Grab the widget  Get Widgets

Thursday 17 October 2024

कांक्रो चोर

कालेले पुर्णिमाको रातमा छिमेकीको बारीको कांक्रो चोर्ने योजना बनायो। आफ्नै बारीमा भने सबै कांक्रो सकिएपछि उसले छिमेकीको बारीमा आँखा लगाएको थियो। पुर्णिमाको रात भएकोले छिमेकीको बारीको बोट प्रस्ट देखिन्थ्यो। यस्तो रातमा कस्ले पो देख्ला भनेर दिमाग लगायो।

उ लुसुक्क छिमेकीको बारीमा पस्यो र कांक्रो भनेर एउटा ठूलो फल झ्वाट्ट तान्यो। त्यो खिच्ने बित्तिकै छिमेकीको कुकुरले बारीको बोटतिर हेरेर भुक्न थाल्यो। काले तर्सियो। छिमेकीले कुकुरले भुकेको आवाज सुनेर बारीतिर आयो र "को हं त्याँ?" भनेर चिच्यायो। कालेले त्यही मौकामा त्यहाँबाट टाप कस्यो।
घर पुग्दा पुग्दै काले खुसीले गदगद भयो। "अब त मीठो कांक्रो खान पाइने भयो भनेर," यस्तै सोच्दै उसले कांक्रो क्वाराक्क टोक्यो। तर पहिलो टोकाई उस्लाई अचम्म लाग्यो। खाने बित्तिकै उसले मुख बिगार्‍यो, स्वाद त बिल्कुलै फरक! "के हो यो?" भन्दै उसले बिजुली बत्ती भएको ठाउँमा गएर ध्यानले हेर्‍यो। अनि एक्लै हांस्यो। काँक्रो भनेर ल्याएको त लौका पो परेछ! काले छक्क पर्‍यो र हास्दै सोच्न थाल्यो, "अब फेरि छिमेकीको बारीमा नजाऊँ होला!"

कालेको योजना त सफल भयो, तर हतारमा आर्काको कांक्रो चोर्न जांदा दिमागले काम गरेनछ। हत्तेरिका ! भन्दै काले एक्लै हांस्यो। अस्तु। 

Wednesday 16 October 2024

गुनासो

काले दस वर्षको भएको थियो। ऊ आफ्नी आमासँग धेरै नै नजिक थियो। आमाले बिहान बेलुकी घरको सारा काम गरिरहेकी हुन्थिन्, अनि कहिलेकाहीं कालेसँग आफ्ना कुरा गरिरहन्थिन। आमालाई आफ्ना श्रीमानको बारेमा गुनासो कस्लाई राख्नु र? भनेर आफ्नै छोरा कालेसंग सुनाई राख्ने गर्थिन। "तेरो बाबु भनेको त पटक्कै  काम नलाग्ने! न त बिहान दूध ल्याउन जान्छ, न त बेलुकी तरकारी! सधैं अफिस-अफिस भनेको। पैसा मात्र ल्याएर के गर्नु, घरको काममा सहयोग नगरेर हुन्छ?" आमा भन्दै सुनाउने गर्थिन्। कालेले आमाका यी कुराहरू आफु सानो भएको बेला देखि दिनहुँ सुन्ने गरेकोले खास मतलब पनि गर्दैनथ्यो।

एकदिन, आमाको यही गुनासो सुन्दा सुन्दै कालेको मनमा प्रश्न उठ्यो। उसले आफूलाई सोध्यो, "के बाबुले हामीलाई हुर्काउन कुनै सहयोग गरेनन् त? बाबु सधैं काम गरेर थकित भएर आउँछन्। उनलाई कस्तो लाग्छ होला, आमाको गनगनले?"
त्यो साँझ, कालेले बाबुलाई थकित भएर आएको र गम्भीर देख्यो। बाबु ओछ्यानमा पल्टेर एकोहोरो भित्तातिर हेरेर केही सोचिरहेका थिए। आमाको गुनासोले बिचरा बाबुको मनमा कस्तो असर परेको होला? अहिले भित्ता हेरेर बसेका छन्, कालेले सोचे। उसले आमासँग यसबारे अब त कुरा गर्नु पर्छ, भनेर मनमनै गुन्यो।

अर्को बिहान, कालेले आफ्नो आमा र बाबुको सम्बन्धलाई कसरी सुधार्ने होला? आमाको कचकच कसरी सुधार्ने होला भनेर मनन गर्न थाल्यो। आज पनि फेरि आमाले बाबुको बारेमा केही गुनासो गरिहालिन्। कालेले अब त हुँदै भएन, आमाको कुरा मात्रै कति सुनेर बस्ने? भनेर हिम्मत जुटाएर आमासँग बोल्यो, "आमा, बाबुले अफिसमा दिनभर काम गर्नुहुन्छ, हैन र? उहाँले हाम्रो लागि पैसा ल्याउनुहुन्छ, हैन र? अफिसबाट आउंदा उहाँ थकित भएर आउनुहुन्छ, हैन र? तर तपाईंले सधैं बाबु अफिसबाट आउने बित्तिकै तरकारी ल्याएन, त्यो ल्याएन भनेर गुनासो मात्रै सुनाउनु हुन्छ। तपाईंले पनि त ल्याउन हुन्छ नि हुंदैन र? बिचरा बालाई कस्तो लाग्छ होला?"

आमा अचम्ममा परिन्। कालेले बोल्दै गयो, "बाबु पनि त मानिस हुनुहुन्छ, उहाँको पनि त मन दुख्छ होला? यसरी दिनभरी कामबाट थाकेर आउंदा एक कप चिया पिउन दिंदा पनि कचकछ सुनाएर दिए पछि चिया खाएको पनि स्वाद पाउंछ कि पाउंदैन होला, हगी बा? यदि तपाईंले सधैं गुनासो मात्रै गर्नु भयो भने, उहाँलाई कसले सहयोग गर्छ? उहाँले पनि त सायद मनमा शान्ति खोज्नु हुन्छ होला नि, अफिसको काम, अफिसको कचकच, अनि घरमा आउने बित्तिकै फेरि कचकच, कस्लाई पो मनपर्छ होला र? आमाले उहाँलाई बिनाकारण गाली गर्ने होइन, बुझ्ने प्रयास त गर्नुपर्छ नि।"

कालेका यी शब्दले आमाको मन छोयो। एक पटक झर्केर भन्यो, तेरो बाउको त्यस्तो मन दुखाउन मन छैन भने तंइले काम गर न त? तं पनि त अब त काम गर्न सक्छस नि, अनि तेरो बाउ र तं मिलेर मलाई सघाउन सक्दिनस? 

फेरि उनलाई पनि महसुस भयो कि आफूले कालेको बाबुको योगदानलाई राम्रोसँग कदर नगरेको पो हो कि? उनी सोच्न लागिन्—के म सधैं तेरो बाबुलाई दोष मात्र लगाइरहेकी छु? के मैले संधै तेरो बाबुलाई माया र सहयोग गरेको छैन?

त्यस दिनदेखि, आमाले बाबुलाई बिनाकारण गाली गर्नु बन्द गरिन्। उनीहरू दुवैले एकअर्काको भावना बुझ्न थाले। कालेले थाहा पायो, कहिलेकाहीं संधै एकोहोरो गुनासो गर्ने आमालाई कसैले बुझाउने कोशिश नगरेकोले त्यस्तो बेहोरा देखाउनु भएको रैछ। आज आमाले मेरो कुरा पनि सुन्नु भयो। अनि बाबुको मनको कुरा पनि बुझ्ने प्रयास पनि गर्नु पर्छ भन्दै शान्त रहनु भयो। त्यसदिनदेखि बाबु-आमा दुबैजनाले घरको जिम्मेवारीमा सहयोग गरे, एकअर्काको मनको कुरा सुने। अब कालेको घरको वातावरण शान्त भएको छ। अस्तु।

Saturday 12 October 2024

दशैंको किनमेल

दशैंमा फलफूल साहुजीले मागेको भन्दा बढी तौल राखेर भन्यो, दशैं हो आधा किलो बढी नै राख्देको छु हुजूर। ग्राहकले आफुलाई चाहिए अनुसार एक किलोको मात्रै पैसा दियो। 
अनि पसलेले भन्यो, अरे हुजूर! मैले आफुको लागि आधा किलो बढी जोखेर राख्देको छु त! 
ग्राहक: धन्यवाद, तिम्रो उपकारको लागि धन्यवाद। लौ पैसा लिनुस!
पसले: आधा किलो बढी नै राखेको छु नि हुजूर! आधा किलोको पैसा पनि चाहियो।
ग्राहक: मैले कति भनेको थिएँ?
पसले: एक किलो!
ग्राहक: अनि मैले डेढ किलोको पैसा किन दिने?
पसले: मैले हुजूरलाई एक्स्ट्रा थपेर दिएको छु त!
ग्राहक: मैले थपेर देउ भनेको हो र?
पसले: होइन! मैले नै दशैंमा अलिकति बढी लिगेर जानु हुन्छ होला भनेर थपेर दिएको।
ग्राहक: थपेर दिएकोमा धन्यवाद, तर मैले नमागेको तपाईंले दिएकोमा मैले किन पैसा थप्ने? लौ लिनुस पैसा।
पसले: अक्क न बक्क भएर एक किलोको पैसा लियो र भन्यो मलाई घाट लाग्छ नि हुजूर!
ग्राहक: त्यसो भए मैले मागे जति मात्रै देउ, बढी भएको झिक्नुस। होइन भने म तपाईंको उपहार सम्झेर खाईदिम्ला। 
पसले: त्यसो नगरम हुजूर! म फेरि तौली हाल्छु। तपाईंले भन्नु भएकै जति मात्रै राखिदिन्छु। अस्तु।

Friday 11 October 2024

हकार्ने बजै

एउटा गाउँमा सबैले चिनेको बजै थिइन्। उमेरले ७० कटिसकेकी ती बजैको एउटा मात्र विशेषता थियो- झर्किएर कुरा गर्नु! गाउँका केटाकेटीलाई देख्नासाथ, "यता आइजे त, त्यो लठ्ठी यता राख त। त्यो सामान रामरी बोक, तिम्रा आमा बाले केही सिकाएन? हँ?" भन्दिहाल्थिन। केटाकेटीहरुले खेल्दै गर्दा झट्ट केही गल्ती गरे भने, "धत! त्यसरी पनि खेल्ने हो? हाम्रा पालाँ त यसरी खेल्थिम!" भनेर हकारेर उपदेश दिईहाल्थिन।

एकदिन, गाउँका नानीहरु सल्लाह गरेर भेला भए। उनीहरुलाई बजैको हकार्ने बानी पटक्कै मन परिरहेको थिएन। "ए लठेब्रो! यो फोहोर कस्ले फ्यांकेको? तंलाई अहिले!" भनेर गाउँमा यतिकै हिंडेका फोहोर फाल्दै नफालेकालाई पनि दोष दिएर हकारिहाल्थिन। आज गाउँको बाटोमा फोहोर कसैले त्यही बजैको आंगनमा फालेर हिँडेछ। "यत्ति पनि नबुझ्ने? कस्तो केटो रैछ!" बजैले बाटोमा हिंडिरहेका बटुवा नानीलाई आज पनि हकारिन्। तर यसपटक नानीहरुले निर्णय गरे—अब त हामी पनि केही भन्नै पर्छ।
त्यसपछि नानीहरु बजैको घरतिर लागे। एउटी नानीले बडो आदरका साथ भनिन्, "बजै, हामीले तपाईँको कुरा सुनेका छौँ। अब हामीले पनि केही कुरा गर्न पर्छ। हामीलाई हकारेर हैन, राम्रोसँग सिकाएर भन्नुस् न, हामी पक्कै सुन्छौँ र मान्छौँ।"

बजै केही बेर चुप रहिन्। नानीहरुको कुरामा एकदम सहि थियो। बल्ल बजैले महसुस गरिन् कि हकारेर भन्दा माया गरेर सिकाउँदा नानीहरु चाँडै सिक्छन्। त्यस दिनदेखि बजैले हकार्न छोडेर सल्लाह दिने र माया गर्ने बानी बसालिन्।

गाउँका नानीहरु अब बजैलाई भेट्न डराउँदैनथे, बरु उनका सल्लाह सुन्न आउँथे। बजै र नानीहरुबीचको सम्बन्ध अझै राम्रो भयो, अनि गाउँमा सबै खुसी भए। अस्तु।

Thursday 10 October 2024

श्रीमती खुशी पार्ने उपाय

दशैंको बेला बल्ल बल्ल घरमा भएको दाजुले सघाउला भनेको त सघाउंदै सघाएन भनेर भाउजू रिसाउने नै भयो। राम दाई सधैं युट्युबमा रमाउने मान्छे। उसलाई युट्युब चलाउन पाए अरु केही पनि चाहिंदैन, अनि युट्युबको हरेक कुरामा विश्वास गर्ने। केही दिनदेखि मन्जु भाउजु र राम दाइ बिच झगडा भएर बोलचाल बन्द भएछ। भाउजुले राम दाईलाई एकोहोरो रिस देखाउँदै आएकी थिइन्। राम दाईले एउटा भिडियोमा देख्यो— "श्रीमतीलाई खुशी पार्ने उत्तम उपाय भनेको भान्सामा सघाउनु हो।" त्यो सुनेपछि उसले मनमनै सोच्यो, "आज त पकाएरै फकाउँछु।"

भाउजु घरमै थिइन्, तर उनलाई थाहा थिएन, दाजुले के योजना बनाएको छ भनेर। दाजु सिधै भान्सामा पस्ने निर्णय गर्यो। के पकाउने? भनेर सोच्दा सोच्दै, उसको आँखा भान्सामा भएका करेलातिर पर्यो। उसले करेला कहिले पनि पकाएको थिएन। तर युट्युबमा पकवान हेरेको भरमा आज करेला नै पकाउने सोच बनायो। युट्युबबाट छिट्टै करेलाको तरकारी बनाउने भिडियो खोज्यो र काट्कुट सुरु गर्यो। करेलालाई गोलो गोलो चक्की जस्तो पारेर काट्यो। अनि भिडियो हेर्दै पकाउन सुरु गर्‍यो।

दाजुले इन्फ्रारेड चुलोको स्वीच अन गरेर कराई बसाल्यो र युट्युबमा भने मुताबिक मरमसला राख्यो। भाउजु अर्को कोठामा कपडा सिलाउंदै थिइन्। दाजुले ध्यान दिएर तरकारी चलाउँदै थियो, तर उसको ध्यान भने युट्युबको अर्को भिडियोमा गयो—"पत्नीलाई फकाउने थप उपायहरू।" अनि अति ध्यान दिएर हेर्न लाग्यो। उता करेलाले ध्यान खोज्दै थियो, उसको ध्यान भने आर्को युट्युबमा गैसकेको थियो। उसले टाइमर राख्यो र अटोमेटिक चुलो बन्द हुन्छ भन्ने बिश्वासमा समय राखेर छाड्यो, तर उसले इन्फ्रारेड चुलो बन्द भए पनि तातो रहने कुरा बिर्स्यो।

करिब १५ मिनेटपछि, जब भाउजु भान्सामा आइन, उनले डढेको गन्ध पाए। हेरेर चिच्याइन्, "ए बुढा! यो के गरेको?"
दाजुले "अ...अ...," भन्दै फेरी युट्युबको तारिफ गर्दै भन्यो, "युट्युब भिडियोमा भन्या थियो, श्रीमती फकाउने भनेको करेलाको तरकारी पकाउने हो! त्यही अनुसार करेला पकाएको, टाइमर राखेको अनि आफै बन्द भयो होला भनेर।"

भाउजुले उसको हातबाट मोबाइलको भाँडो खोसिन्, अनि करेला देखाइन, त्यो त डढेर कोइला नै भइसकेको रहेछ। उसले एकैछिन मौन भएर त्यो कालो करेलातिर हेरी, अनि दाजुतिर फर्केर भनिन्, "फकाउने हो भने यस्तो गरेर होइन, भाँडा माझ्न आउँछ हैन अब भांडा माझ्छौ कि स्वास्नी फकाउंछौ?"

राम दाइले हाँसो थाम्न सकेन अनि हस्याङफस्याङ गर्दै बरु भाँडा माझ्न पो सजिलो होला हगी? आखिरमा भाउजु हाँस्दै भनिन, "करेलाको तरकारीले हैन भान्सामा काटकुट मात्रै गर्दिए पनि तिम्रो बुढी खुशी हुन्छे।"

त्यस दिनपछि, राजुले एउटा कुरा राम्रोसँग सिक्यो—युट्युबे भिडियोले भन्दा भान्सामा ध्यान दिएर सघाउंदा श्रीमती खुशी हुने रैछ। अस्तु।

Wednesday 9 October 2024

बिस्कुट चोर

छुच्ची बजैको पारा देखेर नातिहरुले कुरा गर्दै रैछन, आज छुच्ची बजैले बिस्कुट देला जस्तो छैन। के गर्ने? जहिले पनि नातिहरुले बिहानै बिहानै बिस्कुट मागेर हैरान पारेपछि, बजैले चुपचाप बिस्कुटलाई डालोमा लुकाइन्। तर नेप्रेका नातिहरूले ठ्याक्कै त्यो बिस्कुटको ठेगाना पत्ता लगाइ हाले। साना भए पनि चुल्बुले र चालु नातिहरू थिए! सबैभन्दा सानो नाति त झन लिंडे पाराको थियो, उसले झन् हिम्मत गरेर ढीपी गर्‍यो। बजै पनि के कम !, "रोएको बेला त दिंदै दिन्न, दिएं भने फेरि-फेरि रोएर माग्न आउलान, त्यसैले नदिऊँ बरू रुन दिम।"

तर, नातिहरुले पनि कम्मर कसेर बिस्कुट त नखाई नछाड्ने ढीपी कसे। अनि भित्रभित्रै योजना बुन्दै थिए। "बुढी सुत्ने बित्तिकै यो बिस्कुट खाम्ला," उनीहरुले सल्लाह गरेछन्। दिन ढल्कियो खाजा समय भयो, र पनि बजैले बिस्कुट दिने सुर सार देखेनन। रात परे पछि खाना खाइ सक्ने बित्तिकै बजै झपक्क निदाइन्। यही मौका हो भन्दै, नातिहरुले बजै सुतिसकेको कुरा पक्का हो कि होइन भनेर चेक जांच गरेपछि बल्ल, एकजना ढोकामा पालो बसेर आर्कोले डालोको बिस्कुट सबै निकालेर राती नै सखाप हुने गरी खाइदिएछ। उनीहरु लडाइँमा जितेको जस्तो हर्षित देखियो। 
भोलिपल्ट बिहान उठेर बजैले सोचेछ हिजो नातिहरु धेरै रोयो, आज त बिस्कुट दिनै पर्ला भनेर डालो खोलेर हेर्दा त बिस्कुटहरु सबै नै गायब! बजै छक्क परिन्। "यो कस्तो जादु भयो?" उनी आश्चर्यमा परिन्। तर नातिहरु भने हिजो राती खाएको बिस्कुटको खोलहरु लुकाएर फाल्न जान नभ्याएकोले तनावमा थियो। तर पनि आफ्नो काम फत्ते पारेकोले मनमनै मुस्काइरहेको थियो। 

अनि बजैले भन्नुभयो। हिजो मैले डालोमा बिस्कुट राखेको थिएं। रातभरिमा मुसाले सबै बिस्कुट खाएछ, र बोक्रा सुद्दै खाएछ, भन्द इ गर्दा एकजना नातिको खल्तिबाट एउटा बोक्रा ख्वाराक्क खसेछ। धन्न आर्को नातिले ट्याप्प टिपेर लुकाउन भ्याएछ। बजैले देखे पनि नदेखे जस्तो गरिन। अनि मनमनै भनिन्, बिचराहरुलाई मैले नै चोर भनेझै भएछ। हिंजो नै दिएको भए, सायद यिनीहरू चोर बन्ने थिएनन् । अस्तु।

Tuesday 8 October 2024

दशैंको बेला कस्को काम पैला?

बर्ष दिनको चाड, दशैं, गाउँको रमझम, आफ्नै मान्छेको सामीप्यको अनुभूति गर्न भनेर त्यो छोराले अफिसबाट बिदा हुने बित्तिकै झोला समात्यो र सिधा बसपार्क पुगेर गाउँको बाटो समात्यो। धेरै महिना पछि घर फर्कंदा, मनमा अनगिन्ती योजना थिए—आमालाई सघाउने, बाबासँग गफ गर्ने, श्रीमतीलाई साथ दिने, गाउँका साथीभाइहरूसँग रमाइलो गर्ने। लामो समयपछि घर जाने खुसीमा छोराको अनुहारमा छुट्टै चमक थियो।

गाउँमा पुगेर आँगनमा पाइला टेकेर सास फेर्दा माटोको सुगन्धले भित्रैदेखि मिठो अनुभूति गरायो। आमा दौडिँदै आइन्, बाबाले घरको पिँढीमा मुस्कानसहित स्वागत गरे। बल्ल आइस छोरो! भन्नू भयो। आमा बाबालाई ढोग गरेसंगै श्रीमतीले ढोकामा उभिएर उसको झोला समातिन्। ती सबै अनुहारहरू, जुन उसले महिनौंदेखि देखेको थिएन, अब उसका अगाडि थिए।

र खुसीका ती पलहरु रमाइलो थियो। तर घर नै त हो, लामो समय घरमा नगएकोले बाबा, आमा र श्रीमतीको अपेक्षा पनि रहने नै भयो। बिस्तारै जिम्मेवारी र अपेक्षाहरूको भारी उसको काँधमा आउन थाल्यो।

एकाबिहान आमाले भनिन्, "ए बाबु, आँगनको सरसफाइ राम्रोसँग गर है। दशैंको लागि घर चिटिक्क हुनुपर्छ।"

छोराले तुरुन्तै काम गर्न थाल्यो। मनमनै सोच्यो, "आमालाई सघाउन पाउँदा कस्तो आनन्द लाग्छ!"

तर एकैछिनमै बाबाले बोलाए, "ए छोरा, बारीको पाटोमा केही हरियो साग फल्यो, दशैंमा तिमीलाई मनपर्ने भान्सा बनाउँला। तरकारीहरू ल्याउन जाम त!"

छोरो अलमलमा पर्‍यो। एकतिर आमाको काम सुरु गरिसकेको थियो, अर्कोतिर बाबाको आदेश पनि छोड्न मिल्ने कुरा थिएन। मनमै यस्तै सोच्दै थियो, उत्निखेर श्रीमतीले झ्यालबाट बोलाइन्, "ए बुढा हिजो बेलुकी भनेको काम बिर्सनु भयो कि क्या हो? यतिका समय पछि आउनु भा छ, जाबो त्यति सामान ल्याइ दिनु भनेको पनि अहिले सम्म ल्याई दिनु भएको छैन। यो दशैंमा हाम्लाई पनि नयाँ कुरा लगाउन मन लाग्छ नि हो। मेरो सामान चाहिँ दसैं पछि मात्रै हो?"

अचानक तीनवटा फरक आदेश, तीनवटा फरक अपेक्षाहरूले छोरालाई मानसिक रुपमा थिच्यो। कसको काम पहिले गर्ने? आमाको स्नेह, बाबाको आशा, श्रीमतीको साथ—यी सबै महत्त्वपूर्ण छन्। तर प्राथमिकता?

छोराले मनमा कुरा खेलाउंदै थियो। आमाको काम गर्‍यो भने श्रीमतीले भन्छिन, "तिमी जहिले पनि आमाको काम मात्र गर्नु, हुन्छ। बिहे गरे देखि नै याद गरिराछु, जैले पनि मैले भनेको काम पछि गर्छु भन्नुहुन्छ।"

श्रीमतीको काम पहिले गर्‍यो भने बाबाले रिसाएर भन्नुभयो "अब त बिहे गरेपछि स्वास्नीले भनेको मात्रै सुन्छस, मैले भनेको कुरा कहिल्यै गर्दैनस। म त परको भै सकें हैन!"

छोराको मन भारी भयो। ऊ आफ्नो निर्णयले कसैको मन दुखाउन चाहँदैनथ्यो। बाबाआमालाई बेवास्ता गर्नु उसको लागि असम्भव थियो, र श्रीमतीलाई पनि उसले प्रेम गर्थ्यो। जीवनभरि उसले जिम्मेवारी र सम्बन्धबीच सन्तुलन राख्न कोशिश गर्दा गर्दै पनि जीवन असन्तुलित हुन थालेकोमा निकै चिन्तित भयो।

दिनभरीको यस्तै मनोबादले दसैंको बिदा नै खल्लो नहोस भनी त्यस रात एक्लै कौसीमा आकाश हेरेर तोलाइरह्यो—के सधैं यस्तै अलमलमा बाँच्नुपर्ने हुन्छ कि? 

दशैंको अन्तिम दिन, छोराले एउटा निर्णय गर्‍यो। उसले सबैजना भेला भएको बेला भन्यो, "तपाईंहरू सबै मेरो लागि महत्त्वपूर्ण हुनुहुन्छ। आमा, बाबा, श्रीमती—म तपाईँहरूको लागि नै बांच्दैछु, तर पनि कहिलेकाहीँ म आफै अन्योलमा रहेको छु, कस्को कामलाई पहिलो प्राथमिकता दिनु पर्ने? बर्ष दिनको चाडमा लामो बिदा पाउने दशैं मनाउन र परिवार भेट्न आएको म। तपाईंहरुको आकांक्षा सबै पूरा गर्न सकें कि सकेन मैले भन्न सक्दिन। तर मलाई एउटा अचम्मको अनुभव भएको छ यसपालि मैले सबैजनाको इच्छा पूरा गर्ने कोशिश गर्दा गर्दै पनि सकिन। मलाई माफ गर्नु होला।"

टाढा बसेको छोरो घरमा आए पछि, यो गरम्ला, त्यो गरम्ला भन्ने आशा हुन्छ। यो सबै तिमी, हामीबाट टाढा भएकोले हो नि त। सायद, उसले थाहा पायो—सबैको मायाको उत्तिकै महत्त्व छ, तर घरबाट टाढा रहेर कामको ब्यस्तता र पारिवारिक सन्तुलन मिलाउन भने निकै नै मिहेनत चाहिने रहेछ।

(मस्त निद्रामा सपना देखिरा बेलामा) कन्डक्टर साबले उठाए। ए दाई! ओए दाजु! बसमै सुतेरै बस्ने हो कि ओर्लने हो? हामी त अब आर्को ठाउँमा जानुछ। सबै जना घर गै सके, यो दाजु त अहिले सम्म बसमै सुतेका रैछ्न। अस्तु।

Sunday 6 October 2024

राहतमा घर

हाम्रो आफ्नै संस्था मार्फत हामी राहत वितरण गर्न बाढी पीडित भएका ठाउँमा पुगेका थियौं। बाढीले सबै घरहरू जलमग्न भएर पनि हिलोले भरिएका थिए भने कतिपय घरहरु बगाएर लगिसकेको थियो। त्यो ठाउँका मानिसहरू कतै ओत लागेर सायद बसेका थिए। कसैले त पाल टाँगेर गुजारा चलाइरहेका थिए। हामीले राहतका सामग्रीमा लत्ताकपडा वितरण गर्दै गर्दा एक जना सुकुम्बासी ठिटो हाम्रो नजिकै आयो। जांड खाएका ह्वास्स गन्हाउने केटो नजिकै आएर कानमा सुटुक्क भन्यो, "दाजु, काठमाडौंमा मेरो घर छैन, एउटा घर बनाइदिनुस् न!"

म उसलाई हेरेर हल्का मुस्काएँ। ऊ मजाक गरिरहेको थियो, तर उसले भनेको कुरामा केही सत्यता थियो। "घर त मेरो पनि छैन नि, भाइ," मैले जवाफ दिएँ, "म त अहिले यही राहत सामग्रीहरु त मागेर ल्याएर बाँड्दै छु। अब तिम्रो कुरा सुने पछि मलाई पनि एउटा घर बनाई दिने मान्छे खोज्न पर्‍यो। अनि मैले घर बनाउन सक्ने मान्छे भेटेँ भने तिमीलाई पनि एउटा घर मागिदिउँला है?"

ठिटो पनि हल्का मुस्कायो। "ठीक छ, दाजु। त्यो मान्छे भेट्दा म पनि तपाईंसँगै जान्छु। एकदमै ठूलो घर माग्नुहोला नि, तपाईं हामी संगै बस्नको लागि पनि ठाउँ होस् न!"

सबैजना हाँस्न थाले। परिस्थिति दयनीय थियो, तर पनि हामीले हाँसो मार्फत् त्यो बेलाको पीडा भुल्ने प्रयास गरिरहेका थियौं। आखिरमा, राहत सामान हारालुछ गरी लगे। कतिपयले राहत कपड़ा लगाएर फेरि दोहर्‍याएर आएको देखे पछी सांच्चै नै उपकार भयो भन्ने हामीलाई लाग्यो र कपडा बाँड्ने काम त सकियो, तर घर बनाइ दिने मान्छे भेट्ने मौका अझै पाएको छैन। अस्तु।

Sunday 29 September 2024

उभिने ध्यान (Standing Meditation)

उभिने ध्यान: 
उभिएर ध्यान गर्दा शरीरको सजगता बढाउन आवश्यक छ। यसका लागि तौल समान रूपमा खुट्टामा बाँड्ने, आरामदायी ठाउँ रोज्ने, शान्त वातावरणमा ध्यान गर्ने र मनको विकार हटाउनको लागि ध्यानपूर्वक रहनु उपयुक्त हुन्छ।

ध्यान गर्ने तरिका:
उभिएर ध्यान गर्दा शरीरको सजगता र सन्तुलनलाई ध्यानमा राखिन्छ। तलका चरणहरू पालना गर्न सकिन्छ:

१. सिधा उभिने: आफुलाई अनुकुल हुने गरि जमीनमा मजबुत भएर उभिनुहोस्। ढाड सिधा हुनुपर्छ र शरीरलाई आरामदायी बनाउनुस्।

२. सासको ध्यान: ध्यानपूर्वक सास लिनुहोस् र निकाल्नुहोस्। सासको गति र यसको गहिराइलाई ध्यान दिनुहोस्। पेट फुलेको र सुकेको ध्यान दिनुहोस्।

३. शरीरको अनुभव: खुट्टाले जमीनमा टेक्दा, जमीनको स्पर्श, मस्तिष्कसम्मको सम्पूर्ण शरीरको अनुभव गर्नुहोस्। शरीरको कुनै अंगमा कस्तो ठाउँमा कस्तो अनुभूति भइरहेको छ भनेर सजग हुनुहोस्।

४. चेतनाको प्रवाह: शरीरको पांच इन्द्रियहरुमा भएका संबेदनाहरुमा ध्यान केन्द्रित गर्दै क्रमशः मनलाई शान्त पार्नुहोस्।

५. समय: सुरुमा ५-१० मिनेट जति उभिएर ध्यान गर्न सकिन्छ, विस्तारै यो समय बढाउन सकिन्छ।

फाइदा:
१. सजगता बढ्छ: सतिपठान ध्यानले शरीरको हरेक गतिविधिमा सजगता ल्याउँछ।
२. सन्तुलन: शारीरिक र मानसिक सन्तुलन राख्न मद्दत गर्छ।
३. सांसारिक तनाव कम गर्छ: दैनिक तनाव र चिन्ताबाट मुक्ति दिलाउँछ।
४. एकाग्रता: ध्यानले मनको एकाग्रता र शान्ति ल्याउँछ।

साबधानी:

१. नयाँ व्यक्तिहरूका लागि कठिनाई: उभिएर लामो समय ध्यान गर्दा सुरुमा असहज हुन सक्छ।

२. शरीरमा थकान: शारीरिक रूपमा बलियो नभएको खण्डमा लामो समयसम्म उभिएर ध्यान गर्दा शरीरमा थकान हुन सक्छ।

३. सुरुवाती अवस्थामा ध्यान भङ्ग: उभिएको अवस्थामा मनलाई स्थिर राख्न गाह्रो हुन सक्छ, जुन समयसँगै सुध्रिन्छ।

कस्तो ठाउँमा गर्ने?
शान्त र स्वच्छ वातावरणमा उभिएर ध्यान गर्न उपयुक्त हुन्छ। माटो, घाँस वा काठको सतहमा उभिएर ध्यान गर्दा शरीरको ऊर्जा सन्तुलित रहन मद्दत गर्छ। अर्थिङ अथवा पृथ्वी तत्वसंग सिधा सम्पर्कमा आउने हुंदा शरीरको उर्जालाई उजागर गर्न मद्दत गर्ने ठाउँमा उभिने ध्यान गर्न उपयुक्त हुन्छ।

को-कस्ले गर्ने?

साधकहरू: जो नियमित ध्यान गर्छन्।

व्यस्त मानिसहरू: छोटो समयमा सजगता र एकाग्रता बढाउन चाहनेहरूले गर्न सक्छन्।

योगीहरू: उभिएर ध्यानले शरीरलाई बलियो बनाउन र आत्म-चेतना बढाउन मद्दत गर्छ।

प्रत्येक व्यक्ति: जो सजगता र शान्ति खोज्छन्, सबैले उभिएर ध्यान गर्न सक्छन्।

किन गर्ने?

सजगता विकास: शरीर, मन र श्वासप्रश्वासमा सजगता ल्याउन।

स्वास्थ्य सुधार: मानसिक र शारीरिक स्वास्थ्यलाई राम्रो बनाउन।

मानसिक शान्ति: मानसिक शान्ति प्राप्त गर्न।

ध्यानको प्रगति: ध्यानलाई थप गहिरो र शक्तिशाली बनाउन।

सतिपठान ध्यानको यो विधि नयाँ र अनुभवी साधकहरूका लागि उपयोगी मानिन्छ।

Thursday 26 September 2024

तेश्रो लिंगी संगको रोमान्चक रेलयात्रा: नियात्रा

तेश्रो लिंगी संगको रोमान्चक रेलयात्रा: नियात्रा 

सन् १९९७ सालको कुरा हो। म बिशाखापट्नमबाट मद्रास (हालको चेन्नई) सम्मको रेलयात्रामा निस्किएँ। म पोण्डिचेरी कलेजमा स्नातकोत्तर पढ्दा साथीको घरबाट फर्किंदा रेलबाट दक्षिण भारत जाँदाको रमाइलो अनुभव थियो। टिकट त आरक्षित नै थियो, तर यात्रामा कहिलेकाहीं सीट नम्बर मिले पनि नमिले पनि डिब्बामा रमाइलो अनुभव गर्न पाइन्छ भनेर सोच्दै म आफ्नो सीटमा बसेँ। मेरो अगाडि केही अनौठा तर हँसिला अनुहारहरू थिए। सातजना तेश्रो लिंगीहरू, जो आफ्नो आफ्नो पोशाकमा सजिएका थिए। तर मलाई उनीहरुको पहिरण र व्यबहार देख्दा अजीब लागेको थियो। यात्रामा मेरो अन्य कोही साथी थिएनन्, तर ती सात जनाले मेरो यात्रा अजिब र रोचक बनाई दियो।



रेल चढेको केही समयमै हामीबीच परिचय भयो। उनीहरू सबैले मन्द मुस्कानसहित मसँग बोल्न थाले। मैले आफ्नो परिचय दिएँ, “म नेपालबाट आएको हुँ, दक्षिण भारतको पोण्डिचेरीमा पढ्न आएको।” उनीहरूका आँखामा एकैचोटि चमक देखियो। हिन्दी जानेकी एउटीले हाँस्दै भनिन्, “नेपाली भैया, तुम मेरे सैयाँ, लेकिन तुम हमारे अतिथी हो!” सबैजना हांस्दै ठट्टा गर्न थाले। उनीहरूको रसरंग सहितको स्वागतले मलाई एक किसिमको न्यानोपन अनुभव गरायो।

त्यसपछि हामीले कुराकानीको सिलसिला चलायौँ। मैले उनीहरुलाई तेश्रो लिंगी भएर समाजमा बस्दा कस्तो व्यवहार भोग्नुपर्छ भन्ने सोधेँ। एउटीले भने, “हामीलाई त समाजले त्यस्तो बाल मतलब गर्दैन, महत्त्व पनि दिने गरेको छैन। कोही त हामीलाई देखेर हाँस्छन्, कोही त डराउँछन् पनि। कुनै कुनै गाउँमा भने निक्कै सम्मान पनि गर्छन्। घरमा बच्चा जन्मियो भने नजर उतार्न र आशीर्वाद दिन बोलाउंछन। तर हामीलाई त अब बानी परिसक्यो। हामी आफ्नो जिन्दगीलाई रमाइलोसँग बाँच्न चाहन्छौं।”

हाम्रो गफगाफ यसैगरी चल्दै गयो। मैले देखेँ, उनीहरूको जीवनको कथा भने जति संघर्षमय र कठिनाइले भरिएको थियो, त्यति नै उनीहरू खुशीको खोजीमा थिए। ती मध्येकी एकजनाले भने, “हाम्रो जीवनमा चुनौतीहरू त छन्, तर हामी रमाउनुपर्छ। नत्र त हाम्रो अस्तित्वलाई स्वीकार नगर्नेहरूलाई त रमाइलो नै हुन्छ नि।”

यात्राको दौरानमा मैले उनीहरूलाई चिया पिउन आग्रह गरें । उनीहरू खुसी हुँदै “हाँ, पिलाओ!” भने। मैले रेलमा चिया किनेर उनीहरूलाई दिएँ। उनीहरूले म प्रति धन्यवादको भावमा नतमस्तक हुँदै हाँसेर भने, “तुम तो अच्छे आदमी हो, भैया, अब बनो मेरा सैयां। हाम्रो समाजले तेश्रो लिंगीलाई हेर्ने दृष्टिकोण यस्तो हुँदैन, तर तिमीले हामीलाई गरेको व्यबहार र सम्मानका साथ चिया खुवायौ।” मैले भने, “मलाई त हामीहरू सबै मानिस नै हौ नि। मानिसले मानिस बिचमा भेदभाव गर्न हुंदैन र तिमीहरूको साथमा मलाई अझ रमाइलो नै लागेको छ, हामी सबै मानिस हौं, फरक कहाँ छ र?” उनीहरुले सहमत जनाए |

त्यहि बेला उनीहरूले चियाको बदलामा मलाई केही खुवाउन चाहेको कुरा व्यक्त गरे। तीमध्ये एकले भनिन्, “हामी तिमीलाई समोसा खुवाउँछौं। तिमी हाम्रो पाहुना भएकाले केही त तिमीले पनि खानु पर्छ!” अनि उनीहरूले आफ्नो पिठ्युँमा बोकेको झोला खोलेर समोसा निकाले। मैले पनि उनीहरुले दिएको समोसाको स्वाद संकोच नमानी चाखेँ। त्यतिबेला हामीलाई झन् रमाइलो भयो। समोसाको स्वाद अलि फरक र मीठो थियो।

त्यही क्रममा मैले भारतमा तेश्रो लिंगीहरूप्रति ठाउँ अनुसार समाजको विभेदपूर्ण व्यवहारबारे पनि सुनेँ। उनीहरूले भने, “हामीलाई धेरैले हेप्छन्, तर हामी आफैँलाई कमजोर महसुस गराउँदैनौं। हाम्रो अधिकारका लागि लडिरहेका छौं। यद्यपि, सबैले हाम्रो अस्तित्वलाई सहजै स्वीकार्ने दिन पनि आउला भन्ने आशा चाहिं छ। तर कहिले आउला?”

हाम्रो गफगाफले समय कट्दै गयो र रेलले पनि आफ्नो गति बढाउँदै मद्रासतर्फ अगाडि बढ्यो। ती तेश्रो लिंगीहरूको दु:ख, सुख, साहस, आत्मसम्मान र खुशीप्रतिको दृष्टिकोणले मलाई निकै प्रेरित गर्यो। यात्राको अन्त्यमा, हामीबीच आत्मीयता बढिसकेको थियो। उनीहरू सबैले मसँग विदा माग्दै भने, “नेपाली भैया, ओ मेरे सैंया! तिमी राम्रो मान्छे छौ। फेरि भेट्न पाउँला।”

त्यो यात्रा मेरो जीवनको एउटा अविस्मरणीय रेलयात्रा बनेको थियो। तेश्रो लिंगीहरूसँगको त्यो यात्राको क्षणले समाजप्रति मेरो दृष्टिकोणलाई अझ फराकिलो बनायो। ती सातजनासँगको त्यो सानो तर गहिरो यात्राले मलाई मानवता र समानताको महत्त्व सिकायो। अस्तु।