Grab the widget  Get Widgets

27 December 2025

मौनता एक समाधान

झमक्क साँझ पर्न लागेको थियो। उकालो-ओरालो गर्दा थिचिएका गोडाहरू फतक्कै गलेका थिए। बास खोज्दै एउटा चालिसे अंकलको घरको आँगनमा पुगें। त्यहाँका दाइ र भाउजूले 'अतिथि देवो भव' को गाउँले संस्कार अनुसार मलाई न्यानो स्वागत गरे।

​भान्सा निरको अँगेनाको तातोले दिनभरिको थकान मेटिए जस्तो भयो। दाइले गाग्रो उचालेर चिसो पानी पिलाउनुभयो भने भाउजू 'सिलौटो' मा खुर्सानी र टिमुर पिन्न व्यस्त हुनुहुन्थ्यो। मैले सोचेँ, "आहा! कस्तो मिलेको परिवार!" दाइले चुल्होमा दाउरा घुसार्ने, भाउजूले कराईमा रायोको साग ओल्टाइपल्टाइ गर्ने। दुवैको तालमेल घडीको सुइ जस्तै मिलेको थियो।

​तर अलि बेरमा मलाई एउटा कुराले चसक्क बिझायो। दाइ मलाई 'हैट! बाबु त कति हिँड्न सकेको' भन्दै गाउँले भाखामा कुरा गर्नुहुन्थ्यो, भाउजू मलाई 'दूध हालेको चिया खानुस्' भन्नुहुन्थ्यो। तर, ती दुई प्राणीका बिचमा भने कुनै एक शब्द पनि साटासाट भइरहेको थिएन।

​भाउजूलाई नुन चाहियो, उनले दाइको हातको बट्टातिर इसारा मात्रै गरिन्, दाइले तुरुन्तै बुझेर नुनको बट्टा अगाडि सारिदिनुभयो। दाइलाई 'साग' चाहियो, उनले भाउजूको हातको कराई तिर हेरे मात्रै, भाउजूले मुसुक्क पनि नहाँसी साग दाइको थालमा थमाइदिइन्।

​म त अचम्ममा परेँ। लोग्ने-स्वास्नीको झगडा त 'परालको आगो' भन्छन्, एकै छिनमा हुर्र बल्ने र झ्याप्प निभ्ने। तर यहाँ त परालको आगो होइन, महिनौंदेखिको 'अखण्ड धुनी झैं मौन युद्ध' को कोइला सल्किरहेको जस्तो देखिन्थ्यो। खाना खान बस्दा भाउजूले 'दाडु' ले दाल पस्किइन्, दाइले चाम्रे भात थपिदिए। सेवामा कुनै कसर बांकी राखेका थिएनन्, तर उनीहरूको मौनता यति गहिरो थियो कि मानौँ उनीहरूले 'मौनता नै परम धर्म' भन्ने दीक्षा लिएका छन्।

​भोलिपल्ट बिदाइ हुने बेला मैले ठट्टा गर्दै दाइलाई सोधेँ, "दाइ, भाउजू त कति ज्ञानी हुनुहुँदो रहेछ, बोल्दै नबोल्ने!"

​दाइले मलाई अलि पर लगेर सुटुक्क भन्नुभयो, "होइन बाबु, कुरो त्यस्तो होइन। हाम्रो झगडा परेको त ६ महिना भयो। तर पाहुनालाई खुवाउन र घर चलाउन त हामी दुबै मिलिहाल्छम् नि! बोलेपछि दस थरी कुरो चिप्लिन्छ, अनि पो झगडा हुन्छ, नबोलेसी त सधैं शान्ति! यो मौनता नै हाम्रो घरको समाधान हो।"

​मैले लामो सुस्केरा हालेँ। अचम्म! 'मौनता' को यस्तो हास्यव्यङ्ग्य त मैले कुनै किताबमा पनि पढेको थिइनँ। 'परालको आगो' निभाउन उनीहरूले 'मौनताको हिउँ' नै ओढेका रहेछन्। म आफ्नो बाटो लागेँ, पछाडि दाइ र भाउजू फेरि त्यही 'साइलेन्ट' तालमेलमा घरको काममा जुटेका थिए। अस्तु।

26 December 2025

हर्के तीन धर्के

हर्के भन्छ, “मैले त मुखै खोलेको थिइनँ है।” तर उसकी घरवाली त बारुद झैँ पड्किहालिन्। एकैछिनमा उफ्रेर आयो, झ्याम्म हान्यो, म त डङ्ग्रङ्ग ढलेँ। कुरो खासै ठूलो पनि थिएन। घरमा पानी कसले ल्याउने भन्ने मात्रै त हो नि।

हर्केकी श्रीमती चिच्याउँदै भनिन्,
“ए हो नि, यो घरमा सधैं तिमीले मात्रै पानी बोक्न जाने हो र? तिम्रो त्यो ल्वाँठे भाइ त लाथे भैसक्यो नि। जहिल्यै स्कुल जानु पर्छ भनेर छुट दिइरहने? आज त बिदा हो, स्कुल पनि छैन। १२ कक्षामा पढ्छ भन्छौ, तर घरको काम भने देख्दा पनि नदेखेझैँ गर्छ। तिम्रो भाइ होस् या मेरो देवर, तिम्रा बा आमाको कान्छो छोरो होस्, लाथे त लाथे नै हो नि।”

अझै नथाकी बोलिरहेकी थिइन्,
“अब बिहे गराइदियो भने अर्को साल नै बाउ बन्ने बेला आउँछ, तर घरको एउटा सिंको भाँच्न पनि दिनु छैन। तिमीहरूकै कारण हो, यत्रा लाथे सन्तान बिग्रेको। यति झिना मसिना काम त सिकाउनै पर्छ नि है।”

त्यत्तिमै पुरानो दुख पनि कोट्याइन्,
“म यो घरमा बिहे गरेर आउँदा जम्मा १७ वर्षकी थिएँ। मेरा बा आमाले के अनुहार देखेर तिमी जस्तो ग्वाङ्ग्रे बूढोसँग पठाइदिए होलान् कुन्नि! जम्दारको छोरो हो, सुति सुति खान पाउँछे भनेर ठुल्दाइ, सानो भाइ र घरका सबैले मिलेर मलाई यही बूढोको जिम्मा लगाइदिए।”

“अहिले हेर त, दिनभर बारीमा काम गरेसी आराम कैले पाउने? रातमा आराम गर्न थालेसी, बुढो बाघ झैं घुर्ने। घुर्ने पनि कस्तो ठूलो स्वर हो। टोल नै थर्किन्छ भन्या। अस्ति त पल्लो घरको नयाँ कुकुर बिचरा डराएर खाटमुनि लुकेर थरथर काँपेर बसेछ। कुकुर त झण्डै मरेन, तर मेरो निन्द्रा भने कहिले रामरी पुग्ने भएन।” भगवान शरणम्! 
उता हर्केले बोल्ने आंट पनि गरेन। लाथे भाइ, भाउजुको तातेको पारा देखेर केही नबोली तीन धर्के कट्टु लगाएर चुपचाप आफ्नो बारीमा लम्पसार चिप्लिन गए! सासु ससुराहरु ट्वाँ परेर हेरिरहे। अस्तु।

25 December 2025

Silent Divorce

रामदाइ र सिता भाउजूको घर बाहिरबाट हेर्दा अरू सामान्य नेपाली परिवार जस्तै देखिन्थ्यो। बिहान ढोका खुल्थ्यो, साँझ बत्ती बल्थ्यो। चाडपर्वमा घर सफा हुन्थ्यो, भोजभतेरमा दुबैजना एउटै गाडीमा जान्थे। नातागोता र छिमेकीका आँखामा उनीहरू आदर्श दम्पती नै थिए। तर त्यो घरको भित्ता भित्र अर्कै कथा बाँचिरहेको थियो।

उनीहरू एउटै छानामुनि बसे पनि मन भने टाढा टाढा थिए। बिहानको चिया संगै पिउँदैनथे। बाटोमा हिंड्दा पनि अगाडि पछाडि छुट्टै। बोलचाल आवश्यकतामा सीमित थियो, त्यो पनि औपचारिक। रिस झगडा ठूलो हुँदैनथ्यो, किनकि झगडा गर्न लायक सम्बन्ध नै बाँकी थिएन। मौनता नै उनीहरूको दैनिकी बनेको थियो।

“छोरा छोरीकै कारण हो बाबु,” सिता भाउजू कहिलेकाहीँ भन्थिन्, स्वर भारी बनाउँदै। “नत्र त म कहिल्यै यति सम्झौता गरेर बस्दिनथेँ।”

रामदाइ पनि कहिलेकाहीँ मन खोल्नुहुन्थ्यो “समाज र सन्तानको नाममा बाँधिएको जीवन हो यो। बाहिरबाट हेर्दा सबैलाई हाम्रो परिवार कति सुखी लाग्छ। तर मेरो भित्रको घाउ कसैले देख्दैन र बुझ्दैन।”

सिता भाउजूको पीडा पनि कम थिएन। “मेरो जिन्दगी नरक भयो,” उनी भन्थिन्। “न त म पत्नी जस्तो महसुस गर्छु, न त ऊ श्रीमान् जस्तो। एउटै घरमा बस्नु मात्र विवाह होइन रहेछ।”

"हामीले जीवन जिएको हैन कर्तव्य पालन गरेको मात्रै हो।" भन्छन रामदाई।
कसैले ठूलो धोका दिएको पनि थिएन, न त कानुनी रूपमा अलग भएका थिए। तर वर्षौंको उपेक्षा, सम्मानको अभाव, नसुन्ने बानी र साना साना चोटहरूले उनीहरूको सम्बन्धलाई भित्रैबाट मारेको थियो।

छोरा छोरी स्कूलबाट फर्किंदा उनीहरू फेरि अभिभावकको भूमिका निभाउँथे। आमाबुबा मुस्कुराउँथे, सँगै बसेर खाना खान्थे। तर त्यो मुस्कान नाटक थियो, त्यो संगै बसाइ बाध्यता। बच्चाहरूले पनि बिस्तारै बुझ्न थालेका थिए, घरमा शान्ति त छ तर आत्मीयता छैन। यही अवस्थालाई आजकल “Silent Divorce” भनिँदो रहेछ। 

कानुनी कागजमा सम्बन्ध बाँकी भए पनि मन, भावना र आत्माबाट सम्बन्ध टुटिसकेको अवस्था। समाजको डर, सन्तानको भविष्य र प्रतिष्ठाका कारण धेरै दम्पती यस्तै मौन सम्बन्ध बोकेर बाँचिरहेका छन्।

एक दिन, छोराले बुवालाई सोध्यो, “बुबा, तपाईं र आमा किन सँगै हाँस्नु हुँदैन?” त्यो प्रश्नले रामदाइलाई गहिरो चोट दियो। उनले पहिलोपटक महसुस गरे, मौनता पनि हिंसा हुने रहेछ।

त्यसपछि उनीहरूले कुरा गर्ने प्रयास गरे। दोष थोपर्ने होइन, सुन्ने प्रयास। सिता भाउजूले सम्मान खोजेकी थिइन्, रामदाइले पनि बुझि दिन खोजेका थिए। सबै समस्या तुरुन्त समाधान भएनन्, तर संवाद सुरु भयो।

यो कथाको अन्त्यमा उनीहरू पूर्ण रूपमा मिल्न सके वा सकेनन्, भन्ने पाठक बर्गमा नै निहित रहनेछ। तर एउटा सन्देश स्पष्ट छ। सम्बन्ध टिकाउन समाज वा बाध्यता भन्दा पनि एकाअर्काप्रति सम्मान, सुन्ने धैर्य र मानवीय संवेदना अनिवार्य हुन्छ। नत्र एउटै घरभित्र पनि मानिसहरू एक्लै र सम्बन्धहरू मौन रूपमा मृत बांचिरहेका हुन सक्छन्। "Silent Divorce" त्यही मौन मृत्युको नाम हो। अस्तु।

18 December 2025

सुकु भ्वय:

 भोज कि विज्ञान? नेवारी 'सुकु भ्वय:' को स्वादिलो यात्रा र पर्यटनको सम्भावना

लेखक: विनय शाक्य

आज म तपाईंहरूलाई एउटा यस्तो यात्रामा लैजाँदैछु, जहाँ स्वाद मात्र छैन, एउटा गज्जबको विज्ञान पनि लुकेको छ। हामीले सधैं खाँदै आएको 'नेवारी भ्वय:' (भोज) लाई पश्चिमा देशको 'थ्री-कोर्स मील' (3-Course Meal) सँग दाँजेर हेर्नुभएको छ? छैन भने, आउनुहोस् आज यसको भित्री रहस्य खोलौँ।


१. सुकुलमा बस्नुको रहस्य: पलेँटी आसनको विज्ञान

भोजमा छिर्नेबित्तिकै हामी कुर्सीमा होइन, परालको सुकुलमा पङ्क्तिबद्ध भएर बस्छौँ। यसरी भुइँमा पलेँटी कसेर बस्नुको एउटा ठूलो वैज्ञानिक कारण छ। जब हामी पलेँटी कसेर बस्छौँ, हाम्रो मेरुदण्ड सिधा हुन्छ र शरीरमा शान्तिको अनुभूति हुन्छ। यो आसनमा बस्दा हाम्रो पेटका मांसपेशीहरू खुल्छन्, जसले गर्दा पाचन रस (Digestive Juices) हरू राम्ररी निस्कन पाउँछन्। कुर्सी-टेबलमा भन्दा सुकुलमा बसेर खाँदा पेटले बढी आराम पाउँछ र खाना पाचनको प्रक्रिया बस्दाबस्दै सुरु भइसकेको हुन्छ।


२. समयबजी (
The Starter)

जब हामी भोजमा बस्छौँ, सबैभन्दा पहिले आउँछ, समयबजी। पश्चिमा संस्कृतिमा यसलाई 'स्टार्टर' भनिन्छ। चिउरा, छोइला, कचिला, भटमास, आलु, अदुवा र बोडी जस्ता परिकारले हाम्रो भोकलाई जगाउने काम गर्छ। यसले हाम्रो पाचन प्रणालीलाई अब 'भारी खाना' आउँदैछ है भनेर संदेश पठाउछ र भारी खाना खानको लागि मानसिक रुपले तयार पार्छ।


३. मुख्य खाना र पाचनको सहयात्री: पाउँ क्वा:  (
The Main Course)

समयबजीपछि सुरु हुन्छ मुख्य भोज अर्थात् 'भ्वय:'। थरीथरीका गेडागुडी, सागसब्जी र मासुका टन्नै परिकारले हाम्रो पात भरिन्छ। तर, यो भोजको एउटा 'सीक्रेट' छ, बीच-बीचमा ल्याइने 'पाउँ क्वा' (लप्सीको तातो सुप)। यसमा हालिएको हिंग र बिरेनुनले खानालाई पचाउन जादु जस्तै काम गर्छ। जतिसुकै 'हाई क्यालोरी' खाना भए पनि हिंगको सुगन्ध र बिरेनुनको गुणले पेटलाई हलुका बनाउँछ। त्यसैले त हाम्रा पुर्खाहरूले बीच-बीचमा सुप खाने चलन बसाएका रहेछन्!


४. अन्तिममा सन्तुलन: नेगेटिभ डाइट (
The Dessert & Negative Diet)

भोजको अन्त्यमा दही र मिठाई त सबैले खान्छन्। तर नेवारी भोजमा एउटा अनौठो र वैज्ञानिक चलन छ, 'सिसापुसा'। यसमा काँचो मुला, भिजाएर टुसा पलाएको केराउ र मौसम अनुसारको फलफूल दिइन्छ। यसलाई आधुनिक पोषण विज्ञानको भाषामा 'Negative Diet' भन्न सकिन्छ। काँचो मुला र टुसाएका गेडागुडीमा हुने इन्जाइम र फाइबरले अघि खाएको चिल्लो र भारी खानालाई सन्तुलनमा ल्याउँछ। "अन्तिम सम्म भोज खानुपर्छ" भन्ने हाम्रो परम्परा त्यसै बनेको होइन रहेछ, यसको त ठूलो स्वास्थ्य लाभ रहेछ।

भोज पर्यटन: अबको बाटो

हाम्रो यो विशिष्ट भोजलाई केवल पेट भर्ने माध्यम मात्र नबनाएर 'भोज पर्यटन' (Feast Tourism) को रूपमा विकास गर्न सकिन्छ। सोच्नुहोस् त, यदि हामीले विदेशी पर्यटकहरूलाई सुकुलमा बसाएर, प्रत्येक परिकारको गुण र वैज्ञानिक महत्त्व सम्झाउँदै स-शुल्क भोज खुवायौँ भने कस्तो होला?

यसले दुईवटा फाइदा हुन्छ:

  • आर्थिक समृद्धि: स्थानीय समुदायले पर्यटकलाई भोजमा सामेल गराएर सिधै आर्थिक लाभ लिन सक्छन् र आत्मनिर्भर बन्न सक्छन्।
  • परम्पराको संरक्षण: जब हाम्रो संस्कृतिले पैसा र सम्मान दुवै कमाउन थाल्छ, तब नयाँ पुस्ताले पनि यसलाई गर्वका साथ अंगाल्ने र जोगाउने छन्।

नेवारी भोज केवल खाना होइन, यो त एउटा जिउँदो संग्रहालय, जीवन शैली र विज्ञानको संगम हो। अर्को पटक भोज खाँदा यी कुराहरूलाई तपाईले पनि पक्कै सम्झिनुहोला है! अस्तु|

16 December 2025

नेपालमा 'स्लीप टुरिजम' (Sleep Tourism in Nepal):

 नेपालमा 'स्लीप टुरिजम' (Sleep Tourism): अबको गन्तव्य डिजिटल कोलाहलबाट मुक्ति

– विनय शाक्य, पर्यटन प्रशिक्षक

आजको २१औँ शताब्दीको डिजिटल दुनियाँमा विश्व दौडिरहेको छ। प्रविधिको विकासले संसारलाई साँघुरो त बनायो, तर मानिसको मनलाई भने अशान्त बनाइदिएको छ। पैसा र सफलताको पछि लाग्दा मानिसको जीवनशैली नै अस्तव्यस्त भएको छ। दिनमा चैन छैन र रातमा निद्रा छैन। विश्व स्वास्थ्य संगठनका अनुसार 'अनिद्रा' (Insomnia) र मानसिक तनाव अहिलेको विश्वव्यापी समस्या हो। जसलाई म "डिजिटल दुनियाँको रोग" भन्न रुचाउँछु।

यस्तो अवस्थामा, नेपालले विश्व पर्यटन बजारमा एउटा नौलो र नितान्त आवश्यक प्रडक्ट पस्कन सक्छ, त्यो हो– "Sleep Tourism" (निद्रा पर्यटन)

नेपाल नै किन?
संसारका ठूला सहरहरूमा मानिसहरू निदाउनका लागि औषधिको सहारा लिइरहेका छन् वा 'स्लीप एप' (Sleep Apps) हरूको प्रयोग गरिरहेका छन्। तर, हामीसँग प्राकृतिक चिकित्सा छ, प्रकृति छ। हाम्रो देशका अति दुर्गम जिल्ला वा गाउँबस्तीहरू, जहाँ अहिले सम्म पनि इन्टरनेटको पहुँच पुगेको छैन वा निकै कम छ, ती ठाउँहरू नै यो व्यवसायका लागि 'मुख्य गन्तब्य' हुन्।

हामीले "यहाँ वाइ-फाई (Wi-Fi) छैन, तर कनेक्सन (Connection) राम्रो छ" भन्ने सन्देश दिन सक्नुपर्छ। त्यो कनेक्सन वाईफाईको होइन, प्रकृतिसँगको हो, आफैँसँगको हो र स्थानीय संस्कृतिसँगको हो।

प्रकृति, संस्कृति र पुनर्जागरण (Healing)
मेरो विचारमा 'स्लीप टुरिजम' भनेको महँगा होटलको नरम बिछ्यौनामा सुत्नु होइन। यो त एउटा समग्र प्याकेज हो। 

१. डिजिटल डिटक्स (Digital Detox): मोबाइल र ल्यापटपको 'ब्लु लाइट' बाट टाढा, जहाँ घडीको टिक-टिक होइन, चराचुरुङ्गीको आवाज र खोलाको सुसाहटले बिहान हुन्छ। 

२. अर्गानिक जीवनशैली: गाउँघरमा फलेको विषादीरहित खाना, कोदोको रोटी, सिस्नुको खोले र स्थानीय जडीबुटीको चिया। यसले शरीरका विकारहरू हटाउन मद्दत गर्छ। 

३. ध्यान र योग: हाम्रा डाँडापाखाहरू आफैँमा तपोभूमि हुन्। बिहानको कलिलो घाममा गरिने योग र ध्यानले मनको तनावलाई पखाल्छ।

दिगो पर्यटन र ग्रामीण अर्थतन्त्र:

यो अवधारणा वातावरणमैत्री (Eco-friendly) पर्यटनसँग सिधै जोडिन्छ। यसका लागि हामीले ठूला कंक्रिटका भवनहरू बनाउनु पर्दैन। गाउँका पुराना घरहरूलाई मर्मत सम्भार गरी (Reuse & Recycle), स्थानीय स्रोत साधनको प्रयोग गरेर होमस्टेको रूपमा विकास गर्न सकिन्छ। यसले दुर्गम गाउँमा आर्थिक उपार्जन मात्र गराउँदैन, हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षणमा पनि टेवा पुर्‍याउँछ।

निष्कर्ष:
हाम्रा ती दुर्गम गाउँहरू, जसलाई हिजोसम्म हामी 'विकट' भनेर दु:ख मनाउ गरेका थियौं, अब तिनै ठाउँहरू विश्वका सबैभन्दा विलासी मानिसहरूका लागि 'स्वर्ग' साबित हुन सक्छन्। जो मानिस पैसाले किन्न नसकिने 'शान्ति' र 'गाढा निद्रा' को खोजीमा छन्, उनीहरू नै हाम्रा पाहुना हुन्।

नेपालले अब हिमाल मात्र होइन, 'शान्ति र निद्रा' पनि बेच्नुपर्छ। आउनुहोस्, नेपाललाई विश्वको "Sleep Capital" (निद्राको राजधानी) को रूपमा चिनाऔं। अस्तु |