कुरा सन २००६ जस्तो लाग्छ, मलाई अझै पनि सम्झना झल्झल्ती याद आउंछ | हामी केही पत्रकारहरुसंग लुक्ला हुदै नाम्चे बजार , त्यसपछि श्याङ्बोचे अनि खुम्जुङ पुगेका थियौं।
हामी जुन होटेलमा बस्यौं त्यो होटेलको बिजुली बत्तिको अत्याधुनिक सुबिधाबारे हामीलाई ज्ञान थिएन। होटेलवालाले हामीलाई सायद पढेलेखेका भन्थानेर होला त्यो सुबिधाको बारेमा बताउनु पर्ला भनेर कष्ट पनि गरेन।
दुई दिनको हिडाइ पछि बल्ल बल्ल आराम गर्न पाएका हामीहरुलाई कहिले पुगौला र आराम गरौंला भन्ने भएकोले बिजुली बत्ति के कता भन्ने सोधपुछ सम्म पनि गरेनौं ।
पुग्ने बित्तिकै सबै जना सौर्य उर्जाले तताएको र बिजुलीले तताएको तातो पानीमा न्यानोसंग नुहाउन पाए पछि के चाहियो र। सबै झ्याप्प नुहाए। यात्राका दौरान एकसय एक धुरन्धर पत्रकार साथीहरू संगै अनेक प्रकारका चुट्किला, कथा, घटना, दुर्घटना, बाल्यकालका उपद्रो, कलेजका कुराहरु, माया प्रीतिका कुराहरु गर्दै थकाईको अनुभुत गर्न नपरेकोले होला खुम्जुङ पुगे पछि भने सारै थकित महसुस भयो।
खाना खाइ सके पछी केहि बेरको अन्ताक्षरी पछी सुत्ने चाँजो पाँजो मिलाउने काम भयो र सबै जना सुत्न गयौं | निक्कै नै जाडो भएको बेला एकजना साथीलाई भने मुत्रत्याग गर्न परेछ र साथी जुरुक्क उठेर बाहिर निस्कनको लागि बत्तिको सुइच खोजेछ | तर भेत्ताएन छ | खपी नसके पछी जे पर्ला, पर्ला भनेर बत्ति नबालीकनै जान्छु भनेर बाहिर निस्कने बित्तिकै बत्ति झ्याप्प बल्यो | खुरुर दौडेर जाँदा आर्को कुना सम्म पुग्दा पुग्दै बत्ति झ्याप्प निभ्यो | साथीले सौचालय जाँदा त याद गरेन पछी मुत्रत्याग गरि सके पछी बल्ल याद आएछ | ओहो के भा को होला? कसले बत्ति बाल्ने र निभाउने गरी जिस्क्यौदै होला भनेर सबै साथी को नाम बोलाउदै चिच्याउन थाल्यो | कसैले पनि जवाफ नफर्काए पछी साथीको जिउ त चीसो भएछ | एकछिन पछी फेरी पसिना पसिना भएछ | तर सौचालयबाट त निस्कनै पर्यो | साथी त एक सासले कोठामा आउँदा सबै साथीहरु फस फस निदाएको देख्दा साथीको सात्तो भुत्लो गएछ |
बिहान सबेरै त्यहि साथीको निद्रा खुलेछ | फेरी सौचालय जान परेछ | तर जाने कि नजाने ? हिजो रातिको जस्तै हुने हो कि ? साथीहरुलाई भन्यो भने बेइज्जत पो हुने होकी? कसैले पत्याएन भने झन् झुर हुने भो | फेरी डरछेरुवा भन्ने पो हो कि? के गरम के गरम भएछ |
तै बेइज्जत तै बेईज्जत भनेर साथीले मुख नै फोडेर रात को कुरा फुत्काएछ | सबै गलल हाँसे पछी हत्तेरिका बेकारमा भनेछु जस्तो भएछ |
बास्तवमा त्यो होटेलमा सबै सेन्सरले बत्ति बाल्ने ब्यबस्था मिलाएको रहेछ | बास्तबिकता थाहा पाए पछी फेरी सबै जना साथीहरु मरिमरी हाँसे | अत्याधुनिक सुबिधाको ज्ञान नभए पछी यस्तो भयो | अस्तु |