने भन्ने बारे कस्लाई चासो? 

हामी पनि उस्तै। यस्तै गफ दिएर हाम्रो टाउकोमा ॠण थुपार्नेहरुलाई वाह वाह गरिरा छम। 

अब उठौं, जागौं नेपालीहरु ! जागौं।

Saturday 24 August 2024

जागिर दे पासा

आज एक जना मित्रले फोन गरेर नै थर्कायो। ग्वांग्रे थरर!

मित्र: ओ सर! तपाईं कता हो?
आजकाल म बेरोजगार भएको छु। यस्सो राम्रो तलब भएको ठाउँ खोजेर मलाई जागिर लगाई दिई हाल्नुस त! मैले सामाजिक सञ्जाल चलाउंदैन। त्यसैले मलाई फोन गरेर खबर गरेर तलब सलब मिलाएर जागिरमा लगाई दिनुस्। नत्र !!!

ग्वांग्रे: नत्र के त? 

मित्र: नत्र तपाई ठूलो मान्छे भएको के मतलब भयो र? 
(एकजना मित्रले थर्काएरै जागिर मागेको छ।)

ग्वांग्रेको सार्बजनिक सुचना:
यदि तपाईहरुलाई जागिर खाई दिने मान्छे चाहिएको छ भने ग्वांग्रेलाई तुरुन्तै मेसेज हान्नुस है। नत्र...! तपाईंहरु ठूलो मान्छे भएको के मतलब? होइन र गांठ्ठे! 
#ग्वांग्रेकोगफ #वाक्कदिक्कहाक्कथुक्क

Tuesday 6 August 2024

पखाला

एकजना कान कम सुन्ने अंकललाई पखाला लागेर डाक्टर कहाँ जँचाउन जानुभएछ। 
२-४ दिनको औषधि उपचारपछि अंकल फलो-अपमा डाक्टर कहाँ पुग्नु भएछ। 
डाक्टर : तपाईंको दिसा अहिले कस्तो छ?
कान कम सुन्ने अंकल : हँ? के भन्नु भएको? म अलि कम सुन्छु। ठुलो स्वरले बोल्नु न! 
डाक्टर (ठूलो स्वरमा) : अहिले तपाईंको दिसा कस्तो छ, भनेको?
अंकल : एहे! अहिले त खाउँ खाउँ लागिराछ। हिजो अस्ति खानै मन लाग्दैनथ्यो।
डाक्टर बेहोश! 🤣🤣🤣
#ग्वांग्रेकोगफ

खाजा

बुढी: खाजा के पकाउने, बुढा? 
बुढा: जे पकाए नि हुन्छ।
बुढी: आलुको चप बनाम?
बुढा: हुन्छ, भै हाल्छ नि!
आधा घण्टा पछि खाजा तयार भयो। 
बुढी: ए बुढा खाजा खान आउनुस!
बुढा दंग पर्दै, आहा क्या मिठो होला जस्तो छ त, हेर्दा त!
बुढी: हेर्दा मात्रै हैन, खाएर हेर्नुस न!
बुढाले क्वाप्प मुखमा हाल्यो, आलु चप त भित्र पाकेकै छैन रैछ भनुम भने यो पनि खान नपाइएला भनेर चुप लाग्यो। 
बुढी: के भयो बुढा, तपाईं त चुप लाग्नु भयो नि। मीठो छैन?
बुढा: छैन भनुम भने बुढी रिसाउने, छ भनुम भने भित्र भित्र पाकेकै छैन रैछ।
बुढी: जैले नि खोट देखाउन पर्ने है बुढा? आफै पकाए हुन्छ नि! कति मिहेनत गरेर बल्ल बल्ल बनाएं। अझै खोट लाउंदो रैछ। असक्ती !
बुढा: हो! त्यै भएर त पाकेको छैन भन्ने आंट न आएको नि। बुढी! खासमा भन्ने हो भने नि, यो आलु नै खराब हो क्या! अझ त्यो ग्यास चुलो खराब हो कि? नभए आगो खराब होला। आखिराँ तिम्रो हातले बनाएको आलु चप नपाकेको र नमीठो त हुँदै नहुनु पर्ने, होइन र?
बुढी: त्यस्तो होइन होला बाहिर क्रन्ची, भित्र जुसी बनाउन खोजेको हो। सायद तिम्रो जिब्रो नै खराब होला।
बुढा झण्डै बेहोस भएको, खुरुक्क चुप्प लागेर खाएर हिंड्यो। अस्तु।

Friday 2 August 2024

अपजस

संधै त्यो केटोले बिहान ४ बजे नै उठेर घरको बडार कुडार गर्ने, पानी तान्ने, सरसफाइ गर्ने गरेको थियो। एकदिन पानी ट्यांकीमा चढेन रैछ। त्यो केटोले मेसिन चलाए पछि पानी चढी हाल्छ भन्ने थानेछ।

साहुनी बाथरुममा गएर मुख धुन खोज्दा पानी आएन। एकै पटक चिच्याएर, कस्तो कुकुरको छाउरा रैछ? पानी नै छैन! ए अलक्षिणा! एता हेर त बाथरुममा पानी नै आएन त! कस्तो मान्छे रैछ? हेर्नु पर्दैन! अफिस जान ढीला भै सक्यो। 
८ बजे बल्ल तल्ल बिउंझिएका साहुनीले ४ बजे देखि घरको धन्दा गरि रहेका केटोलाई गालीको बौछार नै लगाइ दियो।

केटो: शिर निहुराउंदै, मालिक्नी साब! मैले त मेसिन ४:३० बजे नै चलाएको हो। के भएछ रैछ? संधै चढीरा नै हुन्छ। 

साहुनी: जा गएर हेर! के भएछ? मलाई के था?
केटोले गएर हेर्‍यो, छेउ पुच्छर केही पत्तो पाएन। 

केटो: मालिक्नी साब! मेसिन चल्छ तर पानी चढ्दैन। मेकानिकलाई बोलाउन पर्ने भो। 

साहुनी: बोलाएर ल्या! अब त्यो नि मै जाम! रिसले चूर भएर बोली।

केटो: हजूर संग मेकानिकको मोबाइल छ नि एक पटक गरिस्यो न! त्यस्को घर पुग्न मलाई १/२ घण्टा लाग्छ। फोनमा भेट भए त छिटो आइदिन्छ नि।

साहुनी: अं अब त्यो पनि मलाई सिकाउन पर्छ नि!
साहुनीले केटोको कुरो ठिक लागे पनि केहि नभनी मेकानिकलाई फोन गरेर बोलाउंछ, मेसिन ठिक हुन्छ। र पनि, केटोलाई हकार्दै अब देखि मेसिन ठिक छ कि छैन पनि हेर्ने गर्नु। कामचोर!

जति सुकै मिहेनत गरे पनि जस नदिने यस्ता बानीले काम गर्ने मानिसको मानसिकतामा कस्तो असर हुन्छ होला? कतै तपाईंले पनि यस्तो व्यबहार त गर्नु भएको छैन? अपजस मात्रै दिने नगर्नु होला है। काम गर्नेलाई हौसला दिउँ है! अस्तु।