किन र? भनेर सोधेको त तंलाई किन चाहियो? तैंले के गर्न सक्छस र भनेर हपारेर पो पठाउनु भयो। सक्न न मैले के गर्न सक्छु र तै पनि मैले तपाईंको कुरा सुन्न सक्छु नि! कम्सेकम तपाईंको मन हल्का हुन्छ नि बाजे! भनेर बल्ल बल्ल सम्झाउन थाले पछि, बाजेले आफ्ना मनका कुरा खोल्नु भयो।
बाजेको कान्छी छोरीको बिहे भएको पनि धेरै भाको रैनछ। कान्छी श्रीमतीकी कान्छी छोरीलाई कहिले पनि केही कमी नहुने गरेर हुर्काएकी रे! बाजेले गहभरी आँसु राखेर भन्नु भयो। मेरी कान्छीलाई मैले कहिले पनि गाली गरेन, न त मैले केहि कमी नै गरें। अरु छोरा छोरी भन्दा अझ बढी मायाँ पाई।
यीनकी आमा मलाई असाध्यै मन परेकोले जिम्दारलाई फकाएर ल्याएको। अलि अतितका रोमान्स सम्झंदै बाजेले मस्केर भन्नुभयो। कान्छी श्रीमती जिम्दारकी कान्छी छोरी नै रहिछे। बैंसमा आँखा देखिनन अनि म बुढो संग सल्केकी भन्न भ्याउनु भयो बाजेले। अलि मन्द मुस्कान मा निर्धक्क भएर अनि खुलेर पनि।
तर के गर्नु बाबु! (फेरि कान्छी छोरीको कुरो सम्झेर) कान्छीको कर्म! हेरन! अहिले कति गाहारो भएछ बिचरीलाई! परीवार सम्पन्न नै छ। घरमा धेरै काम पनि गर्नु पर्दैन रे! तर कान्छी.....! बाजेले कुरा अगाडि बढाउन सक्नु भएन। आँसु झारेर भैगो! जाउ बाबु! के भन्नु र! फेरि उता कुरो पुग्यो भने मेरी कान्छीले अनेक कुरो सुन्नु पर्ला। जे होला मेरी कान्छिले नै सम्हालेर लैजाला। अब पाको भै सकेकी छे। समयले कस्ति मान्छे कस्ति भइछे। अहिले आफैले कुरा सिकाउंछे रे!
मैले त कुरा पनि गर्न सक्दिन। मलाई गार्हो होला भनेर, सबै ठिक छ भन्छे। ठिकै होला नि! अब मेरी कान्छी मेरो घरमा होइन उनकै घरमा रमाउन पर्छ रे भन्छे। मैले समय मै औषधि खायो खाएन भनेर संधै सोधी रहन्छिन। अरु छोरा छोरीहरु सबै आ आफ्नै घरजम गरेर बसिसकेकाछ्न। अरुको मलाई चिन्ता लाग्दैन। यहि कान्छीको अलि बढी मायाँ लाग्छ।
ए बाबु! तिमी को हौ? अनि मेरो कुरो किन खोतलेको? खैर! तिमी संग कुरा गरेपछि मेरो मन हल्का चैं भयो है। धन्यबाद बाबु!